बलिउड अभिनेत्री राधिका आप्टेले आफ्नो पहिलो महिनावारीलाई लिएर रोचक खुलासा गरेकी छिन् । राधिकाका अनुसार पहिलोपटक महिनावारी भएको खुशीमा आमाले घरमा पार्टी दिएकी थिइन् ।
अक्षयकुमारको प्रदर्शनउन्मुख फिल्म ‘प्याडम्यान’ को गीत लन्चका अवसरमा बोल्दै उनले आफ्नो अनुभव सेयर गरेकी हुन् । उनलाई सोधिएको थियो, ‘महिनावारी र सेनिटरी प्याडलाई लिएर उनको घरमा कस्तो माहोल छ ?’
आप्टेका अनुसार उनको परिवारमा सबैजना डाक्टर भएकाले कुनै रुढिवादी कुरा हुँदैन । यी कुराहरुका बारेमा आफूलाई पहिल्यै जानकारी भए तापनि पहिलोपटक महिनावारी हुँदा आफू निकै रोएको उनले बताइन् ।
‘आफ्नो बदलिएको शारीरिक अवस्थाका कारण म निकै डराएकी र रोएकी थिएँ, तर आमाले मलाई हौसला दिनुभयो,’ उनले भनिन् ।
आप्टेले अगाडि सुनाइन्, ‘म पहिलोपटक महिनावारी भएको उपलक्ष्यमा आमाले घरमा ठूलो पार्टी आयोजना गर्नुभएको थियो, जहाँ हाम्रा आफन्त र साथीभाईहरु आएका थिए । मलाई एउटा महंगो घडी र अन्य थुप्रै उपहारहरु प्राप्त भएका थिए ।
सेनिटरी प्याड किन्न जाँदा
महिनावारी भएपछि सेनिटरी प्याड किन्न सुरुमा आफूलाई निकै हिच्किचाहट भएको अनुभव पनि उनले सनाइन् ।
‘सुरु सुरुमा आमाले किनिदिनुहुन्थ्यो, तर एक दिन सोचेँ कि आफैं किन्नेछु । त्यसपछि म पसलमा गएँ । तर, कुनै शब्द निस्केन मुखबाट । निकै बल गरेर मैले ठूलो आवाज निकालेर सेनिटरी प्याड मागेँ । त्यसपछि भने कुनै संकोच लागेन,’ उनले भनिन् ।
२०७४ पुष १६ गते प्रकाशित
प्रतिक्रिया दिनुहोस