जबज र माओवादको सिद्धान्त डिर्पाचर भइसक्यो :विकल्प दुवै सिद्धान्तको ‘फ्युजन’


काठमाडौं: वाम एकतासँगै जनताको बहुदलीय जनवाद (जबज) र माओवादको भविष्य के हुने भन्ने बहस सुरु भएको छ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारीले प्रतिपादन गरेको जबजको आधारमा एमाले अगाडि बढेको छ । अर्कातिर माओवादको जगमा नेकपा माओवादी केन्द्रले दश वर्षसम्म जनयुद्ध सञ्चालन गरेको थियो ।

विकल्प दुवै सिद्धान्तको ‘फ्युजन’

अहिले दुवै पार्टी एकताको चरणमा छन् । माओवादी जबज र एमालेले माओवादलाई स्वीकार गर्ने पक्षमा छैनन् । दुवै सिद्धान्तको ‘फ्युजन’ गरेर नयाँ सिद्धान्तको प्रतिपादन गर्नुपर्ने आवाज दुवै पक्षबाट उठेको छ । जबज अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्ति हो । अब नेपालमा अर्धसामन्ती व्यवस्था र अर्धऔपनिवेश समाप्त भएको छ ।

जबजले शान्तिपूर्ण ढंगबाट जनवादी क्रान्ति गर्ने भनेको छ । त्यसकारण जबजको सैद्धान्तिक आधार समाप्त भएकोे एमालेका उपमहासचिव धनश्याम भुसाल लगायतका नेता भनिरहेका छन् । माओवादले सशस्त्र क्रान्तिबाट जनवादी क्रान्ति पुरा गर्ने भनेको छ । माओवादीले सशस्त्र क्रान्तिको बाटो छोडेर शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । त्यसकारण ‘माओवाद’ को सैद्धान्तिक आधार सकिएको छ ।

माओवादी आफैँ ‘डिर्पाचर भइसक्यो

जबज र माओवादलाई वर्तमान परिस्थितिमा परिमार्जन गरेर नयाँ सिद्धान्तको प्रतिपादन गरेर एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवाज उठ्न थालेको छ । एमाले नेता शंकर पोखरेल माओवादी आन्दोलनको सान्दर्भिकता सकिएको बताउँछन् । उनी भन्छन्,‘माओवादी आफैँ ‘डिर्पाचर’ भएर नयाँ धारमा आएको छ ।’

जबज र माओवादको औचित्व सकियो

माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्की (राम कार्की) जबज र माओवादको औचित्व समाप्त भएर नयाँ चरणमा प्रवेश गरेको बताउँछन् । उनले अब नयाँ नीति र कार्यक्रम ल्याएर अघि बढ्नु्पर्ने बताए । नेता कार्कीले जबज र माओवादलाई सन्दर्भ समाग्रीका रुपमा लिएर नयाँ सिद्धान्त प्रतिपादन गरिने बताए ।

माओवादीका सैद्धान्तिक नेताका रुपमा परिचित कार्की समेत सामन्तवाद र औपनिविशेकवाद समाप्त भएको बताउँछन् । उनी भन्छन्, ‘राजतन्त्र गयो, समान्तवाद अवेशष मात्र बाँकी छ । मुलुकमा पुँजीवाद आयो, त्यसैले अतितका कुरामा अल्झिन जरुरी छैन ।’ उनले पुँजीवादी जनवादी क्रान्तिको दुई चरण रहेको बताउँदै अहिले मुलुक ‘क्रोनिक क्यापिटलिजम्’ को अवस्थामा रहेको बताए ।

कार्कीले अतितको कुरालाई वर्तमानको सेवामा लगाउनुपर्ने बताए । ‘वर्तमानलाई रोक्ने र अतितमा रुमलिने काम गर्नु हुदैन’, उनले भने । उनले पार्टी एकताको चरणमा रहेकाले तत्कालका कार्यनीति र दीर्घकालिन रुपमा नयाँ रणनीतिका साथ अघि बढ्नु पर्ने बताए ।

जबज र माओवादको विषयमा रुम्मलिन जरुरी नभएको बताउँदै भने, ‘बाजे किन मरे भन्दा पनि नातिले के गर्ने भन्ने कुरामा लागे मात्र ठीक ठाउँमा पुगिन्छ ।’

पार्टीको एकताको विषय नीतिगत कुरामा भन्दा विषयगत कुरामा ध्यान केन्द्रीत भएको कार्कीले बताए । ‘को अध्यक्ष हुने, को प्रधानमन्त्री हुने कुरामा मिडिया लगायत सबैको ध्यान गएको छ’, उनले भने । नेता कार्कीले समाजवाद कस्तो हुने भन्ने विषयमा नयाँ बहस जरुरी रहेको बताए ।

‘राजतन्त्र गयो, समान्तवाद अवेशष मात्र बाँकी छ । मुलुकमा पुँजीवाद आयो, त्यसैले अतितका कुरामा अल्झिन जरुरी छैन ।’

अबको समाजवाद कस्तो हुन्छ भन्ने प्रश्नमा नेता कार्कीले देशको उन्नतिको लागि काम गर्ने वर्गको पैरवी गर्दै जनतालाई शोषण मुक्त गर्ने मुख्य लक्ष्य नै समाजवाद भएको बताए ।

जबन नै एमालेको लाइन

एमाले नेता भानुभक्त ढकाल पार्टी एकीकरण नभई सकेको अवस्थामा एमाले जबज भन्दा बाहिर जान नसक्ने बताउँछन । उनले सधै पार्टीको नीति सिद्धान्तका विरुद्ध बरबराउनेप्रति कुनै टिप्पणी नरहेको बताए । उनले भने, ‘बेमौसममा आफूभित्र रहेका कुण्ठा पोख्नेहरुप्रति मेरो कुनै टिप्पणी छैन, सधैँ पार्टीको लाइनमा विषगमन गर्नेप्रति म के भनौँ ?’

उनले महाधिवेशनले पारित गरेको सिद्धान्त भन्दा बाहिर पार्टी जानै सक्ने बताए । ढकालले अहिलेको अवस्थामा जबज नै एमालेको सिद्धान्त रहेको बताए । पार्टी एकीकरणपछि नयाँ सैद्धान्तिक आधार तय भएपछि पार्टीको नीति र सिद्धान्तबारेमा बहस गर्न सकिने ढकालले तर्क गरेका छन् ।

अन्नपूर्ण पोष्टबाट

१५ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको