–रुपा सुनार
मानिसै मानिसको भीड अनि व्यस्त काठमाडौँको जीवन । बिभिन्न भुगोल, समुदाय र क्षेत्रका मानिसहरुको सागरझैं काठमाडौँ । यहाँ कसैलाई कसैको मतलब नै छैन, सिर्फ आफ्नो मतलब छ । बस् जसरी पनि आफू ठीक हुनुपर्यो अनि आफूलाई राम्रो हुनुपर्यो । आज मैले भन्न खोजेको कथा झैं काठमाडौको सार्वजनिक सवारी साधनको हो । जसको एकजना साक्षी बन्नुपर्दा सँधै पीडामात्रै हुन्छ । तैपनि त्यो पीडा हेर्न र भोग्न म विवश छु ।
‘खोइ तपाईं उठिदिनुस न, यो त महिला सिट हो नि । पुरुष भएर नि कहाँँ महिला सिटमा बसेको ?’ यसो भन्दै २०/२२ वर्षकी एक युवतीले बृद्ध हजुर’बालाई सिटबाट उठाएको दृश्य आज चाँहि देख्न नपरोस् भगवान भन्दै बस चढेकी हुन्छु । तर पनि प्रत्येक दिन सोही दृश्य देख्नुपर्छ ।
अनि मनले भन्छ– ‘कठै, तिम्रो महिला अधिकार !’
मलाइ अचम्म लाग्छ– दिदीबहिनीहरुले यो कस्तो अधिकारको प्रयोग गरिरहनुभएको होला ? लौरी टेक्दै बस चढेका ती बुढा हजुर’बालाई उठाएर आफू आनन्दसँग सिटमा बस्दै महिला अधिकारको प्रयोग गर्न कसरी मनले मानेको होला ? मलाई अचेल डर लाग्न थालेको छ, यसरी अवस्था नबुझी अधिकारको प्रयोग गर्दा थोरै बाँकी भएको मानवता पनि हराउँदै जाने पो हो कि !
उठिरहेको हजुर’बा देखेपछि बस्नका लागि सिट छाड्नुपर्नेमा बसिरहेको बृद्धलाई उठाएर आफू बस्ने युवतीलाई तपाईं कस्तो नामले चिन्नुुहुन्छ भनेर प्रश्न गर्ने हो भने सबैको एउटै जवाफ आउँछ होला – मानवता नभएकी युवती भनेर ।
मैले यति लेखिरहँदा पाठकहरुले यो नबुझिदिनु होला कि बसमा यात्रा गर्ने सबै युवतीहरुले गलत तरिकाबाट महिला सिटको प्रयोग गरिरहेका छन् । मैले धेरैपटक ती असल दिदी–बहिनीहरुपनि देखेको छु जसले आफू उठेर बृद्धहरुलाई सिट छोडिदिएका हुन्छन् ।
हो, हाम्रो देशमा महिलाका हकहितका निम्ति थुप्रै अधिकारहरु प्रदान गरिएको छ । तर सबै अधिकारहरु सही तरिकाबाट प्रयोग भएको पाइँदैन । अधिकार प्रयोग गर्ने निहुँमा यहाँ मानवता हराउँदै र विकृति फैलिँदै गएको छ । र, महिलाहरुको स्तर उन्नतिका निम्ति बनाइएका अधिकारहरुमध्ये केही अधिकार यस्ता छन् जसले महिलाहरु पुरुषको तुलनामा कमजोर हुन्छन् भन्ने सन्देश दिन्छ ।
जस्तै: बस तथा माइक्रोहरुमा महिलाका लागि भनेर छुट्टाएको महिला सिटले पनि महिलाहरु पुरुषको तुलनामा कमजोर हुन्छन् भन्ने बुझाउँछ । तसर्थ हामीले अधिकार प्रयोग गरिरहँदा हामी कहाँनिर हामी कमजोर ठहरिन्छौँ र कहाँनिर मानवता हराएर विकृति फैलिदै आएको छ भनेर सोच्ने बेला आएको छ ।
आज मैले महिला सिटको विषयमा यति लेखिरहँदा धेरैले भन्नुहुन्छ होला – के पुरुष भन्दा कमजोर ठहरिन्छौ भनेर अब महिलाहरुले महिला सिटको उपयोग नै नगर्ने त ? होइन । महिला सिटको उपयोग गनुपर्छ तर अवस्था बुझेर कुनै गर्भवती महिला, स–साना बच्चा लिएर बस चढेका महिला साथै बृद्ध महिला साथै विरामी भएका महिलाहरुले सिटको उपयोग गर्ने गर्नुपर्छ । साथै सबै सीट भरिएको अवस्थामा पुरुषहरुले पनि गर्भवती तथा अशक्त महिलाहरुलाई सिट दिएर आफ्नो मानव धर्म निभाउनु पर्छ । तपाईंहरुलाई के लाग्छ कुन्नि ! हजुर’बालाई उठाएर महिला सिटको प्रयोग गर्न मेरो मनले कहिल्यै मानेन ।
दैनिक नेपालबाट
प्रतिक्रिया दिनुहोस