नयाँ वर्षमा किमको भाषण: परमाणु बमको बटन मेरै डेस्कमा जोडेको छु


एजेन्सी : उत्तर कोरियाका नेता किम जोङ्ग उनले नयाँ वर्षका अवसरमा शुभकामना दिने क्रममा एक पटक फेरि अमेरिकालाई धम्की दिएका छन् ।

नयाँ वर्षको शुभकामनाका क्रममा उनले परमाणु बमलाई लन्च गर्ने बटन सदैव आफ्नै डेस्कमा रहेको बताउँदै अमेरिकाले कहिल्यै युद्ध थाल्न नसक्ने दाबी पनि गरेका छन् ।

नयाँ सालको भाषणका लागि टेलिभिजनमा आएका किम जोङ्ग उनले पुरै अमेरिका उत्तर कोरियाको परमाणु हतियारको निशानामा रहेकाले यसलाई धम्की नभई वास्तविकता सम्झिन पनि आग्रह गरेका छन् ।

तर छिमेकी दक्षिण कोरियालाई लिएर किम केही नरम देखिएका छन् । उनले भाषणका क्रममा दक्षिण कोरियासँग वार्ताका लागि आफूहरु तयार रहेको स‌ंकेत दिएका छन् ।

किमले फरक प्रसंगमा बोल्दै उत्तर कोरिया सोलमा हुन लागेको विन्टर ओलम्पिकमा टिम पठाउन सक्ने पनि उल्लेख गरेका छन् । उत्तर कोरियामाथि अहिले कयौँ पटक मिसाइल परीक्षण र परमाणु कार्यक्रमका कारण संयुक्त राष्ट्रसंघसहितले कडा नाकाबन्दी लगाएका छन् ।

विश्वका कयौँ देशले उत्तर कोरियासँग दुरी बनाएका छन् तर त्यसलाई कुनै प्रवाह नगरी उत्तर कोरियाले भूमिगतरुपमा ६ वटा परमाणु परीक्षण गरिसकेको छ ।

नोभेम्बर २०१७ मा उत्तर कोरियाले ह्वासोङ्ग-१५ मिसाइल परीक्षण गरेको थियो । यो मिसाइल ४,४७५ किलोमिटरसम्म पुगेको थियो । जुन अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा पनि १० गुणा धेरै टाढा हो ।

उत्तर कोरियाले आफूसँग लन्चका लागि तयार परमाणु हतियार रहेको जनाउँदै अन्तरराष्ट्रिय समुदायले हल्का लिएर गल्ती नगर्न पनि चेतावनी दिएको छ ।

नयाँ सालको अवसरमा दिएको भाषणमा किम जोङ्गले हतियारलाई लिएर आफ्नो नीतिमा फेरि जोड दिएका छन् । ‘उत्तर कोरियाले भारी मात्रामा परमाणु हतियार र ब्यालिस्टिक मिसाइल बनाउन जरुरी छ’, उनले भनेका छन्, ‘हामी हतियार बनाउने र देशमा तैनाथ गर्ने कामलाई तीब्र पार्दैछौँ ।’

किमले यस वर्ष दक्षिण कोरियासँगको सम्बन्ध सुध्रने विश्वास जनाएका छन् । सन् २०१८ उत्तर र दक्षिण कोरियाका लागि एक अहम साल भएको छ । उत्तर कोरियाले आफ्नो ७० वर्ष पुरा गर्दैछ भने दक्षिण कोरिया विन्टर ओलम्पिकको आयोजनामा जुटेको छ।

दुवै देशबीच तनाव रहेको अवस्थामा किमको यो अभिव्यक्तिलाई विश्वजगतमा अर्थपूर्णरुपमा लिइएको छ । किम जोङ्गले फेब्रुअरीमा हुने खेलमा ‘एक टीम पठाउने कुरामा बिचार गरिरहेको’ बताएका छन् । दक्षिण कोरियाले यसअघि नै उत्तरको यस्तो कदमको स्वागत गर्ने बताइसकेको छ।

‘विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिता देख्ने रहर पुरा हुने सम्भावना छ’, किमले भनेका छन्, ‘हामी काम गर्छौँ, यो खेल महोत्सव सफलतापूर्वक सम्पन्न होस् ।’

२०७४ पुष १७,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको