पोष्टपाटी, भाद्र १४, २०७४-
असारको दोस्रो साता व्यापारीको अपहरण तथा प्रेमिकाको हत्या गरेर फरार भएका भक्तपुरका प्रकाश लामिछानेविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गर्यो । अपहरण र हत्या गरेर भारत पसेपछि अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले नेपाल प्रहरीको आग्रहबमोजिम लामिछानेविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । प्रकाश ५ फागुनमा न्युरोडस्थित डालिमा साडी पसलका मालिक श्यामसुन्दर अग्रवालको अपहरणमा प्रेमिका राधिका श्रेष्ठलाई टुल्सका रूपमा प्रयोग गरेर पोल खुल्ने आशंकामा त्यही रात राधिकाको हत्या समेत गरी त्यसको भोलिपल्टै भारत पलायन भएका थिए ।
अपराधीहरू समात्न अन्तर्राष्ट्रिय स्तरमा जारी गरिने रेड कर्नर नोटिसमा प्रकाशसँगै ८२ जना नेपाली छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएर अन्तर्राष्ट्रिय प्रहरीले खोजिरहेका ८२ जना नेपालीमध्ये १५ जनालाई नेपाल प्रहरीको आग्रहमा रेड कर्नर नोटिस जारी गरिएको हो ।
६७ जना नेपालीमाथि भने विभिन्न देशको आग्रहमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ ।
हत्या, बलात्कार, अपहरणजस्ता जघन्य अपराधदेखि चोरी, डकैती, ठगीसम्मका अपराध गरेर फरार भएका नेपालीहरू विरुद्ध नेपाल मात्र होइन, भारत, खाडीमुलुकदेखि अमेरिका र युरोपियन देशहरूसम्मको आग्रहमा रेड कर्नर नोटिस जारी भएको पाइन्छ । नेपालीको नाममा सबैभन्दा बढी रेड कर्नर नोटिस छिमेकी देश भारतबाट जारी भएको छ । भारतले ३० जना नेपालीलाई इन्टरपोलमार्फत विश्वभरका प्रहरीको खोजीको सूचीमा राखेको छ । त्यसपछि नेपालीमाथि रेड कर्नर जारी गर्न आग्रह गर्ने देश युनाइटेड अरब इमिरेट्स (युएई) हो । युएईले १५ जना नेपालीमाथि विभिन्न अपराधमा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको छ ।
नेपालीहरूको प्रमुख श्रम गन्तव्य मानिने कतारले १० जना तथा अमेरिकाले ५ जना नेपालीमाथि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराएका छन् । नेपाली विरुद्ध रेड कर्नर नोटिस जारी गराउन आग्रह गर्नेमा बेलारुसदेखि पोर्चुगलसम्मका युरोपियन देशहरू पनि छन्, जसले १/१ जना नेपालीमाथि त्यस्तो नोटिस जारी गराएर अन्तर्राष्ट्रिय प्रहरीको खोजीको सूचीमा राखेका छन् । (हेर्नोस् बक्स) प्रहरी हेडक्वार्टर स्रोतका अनुसार विभिन्न देशको आग्रहमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गर्नुको कारण हत्या, मानव बेचबिखन, बलात्कार, वैदेशिक रोजगारीमा ठगी, जालसाजी, साइबर क्राइमजस्ता अपराधमा उनीहरूको संलग्नता नै हो । रेड कर्नर नोटिस अन्तर्राष्ट्रिय रूपमा जारी गरिने अरेस्ट वारेन्ट हो, हत्या, ठगी, मानव बेचबिखन आदि अपराधमा नेपालीमाथि रेड कर्नर नोटिस जारी भएको पाइन्छ, नेपाल प्रहरीका एक उच्च अनुसन्धान अधिकृत भन्छन्– नेपालले १५ जना विरुद्ध रेड कर्नर नोटिस इस्यु गरेको छ भने अन्य विभिन्न देशले ६७ जना नेपालीविरुद्ध रेड कर्नर इस्यु गरेको सूचना नेपाल प्रहरीसँग छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखा हेरिरहेकी एसपी किरण ब्रजाचार्य इन्टरपोल अन्तर्राष्ट्रियस्तरमा अपराध अनुसन्धानका लागि प्रभावकारी संयन्त्र भएको बताउँछन् । अपराध सम्बन्धि सूचना आदान—प्रदानका लागि इन्टरपोल सबैभन्दा दरिलो र प्रभावकारी संस्था हो, बज्राचार्यले साप्ताहिकसँग भनिन्– यो सञ्जालमार्फत अपराधीहरूका विषयमा सूचनाहरू विश्वभरका पुलिसमाझ आदन—प्रदान हुन्छ । विदेशमा लुकेर बसेका अपराधी पक्राउ गर्नका लागि यो सहयोगी सञ्जाल सावित भएको छ ।
को–को छन् रेड कर्नरमा ?
नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले जारी गरेको रेड कर्नर नोटिसमा काठमाडौंका भूपेन्द्र खड्का तथा नुवाकोटका भक्तबहादुर लामा, विष्णुबहादुर लामा एवं रामबहादुर तामाङ छन् । उनीहरूविरुद्ध वैदेशिक रोजगारीमा (युरोप र अमेरिका) पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको केसमा रेड कर्नर नोटिस जारी गरिएको हो । १० साउन २०६४ देखि रेड कर्नर नोटिस इस्यु गरिएका भूपेन्द्र वैदेशिक रोजगारीका नाममा ४५ लाख रुपैयाँ ठगी गरेर फरार भएको प्रहरीले जनाएको छ । उनले २९ साउन २०६३ मा ६ जना नेपालीबाट अमेरिकालगायतका देशमा पठाइदिन्छु भन्दै उक्त रकम ठगेका थिए ।
यस्तै, १६ चैत २०६२ मा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै नुवाकोटका भक्तबहादुर लामा, विष्णुबहादुर लामा तथा रामबहादुर तामाङ अनुमानित २ करोड १० लाख ६६ हजार ८ सय २० रुपैयाँ ठगी गरेर फरार भए । थुप्रै नेपालीबाट ठूलो रकम ठगी गरेर फरार भएपछि प्रहरीले वैदेशिक रोजगार विभागको अनुरोधमा नेपाल प्रहरीले इन्टरपोलमार्फत उनीहरूविरुद्ध १० भदौ २०६४ मा रेड कर्नर नोटिस इस्यु गरेको हो ।
रेड कर्नर नोटिसमा धनकुटाका केशव दर्लामी मगर, रुपन्देहीका फकिर रियाज, दार्चुलाका अंगवीर बोहरा ‘वसन्त’, सिरहाका रामकुमार यादव, कपिलवस्तुका पशुपतिनाथ शुक्ला तथा चितवनका रुद्र अचार्य पनि समावेश छन् । सप्तरीका एमडी सकिहुसेन, बाजुराका ओकेन्द्रबहादुर सिंह, काठमाडौंका पवनकुमार कार्की, सुर्खेतका भीमलाल शर्मा तथा भक्तपुरका प्रकाश लामिछाने पनि रेड कर्नर नोटिसमा छन् ।
२०६५ साउन १८ गते वरिष्ठ न्युरो चिकित्सक उपेन्द्र देवकोटाकी छोरी मेघा देवकोटाको घरबाटै अपहरण भयो । अपहरणमा ७ जनाको समूह संलग्न थियो । अपहरणमा संलग्नमध्येका एक धनकुटाका केशव दर्लामीमगर अझै फरार छन् । दर्लामीमाथि अपहरण र चोरीमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीको प्रस्तावमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । केशव अहिले संसारभरको प्रहरीको खोजीमा छन् ।
झन्डै १० वर्षअघि रुपन्देहीका फकिर रियाजले बुटवलका तारानाथ बोहराको हत्या गरे । ‘लल्लु’ र ‘अर्जुन’ उपनामले समेत चिनिने रियाज आफ्ना सहयोगी गणेश धोवी, इजाज अन्सारी, विजय यादव तथा रमानन्द कोइरीको सहयोगमा उक्त हत्या गरेपछि फरार भएका थिए । लगत्तै नेपाल प्रहरीको आग्रहमा उनीमाथि रेड कर्नर नोटिस जारी गरेर संसारभरका अपराधीहरूको खोजीको सूचीमा राखियो । यद्यपि उनी अहिलेसम्म प्रहरीको फन्दामा पर्न सकेका छैनन् ।
५ मंसिर २०६३ मा घट्टेखोला दार्चुलामा एक त्रासदीपूर्ण घटना घट्यो । कल्पनै गर्न नसकिने उक्त घटनाका अभियुक्त हुन्— दार्चुला रानीबारीका अंगबीर बोहोरा । उनले ६ वर्षीया बालिकालाई चकलेट दिई फकाएर घरनजिकैको जंगलमा पुर्याई बलात्कार गरेका थिए । बालिकालाई बलात्कार गरेर फरार भएपछि ‘वसन्त’ नामले समेत चिनिने बोहोरालाई प्रहरीले निकै खोज्यो, तर उनी भागेर भारत पसेको थाहा भएपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत सन् २००९ मा रेड कर्नर नोटिस जारी गरायो, तर बोहोरा अहिलेसम्म कतै फेला परेका छैनन् ।
३२ असार २०६४ मा सिरहा अयोध्यानगरका गंगाप्रसादको अपहरणपछि हत्या भयो । उक्त अपहरण र हत्यामा संलग्न भएका भनिएका रामकुमार यादव प्रहरीलाई छल्दै फरार भए । प्रहरीले उनलाई पक्रन लामै प्रयास गर्यो, तर उनी देशभन्दा बाहिर गैसकेको सुइँको पाएपछि प्रहरीले ९ असार २०६८ मा उनीमाथि रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई गुहार्यो । त्यहीबेलादेखि नै रामकुमार पनि अन्तर्राष्ट्रिय प्रहरीको मोष्ट वान्टेडको सूचीमा छन् ।
बैंकिङ ठगीको अभियोगमा रेड कर्नर नोटिसमा परेका ब्यक्ति हुन्— कपिलवस्तुका पशुपतिनाथ शुक्ला । शुक्लाले ‘एड्भान्स पावर डिभाइसेज’ नामक आफ्नो कम्पनीमार्फत ३३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । शुक्ला भारतीय व्यवसायी आरिफ अन्सारीलाई ३३ लाख रुपैयाँको बाउन्स चेक दिएका कारण इन्टरपोलको खोजीमा परेका हुन् ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्याको केसमा चितवनका ३३ वर्षीय रुद्र आचार्य रेड कर्नर नोटिसमा परेका छन् । २८ जेठ २०७१ देखि रुद्रमाथि रेड कर्नर नोटिस जारी गरेर विश्वभरको प्रहरीले उनको खोजी गरिरहेको छ, तर उनी अहिलेसम्म प्रहरीको फन्दामा पर्न सकेको छैनन् ।
सप्तरीका एमडी सकिल हुसेन हत्या गरेर फरार भएपछि रेड कर्नर नोटिसमा परेका हुन् । प्रहरीका अनुसार सकिल ७ मंसिर २०७० मा सप्तरीको जन्डोलमा एक हत्यापछि फरार भएका थिए । उनलाई ६ असार २०७२ देखि प्रहरीले रेड कर्नर नोटिसमा राखेर खोजी गरिरहेको छ । सकिल हुसेन दोहामा भएको सुइँको प्रहरीसँग छ । हत्याकै अभियोगमा २ वर्षदेखि विश्व भरका प्रहरीको खोजीमा परेका छन्— बाजुराका ओकेन्द्रबहादुर सिंह । १२ भदौं २०७२ मा बाजुराका शेरबहादुर रोकायाको हत्या केसमा सिंहविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ ।
क्यापिटल मर्चेन्ट फाइनान्समार्फत चार अर्ब रुपैयाँ ठगीकाण्डका मुख्य योजनाकार पवन कुमार कार्कीलाई पनि प्रहरीले रेड कर्नर नोटिसमार्फत खोजिरहेको छ । मासु पसलबाट व्यवसायमा हात हालेका महत्वाकांक्षी कार्कीले पछि क्यापिटल मर्चेन्ट फाइनान्समार्फत अर्बो रुपैयाँ ठगी गरे । त्यसपछि उनी अमेरिका फरार भए । कार्की अमेरिका पुगेको खबर पाएपछि प्रहरीले उनीमाथि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्यो । अहिले उनलाई अमेरिकामा पक्राउ गरेर नेपाल फर्काउन प्रहरीको पहल अन्तिम चरणमा पुगेको बताइन्छ । सुर्खेतमा भीमलाल शर्माविरुद्ध पनि नेपाल प्रहरीको प्रस्तावमा इन्टरपोलले रेड कर्नर नोटिस जारी गरिएको छ । उनीमाथि विष प्रयोग गरेर बाघ मारेको घटनामा रेड कर्नर नोटिस इस्यु भएको हो । शर्मालाई झन्डै डेढ वर्षदेखि अन्तर्राष्ट्रिय प्रहरीले खोजी गरिरहेको छ ।
इन्टरपोलको सहायतामै प्रहरीले पछिल्ला दुई वर्षमा केही अपराधीलाई इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउन सफल भएको छ ।
यसरी पक्राउ गरेर नेपाल ल्याइनेमा हत्यामा संलग्न पोखराका जीवनबहादुर अधिकारी, न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न सञ्जय स्माइली तथा गैंडा चोरीमा संलग्न राजकुमार प्रजा सुन तस्करीमा संलग्न राजनप्रसाद पन्त आदि छन् । १५ जना नेपालीबाहेक नेपाल प्रहरीले दुई जना विदेशीमाथि पनि रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई गुहारेको थियो, जसमध्ये एक भारतीय नागरिक हल्दिया राहुल ३ करोड ६५ लाख रुपैयाँ ठगीमा रेड कर्नरमा परेका छन् । यस्तै, नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले दुई वर्षदेखि रेड कर्नर नोटिस जारी गरेका वन्यजन्तु तस्कर अमेरिकी नागरिक इयान बेकर भने हालै ग्रिसमा पक्राउ परेका छन् । नेपाल प्रहरीले नौ वर्षदेखि खोजिरहेका खुंखार वन्यजन्तु तस्कर बेकरलाई काठमाडौं ल्याउने तयारी भैरहेको छ ।
इन्टरपोल मार्फत २४ सैं घण्टा काम गरिरहेका छौं -किरण बज्राचार्य, एसपी, नेपाल प्रहरी (बज्राचार्यले नेपाल प्रहरीको इन्टरपोल शाखा हेरिरहेकी छन् ।)
नेपालमा अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को शाखा छ । इन्टपोलका १ सय ९० सदस्य राष्ट्रका पुलिसमध्ये नेपाल पनि एक सदस्य हो । हामी अपराधीहरूका सम्बन्धमा विश्वभर सूचना आदान–प्रदान गर्न चौबीसै घण्टा इन्टरपोलमार्फत काम गरिरहेका छौं । इन्टरपोलले अपराधीसँग सम्बन्धित आवश्यक रेड कर्नर नोटिसलगायत विभिन्न प्रकारका नोटिस जारी गर्ने काम पनि गर्छ । अपराधसम्बन्धी सूचना आदान–प्रदानका लागि इन्टरपोल सबैभन्दा दरिलो र प्रभावकारी संस्था हो । यो सञ्जालमार्फत अपराधीहरूका विषयमा विश्वभरका पुलिसमाझ सूचनाहरू आदान–प्रदान हुन्छ ।
अहिले नेपालको इन्टरपोल शाखाले जति गर्नुपथ्र्यो त्यति गर्न सकिरहेको छैन । यसको कार्यक्षमता अझ बढाउनुपर्ने देखिन्छ । विश्वभरका पुलिस तथा इन्टरपोलसँग सहयोग वृद्धि गर्नुपर्ने, सूचना आदान–प्रदान अझ प्रभावकारी तुल्याउनुपर्ने चुनौती छ । यसलाई बलियो र प्रभावकारी बनाउन कानुनी अवरोधहरू हटाउन सरकारले पनि सहयोग गर्न आवश्यक छ ।
अपराधीलाई छिटो कानुनी दायरामा ल्याउन नेपालले विभिन्न सन्धि–सम्झौताहरू गर्नुपर्ने देखिएको छ । वित्तीय अपराधी, बैंकिङ ठगी गर्ने, वैदेशिक रोजगारीमा ठगेर लुकेर बस्ने प्रवृत्ति कम गर्न तथा उनीहरूलाई कानुनीमा कारबाहीमा ल्याउन सकिन्छ र पैसा फिर्ता गर्न पनि प्रहरी सक्षम छ, तर कानुनी अड्चनहरूले प्रभावकारी रूपमा काम गर्न सकिएको छैन । त्यसैले कानुनी अड्चन फुकाउने एवं कूटनैतिक तहमा समेत प्रभावकारी संयन्त्र निर्माण गर्ने हो भने विदेशमा लुकेर बसेका अपराधीहरूलाई सजिलै कानुनको दायरामा ल्याउन सकिन्छ ।
कुन देशको प्रस्तावमा कति नेपालीमाथि रेड कर्नर ?
३५ वर्षीय उमेश सापकोटालाई अमेरिकाले आफ्नो खोजीको सूचीमा राखेको छ । अमेरिकामा उनीमाथि सेक्सुअल एसल्टको चार्ज लगाइएको छ । यस्तै अमेरिकाले रेड कर्नर नोटिस जारी गरेका अर्का व्यक्ति हुन् ३९ वर्षीय अविशेष सिंह । उनीविरुद्ध लगातार यौन दुव्र्यवहार, बलात्कार, नाबालिकासँग गैरकानुनी शारीरिक सम्पर्क आदिको अभियोग छ । अमेरिका पसेका पंकज जोशीमाथि १० मिलियन डलरको चिठ्ठा ठगी केस, होम गुरुङमाथि लागूऔषध ओसार–पसार तथा साजन तिमिल्सिनामाथि इन्टोक्सिकेटेड म्यान्सलाफ्टर केसमा रेड कर्नर जारी भएको छ ।
भारतले सबैभन्दा बढी ३० जना नेपालीमाथि रेड कर्नर जारी गरेको तथ्यांक नेपाल प्रहरीसँग छ । भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)ले आफ्नो वेबसाइटमा राखेको तथ्यांकअनुसार भारतीय प्रहरीले हत्या, चोरी, ठगी, अपहरण, जालसाझी, लफडा, जीवन एवं स्वास्थ्यविरुद्धको अपराधमा नेपाली नागरिकहरूमाथि रेड कर्नर इस्यु गरेको देखिन्छ ।
सीबीआईले लफडा, जालसाझी तथा ठगीमा चार जनामाथि रेड कर्नर इस्यु गरेको छ, जसमा काठमाडौंकी माधवी श्रेष्ठ, विनिता प्रधान तथा पाल्पाका अनुप प्रधान एवं हरिहर भुसाल छन् । यस्तै, चोरी तथा लुटपाटमा १० जनामाथि रेड कर्नर इस्यु भएको छ, जसमा बझाङका वीरेन्द्रबहादुर थापा छन् । चोरीको आरोपमा राजबहादुर शाही, बाजुराका राजेशबहादुर, गोरखाका राजेश क्षत्री, म्याग्दीका रमेश भाग्दुर, पर्वतका राजेश भाग्दुर र पर्वतका प्रेम सिंह, मनोजकरण जैगढी एवं कृष्णबहादुर आउजीमाथि पनि रेड कर्नर इस्यु भएको छ ।
जीवन तथा स्वास्थ्यविरुद्धको अपराधमा ७ जना रेड कर्नर नोटिसमा परेका छन् । यसरी खोजीमा पर्नेमा नानु मगर, खुमराज थापा, शिवराजफूलचन्द शर्मा, तुलाराम भण्डारी, भीमे दमाईं, चित्र (इन्द्र) साउद तथा दैलेखका विपिन विष्ट छन् । अपहरणमा भने देवी ओलीमाथि रेड कर्नर इस्यु भएको छ । आपराधिक गतिविधि र हत्यामा ताहिर साह, हत्यामा सूर्यबिनबहादुर तामाङ, तुनकारीचक्र सिंह रेड कर्नर सूचीमा परेका छन् । यस्तै, बाराका नुरमुहमद अन्सारीमाथि नक्कली नोट, आतंकवादी गतिविधिलगायतका अपराधमा भारतीय प्रहरीको रेड कर्नर नोटिसमा छन् ।
साउदी अरेबियाको आग्रहमा प्रमोद बस्नेत, दिलबहादुर गुरुङ तथा कालु तामाङमाथि विभिन्न केसमा इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको छ भने ठगी र गैरकानुनी कारोबारको केसमा मोहनप्रसाद जैसवाल बेलारूसको आग्रहमा रेड कर्नर नोटिसमा परेका छन् । कतारको आग्रहमा साल श्रेष्ठ, असन गनी, राम आले, मदन गिरी, प्रयास न्यौपानेलगायतका १० जनामाथि रेड कर्नर नोटिस जारी भएको छ । यस्तै, युएईको आग्रहमा रेड कर्नर नोटिसमा धर्मेन्द्र थापा, सन्तोष शाक्य, चूडामणि फुयाल, नाम छु नाम चन्द्र, राम महत, रमेश श्वार, उमेश अधिकारी, रोहन प्रसाईं, दुर्गा शिवाकोटी, रवि श्रेष्ठ, लक्ष्मण सापकोटा आदि १५ जना नेपाली परेका छन् ।
पोर्चुगलको आग्रहमा नेपाली नागरिक सरल गुरुङमाथि रेड कर्नर नोटिस जारी भएको छ । यस्तै, पोल्यान्डको आग्रहमा इभा राईमाथि रेड कर्नर जारी भएपछि अहिले संसारभरको प्रहरीले उनको खोजी गरिरहेको छ । बहराइनले भने ठगी र जाली पासपोर्ट केसमा दीपबहादुर खड्काविरुद्ध इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गराएको छ ।
भारत | ३० जना |
युएई | १५ जना |
कतार | १० जना |
अमेरिका | ५ जना |
साउदी | ३ जना |
बेलारुस | १ जना |
पोर्चुगल | १ जना |
पोल्यान्ड | १ जना |
बहराइन | १ जना |
इन्टरपोलबाट फाइदा लिन सकिरहेका छैनौं (विज्ञानराज शर्मा पूर्वएआईजी, नेपाल प्रहरी सगको कुराकानी )
इन्टरपोल के हो ?
अन्तर्राष्ट्रिय प्रहरी संगठन हो । अन्तरदेशीय अपराधका सम्बन्धमा एक देशको प्रहरीले अर्को देशको प्रहरीसँग समन्वय गर्छ । एक देशको प्रहरीले अर्को देशको प्रहरीलाई सहयोग गर्ने पुल हो– इन्टरपोल ।
अहिले यसको प्रभावकारिता कस्तो छ ?
संयुक्त राष्ट्रसंघपछि यो नै सबैभन्दा ठूलो र प्रभावकारी संगठन हो । यसको प्रभावकारिता आफूले कति लिन सकिन्छ त्यसमा भर पर्छ । इन्टरपोल एउटा सशक्त माध्यम हो, उसले समन्वय मात्र गर्दैन, तालिम पनि प्रदान गर्छ । यसले अन्तर्राष्ट्रिय अपराध रोक्न सहज बनाउँछ ।
रेड कर्नर नोटिस के हो ?
जघन्य अपराध गरेर फरार भएका अपराधीलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय रूपमा जारी गरिने नोटिस हो । हत्या, ठूला भ्रष्टाचार, ठूला–ठूला बौद्धिक चोरीजस्ता जघन्य अपराध गर्ने काममा संलग्नहरूविरुद्ध जारी हुने एकप्रकारको नोटिस हो ।
अदालतमा केस टुंगिएकाहरूमाथि पनि त रेड कर्नर जारी भएको छ नि ?
सर्टेन कुरा पूरा गर्नुपर्छ । केही सेन्सेटिभ इस्यु, ग्रस ह्युम्यान राइट्स भ्वाइलेसन, आतंकवाद, संगठित अपराध, साइबर क्राइमजस्ता मेजर इस्युलाई इन्टरपोलले फरक ढंगले हेर्छ ।
एसियाली क्षेत्रीय सम्मेलन (एआरसी) कस्तो रह्यो ?
सम्मेलनका क्रममा इन्टरपोलसँग सम्बद्ध १ सयभन्दा बढी व्यक्ति पहिलो पटक नेपाल आएका थिए । नेपाललाई चिनाउन पनि त्यो सम्मेलन निकै महत्वपूर्ण रह्यो । नेपालका सन्दर्भमा हामीले धेरै कुरा बुझाउन सकेका रहेनछौं, हामीले भन्नुपर्ने रहेछ । नेपाल प्रहरीलाई विश्वमा चिनाइयो । सबै जना खुला दिलले हामीलाई सहयोग गर्न तयार भए । साउदी अरेबियासँग कुरा गरेर पोखरामा जघन्य अपराध गरेर फरार भएका जीवन अधिकारीलाई नेपाल डिपोर्ट गर्यौं ।
इन्टरपोलमा रहेर नेपालले के कस्तो लाभ उठाइरहेको छ ?
अहिलेसम्म हामीले केही पनि लाभ लिन सकेका रहेनछौं । नेपाल प्रहरी इन्टरपोल हेडक्वार्टर तथा रिजनल अफिसमा गएर बस्नुपर्छ । हामी नेपाल प्रहरीका अफिसरहरू कुनै विदेशीभन्दा कम छैनौं, व्यवसायिक हिसाबले दक्ष छौं । इमर्जिङ योङ अफिसर्सहरू त अझ आइटीमा एक्सपर्टसमेत छन्, अंग्रेजी र फ्रेन्चजस्ता भाषामा पोख्त छन् । इन्टरपोलको अध्यक्ष तथा महासचिवलाई हामीलाई अवसर दिनुहोस् भन्दा उहाँहरू सकारात्मक हुनुहुन्थ्यो । यसमा हामीले आफै अग्रसरता लिनुपर्छ ।
धेरै वर्षदेखि रेड कर्नर नोटिस जारी भएका अपराधीहरू पनि पक्राउ परेको देखिँदैन ?
एक्स्ट्राडिसन र एमएलएजस्ता ट्रिटीहरू तयार भएका छैनन् । अहिले त एकलाई अर्कोले सहयोग गर्ने हिसाबमा यी कामहरू भैरहेका छन्, त्यो पनि केही मुलुकले मात्र गर्छन् । यो कामलाई प्रभावकारी बनाउन म्युचुअल लिगल अस्टिटेण्ट कानुन र एक्स्ट्राडिसन सन्धीहरू आवश्यक छ, सदस्य राष्ट्रहरूसँग एमओयु गर्नुपर्यो । त्यसपछि अपराधीहरू भकाभक पक्राउ पर्छन् । कानुन र सन्धि नभएका कारण अपराधीहरू लामो समयसम्म पक्राउ पर्न नसकेका हुन् । हाम्रो प्रक्रिया पनि निकै लामो छ । अहिले भैरहेका कामहरू एक–अर्का देशका प्रहरीको विश्वासमा मात्र सम्भव हो ।
नेपालले इन्टरपोलमार्फत कस्ता काम गरिरहेको छ ?
किड्नी साटफेर गर्ने चर्चित डाक्टरलाई भारत डिपोर्ट गर्यौं, रणबहादुर बमका हत्यारालाई नेपाल ल्यायौं । धेरै अपराधीलाई हामीले इन्टरपोलमार्फत झिकाएका छौं, इयान बेकरलाई इन्टरपोलमार्फत पक्राउ गर्न सफल भइयो । पारस्परिक सहयोगमै यी सबै काम भैरहेका छन् । जघन्य अपराध, ठूला–ठूला भ्रष्टाचार, घोटाला, ठगी, इन्टलेक्चुअल पपर्टीसँग सम्बन्धित इन्टरपोलमा पठाउनुपर्छ भन्ने कल्चर अझै पनि प्रहरीमा विकास भैसकेको छैन । मानिसहरू इन्टरपोललाई ठूलै हौवा मान्छन्, त्यो होइन, यो अन्तर्राष्ट्रिय प्रहरी संगठनको सेतुको काम गर्ने संस्था मात्र हो । अहिले हाम्रो अलि ढंग पुग्न सकेको छैन् ।
नेपालीहरूमाथि कस्ता अपराधमा रेड कर्नर जारी भएको छ ?
हत्यामा संलग्नहरू धेरै देखिन्छन् । ठगी, लोटरी ठगी, ह्युमेन ट्राफिकिङ, चोरी, लागूऔषधजस्ता केसमा नेपालीहरूको इन्भल्बमेन्ट बढी देखिन्छ । मेजर क्राइमहरू नै बढी छन् ।
जनक तिमिल्सिना साप्ताहिकबाट साभार
प्रकाशित :भाद्र १४, २०७४
प्रतिक्रिया दिनुहोस