राष्ट्रपतिकालागि गाडी किन्न भीख माग्दा कति उठ्यो ?


मंसिर १६ , काठमाडौं ।  राष्ट्रपति विद्या भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको विरोधमा केही दिन अगाडि एक हुल युवाहरु पशुपतिमा एक रुपैयाँ भिख माग्दै हिँडेका थिए । उनीहरुले अहिलेसम्म कति पैसा उठाए र त्यो पैसा के भयो होला भनि सोधखोज गर्दा पत्ता लाग्यो, राष्ट्रपतिका लागि नमूना गाडी तयार भइसकेको रहेछ ।

चन्दा उठाएर नमूना गाडी बनाउने व्यक्ति र समूहको नाम तत्काललाई गोप्य राखिएको छ । तर, यसमा तिनै युवा संलग्न छन्, जो केही दिन अगाडि राष्ट्रपतिका लागि भनेर पशुपतिनाथ मन्दिर परिसरमा भिख मागिरहेका थिए ।

भिख माग्ने समूहका एक सदस्यका अनुसार उनीहरुले एक-एक रुपैयाँ मागेर २३ सय रुपैयाँ संकलन गरेका छन् । त्यही रकमबाट नमूना गाडी बनाएर राष्ट्रपति भण्डारीलाई पठाउन लागिएको उनले बताए ।

‘राष्ट्रपतिलाई दिनका लागि हामीले स्वदेशी डमी गाडी बनाइसकेका छौं । त्यो छिट्टै सार्वजनिक पनि गर्छौं,’ उनले भने ।

राष्ट्रपतिलाई दिने डमी गाडी पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको सहयोगमा निर्माण गरिएको हो ।

यो समूहमा करिब १८ जना सक्रिय छन् । सबै जनाको केही न केही पेशा व्यवसाय छ । उनीहरु आफैले रकम संकलन गरेर बिभिन्न गतिविधि गर्दै आएका छन् । यही समूहले बिहीबार बिहानै काठमाडौं, ललितपुर र भक्तपुरका सार्वजनिक स्थानहरुमा निर्मला पन्तको तस्वीर अंकित पोस्टर टाँसेको छ । पोस्टरमा लेखिएको छ- सरकार भेटियो, न्याय भेटिएन ।

यो व्यंग्यवाण प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलप्रति लक्षित छ । हालै सामाजिक सुरक्षा योजना लागू गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टर र ब्यानर सार्वजनिक स्थानहरुमा टाँसेर ‘नयाँ युगको सुरुवात’ भएको प्रचार गरिएको थियो ।

सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकार कहाँ छ भन्नेहरुलाई जवाफ दिन यस्तो शैली अपनाइएको बताउँदै अब जता फर्कियो त्यता सरकार देखिने अभिव्यक्ति दिएका थिए ।

१६ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको