थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने


शिवानी खड्का !

हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको ?” लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ| झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ|

मान्छेहरु किन आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन| फेसबुकले निश्चित संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ| त्यो संख्या मेरो पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन|

अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन| तर मैले केहि सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु| गाउँकै दाजु भएको कारणले उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ| तरपनि मनमा किन त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो|

अनुरोध स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त|” मैले केहि प्रतिकृया जनाइन| साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि कन्जुस्याई गरे| त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा हुनथाल्यो|

एक मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य बनाए| मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि हो”, “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख लाग्यो|

मेरा तस्वीरहरूमा “आहा! कति राम्री ???? ”, “वाउ लुकिंग सेक्सी ???? ”, “स्स्सो हट J”जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो त… फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी?”, यस्तो लाग्थ्यो मलाई पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके| मलाई तिनको पागलपन देखेर एकछिन कुरा गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन्? कुरा गर्ने क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन्|

गाउँको हो भन्ने थाह छ तर कसको छोरी या बहिनी भन्ने थाह छैन| धेरैबर्ष गाउँ बाहिर बसेर बुढेसकालमा बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो| यिनकी छिमेकी बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै चिन्थे|

यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा कल गरे| मैले दुबैलाई इन्कार गरें| मैले अब मेरो काम छ पछी कुरा गरौंला भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त रहे| अन्तिममा केहि उपाय नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल J|” दाजु आत्तिदै भन्छन् “हैट! के भनेको त्यस्तो? बरु हामि लप गरौँ न, आइ लप यु ”

तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो| आखिर के सम्झिन्छन छोरा मान्छेहरु आफुलाई? कसरि यस्तो सोच्न र भन्न सक्छन? एक छोरा र एक छोरीका बाउ भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो कुरा भन्न सक्छन? के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको?

म सरासर उनको प्रोफाइलमा गएँ| कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले| तर होइन उनको आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन| “मेरी गुडिया आइ लप यु” लेखेर| मलाइ यो “आइ लप यु” शब्दसँग धेरै घिन लाग्यो|

मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ, हिजोसम्म प्रेमको, स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो| उनले छोरीलाई पनि मैलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो| मैले एकाएक तिनमा राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस| तिनलाई उचित शिक्षा दिने बिचार आयो|

म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो समय कटाउने मेलो ???? म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल ल्याइदिन्छु ” लेख्न भ्याएका रहेछन| मेरो रिसको पारो झन् तातियो| मैले उक्त म्यासेज बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ|

यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका| यसो भन्दा सबै पुरुष यस्तै हुन्छन् भन्ने हुँदैन| धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र यस्ता कुपुरुषहरुले छाँयामा पारेका हुन्छन्| अझैपनि धेरै पुरुषहरु त्यस्ता छन् जसको म्यासेज रिप्लाई नगर्दा “ओइ #लु, एकरातको कति लिन्छेस?” “किन भाउ खान्छेस र#डी?” “बोल्दिनस भने किन अनुरोध स्वीकार गरिस?” भन्नेजस्ता म्यासेज पठाउछन्|

हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ| सधैं सबैलाई जवाफ फर्काएर बस्न सकिदैन| फेरी मलाइ यसो भने भनेर कसलाई सुनाउदै हिड्ने? ब्लक या डिलिट कतिलाई गर्ने? कतिलाई ति दाजुलाई जस्तो शिक्षा सिकाउने? अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि नहुने कुरो|

यस्तो कार्यमा सबैभन्दा अगाडी घर छोडेर परदेशिएकाहरु छन् मेरो निजि अनुभवमा| तिनीहरु कतार, दुबई, साउदीजस्ता खाडी मुलुकमा छन् कि त फेरी मलेशियामा छन्| तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज सकियो, संस्कारको सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्| समाजको एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ भनेर कहिल्यै सोच्दैनन्|

आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको मुख्य दुश्मन हुन्| आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न पाउँदा आफुलाई मर्द सम्झेर मख्ख पर्छन| छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर कोहिपनि मर्द हुँदैन| मर्दले त नारीको इज्जत र रक्षा गर्छ| अशक्त र बच्चालाई प्रेम बाड्छ, पिडितको उद्दार गर्छ| धर्मको पालना गर्छ| करीब दश मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले| सोचें उनकी छोरीले त्यो कुरा हेरी भने के सोच्छे होला? छोरीको आँखामा आफ्नो बाबु जस्तो भएपनि एउटा आदर्श पुरुष हुन्छ|

मेरी एउटी साथी छे, अन्जली| हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं पनि सँगै आएका हौँ| हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ अलगअलग भयो| पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो| पछिल्लो समय उसले स्नातक सकेर निजि बैंकमा जागिर खान्थी| म डिग्रीको पढाई सँगै एउटा निजि कम्पनीमा काम गर्थे|

आज बिहान रुँदैरुँदै मलाइ “इमो”मा फोन गरि र छिट्टै भेट्न बोलाइ| म कामको शिलशिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ| साथै रुनाको कारणबारे पनि जिज्ञासा राखें| धेरैबेरको रोदन र मेरो लगातारको प्रश्नले उसले समस्याको पोको खोली|

उसकै बैंकमा कामगर्ने सहकर्मीसँग उसको प्रेमसम्बन्ध रहेछ| मनदेखि शुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ| अन्जली कथित दलित हो, बिश्वकर्मा| उसको प्रेमी उपाध्याय बाहुन रहेछ| अहिलेको समयमा कम्तिमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै दुखलाग्दो कुरा हो| उनीहरुलाई एकअर्काको जातको बारेमा थाह नभएको पनि होइन| दुबैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे गर्ने कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो| अन्जलीदेखि टाढा हुनलाई जागिरै सरुवा गरेर लगेछ|

आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन सक्दैन| भोलिको बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पुर्व तयारी गर्दैन भने उसले पढेको के काम भयो| उसले हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत भएन र? अरुबेला देश बदल्ने ठुलाठुला कुरा गर्नेहरुले पहिला आफुलाई र आफ्नालाई बदलेर देखाउन|

अन्जलीले आफु सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन| सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउथ्यों| कति बुझ्थी कति बुझ्दिनथिइ उसैले जानोस्| हामी साथीहरु एकअर्काको घरमा आउजाउ गर्थ्यौं| झन् केहि बिशेष पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने| छोरीले कर गरेर बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो| यसरि अपमानित हुँदापनि उसले कहिल्यै साथ छोड्दिन थिइ, शायद आफुलाई त्यहि अनुरुप तयार पारेकी थिइ|

मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि पवित्र कार्य हुन्छ| कथित ठुला जातकाले फलफुल प्रसाद बाहेक अरु खाँदैनन| फलफुल छोइदैन अरु छोइन्छ रे! दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको खान हुँदैन रे| उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन् र? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानि पिउन हुने, छोएको खान नहुने रे! कति हास्यास्पद छ है चलन? मेरो गाउँका प्राय दलितहरु रक्सि पार्छन र बजारका भट्टीवालालाई बेच्छन|

त्यहि रक्सीले मातेर सुतेका उपल्लो जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्, जनै मुसार्छन र चोखिन्छन्| उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर चोखिन्छ्न| सुनपानी र जप गरेर दुरुस्त हुन्छन्| तर जिन्दगीभर सत्कर्म गर्ने दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैनन? यो प्रश्नको जवाफ धर्म संस्कार र समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ|

म बुझ्दछु शायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे सोच्दैछे| नभएपनि उसलाई यो समाज र यसका देखावटी रिति रिवाजप्रति रुष्ट छे| जसलाई उसले आफ्नो सर्वस्व सुम्पिएकी थिइ उसैले आज नगरेको गल्तिको सजायँ दियो| दलितको कोख अन्जलीले रोजेर पाएकी होइन| न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो मिहेनतले पाएको हो| जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन गर्ने? अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि गाह्रो काम हो| उसलाई एकदिन पक्कै छुवाछुत र भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस दियौं|

समय झन्डै दश बर्ष बित्यो तर आज हामी उही स्थानमा, उस्तै समस्यामा छौं| अब फेरी त्यहि कुराले उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन| उसको नजरमा मेरा कुरा फोस्रा हुनेछन| दशबर्ष अघि एउटी साथीले आफ्नी दिदीको बिहेमा बोलाएकी थिइ हामि सबैलाई| मिल्ने साथी भएकोले उसकी दिदी हामीलाई पनि प्यारो गर्थिन्|

अन्जलीले त आउदिन भन्दापनि दिदी आफैले जसरि पनि आउनु पर्छ भनेकी थिइन्| बेहुली निकाल्नु केहि अघि पुगेका हामीलाई बेहुली हुँदा दिदी कस्ती भईन भनेर हेर्ने रहर थियो, जो सबै केटीलाई हुन्छ| बेहुलीलाइ सिगार्ने मौका पनि पाइन्छ भनेर हामि चारपाँच जनाको हुल हुरुरु बेहुली राखेको कोठामा पस्यौं|

बेहुली हेर्दै मात्रै थियौं बेहुलीकी हजुरआमाले अन्जलीलाइ भन्नु नभन्नु भनिन्| आफ्नो साथीको कोठामा पस्नु उनको अपराध थियो| भन्नलाई त हजुरआमाले “बाहुनको घरमा के भनेर पस्छेस ए कमिनी” भनिन्| तर हामि बाहुनको घरमा पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु पसेका थिएनौं| हामि त साथीको घरमा पसेका साथीहरु थियौं| हजुरआमाले चिन्न सक्नुभएन, निम्तो गर्ने साथीले रोक्न खोजिन तर उ निरिह भई| त्यसबेला बिहेको कार्यक्रम बहिष्कार गरेर हिडेका हामीहरु असाध्यै दुखी भयौं|

अन्जलीले बरु सामान्य बन्ने प्रयास गरि हुनसक्छ यो उसको दैनिकी थियो| तर हामि उसका साथीहरुलाई ज्यादै नरमाइलो लाग्यो| बिहेमा आएका धेरै मान्छेहरुका अगाडी त्यसरी गरेको बेइज्जती हामीले त भुल्न सकेका छैनौँ भने उसले झन् कसरि सक्थी होला र?

अहिले उसले प्रेम गरेको मान्छे पनि कथित उपल्लो जातीको हो| शायद उसले प्रेममा प्रेम मात्रै देखि होला, जातभात देखिन| त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र, वर्ण र वर्ग हेर्दैन| हेरियो भने त्यो प्रेम हुनैसक्दैन, सम्झौता हुन्छ|

यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै छु| भोलि म काठमाडौं पुग्छु, उसकोमा जान्छु| मलाइ भेटेपछि उ झन् धेरै रुनेछे| यहाँ उसको आत्मसम्मान र हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ| यो देशमा केटि भएर जन्मिनु एउटा अभिसाप हो| झन् ग्रामिण भेग, पुरातन र रुढिबादी सोच भएको समाजमा जन्मिनु अर्को अपराध हो| झन् दलितको कोखमा जन्मिनु अर्को पाप हो| यी सबैको सजायँ भोगिराखेकी छे अन्जली| अब मैले बिद्रोह गर्नुको बिकल्प देख्दिनँ|

म नभए कोहि न कोहि त बोल्नैपर्छ| आज नभए भोलि त बोल्नैपर्छ| अन्जली, अब हामीले चुनौती दिनुछ यो समाजलाई र यसका टाउकेहरुलाई| तिमीहरुले बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन| तिमीहरुले बिना पौरख पाएको तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युध्द जितेर पाएका होइनन्| जबर्जस्ति लादिएको यो जात हामि अब त्यागीदिन्छौं|

मर्ने बेलामा घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन| दवाई कुन जातको मान्छेले दियो कसैले खोज्दैन| किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ| अन्जली, यी सबै ढोंगीहरु हुन्| तिम्रा डाक्टर मामाले दलित भएपनि दिएको स्लाइन र सिटामोल यिनलाई चल्छ तर तिमी घरमा पसेको सहदैनन| आफ्नो अभिष्ट पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी भनेर| अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर| गुहुमा किरा गाडिए जसरि गाडिन्छन् हाम्रो शरीरमा|

तर त्यसैलाई आफ्नी श्रीमती बनाउन यिनलाई संस्कारले रोक्छ रे| यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु हुँदैन| हुनत अन्जली म पनि तिमीलाई पींडा दिने पीडक जातको हुँ| मैले पींडा नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पींडा दिए| तर अब मलाइ मेरो जातमोह छैन| हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग, मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई फिर्ता दिन्छु| थुक्क मेरो जात! जोवन चल्ने, भोजन नचल्ने|

इगल्फबाट

१४ पुष २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको