भदौ १७, सुर्खेत । कर्णाली प्रदेशका नागरिकले सिटी स्क्यान सेवा लिनकै लागि नेपालगञ्ज वा नीजि अस्पताल धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँले असोज देखी सिटी स्क्यान सेवा संचालन गर्ने भएपछि विरामीहरुलाई बाहिर धाउनु पर्ने बाध्यताको अन्त्य हुने भएको छ ।
निरन्तर रुपमा सेवामा अब्बल बन्दै गरेको क्षेत्रीय अस्पतालले असोज १ गतेदेखी सिटी स्क्यान सेवा शुरु गर्ने भएको छ । अस्पतालले हाल नयाँ भवनमा सिटी स्क्यानका लागि आवश्यक संरचनाहरु बनाई रहेको छ ।
स्वास्थ्य सेवा विभागले सिटी स्क्यान मेशीन दिए पछि संरचना निर्माण कार्य अन्तिम चरणमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल रेकर्डर अधिकृत विनोद बस्नेतले बताए ।
अस्पतालले स्वास्थ्य सेवा विभागको सहयोगमा मेशीन सुर्खेत ल्याइसकेको छ । ‘मेशीन अस्पतालको नयाँ भवनमा राखिसकेका छौं र असोज देखी सेवा संचालन गर्ने गरी काम अन्तिम चरणमा भईरहेको छ ।
अस्पतालले सिटी स्क्यान सेवा संचालनका लागि सिटी स्क्यान कोठमा प्रयाप्त पानी, विद्युत लगायतका संरचनाका लागि आवश्यक संरचना निर्माणार्थ झण्डै २० लाख रकम खर्च गरिसकेकोे’ बस्नेतले बताए
‘टाउको सम्वन्धी विरामी तथा दुर्घटनाका घाइतेहरुले सिटी स्क्यानकै लागि नीजि अस्पताल वा बाहिर जानु पथ्र्यो’ बस्नतेले थपे, ‘अस्पतालले नै मेशीन भित्राएपछि उपचारकै लागि अब बिरामीहरुले बाहिर धाउने पर्ने बाध्यताको अन्त्य भएको छ ।
अस्पतालले सिटी स्क्यान गर्ने विरामीहरुको प्रकृति हेरेर शुल्क निर्धारण गरेको छ । अस्पताल विकास समितिले उपचारको प्रकृति हेरेर अस्पतालले बिरामीहरुबाट कम्तीमा तीनहजारदेखी पाँचहजारसम्म शुल्क लिने निर्णय गरेको बस्नतेले बताए ।
अस्पतालमा सिटी स्क्यानका लागि यस अघि नै दरवन्दी कायम गरेको थियो । उक्त दरवन्दीमा रेडियोजोलिष्ट डा. रविन खड्का कार्यरत थिए । हाल डा.खड्का काजमा भरतपुर अस्पताल चितवनमा मेडिकल सुपरिटेण्डन्ट पदमा कार्यरत रहेका छन् ।
‘अस्पतालले नयाँ दरवन्दी माग गरेर सेवा शुरु गर्ने तयारीमा रहेकोले अस्पतालले केन्द्रीय र प्रदेश सरकारलाई तत्काल सिटी स्क्यान हेर्ने रेडियोलोजिष्ट डाक्टरको व्यवस्था गर्न मागसहितको पत्र पठाइसकेको बस्नेतले बताए।
प्रतिक्रिया दिनुहोस