काठमाडौंका ६ स्थानमा सुरु भयो फ्री वाईफाई, यसरी चलाउनुस वाईफाई


भदौ १७, काठमाडौं । काठमाडौंको हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्री वाइफाइ सेवा सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाइसधारा उद्यान र शंखपार्कमा फ्री वाइफाइ सेवा सुरु गरेको हो ।

वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सेवाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौंको मुख्य ६ स्थानहरुमा फ्रि वाइफाइ सेवा सञ्चालनमा ल्याइएको बताए ।

पशुपतिनाथ मन्दिर आसपासमा २०० देखि ७०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाईको मजा लिनसक्नेछन् । पशुपति क्षेत्रमा ११ एक्सेस प्वाइन्ट राखिएकाे छ । बौद्धमा ४ वटा एक्सेस प्वाइन्टबाट २५० देखि ५००, शंखपार्कमा २ वटा एक्सेस प्वाइन्टबाट ५० देखि २०० प्रयोगकर्ताले एकैपटक फ्रि वाईफाई चलाउन सक्नेछन् ।

बालाजुमा ७ एक्सेस प्वाइन्टबाट २०० देखि ७००, स्वयम्भूमा ५ वटा एक्सेस प्वाइन्टबाट २०० देखि ३०० र बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा ९ वटा एक्सेस प्वाइन्टबाट ३०० देखि ५०० प्रयोगकर्ताले फ्रि वाईफाईको उपभोग गर्न सक्नेछन् । सबै क्षेत्रमा १० एमबिपिएस स्पिड दिइएको छ ।

महानगरपालिकाले सार्वजनिक उत्तरदायित्व अन्तर्गत विज्ञापनरहित हुने गरी वल्र्ड लिंकसँग ०७४ चैत्र १८ गते काठमाडौंका विभिन्न महत्वपूर्ण सार्वजनिक तथा धार्मिक स्थलमा फ्री वाईफाई जडानका लागि सम्झौता गरेको थियो ।

६० दिनभित्रै फ्री वाईफाई सेवा जडान गर्ने भनिएपनि केही ढिला गरी थालिएको हो । महानगरका अनुसार वल्र्ड लिंकसँग ५ वर्षे सम्झौता गरिएको छ ।

यसरी चलाउनुस फ्री वाईफाई

सेवा जडान भएका क्षेत्रमा स्मार्ट फोन प्रयोगकर्ता पुगेपछि सिस्टमले नेटवर्क भएको नोटिफिसन पठाउँछ ।

यसमा थिचेपछि एउटा पेज खुल्छ । पेजमा नाम र मोवाइल नम्बर भर्नुपर्छ । वल्र्ड लिंकका कार्यकारी निर्देशक विजय जलानकाअनुसार यसरी विवरण भरिसकेपछि सिस्टमले मोवाइलमा एउटा कोड पठाउँछ ।

त्यो कोड भरिसकेपछि वाईफाई चलाउन सकिन्छ । सेवामा सवैको पहुँच पुगोस् र दुरुपयोग नहोस् भन्नका लागि प्रयोगकर्तालाई एक पटकमा ३० मिनेट समय दिइनेछ । ३० मिनेट पुगेपछि सिस्टमले उसलाई त्यसदिनका लागि कनेक्सन हुनबाट रोक्नेछ । तर, उसका लागि अर्को एक्सेस प्वाइन्ट भने खुल्ला नै रहनेछ ।

महानगरको सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाका अनुसार एक जना प्रयोगकर्ताले एकै दिनमा एउटै डिभाइस (फोन वा ल्यापटप) बाट सेवा लिँदा दोश्रो पटकदेखि इमेल ठेगानासमेत उपलब्ध गराउनु पर्नेछ । सुरक्षाका दृष्टि यसो गरिएको महानगरले जनाएको छ ।

१७ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको