पोष्टपाटी/जनकपुर।
मंगलबार जनकपुरमा आयोजित नेकपा एमालेको २ नम्बर प्रदेश स्तरीय मोर्चा संगठनको कार्यक्रमका क्रममा झडप भएपनि कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । यसरी ढुंगाका वर्षाको बेवास्ता गर्दै कार्यक्रम सम्पन्न गरेरै छाड्यो एमालेले !
एमालेको सो कार्यक्रममा वरिष्ठ नेता माधव नेपाल, एमाले सचिव गोकर्ण विष्ट लगायतका युवा नेताहरु समेत सहभागी रहेका बेला राजपाका कार्यकर्ताले कालो झण्डा देखाउन खोज्दा प्रहरीसँग झडप भएको थियो । तर केही क्षणपछि एमालेले कार्यक्रम सञ्चालन गरेर अहिले भव्यरुपमा सम्पन्न भएको खबर प्राप्त भएको छ ।
एमाले निकट युवा संघका अध्यक्ष राजिव पहारीले राजपाका आठ दश जना कार्यकर्ताले कार्यक्रम स्थलमा ढुंगा हान्दैमा र दुई–चारवटा कालो झण्डा प्रदर्शन गर्दैमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको विजय यात्रालाई कसैले रोक्न नसक्ने जनाएका छन् ।
उनले जनकपुरमा मंगलबार आयोजित भव्य कार्यक्रमका तस्वीरहरु आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै राजपाका कार्यकर्ताहरुको यस्तै रवैया जारी रहे युवा संघ नेपाल पनि टाउकोमा कफन बाँधेर मैदानमा उत्रिने समेत चेतावनी दिएका छन् ।
एमालेले कार्यक्रममा सञ्चालन गरिरहँदा राजपाका कार्यकर्ताले बाहिरबाट ढुंगा प्रहार गरिरहेका थिए । त्यहीबीचमा एमालेका बरिष्ठ नेता माधव नेपालले सम्बोधन गरेका थिए । राजपाले कार्यक्रम विथोल्न खोजेपनि एमालेले भव्यरुपमा कार्यक्रम सम्पन्न गरेको थियो ।
प्रतिक्रिया दिनुहोस