युएईको नेपाली लवडाँडामा अनायासै आक्रोसको तारो बनेको पात्र ‘म’


पृथीछक बुढा ।

युएईको बरदुबईको मेट्रो पार्क नेपाली चोक ‘लव डाँडा’ भनेर परिचित । म त्यहाँ सधैं पुगिरहेकै हुन्छु । चोकमा पुगेर मात्रै मलाई पुग्दैन । लव डाडामा चियाउन पनि मन लाग्छ । नेपाली आगनको आवास मिल्ने त्यो डाँडा दुखको कुरा बिस्तारै कुरुक्षेत्र बन्दै छ । यो पाली चाहिँ दशाले घेरेर हो अथवा भगवान दाहिने नभएकाले हो, फापेन । अनायासै टाउकोमा लाग्यो चार टाका ।

६ दिनपछी घर बिदामा जाने तरखरमा छु । समय नजिकै भएकाले लवडाँडा नजिकै रहेको क्यारिफर भित्र किनमेल गर्न गएको थिएँ । गोधुली हुनै लाग्दा त्यहाँवाट निस्किएँ र एकपटक लव डाडाका दृश्यहरुमा बरालिन पुगे ।

दृश्यहरुमा केही परिवर्तन थिएन । त्यहाँ त्यस्तै थियो, जो सधैं हुने गर्छ । एकजना लुरे युवाले तीन जनाको लात्ती र मुक्का खाएको रियल फाइट नजिकैबाट नियालेर हेर्न मौका मिल्यो । मलाई त लाग्यो, आज यो केटा यमलोक पुग्ने भयो । यो पापी मन ब्लड मनिसम्म पुगेर रोकियो । मनमनै हिसाब गरिरहेको थिएँ, यो केटा यमलोक पुग्यो भने यहाँको कानुनले यिनिहरुलाई पनि यमलोक पठाउने निधो गर्छ ।

यमलोक पुगिसकेको परिवारले ब्लडमनी मागे भने `फलानोलाई छिट्टै यमलोक पठाईदैछ, उसको घरको आर्थिक स्थिती गतिलो नभएकाले उसलाई बचाउन `फलानो वचाउ अभियान´ भनेर अभियान थालिने छ ।´

यस्तालाई त म एक सुको पनि दिनेछैन । बरु यस्तालाई प्रमेश्वरले बेलैमा नर्कमा लगे बेसै होला भन्छु । कुन रिसिइवी पालेर त्यसरी उफ्री उफ्री कुटेका होलान् ? भोलि ब्लड मनि माग्ने वेला चाहिँ कुहिएको च्याउ जस्तो अनुहार बनाएर नेपालीले नेपालीलाई हेरेन भनेर अपजस दिने । यस्ता नेपालीलाई बचाउने होइन, यमलोकै पठाउने काम धुमधामले गर्नुपर्छ ।

त्यो झगडा हेरिसकेपछी लव डाडाको सिन खिचेर एउटा क्याप्शन सहित एउटा स्टाटस पोष्ट गरेको थिएँ सामाजिक संजालमा । जसमा लेखेको थिएँ, `हे लव डाडा ! तिमिमा त्यस्तो के छ ? जसको कारणले तिम्रो सामिप्यमा धेरै नेपालीहरु झुम्मिएको देख्छु । तर कृपया के खाने र के नखाने भनेर उनिहरुलाई सदबुद्धि सिकाईदेउ है । ताकी बल नदेखाउन ।´

यो स्टाटस लेखेर म केही क्षणको लागि फेरि क्यारिफर भित्र एकजना मित्रलाई भेट्न गएको थिएँ । लगभग सात बजिसकेको थियो होला । क्यारिफरको पार्किङवाट निस्किएर लव डाडाको तल फुटपाथको वाटो हुँदै वाटो क्रस गरेर नेपाली चोक जानुपर्ला भनेर हिडिरहेको थिएँ, लव डाडामा रहेको एउटा ठूलो रुखको नजिकमा दुई समुहको विचमा झगडा भईरहेको रहेछ ।

नशाले लठ्ठै परेका मान्छेहरुसङ्ग कुरा गर्न भालुलाई पुराण सुनाउनु सरह हो । यस्ता बिबादमा फस्न चाहन्न । सुटुक्कै टाप कसिहाल्छु । उनिहरुलाई देखे पनि नदेखे झैँ गरेर म आफ्नै वाटोमा हिडिरहेको थिएँ पछाडीवाट कसैले फलामको रडले मेरो टाउको पछाडी हिर्काईदियो । म थुचुक्कै भएँ । त्यसपछि बेल्टले हिर्काउन कोसिस गरे । कसैको अनुहार चिन्न सक्ने कुरै थिएन । लगभग सात आठ जनाको ग्याङ थियो ।

उनिहरु बेहोसमा थिए । मैले कुनै नशा नलिने भएको हुनाले म अलि चनाखो पनि भएँ । मैले आफ्नो अनुहार बचाउन मात्रै लागे । यदि अरु जस्तै मैले पनि मदिरा पिएको भए लगभग त्यहाँ जे पनि हुनसक्ने अबस्था थियो । अन्तिममा आफुलाई बचाएर सिधै पुलिस स्टेसन गएँ । त्यतिन्जेल म आवद्ध रहेको नेपाली जनप्रगतिशिल मोर्चाका १८ जनाको टिम ट्याक्सी रिजर्भ गरेर नेपाली चोक पुगिसकेका थिए । तर मैले साथीहरुलाई संयमता अप्नाउन अनुरोध गरे । उनिहरु जो सुकै र जुन नियतले आक्रमण गरेको भए पनि नेपाली दाजुभाइ नै थिए ।

साथीहरु भन्थे, केश हाल्नुपर्छ । मैले भने हुँदैन । नशाको शुरमा गल्ती गरे, नशाले छोडे आफै सम्झिनेछन् । केश गरौंला र भोलि कम्पनीले उनिहरुलाई जागिरवाट निकाल्ला, एक जना मैले गर्दा सात आठ परिवारको पेट भोको रहेको शुभ कुरा होइन । मैले यहि भने ।

उनिहरु सोचिरहेका होलान, मैले उनिहरु विरुद्ध कुनै केश गरिन ।उनिहरुले जेजती जानेका थियौ, त्यही गरे । उनिहरु प्रति मैले कुनै रिसराग पनि पालेको छैन । यदि रिसराग पालेर उनिहरु जस्तै गर्न खोजे भने उनिहरु र ममा फरक नै के रह्यो र ? त्यसैले मैले माफी दिइसकेको छु । यहि त छ उनिहरु र हाम्रो बिचमा फरक । मैले उनिहरु मध्ये कसैलाई चिन्दैन तर यहि भन्छु, उनिहरुको भलो होस । छोराले पैसा कमाएर दुई छाक राम्रोसङ्ग खान पाइयोस भनेर कति आशा पालेर बसेका होलान् उनिहरुको आमा बुवाले । बुवा आमा भनेको महान हुन् ।

जुनिमा एकपटक मात्रै पाइन्छ यो दुर्लव चिज । बुवा आमाको त्यो आशालाई निराशामा परिणत नगर्नु भनेर यहि आर्टिकल मार्फत सुझाव दिन चाहन्छु । जहाँसम्म मैले किन कुनै एक्सन लिएन भन्ने प्रश्न उठिरहेको होला । हो भाई, तिमिहरुको जस्तै मेरो पनि बाबुआमाको सपना छ । तिम्रो आमा बुवा र मेरो आमा बुवाको ममतामा कुनै फरक छैन । त्यसैले म कुनै आमा बुवाको ममतालाई दुखाउन चाहिन । तर यसलाई कमजोरी नठान्नु ।

अन्तमा: तिमीहरुले मार्दा अरु मर्लान तर तिम्रो बचाऊमा भौतिरिने ब्लडमणिले धेरैलाई दुखाउने छ । अझै तिम्रो सपनाको परिवारलाई धेरै दुखाउने छ । यादगर तिमि पनि एक छाक टार्न खाडी पसेका हौ । समयलाई चिन र हरेक पाइलाहरु अघि बढाउ ।

(सुक्रवार २९ तारिखमा अज्ञात समुह द्वारा आक्रमणमा परेका पृथी छक बुढा नेपाली जन प्रगतिशील मोर्चा युएईका सल्लाहकार हुन्)

 

१५ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको