पोष्टपाटी/रौतहट
चुनावी सभाका लागि रौतहटको गरुडा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो पार्टीलाई सिध्याउन गिरोह नै सक्रिय भएको दाबी गरे । मधेसी जनताका लागि अन्तिमसम्म लड्ने घोषणा गर्दै उनले पीडितको मुद्दा माओवादीले मात्र उठाउन सक्ने जिकिर समेत गरे ।
कांग्रेस र एमालेको परम्परागत सोचले मधेसी जनताको अधिकार सुनिश्चित गर्न नसक्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । आफु मधेसीको अधिकारका लागि हरसम्भव लडेको दाहालले दावी गरे ।
बिगतलाई स्मरण गर्दै प्रचण्डले कांग्रेस र एमालेले आफ्नो टाउकोको मूल्य तोकेको कहिले पनि नर्विसिने अभिव्यक्ति दिए । अचम्म त के छ भने टाउकोको मूल्य तोक्ने तिनै काँग्रेसका नेता शेरबहादुर देउवा हालका प्रधानमन्त्री छन र उनकै गठबन्धन माओबादी पार्टी पनि सामेल रहँदै आएको छ ।
केही दिन अघि मधेसका जिल्लाहरु बाढीले क्षति भएपछी अनुगमन गर्न रौतहट आएका अध्यक्ष प्रचण्डले भारतीय सीमानामा रहेका बाँधहरु र पानी निकासका ढोकाहरु समयमै भारतीय पक्षले नखोल्दा नेपाली पक्षको ठूलो धनजनको क्षति व्यहोर्नुपरेको स्वीकार गरे । उनले दक्षिणी सिमानामा भारतले निर्माण गरेका बाँधका कारण तराई मधेसका अधिकांश भागहरुले वर्षायाममा ढुवानको कारण मधेशले बिपत्ती खेप्नुपरेको बताए ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘बाँधका ढोकाहरु समयमै खोलेको भए क्षति कम हुन्थ्यो, नेपाल सरकारले अविलम्ब भारतीय पक्षसँग कुटनीतिक वार्ता गरेर यसखालको समस्या भविष्यमा नआउने ग्यारेण्टी गर्नु पर्छ ।’
भारतले आफूलाई चाहिने बेला पानी खोल्ने र बाढीका बेलामा पानि बन्द गर्ने प्रवृतिले नेपाल र सिमावर्ती भारतीय सहरहरु पनि डुबानमा परेको उनको आरोप छ । ‘परराष्ट्र मन्त्रालय र भारतीय दूतावाससँग कुरा गर्दा पनि भारतीय पक्षले बाँधका ढोकाहरु समयमा नखोलिएकाले बाँध भत्कँदा उता (भारत)मा पनि क्षति भएको र नेपालीहरु पनि डुबानमा परेको पाइएको छ ।’
प्रतिक्रिया दिनुहोस