दशैंको दश पत्रमा बागेश्वरीको बयान


पुरुषोतम लमसाल
पृथ्वीनारायण शाहको एकीकरण अभियानताका प्रारम्भिक केन्द्रिकृत नेपालको पहिलो राजधानी  नुवाकोटबाट दुइ घन्टाको पैदल दूरीमा रहेको चोकदे गाउँ हो यो । नेपाल तीब्बत लडाइताका तिब्बती चिनिया फौज रसुवाको कालिकास्थान, जिबजिबे,लहरेपौवा हुँदै वेत्रावती अघि बढ्दै गर्दा चिनिया सेना फलाखु तरेर मबीर, कुवापानी चोकदे हुँदै नुवाकोट प्रवेश गर्न नसकुन् भन्ने हेतु बनाइएको सूर्यगढी किल्लाको फेदीमा छ यो गाउँ। त्यही किल्लाकै सुरक्षार्थ हुनपर्छ, सेनाले प्रतिस्थापन गरेको । त्यही बागेश्वरी देवीको नामबाट चोकदेलाइ बागेश्वरी गाउँ भनिन्छ। गत वर्षबाट बागेश्वरी गाविस क्षेत्र विस्तार गरी सूर्यगढी गाउँपालिका भयो संघीय नेपालको । अर्थात मेरो थातथलो पहिलेको बागेश्वरी चोकदे वा हालको सूर्यगढी गाउँपालिका ।मध्यकालीन नेपालको समाज औ वर्णव्यवस्थाअनुसार बागेश्वरीमा पनि सबै किसिमका मान्छे छन् । बर्ग अनुसार त हुने भइहाल्यो । पहाडको ग्रामीण इलाका भए पनि घर र भूमी दुबै नभएका परिवार नभेटिए पनि श्रम र पसिनाको अधिकार अरुलाइ दिएर बाँच्ने मान्छे चाँहि थिए । कटेरै भए पनि घर र एक फोगटो नै भए पनि जमीन भएका तर भरिया र हलियाको रुपमा काम गर्नेहरुका केही नाम र तस्वीर चाँहि मेरो यादमा छ । दशैंको बेला देखिने दृष्यको भिन्नता के हो भने एउटा बर्ग एक दुइ मार आँगनमै ढालेर देवी खुसी पार्थे, अर्को बर्ग सामुहिक रुपमा फिला फिला र छाती भाग लगाएर लालाबालाको अनुहारमा खुसी पोतेर खुसी हुन्थे ।

‘रातोमाटो लिपेको आँगनमा
एक मारले ढल्दा देवीको प्रसाद
यस्तो लाग्थ्यो,
दु:खहरु बीरगति पाइरहेका छन्
र, तन्किरहेका छन् मुजा परेका छाला
दशैंको आशिर्वादले
समाज र जिन्दगी मलमल, ढाका र पोलिस्टरमा बाँडिएको जस्तो,
अँधियारेलाइ आधा र मालिकलाइ सिंगो भनेजस्तो ।’

रसुवाको दक्षिण पूर्वी इलाका, लच्यांग, माझ र उपल्लो गेर्खु, हल्देको झण्डै आधा भूगोलसमेत आकर्षित गदथ्यो बागेश्वरीले । हामीले अध्ययन गरेको बागेश्वरी माध्यामिक (हाल बहूमुखी क्याम्पस) मा पढ्ने विद्यार्थीको भूगोल नै यस तथ्यको उदाहरण हो । किनकि, मेरो कक्षामा बिहानी कक्षा चल्दा चार बजे उठेर हिंड्ने र दिउँसो कक्षा हुँदा राती सात बजे घर पुग्ने सहपाठीहरु थि ए। यो ऊ जमानाको होइन जम्मा बीस वर्ष अगाडिको दृष्य हो ।

यही गाउँको एउटा कुनामा चिन्ह लगाएको ठाउँबाट पाँच सय मिटर बायाँ हो बालापनको दशैसँग रमाएको । साँधीखोलामा घाँस काटेको, हिटीकुवाबाट पानी बोकेको, पिंग बनाउनको लागि घरघर गरेर बाबियो संकलन गर्न हिंडेको । आल्डाँडा, कदमफेद, पोखरीडाँडा, मानडाँडामा पिंग खेलेको समय याद छ । गाउँ छाडेको दश वर्षपछि गाउँको दशैं सम्झिएर मैले लेखेको केही हरफ अझै याद छ।

‘अभावको काम्रोमा कुल्चिएर
दु:खका लठ्ठाहरु समातेर
बत्तिदा माथि मा~~थिसम्म पिंगमा
उडिरहेका छन् जिन्दगीका यातनाहरु
माथि मा~~थिसम्म’

कमेरो र ब्याट्रीको मसलाले घर पोतेको पनि याद छ । पींधको भागमा मट्टितेल हालिने, माथ्लो भागमा शिशाभित्र जाली राखिने, जालीमा मट्टितेल पुर्याएपछि त्यसलाइ बालेर पींधबाट पुन: चाप दिएपछि बल्ने लालटिन र मैनटोलसँग लामो संगत भएन । तर, रातबिरात निस्कन पर्दा गाउँका प्राय: घरहरुमा जस्तै ब्याट्रीबाट चल्ने टर्चको जोगाड त हुने भैहाल्यो । ब्याट्रीले काम नगरेपछि दलिन र निधालको अन्तरकुन्तर किन राखिन्छ भनेको त दशैं, तिहार र अन्य उत्सवमा माटो लिपेको गाह्रोमा रंग भर्ने किफायती मेसो रहेछ त्यो ।

‘म्याद गुज्रिएका
ब्याट्रीका मसलाहरु पनि
खुसी पोत्न पर्याप्त छ
जसरी म
विस्मृतिका पुराना केस्रा केलाएर रमाइरहेको छु’

दशैंभरीका लागि गाउँमा घाँस काटेर राख्ने चलन हुन्थ्यो । सार्वजनिक स्वामित्वमा भएका पखेरा वा जंगलमा एक दिन घाँस फुकुवा गर्ने चलन पनि थियो । एकाध वर्ष त्यो देखेको थिएँ मैले । यकिन छैन तर यही सन्दर्भमा कटुवालले बाले सूचना दिएको जस्तो लाग्छ । तर पछि कटुवाल बाले चिच्याएको देखिन र सुनिन कहिल्यै।

लंगुरबुर्जा दशैं र तिहारको पर्याय जस्तै थियो । हामी भुरा माटोमा चिन्ह बनाएर कचौरामा सानासाना गोटी हल्लाएर खेल्थ्योैं। त्रिशुली पुलबाट लगत्तै दायाँ ओरालोमा थियो चल्तीको भमि पुस्त भण्डार त्यो गोटी किन्ने ठाउँ थियो। र, गाउँमा लंगुरबुर्जा खेलाउने आइकन थिए मान्डाँडाका विष्णुदाइ । विष्णुदाइले स्कूलको चौतारोमा हेडसरको घरमुनी ठूलो बाल्टीमा बडेमानका गोटी जोडदार आवाजमा हल्लाएपछि दशैं उत्कर्षमा  पुग्यो भन्ने थाहा हुन्थ्यो । “आको झरल खुद्रा बाथ” अर्थात ठूला नोट जति हाले नि हुने तर चानचुन हाल्न नपाइने थेगो जस्तै थियो। पत्याउनुहोस् गाउँका मान्छे सुरवालको इजारबाट पैसा निकालेर त्यो जुवा खेल्थे ।

बीसौं हजारसम्मको हारजीत हुन्थ्यो । गाउँमा ठूलै रकम हो त्यो । माओवादीले विष्णुदाइसँगै चाडबाडको एउटा “आइकोन”को पनि घाँटी रेटिदियो । गाउँलेलाइ आजभोलीको दशैंको लंगुरबुर्जामा पनि विष्णुदाइको दमदार आवाजको झल्को आउँदो हो । पछि ज्ञानबहादुर र रामबहादुरले यो बींडो थामेका थिए ।

अरुबेला भन्दा दशैंमा भलिबल विशेष हुन्थ्यो । बाजी खेल हुन्थ्यो । दाइहरु नमराज ढुंगाना, तपेदाइ गेर्खु शिव प्याकुर्याल सर्ट हान्ने छेक्ने स्पाइकरहरु थिए । पछि देब्रेहाते कमलदाइ र राजु जम्यो । मिनबहादुर, राजेन्द्र, मधु, राजकुमार दाइहरु सेन्टर डिफेन्स थिए । मानसिं सरको बनाना सर्भिस र प्याकुर्याल साइलादाइको टुचिंग सर्भिसको फन थियो ।

दशैंमा कोहीका बा लाहुरबाट, कोहीका बा शहरबाट तर मेरो बा चाँहि त्रिशुलीबाट गाउँ जान्थे।त्रिशुलीबाट बा आउनुहुन्छ भनेर सिमपानी, हिले धनारथुम्कीसम्म दौडिएको पनि याद छ। यो थाहा पाएको जम्मा एक दुइ वर्षपछि त्रिशुलीमा दशैं मनाउन अभ्यस्त हुन थालें । दशैं मान्न गाउँ हिंडेका मान्छे  र दशैं किन्न चोकदे बजार ओइरिएका मान्छे देख्दा दशैं भनेकै खुसी, खुसी भनेकै दशैं जस्तो लाग्ने ।

‘ऊ पारी देउरालीमा
अरुको दशैं बोकेर
माझाघरे दाइ
जोगाड गर्दैछ आफ्नो दशैंको
कसैलाइ कसरी मिठो खाने पीर छ
उनलाइ कसरी खाने भन्ने पीर छ
यी दशैंहरु
फेरि पनि खुसी बाकेर आउँछ
पीरैपीरहरुको माझमा पनि।’

घिमिरे बाको कपडा पसल, जानुका दिदी, शेरमान बा, कान्टे बा, तारुके बालगायतको खाद्यान्न पसल थिए । चुरौटेको टीका धागो पसल थियो । नमेदाइ दिनमा तीन ठेक्ची तरकारी बेंचे भन्थे । आलु र बाँसका सामान बेच्न यार्सा, भोर्ले, लच्यांगदेखि आएकाहरु आफैंले ल्याएको जाँड डबकामा खन्याएर खान्थे र एक भाका सेलो हान्थे कान्टे बाको घरअगाडि । कतिले त छ्याम्बा पकाउँथे काठको पन्यूले । अग्लो कद, ठूलो नाक,  धोक्रे आवाजका दामे दाइ तिनीहरुसँग मित मित भन्दै ठट्टा गर्थे ।

दश वर्षजतिको थिएँ हुँला, कुनै मेसोमा कुमरीका आनन्द डुंगाना, गोपी भण्डारि,  बिमल घले (पछि शहीद), माइला लामासहितको टोलीले पसल घरमा गरेको रिहर्सल र नाचघरमा देखाएको गज्जबको कार्जेक्रमको ‘मोटिभ’ अलि पछि थाहा भो । जीवन शर्माको “शिमली छायाँमा बसी भरिया लामो श्वाश फेरेको, उमेर भइसक्यो असी झन् ठुला दुखले घेरेको” बोलको गीत त्यही छेकोमा कण्ठ गरिएको हो ।
“फकल्याण्डको टापुबाट जंगलको बीचबाट, लेखिरहेछु चिठ्ठी तिमीलाइ लडाइको मैदानबाट” भन्ने गीतमा दाइहरु नाचेका थिए ।
“सानो सानो बुकुरो पहराको छेउमा मेरो घर, त्यही नि साहूले खाइदियो, अब मलाइ झनै के को डर” जस्ता अरु पनि गीत थिए । तर दिमागमा पदम अधिकारी दाइको अभिनय एवम् प्यारोडी र नलराज दाइ नाचेको स्मृति खुब गाडा छ।
कार्यक्रम हेर्न छ गाउँका मान्छे आउँथे, गेर्खु, खानिगाउँ, फलाँटे, हल्दे, कटुञ्जे, कुवापानीसम्मका । स्कूलको चौर भरिन्थ्यो । र फर्कंदा बाबियोको राँको बाल्दै हिंडेका दृष्य पनि कम्ता रमाइला लाग्दैनन् अहिले सम्झेर ल्याउँदा ।

बागेश्वरी यूवा क्लवको बिंडो थाम्न भन्दै फैमानचुली यूवा क्लव बनाएर हाम्रो जेनेरेशनले पनि एक साल गरेको प्रयासको अर्को किस्सा छ । नेकपा माओवादी ‘महान क्रान्तिको  दिशामा अघि बढौं, गाउँगाउँमा आधार इलाका बनाऔं’ भन्दै चम्किरहेको त्यो बेला बर्ग, मुक्ति, क्रान्ति, जनवादी सत्ता भन्दै हामी पनि अल्मलियौं र हामीले अरुलाइ पनि अल्मल्याउने प्रयास गर्यौं ।
उमेर, स्वभावअनुसार अनुसार साथी समूह बन्दो रैछ। अनि त रवी, रमेश, कपिल, रामकुमार, रामप्रसादलगायतका थपिए ।
सन्तोषी, नाराणी दी, विना, अप्सरा, भवानी,  जानुका, इन्दिरा, लामा दाइको छोरी (नाम भुलें ) लगायतका थुप्रै यो माहौलका सहयात्री थिए ।
तर सत्य के चाँहि हो भने नेपालका ग्रामीण वस्तीमा संगठन गर्न र जागरण ल्याउन दशैं तिहार जस्ता पर्वको उपयोग फलदायी हुन्छ । अरुबेला छरिएर रहने ग्रामीण समुदायमा विचार र संगठन निर्माण गर्न मनोवैज्ञानिक रुपमा पनि उल्लासपूर्ण वातावरणको उपयोग फलदायी हुने रहेछ ।

हाम्लाइ के थ्यो र, यता खेल्न उपिन्द्रे, बाबे, जयराम, कुमारे, फुच्चे, फोक्से, रामबाबु, बसन्ते, सरोथे, हरिलगायतका थिए । उता रमाउन फुमे, शंकरे, चन्ते, प्रल्हाद,  पुन्टे, तीखे, काइलो, लवे, रामराजा, राजु, दिनेश, रुपबहादुरदेखि दीपे पाडी र अनगिन्ती थिए ।

अब टीका, जमरा र मान्यजनको घर चाहार्दै रमाउने बालापनको नकुरा गरम होला  । वायुको वेगमा समयले पंख फिंजाएपछि सबै रमाउने त सम्झनामा नै हो। जहाँ भए नि माटोको वासनाले पिरोल्दै भन्नसक्ने बलवान म छैन। राम्रो माटोले बनाउने हो, नराम्रो चैं बाटोले बनाउनँछ जुन हामीले रोज्छौं । त्यसैले म असल छु भने माटोको देन हो र म खराब छु भने म हिंडेको बाटो ।

‘माटो त्यही भए पनि
गाउँ जाने बाटो फेरिएको छ
गाउँ फेरिएसँगै
फेरिए दशैंका रंगहरु
मलाइ खुसीका रंगहरु मात्र थाहा छ’

भवतु सर्व मंगलम्

१४ आश्विन २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको