दाङमा पुस २३ बाट विमान चलाउन प्राविधिक तयारी सुरु :सुरुमा समिट एयरले सेवा दिने


१८ पुस, तुलसीपुर । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हवाइ सेवा सञ्चालनका लागि प्राविधिक तयारी सुरु भएको छ । पुस २३ गते विमान सेवा सञ्चालन गर्ने गरी नेपाल नागरिक उड्ड्यन प्राधिकरणले प्राविधिक तयारी सुरु गरेको महाप्रवन्धक सन्जिव गौतमले जानकारी दिए ।

कर्मचारीलाई तत्काल दाङमा गएर काम गर्नका लागि आदेश दिइसकेको जानकारी उनले दिए ।

‘प्राधिकरणका तर्फबाट कुनै पनि समस्या छैन, हामीले पुस २३ गते उडान भर्ने गरेर तयारी अगाडि वढाइसकेका छौं,’ उनले भने । उनले पहिले पनि उडान भरिरहेको ठाउँ भएकाले पनि खासै त्यति समस्या नहुने समेत बताए ।

प्राधिकरणले तत्कालका लागि नेपालगञ्जबाट कर्मचारीहरु पठाएर केही दिनमै काम सुरु गर्ने र विस्तारै दीर्घकालिन रुपमा कर्मचारी व्यवस्थापन गर्ने प्राधिकरणका निर्देशक टेकराज पोख्रेलले बताए ।

‘अहिलेलाई नेपालगञ्जबाट कर्मचारी पठाएर काम सुरु गर्न लागेका छौं,’ उनले भने ।

दाङमा विमान सेवा सञ्चालन हुन सके पहाडि क्षेत्रमा पनि उडान भर्न सजिलो हुने भएकाले प्राधिकरणले टरिगाउँ विमानस्थलमा जहाज चलाउने कुरालाई प्राथमिकतामा राखेको समेत उनले जानकारी दिए ।

तत्कालका लागि नेपालगञ्जबाट इन्धन ल्याएर काम चलाउने गरी उडान सुरु हुन थालेको पनि निर्देशक पोख्रेलले बताए । उनले भने, ‘अहिलेलाई नेपालगन्जबाट ट्याङ्कर र बाउजर मार्फत इन्धनको आपूर्ति गर्ने गरी तयारी भइरहेको छ ।’

झापा र रामेछाप लगायतका विभिन्न ठाउँमा इन्धन डिपो विना पनि नियमित उडान भइरहेको भन्दै उनले इन्धन डिपोका कारणले उडान नरोकिने बताए ।

लामो समयदेखि दाङमा विमान सेवा सञ्चालनका लागि दौडधुपमा रहेका तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले एयरलाइन्ससँग पनि कुराकानी भइरहेको र उडानका लागि अन्य सबै पक्षसँग समन्वय भइरहेको बताए । उनले आपूर्ति मन्त्रालयमा भएको कुराकानी सकारात्मक भएको भन्दै इन्धन डिपोका लागि पनि तत्कालै निर्णय हुने विश्वास व्यक्त गरे ।

‘उपमहानगरले जग्गाको लागि पहल गर्ने निर्णय गरिसकेको छ, इन्धन डिपोका लागि पनि केही समस्या छैन,’ उनले भने । समिट एयरले उडान भरेको केही महिनामै नेपाल एयरलाइन्सले पनि उडान भर्ने गरी तयारी भएको पाण्डेले जानकारी दिए ।

तत्कालका लागि विमान सेवा सञ्चालन गर्न समिट एयर तयार रहेको र २३ गतेबाट दाङमा उडान भर्न सुरु गर्ने समिट एयरका सिइओ मनोज कार्कीले बताए । उनले १८ सिटे जहाजले काठमाडौबाट दाङ आउँदा इन्धन बोक्नुपर्ने भएकाले १६ जना र दाङबाट काठमाडौं जाँदा १८ जना यात्रु बोक्ने पनि उनले जानकारी दिए । ‘सुरुमा सातामा २ पटक उडान भर्ने र विस्तारै त्यसलाई बढाउँदै लैजाने छौं,’ उनले भने ।

धावनमार्ग कालोपत्रे नभएको कारण देखाउँदै विगतमा जहाज अवतरणका लागि एयरलाइन्सले अनुमति नदिएपछि स्थानीयहरुको पहलमा विमानस्थल कालोपत्रे गरिएको थियो । दाङबाट विमान सेवा सुरु नहुँदा विमान सेवा प्रयोग गर्ने पहाडी जिल्लासँगै यहाँका दर्जनौं यात्रुहरु भैरहवा र नेपालगञ्जको एयरपोर्ट प्रयोग गर्न वाध्य छन् ।

अनलाइन खबरबाट

२०७४ पुष १८ गते

 

१८ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको