दियो त मात्र केवल खाडी मुलुकको भिसा दियो


पृथीछक बुढा मगर
स्थानिय चुनाव सकियो । अब फेरि प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदै छ । दलहरु अहिले जनताको घर आँगनमा पुगेका होलान् भर्खरै सकिएको तिहारको झझल्को दिने देउसी भैलो खेले झैँ । सपनाको खेती गरिरहेका होलान् । योजनाको चाङ लगाउदै होलान । यो दिन्छौं, त्यो दिन्छौं भन्दै भट्याईरहेका होलान् । तर किन हो, मलाई त मन देखि नै बिश्वास छैन ।
बिश्वास किन होस् ? नेपाली जनताले धेरै चुनाव देखिसकेको छ । चुनाव पछि धेरै सरकारहरुलाई भोगिसकेको छ । अन्ततः प्रश्न उहीँ उठिदिन्छ, आखिर नेपालमा चुनावले के दियो जनतालाई ? यदि सरकारले चुनाव गराईरहनु र जनताले विकल्प विनाको उम्मेदवारहरुलाई भोट दिनु परेको एउटा बाध्यतालाई लोकतान्त्रिक मुल्य र मान्यताको अर्थमा बुझिदियो भने वरु लोकतन्त्रको विपक्षमा मत दिन्छु ।  जनताले चुनाववाट चाहेको शान्ति र आर्थिक उन्नति हो ।
केही नेताहरुको आर्थिक हैसियतको ग्राफ उकालो लाग्यो, देखिएको त्यही हो तर जनतामा आंशिक वाहेकका परिवर्तन कहिलै ल्याउन सकेन आजसम्मको आन्दोलन र चुनावले । जनताले राजाको श्रीपेचको छायां पनि तापेकै हो । राप्रपाको गाई पनि पालेकै हो । काङ्ग्रेसको रुख पनि हेरेकै हो । एमालेको घाम पनि तापेकै हो । नेपाली किसानले माओवादीको हसिया र हथौड़ा पनि चलाएकै हुन् । नयाँ शक्तिको आँखाले पनि डा. भट्टराईको प्रधानमन्त्री कालमा देखे जत्तिकै हो । वलै त्यतिखेर उनको हातमा हसिया हथौड़ाको औजार थियो । अघिल्लो स्थानीय चुनावमा रविन्द्रको नयाँ कोट वजारमा आएको कुरा हल्ला चलेको थियो । कोट लासाको परयो कि खासाको ? नयाँ कि पुरानो ? नेपाली हावापानीमा मेल खान्छ कि खादैन ? तर वजार पाउन चाहिँ सकेन । हावापानी अनुसार चिसो भुगोलमा वाक्लो कोट चाहिन्छ । गर्मी भुगोलमा पातलो कोट उपयोगी हुन्छ, रविन्द्र प्रोडक्शनले यो बुझेको छ कि छैन ।
अहिले रविन्द्रको हातमा तराजु देखेको थिएँ । जनताको दु:ख सुख कति नाप्न सक्छ ? इतिहाँसको गर्वमा होला तर आशा र भरोशा भने छैन । नेपाली जनताले धेरै खरानी घस्ने नयाँ नयाँ जोगीहरुलाई देख्दै आएको हो ।
रुखले बेलायतको जस्तो हावापानी नेपालमा मेल खाने वकालत गर्न थाक्दैन । घामले चिनको जस्तो हावापानी नेपालको लागी सुहाउँदो हुन्छ भन्ने धारणा राख्छ । त्यसैले बेलावखत चिनियाँ कार्ड प्रयोग गर्न खोज्छ । हसिया हथौड़ाले माओकालिन र लेनिन, स्टालिनकालिन हावापानी नेपालमा मेल खाने धारणा राखेर युवाहरु मोर्चामा उतारेकै हो । उसको हसिया र हथौडा कति धारिलो रहेछ भन्ने कुरा उसले तिन पटक सरकारको नेतृत्व गर्दा नै देखिसकेको हो जनताले । नयाँ शक्तिको आँखाले पनि शिकारी बाजको जस्तो दुरदृष्टि आँखाले नेपाली बिबिधतालाई बुझ्न सकेन । इतिहासको यो कटु सत्यलाई नेपाली जनताले पक्कै भुलेको छैन । यद्यपि जनताले भोट हालिरहन्छ ।
भोट हाल्यौं । निर्विकल्प भोट । भन्छ, निर्वाचन प्रजातन्त्रको सुन्दर पक्ष हो । कहिलेकाही यो देशको प्रजातान्त्रिक प्रणालीलाई सोध्न मन लाग्छ, महोदय यो कस्तो प्रजातन्त्र हो जहाँ आफ्नै देशको सरकार चुन्ने अधिकारवाट हाम्रा चालिस लाख युवाहरुलाई पाखा लगाइन्छ ? उनीहरु पनि घर फिर्न चाहन्छन् । तर रोजीरोटीको सकस छ । बाध्यता छ । यिनिहरुलाई आफ्नै देशमा कसरी फर्काउन सकिन्छ ? बिदेशीको दासताबाट मुक्त गरेर कहिले आफ्नो माटोको मालिक वनाउन सकिन्छ ? अघिल्ला चुनावहरुमा कसैले यस बिषयमा सोच्नै सकेन । त्यसैले त भन्न मन लाग्छ, न कुनै घामले माम दियो, न कुनै रुखले छहारी दियो । न कुनै हसिया हथौड़ाले काम दियो । न कुनै कोटले ओत दियो, न कुनै आँखाले आफ्नै देशमा श्रम उत्पादनको कुनै विचार देख्यो । न कुनै तराजुले नै दुखियाको दु:ख नाप्न सक्यो । खोल्यो त केवल बेरोजगारी कम्पनी र देख्यो त केवल युवाले पठाएको रेमिट्यान्समा पालो फेरिफेरि रजाइँ गरिरहने सपना । त्यसैले प्रजातन्त्र र गणतन्त्रका चुनावहरुले दिए त मात्र केवल खाडी मुलुकको भिसा दिए ।
एकपटक सोचौं, हजारवार सोचौं, हामीले पटकपटक भोट हाल्यौं बदलामा हामीले के पायौं ? चुनावमा भ्रष्ट उम्मेदवार चुनेर तपाईंहरुले आफ्ना भावी सन्ततिहरुलाई बिदेशी गुलाम हुनवाट रोकौं । कसैले लोभ देखाउला । कसैले एक वोटल वियर र मासुभातको लालच देखाउला । लोभिनु हुँदैन । राज्य समृद्ध भए जनता आफै समृद्ध वन्छ । हामी समृद्ध भयौं भने हरेक छाक मासुभात खान पाइन्छ ।
१४ कार्तिक २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको