हिजो युद्द कस्ले लडेन ? अझ रुकुम र रोल्पामा त बनजंगल, ढुंगा मुढा र पशुप्राणीले पनि युद्द झेलेका थिए


लक्ष्मण घर्ति मगर
नेपालको रहेका राजनितिक पार्टीहरूमा थुप्रै समस्याहरू छन / होलान । पार्टी भएपछी वैचारिक र नितिगत समस्याहरू हुनु स्वभाविक पनि हो कारण त्यहाँ सयौँ हज्जारौँ मानिसहरूको चाहाना र मतमतान्तरहरूको घुईँचो हुन्छ । यस्तै हाम्रो पार्टी नेकपा माओबादी केन्द्रमा पनि कतिपय मान्छेहरुमा एउटा समस्या के छ भने कसरी हुन्छ नेतृत्वलाई आफ्नो पोल्टामा अवसर खसाल्न लगाएर “हामी हिजो युद्ध लडेर आएका मान्छे, हाम्रो पार्टी र क्रान्तिमा अमुल्य योगदान र लगानी छ । त्यसैले पार्टीले यो अवसर दिएको हो” भन्दै पदको वार्गेनिङ चल्ने गरेको देखिन्छ । सकभर त्यहि ध्वाँस् बोकेर शान्तिप्रकृया पछी पार्टीमा लागेकाहरूको कान बाक्लो पारीदिने, बिना लगानी भाग खोज्न आएको जस्तो गरी संकुचित भाव प्रकट गरीदिने र त्यस्तै बिभिन्न किसिमका क्रियाकलापहरु देखाईदिने, पुरानै सहयोद्धा कमरेडहरूलाई पनि आफु भन्दा कम योगदान गरेको झैँ पारीदिने र आफै नै सर्बेसर्वा कहलाउने । एककिसिमको “जस्को शक्ति उसैको भक्ति” प्रवृति ।
हिजो क्रान्ति कस्ले लडेन ? अझ रुकुम रोल्पाको कुरा गर्ने हो भने सदरमुकाम बाहेक बाँकी सबै कुना काप्चा र कन्दराहरूमा मान्छे त के पशुप्राणी, बनजंगल र ढुंगा मुढाले पनि महान जनयुद्द झेलेका थिए, भोगेका थिए, क्रान्तिको अनुभूति गरेका थिए ।  राज्यको नजरमा त्यहाँका सबथोक माओबादी बनेको थियो, दुश्मन बनेको थियो । योगदानको कुरा गर्दै गर्दा म आफ्नै कुरा गर्न चहान्छु , म सात बर्षको उमेरदेखी भरुवा बन्दूक़ र घंगारूको लौरो बोकेका लडाकुहरूको खाजा र चिठ्ठीपत्र बोक्ने र ओसार्ने गरी पार्टी र क्रान्तिलाई योगदान दिन सुरु गरेको हुँ ।
१४ बर्षको उमेरमा अनेरास्ववियू क्रान्तिकारीको टोल समितिको अध्यक्षता गर्दै साधारण कामदारले दिनको ५० रुपैयाँ श्रम लिइरहेको त्यो समयमा मैले हाम्रो कमिटीका कलिला कमरेडहरूलाई दिनको २५ रुपैयामा काम गर्ने सहमति पार्दै संगठनको कोष बढाउनेतिर अग्रसर गरेको थिएँ । जस्ले एकातिर जनताले सस्तोमा सेवा उपभोग गर्ने अवसर पाउँथे भने एकातिर हामीले सस्तो भएकै कारण धमाधम काम पाउँने हुन्थ्यो ।  त्यसबाट हाम्रो कोष असाधारण गतिमा बढेको हुन्थ्यो ।
गाउँलेले भन्थे – “पैसा पनि २५ रुपैया मात्र, काम ठुलाले जतिनै गर्छन् । त्यसैले यि विद्यार्थी टिमलाई काम लगाउँनु ठिक छ ।”
जस्को फलस्वरूप  २०५८ साल मंसिर महिनामा भएको जनसत्ताको बिशेष जिल्ला अन्तर्गत एक नम्बर एरीयाको जन वर्गिय संगठनहरूको अधिवेशनमा पार्टीलाई रु ७ हज़ार ६ सय रुपैयाँ बुझाएर सबै भन्दा बढ़ी रकम उपलब्ध गराउने संगठनमा हाम्रो विद्यार्थी संगठन बन्न सफल भयो ।
म त्यो रकम जुटाउन गरेको मिहेनत र संगठनको अवस्थाबारे सयौँ साथीहरुको बिचमा रिपोर्टिङ गर्दै गर्दा त्यहाँ अधिवेशनमा उपस्थित पार्टीका नेता कार्यकर्ता सबैले तालीको पहिरो चलाएका थिए । म त्यहि अधिवेशनबाट बदुवा भएर एरीया समिति सदस्य बनेँ ।
यसर्थ हामीले केही न केही पक्षबाट सबैले पार्टी, क्रान्ति र देशको लागी योगदान गरेकै छौँ । युद्दको बछिटाले नछोएको रुकुम र रोल्पामा कोही छैनौँ । बन्दूक़ बोकेर दुश्मनको ब्यारेकमा धावा बोल्दै बारुड र गोलीको बर्षादमा खत्नेहरूले मात्रै युद्द् लडेका होइनन्, न केही नेता कार्यकर्ताले मात्रै लडेका हुन् । शिक्षक, बिद्यार्थी, किसान, मजदुर,  व्यापारी, वालक बृद्दा सबैले आआफ्नै ठाउँबाट लडेर मात्रै जनयुद्दले दशौँ बर्ष बिताएर ऐतिहासिक शान्तिकृयासम्म पाईला टेक्न सफल भएको अतिअबिष्मरणिय क्षण कसैले भुल्नु हुँदैन ।
हिजोका मिहेनत, योगदान, चाहाना र सपनाहरू अनुसार भनेजस्तै पाउँन नसके पनि हामीले गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायतका उपलब्धिहरू पाएका छौँ । यो हामीले लडेको युद्द, त्याग र बलिदानको फल नै हो ।
तर समस्या हिंजोको होइन आजको हो । एउटै विचार र क्षमता भएकाहरूनै नेतृत्वसँग सम्बन्ध राख्न सक्नेहरू पटक पटक र त्यो पनि एउटै परीवार र गाउँ क्षेत्रबाट नेता बन्ने, उम्मेदवार हुन पाउँने । अरुलाई सँधै उपेक्षित बनाउने । एकहिसाबले कुनै क्षमता नभएको, योग्दान र लगानी नभएको जस्तो ठान्ने । त्यसैमा अझै चित्त नबुझेको कुरा के भने मैले माथी सुरुमा पनि भनेको छु कि जहिल्यै “मेरो पार्टीमा ठुलो लगानी छ हिजो युद्द लडेको हुँ त्यहि भएर मैले यो अवसर पाएको हो” आदि आदि गफ दिने ।
जब कि हिजो कम्मर कसेर कि मुक्ति कि मृत्यु भनि संघर्षमा हाम फाल्नेहरु आज हज्जारौको संख्यामा भत्किएको घर, भुत्तिएको जमिन खोस्रेर, अधिकाश त झन् खाडी र अरव मुलुकहरुमा वेचिएर नारकीय जीवन भोगिरहेको तितो यथार्थ छ । जीबनलाई संगीन र खकुरीको धारमा तेर्स्याई झोला भिरेर हिडेका अनगिन्ति कार्यकर्ताहरू आज भाग्य खोज्दै परदेशमा भौतारीरहेका छन ।
मेरै साईँली दिदीले २१ बर्षको उमेरमा रुकुमको खारा क़ब्ज़ा हुँदा  श्रीमान गुमाउनु पर्यो, दोस्रो श्रीमान पनि अर्घाखाँचीको सन्दिखर्कमा घाईते हुँदा हातखुट्टा चल्दैन । तिनै अपांग श्रीमान र छोराछोरीको रेजीरोटीको लागी दिदी नचाहादा नचाहँदै अरब पुगेका छन । यस्ता कयौँ छन जो देखिनसक्नुको जीन्दगी जीईरहेका छन । अनि यहाँ एकदुईजनाले मात्रै युद्द लडेकोले अवसर पाएको गफ दिने ? यि अभिव्यक्तिहरू विल्कुल असुहाउँदा छन् । के योग्दान र लगानी भएका तिनै एकदुईजना मात्रै हुन ?  बरू हाम्रै ठेक्का हो भनेको भए  अनर्थ नहोला ।
समावेशिता भनेको त क्षेत्रगत हिसाबले, लैंगिक हिसाबले, जो पछाडी परेका छन्, अवसरबाट सँधै पछी पारिएका छन्, तिनीहरुलाई माथि उठ्ने गरी राज्यको पहुँचसम्म प्रतिनिधित्व हुने गरी समेटेर लैजाने एउटा सुन्दर प्रकृया होईन ? कि यो बुझाई र परिभाषा नै गलत हो ? हैन भने खै त पार्टीले यो प्रकृया र पद्दतिलाई अबलम्बन गरेको ? जनताको मन जितेको शान्ति र विकासलाई जुरुक्क उठाउन सक्ने कुनै व्यक्ति ज़िम्मेवारीको खोजीमा छ भने उस्लाई किन ज़िम्मा नदिने ? चाहे कालान्तरबाट पार्टी प्रवेश गरेको व्यक्ति नै किन नहोस् ?
रुकुम पुर्वको सवालमा भन्नु पर्दा एकदुईजना नेता वाहेक बाँकी सबै एउटै हुन क्षमताको हिसाबमा । अझ केहीलाई त सभासद र मन्त्री बनाएर हेरेकै हो । उदाहरणीय केही देखाउनु भएन केवल गनेशमान वाहेक । फेरीघरी उनैलाई अघि सार्नु भनेको समावेशिता प्रतिको कुठाराघात हो । सँगै हातेमालो गर्दै र लड्दै आएका सहयोद्दाहरूको अपमान हो । विकट र पिछीडीएका क्षेत्रहरू प्रतिको गरिएको सरासर अबमु्ल्यन र बेवास्ता हो । आख़िर जुन उठे पनि हार्ने त कुरै छैन भनेर त हैन ? कोही प्रत्यक्षबाट उम्मेदवार हुँदा कसैलाई समानुपातिक बाट अघि सार्न सकिन्थ्यो । तर पहुँचवालाको दुवै हातमा लड्डु बाँकी चाहीँ जहिल्यै झोले ।
मैले यसो भन्दै गर्दा धेरै साथीहरूलाई नपच्ला । त्यसमा मेरो भन्नु केही छैन । म जहाँ रहे पनि माओबादी पार्टी र कम्युनिस्ट बिचारधारालाई सँधै माया गर्ने हिजोको एक कार्यकर्ता र आजको कट्टर समर्थक हुँ र मन नपरेका कुराहरूमा अन्धोभक्त भएर लाताले के चाँही हेर्या जस्तै टोलाएर बस्न मनले मान्दैन । यसकारण मनले नमानेको कुरा लेखिहालेँ । हाम्रोलाई होइन, राम्रोलाई अबशर कहिले आउला ?
नोट: लेखक माओवादी केन्द्र निकट हुनुहन्छ ।

 

२०७४ कार्तिक १३,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको