युएईको लव डाँडामा नेपाली दृश्यहरु


पृथीछक बुढा/नानी आषुतोष

‘हेलो हजुर कहाँ भेट्ने ? त्यही नेपाली चोक वरदुवई लव डाँडामा भेटौला’

आब्राको नजिकै हिन्दु मन्दिरको छेउमा नेपाली चोक छ । त्यहीँ छ अल गुबैवा बसपार्क र अल गुबैवा मेट्रो स्टेसन । जुन ठाउबाट युएइको हरेक कुनाकुना पुग्न यातायातको सुबिधा भएको ठाउ ।  हरेक शुक्रबार यहाँ मेला जस्तै लाग्छ । चाहे गाउँवाट आएको कुनै साथी होस । चाहे स्कुलको पुरानो साथी होस । चाहे घरवाट आमा वा श्रीमतीले साथीको हातमा पठाईदिएको पार्सल लिन जाने काम होस । अथवा सामाजिक संजालवाट नव परिचित युवा युवती होउन । भेटघाटको चाजोवाजो त्यहि युएईको नेपाली चोक अर्थात लव डाँडामा मिलाईन्छ ।

नेपाली चोक वरपर अहिले लगभग एक दर्जन भन्दा बढी नेपाली रेष्टुरेन्ट, पसल, ट्राभल एजेन्सीहरु खुलेका हुनाले नेपालीहरुको लागि झन एक तिर दुई सिकार भएको छ । वर दुवई आयो, नेपाली स्वादको खाना मम, चाउमिन, छोईला, सुकुटी, गुन्द्रुक, ढिडो, दालभात गजवले चाख्न पाइन्छ । रङ्गिलाहरुको लागि एउटा दोहोरी साझ पनि छ याक एण्ड यति ।

नेपालीहरुलाई प्राथमिकतामा राखेर खुलेका पसलहरु नेपालीहरुकै कारणले राम्रै व्यापार फस्टाएको बुझ्न सकिन्छ । नेपाली चोक वरपर खुलेका रेष्टुरेन्टहरुमा शुक्रबार त खुट्टा टेक्ने ठावै हुँदैन । तर अन्य दिनमा भने खासै ब्यापार हुदैन । एक हप्ताको व्यापार एउटै शुक्रबारवाट परिपुर्ति गर्न सकिन्छ भनेर ब्यबसायीहरु बताउँछन् ।

नेपाली चोकमा आउने नेपालीहरु प्रायः गरेर त्यही वरपर खुलेका नेपाली रेष्टुरेन्टमा नेपाली खानाको स्वाद लिन चुक्दैनन् । त्यहाँ नेपालीपन हुन्छ । नेपाली मन हुन्छ । मिनी नेपालमा प्रबेश गरे झैँ लाग्छ ।

सन २००४ तिर साठ्ठी सत्तरी हजारको हाराहारीमा थिए नेपालीहरु । महिलाहरुको उपस्थिति त झन थिएन भन्दा पनि हुन्छ । कमै हुन्थे नेपाली चोकहरुमा पनि मान्छेहरु । अहिले नेपालीको संख्या चार लाख पुगेको अनुमान गरिन्छ । महिला र पुरुषको संख्या लगभग वरावरीको स्थितिमा देख्न सकिन्छ । त्यो स्थानमा पहिले सिडि र भिसिडिका प्रतिलिपिहरु वेच्थे । अहिले समय फेरिएको छ, आजकाल यहाँ नेपालीले सिडि र भिसिडी वेच्दैन । वालुवामा आफैले उब्जाएको नेपाली सागसब्वी र चटपटे भने बेच्दै गरेको देख्न सक्छौं ।

कुरा लव हिलको (नेपाली डाँडा)

हरेक शुक्रबार हामी नेपाली पार्क नपुगेको दिनै छैन । लव डाँडाहरुमा पनि पुग्छौँ । नेपाली चोक र लव हिललाई एउटा साइड रोडले छुट्टाएको छ । धेरै समय देखि हामी दुवै मिलेर एउटा सामाग्री लेख्ने निश्चय गरेका थियौँ लव डाँडाको दृश्यहरुको वारेमा । यसै योजना मुताविक बरदुबई घुम्ने योजना बन्यो । त्यसैले शुक्रबारे बिदालाई निरन्तरता दिदै हामी झण्डै ४० मिनेटको यात्रा पछि पुग्यौं नेपाली चोक बरदुबईमा । यत्रतत्र मानिसहरुको भिडभाड र कोलाहलले टाउको दुख्न थालिसकेको थियो । अझ त्यसमाथि त्यहाँका दृश्यहरुले अझ मन जलाउन थाल्यो ।

के देखियो त नेपाली लव डाँडामा ?

वाटो पारी रुख मुनि पिच्चेका जोडीहरु परैबाट देख्न सकिन्थ्यो । मान्छेहरु हेर्दा पाकेका लाग्थे । सधैं कसिकसाउ हुने नेपाली चोकमा त्यो दिनको जमघट झन कसिकसाउ लाग्यो । त्यहाँ सुरापानीमा डुबुल्की मारिरहेका नौ जवानहरुको गतिबिधी देखिन्छन । के युवा, के युवती ? हालत सवैको एउटै देखिन्छन । तपाईं पनि गएर हेर्न सक्नु हुन्छ, शुक्रवार दिउँसो दुई तीन वजे देखि त्यहाँ के के हुन्छ ? गैरकानुनी रुपमा खुल्ला सार्वजनिक स्थलहरुमा मदिरा पिउनु यहाँको कानुन विपरित कार्य हो । एउटा तथ्यांक अनुसार युएईको जेलमा रहेका अधिकाश नेपालीहरुको कसुर मदिरापान नै देखिएको छ ।

हामी मदिरा नपिउने भनिएको होइन मान्छेहरु हेर्दा पाकेका लाग्थे । हामी भन्न खोजेको चाहिं, मान्छेले मदिरा पिउने हो, न कि मदिराले मान्छेलाई पिओस । धेरै नेपाली युवायुवतीहरुलाई मदिराले पिएको देख्यौ, त्यो पनि सार्वजनिक स्थलहरुमा । त्यसले नेपाल र नेपालीको गरिमामा धक्का पुग्छ कि पुग्दैन ? नसोची हुँदैन । हामी लगातार दुई हप्ता केहि लेख्ने भनेरै त्यहाँ पुगीरह्यौं, जसमा केहि नेपाली दृश्यहरु यस्ता भेटिए:

दृश्य न. १
नेपाली चोकको साइकल पार्किङमा उभिएर नेपाली अनुहारहरु नियालिरहेका थियौं केही हप्ता अगाडी । पार्कमा अस्वभाविक किसिमले भिड लागेको थियो । एउटा पुलिस भ्यान र एउटा एम्बुलेन्स आईपुगेको थियो । त्यहाँ पात्रहरु तीन जना थिए । दुईजना पुरुष अनि एउटी महिला । एकजना पुरुषको निधारमा सेतो पट्टि बाँधिएको थियो । मनमनै सोचें, जरुर केही गडबडी छ । बुझ्दै जाँदा कुरोको चुरो पत्ता लाग्यो ।

नेपाली पुरुष र लगभग दुई बीस पार गरेकी महिलाको विचमा प्रेम भएको रहेछ । पछि महिलावाट धोका भयो र छुटे । यस्तै वेला उक्त महिलाले एकजना पाकिस्तानीसंग सम्बन्ध बढाएको रहेछ र प्रेमप्रेमिकाको रुपमा विचरण गर्न आएका रहेछन् नेपाली चोकमा । ठिक त्यसै वेला महिलाको पुर्व प्रेमी आफ्नो साथीहरुसंग पार्कमा भलिबल खेलिरहेका थिए । यसैवेला वल उफ्रेर नेपाली पार्कमा विचरण गरिरहेका जोडिलाई लागेछ ।

वल लिन जाँदा नेपाली केटाले आफ्नो पुर्ब प्रेमिकालाई पाकिस्तानी नागरिकसंग देख्यो । जब नेपाली केटाले आफ्नो पुर्व प्रेमिकासंग नेपाली भाषामा केही वोलेको हुन्छ तब पाकिस्तानी केटाले आफ्नो प्रेमिका अरु कोहिसंग वोलेको सहन सक्दैन । नेपाली केटासंग क्रोधित हुन्छ तब आफ्नै पुर्व प्रेमिकालाई आफुवाट खोसेको झोंकमा नेपाली केटाले रिस पोख्छ । पाकिस्तानी केटा रक्ताम्य हुन्छ तब केटीले पुलिस बोलाएको रहेछ ।

हामी भन्छौं, दोषी न महिलाको हो, न पुरुषको । दोषी त त्यहाँ नेपाली देखियो । शिर त त्यहाँ नेपालीको झुक्यो । कुनै महिला वा पुरुषको होइन ।

झगडा हेर्न त्यहाँ नेपालीहरुको भिड लागेको थियो । नेपालीहरुको भिडमा कुनै महिलाको आवाज सुनियो, `हामी महिलाहरु नै ठिक छैनौं । दुई दुईवटा केटा च्यापे यस्तो नभएर कस्तो हुन्छ ? महिला ठिक ठाउँमा बस्न सक्नुपर्छ ।´ यसो टाउको घुमाएर हेरेको नेपालीहरुको विचमा चिरपरिचित चटपटेवाली चेली रहेछ । उ सधै नेपाली पार्कमा `चट्पटे खानु हुन्छ ?´ भनेर सोधिरहन्छ । उसले महिला भनेर महिलाको समर्थन गरेन । दोषी उनै महिलालाई देखाए । तर हामी भन्छौं, दोषी न महिलाको हो, न पुरुषको । दोषी त त्यहाँ नेपाली देखियो । शिर त त्यहाँ नेपालीको झुक्यो । कुनै महिला वा पुरुषको होइन ।

दृश्य न. २
नेपालीहरुको गतिबिधी नियाल्न कि क्यारिफर नजिकैको लव डाँडामा पुग्नुपर्छ, कि त्यहि नजिकै रहेको अल गुवैवा मेट्रो पार्क माथिको साइकल पार्किङमा तहलिनु पर्छ । साइकल पार्किङमा तहलिरहेको वेला पौने चार बजेतिर हामीले कसैको कर्कश आवाज निकालेर बाझिरहेका सुन्यौं । बिस्तारै रमिता हेर्ने नेपालीहरुको भिडले उनिहरुलाई घेर्न थाल्यो । दृश्यमा अबरोध पुगेपछि हामी पनि त्यसै भिडमा नपसी भएन ।

त्यहाँ दुई महिला लुछालुछ गरिरहेका थिए । विचमा एउटा पुरुष खडा थियो । पछि दुवै तर्फका साथीहरु मिलेर छुट्टाए । विचरी लुरी ज्यान भएको महिलाको चुल्ठो उखेलिएर उसको दायाँ पुन्पुरो कसो रित्तै नभएको । उसको एक मुठ्ठा चुल्ठो पार्कको दुवोमा लत्रीएको थियो ।

उनिहरु बाझ्दै थिए । मोटी ज्यानको महिलाले भनिरहेको थियो, `अर्काको बुढालाई आँखा लाउछेस ? बुढालाई पठाएको सवै म्यासेज हेरिसकेको छु । तिमी अरु केटा पाएनौं, मेरै बुढालाई फसाउन खोज्ने ?´

मलाई थाहा भयो, मोटी महिलाको लोग्नेसङ्ग त्यो लुरी केटी लागेको रहेछ ।

`मलाई के भन्छस ? तेरो बुढालाई भन न । उ आफै मेरो पछि लाग्या हो । पहिला तेरो बुढालाई ठेकान लगाएर मसङ्ग कुरा गर ।´ लुरीले भनेको सुन्यौं ।

पछि थाहा भयो, बाझिरहेका दुई महिलाको विचमा उभिएको पुरुष उहीँ पुरुष रहेछ, जसको निम्ति उनिहरु लुछालुछ गरिरहेका थिए । मान्छे चालीस उभो लागेकै मान्छे थियो उ । लाग्छ, उसको नातिनातिनाको सुख भोग्ने उमेर पनि भईसक्यो ।

दृश्य नं. ३
हप्ते बिदा जहाँ प्रायः सवैको बिदा हुन्छ । जसै दिन ढल्किदै जान्छ, एकातिर सुरु हुँदै थियो बोतलको खेती । ग्रुप ग्रुपमा वसिरहेका थिए युवायुवतीहरु संगै । हामी पनि निकै चाख मानेर निहालिरहेका थियौं ति दृश्यहरुलाई । यसै क्रममा मेट्रो स्टेशनको पार्कमा ठडिएका किल्लाहरुको आडमा बसिरहेका केहि जोडिहरु जहाँ पाँच छ जनाको ग्रुपमा ध्यान गयो ।

घाम अस्ताईसकेको र रात पर्न थालिसकेकाले धमिलो छायाँमा पानीका बोतल जस्तै देखिने केहि बोटलहरु खोलिए । साथमा कोक र पेप्सिका वोटलहरु पनि खोलिए । यो दृश्य निकै नै चाख लागेर होला, हामी नजिकै पुग्यौं । त्यहाँको दृश्यले हाम्रो ध्यान केन्द्रित गर्यो । डुल्ने वाहनामा नजिकै पुग्दा त्यो चिज मदिरा रहेछ । केहीछिन पछी मातिएका युवायुवतीहरु विच तानातान र हात हालाहालको स्थितीमा पुगे । कोलाहल मच्चिंदा त्यहाँ मानिसहरुको भिड लाग्यो । त्यस भिडको छेउमा कोहि वोलेको सुन्यौं, ‘नेपाली लोग यैसे है ।‘ उसको अनुहारमा हेरेको, उ गैर नेपाली थियो । आखिर बदनाम कस्को ? नेपालीको ।

दृश्य नं. ४
आजको छुट्टी सकिएसंगै भोलीपल्ट फेरि नुनको सोझो गर्नु नै थियो तर सधै हतार हतारमा फर्कने हामी त्यो दिन चिनजानका मान्छेहरुसंग भलाकुसारी गरिरहँदा अलि ढिला हुने भयो । झण्डै रातको ८:३० बज्न थालिसकेको थियो । सबै मानिसहरु नेपाली पार्कबाट लगभग निस्कीसकेका थिए । हामी पनि निस्कने तरखरमा थियौं । निस्कनै खोज्दा झट्ट हाम्रा आँखाहरु चौरमा यत्रतत्र फिंजारिएर रहेका र दिनै भरि मानिसले खाएका फोहरमा पुगे ।

अझै हामीले सभ्यता राम्रोसँग सिक्न बाँकी रहेछ भन्ने कुराको बोध गरायो उक्त दृश्यहरुले । हामी नेपाली बन्न सिकौं र अशल नेपाली बनेर आफ्नो सभ्यताको परिचय दिऔं । हामी यति नै भन्न सक्छौं ।

हरेक ठाउँमा पानीका बोटल देखि कोकाकोला र उनीहरुका फाल्तु चीज फ्याँकीएका थिए, जहाँ हरेक स्थानमा बिभिन्न पम्पलेट र डस्टबिन राखिएका छन् भने यस्ता सार्बजनिक ठाउँमा यस्तो हबिगत देख्दा मन त दुख्यो नै साथै हामीले बिदेशमा आएर यहाँको बास्तविक पृष्ठभुमि त झन नबुझेको भान भयो । हरेक चिजका लागी स्थान तोकिंदा हामी ती चिज थाहा पाएर पनि कति लाचार र बेसरम हुँदै यत्रतत्र फ्याँकीरहेका हुन्छौं ।

नेपालीहरु विदेश आएर जुन कुरा सिक्नु थियो, कम सिके जस्तो तर जुन कुरा सिक्न जरुरत थिएन, केहि बढी सिके जस्तो ।जस्ले हाम्रो नेपालीहरुको सभ्यता र अनुशासनलाई दुनियाँको अगाडी दज्जी उदाएको भान भयो । नेपालीहरु विदेश आएर जुन कुरा सिक्नु थियो, कम सिके जस्तो तर जुन कुरा सिक्न जरुरत थिएन, केहि बढी सिके जस्तो । अझै हामीले सभ्यता राम्रोसँग सिक्न बाँकी रहेछ भन्ने कुराको बोध गरायो उक्त दृश्यहरुले । हामी नेपाली बन्न सिकौं र अशल नेपाली बनेर आफ्नो सभ्यताको परिचय दिऔं । हामी यति नै भन्न सक्छौं ।

१९ पुष २०७४ मा

(पहिले प्रकाशित सामाग्रीलाई फेरी अद्यावधि गरेर पोष्ट गरेका छौ) 

१९ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको