-पुर्णसिङ बम ठकुरी
राजधानीबाट कर्णालीको गाउँगाउँमा सिहंदरवार आउदै छरे भन्छन तर कर्णालीको छातीमाथि लत्रिरहने अधुरा जिन्दगीहरु अझै थकावट छन । म अहिले २३ बर्षको भए, कलिलो उमेरमै म जस्ता युवाहरुलाई थाक्दैछौ, कारण कर्णालीलाई अझै खेलबाड गरिदै छ र थकित बनाएको छ।
परिवर्तनका लागि संघर्षको इतिहास कितावका पानामा पढेको छु, पढ्दै म थाकी सकेको पनि छु। २००७ सालमा अन्त्य भएको राणा शासन पढेको छु। २०१७ देखि २०३६ हुदै २०४७ सालको कालो भनिएको संबिधान पनि पढेको छु, भलै कालो संबिधान भनिए पनि उक्त संविधानमा पनि कर्णालीको मुद्दा भेटेको छु।
२०५२ देखि २०६२ सम्मको जनयुद्ध त आँखाले नै देखेको छु, आफैले भोगेको पनि छु । कर्णालीको परिवर्तन भन्दै सबै भन्दा धेरै कर्णालीको बिज्ञापन जनयुद्धमा नै भयो भन्ने लाग्छ ।
घनिभूत युद्द चलिरहेको समयको उत्तरार्द्धमा नारायणहिटीमा घटेको २०५८ सालको राजदरबार काण्ड पनि देखे। त्यसैगरी २०६२/६३ सालको जनान्दोलन र त्यसकै संघारमा भेटिएको २०६४ सालको पहिलो संबिधान सभाको चुनाव भोगियो ! त्यो चुनावले गाउँका खाँटी क्रान्तिकारीहरुलाई शहर छिरायो।
२०७० सालको संसदीय चुनाव र त्यसको परिणामबाट २०७२ सालको संबिधान जन्मियो, त्यो अहिले भोग्दै छु र २३ बर्षमै थकित हुदैछु। खासमा नयाँ संबिधानले ल्याएको गणतन्त्र ब्यबस्थाले नै मलाइ थकित बनाएको भान हुदैछ। मलाई मात्र होइन देशबासीलाई नै त्यस्तो अनुभूत भयो होला।
कारण केहो भनेर छुट्याउन सकिरहेको छैन। कर्णाली उत्थानका नाराहरु सत्य युगमा रामायणमा ऋषिमुनिद्वारा राम लक्षमणलाई दिइएको उपदेशहरु भन्दा सुन्दर र अर्थपूर्ण छन् तर परिवर्तनका लागि भएको भयंकर बलिदानीबाट चाहेको जस्तो समाज भने अझै भेटिएन।
अहिलेको स्थानीय तहको चुनाव सम्म आउदा ‘गाउँगाउँमा सिहंदरबार’ भन्ने ब्यबस्था भोग्दै छु, र लाग्दै छ, राजा महाराजाहरु गाउँगाउँमा जन्माउने ब्यबस्था पो होकी? देशका राजनीतिक व्यापारीहरुलाई पेट पाल्न कुनै एनजीओ जस्तै लाग्छ मलाई यो स्थानीय तह पनि। यस्तो लाग्नुका कारण खोतल्न जरुरि छैन, कर्णालीका कुना कन्दराहरुलाइ नियालेर हेरे पुग्छ।
कर्णालीको दर्द भोग्नेहरू त थाके नै, चोलाहेर्नेहरु पनि थाक्ने छन्।
बरु कर्णालीका उत्थानका मुद्दाहरु, कसैको गोजीमा बाउको बिर्ता बनेका छन्, कसैलाई राजधानी सयर गर्ने राजमार्ग बनेका छन्। कसैलाई देश विदेश सयर गराउने जहाज बनेका छन्।
कर्णालीका युवाहरु चाकडी गर्न परदेश पसेका छन्। गाउँघर बृद्दहरुले धानेका छन्, कर्णालीका पाखाहरु बाँझो बन्दै छन्। यहिँ हो कर्णाली उत्थानले दिएको अन्तिम विकल्प, जो नचाहेर पनि कर्णाली बाँझो बन्दै छ। बाँझो कर्णालीमा राजधानीबाट बोकेर ल्याएको सिंहदरवार कस्तो हुन्छ सिधै अनुमान गर्न सकिन्छ!
कर्णाली सँग बिकाशको नाता छ तर एक नम्बरको होइन दुइ नम्बरी नाता छ । दूरदराजको कर्णालीलाई सौतेलो ब्यबहार गर्ने राज्यको पुरानो पहिचान हो। कर्णालीका सपनाहरू ओझेल परेको सताब्दीऔँ बितिसक्यो । सपनाहरु ब्युझने चाला अझै देखिन्न ।
सुन्दर सपना सबैले देख्छन, अझ पीडाको आहालमा डुबेकाहरुले झन धेरै देख्छन। अब सपनाको कुरा नगरौ होला। यहाँ सपना देख्यो भने तिनै सपनाहरु माथि बैरिहरु राजनीति गर्न थाल्छन, राजनीतिक हतियारको बुलेट बनाई हाल्छन। कर्णालीको समृद्दमा देखिने सपनाहरु राजनेताका बिज्ञापन हुन् । ति केवल चुनावमा काम लाग्छन, किनकि गरिवको सपना राजनीति गर्नेहरुको व्यापारिक बिज्ञापन रहेछ, जो लुट्न सजिलो हुन्छ।
कर्णालीले पहलवान नेता जन्माएयो तर ति सब्बै त्यहि काठमाण्डौका लागि भए। पहलवान कर्णालीका नेताहरुको गरिमामय पाइलोले थानकोटको डांडा काट्न मान्दैन। मानोस पनि कसरि कठै। कर्णालीको दर्द भुलाई सारा राजधानीको सुख सयरमा रमाउनेले पुनः दर्दको जिन्दगीमा बाँचोस पनि कसरि?
कर्महारा कर्णालीले सर्बहारा त जन्मायो नै तर हुतिहारा पनि जन्मायो भन्न मनलाग्छ। सर्बहाराको खास्टो ओढेर शहर पसेको हुतिहारा, सुखको मैदानबाट दुखको पहाड चढ्न जान्दैनन् हजुर।
कर्णालीका नेताहरुको राजनीतिक बेइमानी फेहरिस्त सुनाउन चाहान्न म । सुनाउ भने आफ्नैलाई उजाड पारे जस्तो हुन्छ। पिछडिएको भूगोल, पिछडीएको जाति, विकटताको क्षेत्रलाई ढाल बनाएर हुतिहाराहरुको जिन्दगीमा बाँच्नेहरु कर्णालीमा मात्र छैनन्, यो त देशका राज नेताको राजनीति हो । देशको राजनीति र ब्यबस्थानै त्यस्तै छ हुतिहारा नेताहरु जन्माउने ।
काठमाडौंमा नौ/नौ महिनामा सत्ता फेरिन्छ, कर्णालीमा १२ महिनामा भोकमारी फर्किन्छ! नौ महिने सिस्टमले कर्णालीका धेरै नेताहरु सभासद देखि मन्त्रीसम्म जन्माएको छ। नेता जन्माउन १२ मास कुर्नु पर्दैन ९ मास भए पुग्छ। यस्तो व्यवस्थाबाट कुन आशा गर्ने ?
कर्णालीबाट भर्खर महेन्द्र बहादुर शाही (क.प्रज्वल) उर्जा मन्त्री समाल्नु भएको छ। कर्णाली बासीको मुहारमा खुसीको कुरा त हो तर १२ महिना पछी फर्केर आउने भोकमरीले खुसि मनाउन दिदैंन।
कर्णालीका हरेक नेताहरुलाई थाहा छ, कर्णालीका मुहानहरु सित्तैमा बगीरहेका छन्। कर्णालीलाई बिकाश गर्नसके देशलाई नै आत्मनिर्भर बनाउन सक्ने क्षेत्र हो। भनिन्छ नि जहाँ अध्यारो हुन्छ त्यहाँ त्यहि अनुपातमा उज्यालो पनि भेटिन्छ।
हो कर्णाली आज धेरै अध्यारो छ, तर त्यसले अत्यधिक उज्यालो पनि दिने सामर्थ्य बोकेको छ। बिकासका लागि आधारहरु थुप्रै छन्। कर्णाली र अपर कर्णाली नदीनालाहरु यो देशकै मुख्य बिकाशका स्रोत हुन्। तिला एक र तिला दुई ठुला नदीहरु कर्णालीमा त्यसै बगिरहेका छन्।
नेपालमा चाहिने आबस्यक बिधुत भनेको १० हजार मेघावाट मात्र हो, जुन अपर कर्णालीले मात्रै प्रयाप्त हुनेछ, बाँकी नदीनालाहरु छिमेकी राष्ट्रहरुलाई प्रयाप्त मात्रामा बिक्रि गर्न सकिन्छ। यिनै नदीनालाहरुलाई उज्यालो नेपाल अभियान सँग जोडेर योजना बनाए सिङ्गो देशको उज्यालो त्यहीबाट प्रयाप्त हुनेछ।
प्राकृतिक सौन्दर्यताको खानी हो कर्णाली। प्रयटनका लागि प्राकृतिक सम्पदाहरुको खानि हो कर्णाली । राराकि अप्सरा र डोल्पा से-फोक्सुण्डो तालहरु त्यहि पर्छन। नेपालकै अग्लो पचाल झरना कर्णालीमा पर्छ, जो इतिहास देखिनै गुमनाम छ।
फलफूल खेतीयोग्य जमिन छ। अन्न उब्जनीको भरपुर आधार बोकेको जमिन छ। बिश्वकै महंगो जडिबुटी यार्सागुम्बा, गुच्ची च्याउ, हात्तिजरा, हिङ, सिलाजित, सतुवा पदमचाल्लो आदि बनस्पतिको भण्डार हो कर्णाली, यसको संरक्षण र ब्यबस्थापन हुनसकेको छैन।
बरु २०३२ सालको ठुलो भोगमरी बेलाबेलामा ब्युतिन्छ र कर्णालीलाई रुवाउछ । हरेकका जिन्दगीहरुलाई उठिबास पार्ने भोगमारी बर्सेनि आउछ। कुहिएको चामल खाएर बाँचेका जिन्दगीहरु त्यसै पनि थकित छन् । तिनीहरुको स्वास्थ्य स्थिति कस्तो हुन्छ भनेर सोध्न नमिल्ला, बरु स्वास्थ्य चौकीको अभावको कहानी सुनाउन सकिएला।
जङ्गल फडानी हुँदा मुहानहरु सुक्दै छन् र खानेपानी सिचाईको अभाव बढ्दै छ। शिक्षाको ब्यबस्थापन नहुँदा सामाजिक जीवन स्तर उठ्न सकेको छैन। सडक बिस्तारको मुख्य समस्या छदैछ।
कर्णालीको बिकाशको मुख्य आधार शिक्षामाथि आधुनिकता ल्याउन नसक्नुको आर्को मुख्य समस्या उस्तै छ।
सिंहदरवार बोकेर गाउँगाउँमा लानेहरुले अब सिहंदरबार जस्तो बनाउने बैज्ञानिक योजना के छ? अब अन्तिम परिक्षण हुदैछ।
पोष्टपाटी द्वारा सम्पादन गरिएको
प्रतिक्रिया दिनुहोस