दु:ख र बेदना पोख्ने चौतारी हो तिज


आजकै दिन देखि प्राय: टाढा पाई हुने चेलिबेटीहरुलाई माइतीघर ल्याउने र जाने क्रम शुरु हुन्छ । हामीले हरेक बर्ष सुन्ने गरेका छौं र देखि रहेका पनि छौं, कुनै चाडपर्ब र सस्कृतिको नामसंग जोडिएर कुनै पनि अप्रिय घटनाहरु नदोहोरियोस् । हाम्रो देश धर्म संस्कृतिको धनी राष्ट्र हो । त्यही कुराले बिस्वमा परिचित पनि छ तर सँस्कृतिको नाममा अनेक बिकृती विसंगतिहरु हाबी हुँदै गएको हामीले देखिरहेका छौं । कतिपय समाचारहरु सुन्नमा आउँछ कि, कहीं कतै तीजमा चेली लिन गएको माइतीको हत्या भयो, कतै चेली लिन गएको माइतीबाट चेली मारिएको, बलत्कृत भएको । कतै दाइजो त कतै धन पैसाको कुराहरुसंग जोडिएर महिला हिँसाका घटनाहरु घटिरहेका छन् ।

म कसैको माइती, कसैको श्रीमती, कसैको छिमेकी र कसैको बुहारी र खासमा एउटा नेपाली चेलि भएकोले नै आजको बिशेष दिनमा यो प्रसङ्गलाई उठाउन खोजिरहेकी छु । म दाजुभाईहरुलाई मात्र दोष लगाउन खोजेको पनि हैन । हामी चेलिबेटीहरु पनि धेरै कुराहरुमा सजग र सचेतता अपनाउन जरुरी देखिन्छ । कयौं बिकृतिहरुलाई जान अन्जानमा हामीले नै बढवा दिइरहेका छौं ।आधुनिक फेसनको मोहमा दगुर्ने क्रममा हामीले नै हाम्रो सस्कृतिलाइ कुल्चिरहेका पो छौ कि ? यता तर्फ पनि हाम्रो ध्यान जान जरुरी छ । साँझ बिहान छाक टार्न सक्ने हाम्रो स्थिति छैन, बालबच्चा भोक तिर्खाले अत्तासिएर रोहिरहेका हुन्छन् । तर त्यो बिर्सिएर हामी तिजको बेला अरुको देखासिखि गर्दै महंगा गहना र कपडाको पछि दौडीन्छौँ । हामिले त्यो बानी अब सुधार्नै पर्छ ।

हामी एक दिनको तडक भडकको लागि आफन्त गुमाउछौँ, खुसी गुमाउछौं र आफ्नो अस्तित्व गुमाउन समेत पछि नपरेको यथार्थहरु हाम्रै अगाडी कयौं उदाहरणहरु छन् । तसर्थ हाम्रो पुर्खादेखि चलीआएको रितिलाइ हामी नभुलौं । बरु त्यसलाई समय परिस्थिति अनुरुप परिमार्जन गर्दै लौजाऔं । हामी सक्छौं, यस भित्रका बिकृती फालौं । यसलाई हामी भन्दा पछि आउने पुस्तालाई सभ्य तरिकाले हस्तान्तरण गर्नुपर्छ । तर आज हामिले आफ्नो सस्कृती जगेर्णा गर्ने बाहनामा तडक- भडक र छादा प्रवृत्ति देखाउदै गयौं भने भोलिको पुस्ताले हामीबाट कस्तो शिक्षा पाउलान ? हामीबाट कस्तो सस्कृती सिक्लान ? त्यसकारण हामीले आफूसंग जे छ, त्यहि कुराहरुलाई आत्मासाथ गर्दै खुसी साथ तिज मनाउनुपर्छ ।
गरगहना र खानपिन भन्दा पनि सबै आफन्तहरु र एकआपसमा आत्मियता बढाउने अवसर हुन यस्ता चाडपर्वहरु । सानैमा मेरो आमा र फूपू दिदीवाट सुनेको कुरा आज पनि याद आइरहेको छ । बर्षभरि भेट नभएका आफन्तहरु कहा छन् ? के गर्दै छन् ? कस्तो अबस्थामा छन् ? भनेर जान्ने बुझ्ने माध्यम पनि हो रे तीज । अनि बर्षादको समयमा मनाइने यो पर्वलाई यसरि पनि गरिन्छ रे, बर्खाको बाढी- पहिरो र अनेक प्रकृतिक प्रकोपहरुबाट पार गरियो, बाँचियो । केही दुर्घटनामा परिएन भनेर खुसी बाँड्ने एउटा मध्यम पनि हो रे तीज । कहीं कतै आफन्ता इष्टमा परेको दु:ख साट्ने र बेदना पोख्ने एउटा चौतारीको रुपमा चिनिन्थ्यो रे तीज । आज पनि हामीले त्यही सोचाईं लिएर अगाडि बढ्नु पर्दछ ।

आज को युगमा केही परि आएमा तिजनै कुर्नु पर्छ भन्ने त हुँदैन । सामाजिक संजाल र इन्टरनेटको दुनियाँ छ । यदपि हामी आफ्नो कला र सस्कृती बचाउन सकेनौ भने हामी आफ्नै अस्तित्वको रक्षा गर्न असमर्थ हुनेछौ । तसर्थ सम्पुर्ण नेपालीले हर कुनै चाडपर्व र कला सस्कृतिलाई मागी खाने भाँडो नबनाऔं । यो हाम्रो पुर्खौली सम्पती हो । यसलाईसभ्य र भब्य बनाउने हाम्रो कर्तब्य र दाइत्व हो । त्यसैले आउनुहोस्, महिलाहरुको महान चाड हरितालिका तिजलाई सबै मिलि अनुशासित, मर्यादित र शालिन तरिकाले भब्य र सभ्य रुपमा मनाऔं ।

१७ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको