पुँजीवादी व्यवस्थाले देशमा भ्रष्टाचार बढ्दै गयो: लोहनी


असोज १५, पोखरा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले अहिलेको राज्यसत्ता पुजीवादी व्यवस्था प्रणाली भएकै कारण देशमा भ्रष्टाचार, महङ्गी हत्या, हिंसा जस्ता घटना दिनप्रतिदिन बढ्दै गएको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला समिति कास्कीको संयोजनमा आज पोखरामा नेपाल पत्रकार महासघँको हलमा भएको मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पुजीवादी राज्यसत्ता छाडा हुने भएकाले पछिल्लो समय बालिकाहरु समेत दिनप्रतिदिन बलात्कृत हुने क्रम बढेको भन्दै जनअधिकारको लागि लिने वैज्ञानिक समाजवादी व्यवस्थाको आवश्यकता रहेको बताउनुभयो ।

अर्को प्रसंगमा नेता लोहनीले अहिलेका विग मिडियाहरु कर्पोरेट निगम पुजीवादबाट प्रभावित रहेको बताउनुभयो । ‘माओले भने झैं लुटेराहरुको राज्य साम्राज्यवादको भुमण्डलीकरण मिडिया क्षेत्रमा पनि प्रवेश गरेकाले मानवअधिकारलाई सिमिततामा संकुचित गर्न खोजिएको छ, नागरिकहरु बाच्न पाउने अधिकार, बोल्न, लेख्न पाउने अधिकार दिनप्रतिदिन खोसिदै गएका छन्, अझ शान्तिपूर्ण आवाजहरु बुलन्द गर्न पाएका छैनन्, लोहनीले भन्नुभयो यस्तो अवस्था धेरै दिन कैद गरिए जनताले विद्रोह गर्नुको विकल्प छैन उहाको भनाइ थियो ।’

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्यूरो सदस्य श्रीनाथ अधिकारी श्यामले माफिया र गिरोहहरुले राज्य सञ्चालन गरिरहेको अवस्थामा वर्गीय पक्षधरता हुने भन्दै एक थरिलाई मात्र स्वतन्त्रता आएको बताउनुभयो ।

केपी ओली र हामीहरुले भनेको मानवअधिकार एउटै नभएको बताउदै उहाँले आफूहरुले भनेको मानवअधिकार श्रमजीवि वर्गहरुको हो, त्यसैले विप्लव नेतृत्वका नेकपाका मान्छेहरुलाई अहिले भूमिगत हुन राज्यले बाध्य पारेको बताउनुभयो ।

त्यस्तै उच्च अदालत बार एशोसियसनका अध्यक्ष रोहित बास्तोलाले २०४६ सालको परिवर्तनपछि पनि अहिलेसम्म मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा खासै सुधार हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘२०४६ सालको परिवर्तनलाई आधार मान्ने हो भनेपनि ३० बर्ष वितेछ तर अहिलेसम्म मानवअधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अपेक्षित सुधार हुन सकेको छैन ।’

जिल्ला अदालत बार एसोशियसनका कास्कीका अध्यक्ष मुक्ति सापकोटाले संवैधानिक व्यवस्था अनुसार पनि मानवअधिकारको संरक्षण हुन नसकेको बताउनभयो । उहाँले भन्नुभयो –‘संविधानमा पनि राम्रो व्यवस्था छ, कानुन पनि बन्दै छ तर मानवअधिकारका घटनापनि उल्लंघन भईरहेको छ ।’

नेपाल पत्रकार महासंघका ४ नं. प्रदेशका सचिव रुद्र श्रीस मगरले मुलुकी ऐनबाट सिंगो प्रेस सशंकित भएको भन्दै पत्रकार महासंघ देशव्यापी आन्दोलित रहेको बताउनुभयो । मिडिया क्षेत्र आवाज विहिनहरुको आवाज बनाउन प्रेस स्वतन्त्रताको खाचो औल्याउदै यो अभियानले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले सरकारले ल्याएको भदौ १ गतेदेखि लागु हुने मुलुकी देवानी तथा फौजदारी ऐनमा आपत्ति जनाउदै खारेजीको माग गर्नुभयो ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बास्तोलाले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई राज्यले खोसेको देख्दा मुलुक झन् संक्रमणकालमा अलमलिरहेको बताउनुभयो ।

नागरिक समाजका सञ्जालका विष्णु बरालले जिम्मेवार हुने निकाय राज्य नै उदासिन भएकै कारण कानुनमा रहेको अधिकार पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सबै ठाउँमा भागबन्डा छ, तिनीहरु भ्रष्टको अखडा बनेका छन् अब तपाईहरु खुल्ला रुपमा सडकमा आउनुहोस्, सबै जनताको समर्थन साथ हुनेछ र आन्दोलनलाई अघि बढाउनु बाहेक अरु कही छैन ।’

क्रान्तिकारी पत्रकार सगठँनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन हिम बिष्ट र स्वागत अोम हमालले गर्नुभएको थियो ।

१५ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको