प्रधानमन्त्रीका लागि केपी ओलीलाई उपेन्द्र यादवको समर्थन !


काठमाडौं, १३ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्न सकिने बताएका छन् । संविधान संशोधनका लागि एमाले अध्यक्ष ओली लचिलो भएकोले आफूहरु ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुने उनको भनाई छ ।

विहिबार विहान नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा के तपाईहरु सरकारमा जाने तयारीमा हो ? भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा अध्यक्ष यादवले भने, ‘ओलीले सरकारमा जाने कुरा गर्नुभएको छ । निश्चित रुपमा हामी सरकारमा जान्छौँ । तर हामीले उठाएका मुद्दामा उहाँहरु सहमति भएको खण्डमा मात्रै जाने हो । संविधान संशोधन गर्ने, आदिवासी, जनजातिहरुले उठाएका माग पूरा गर्ने र संविधानका त्रुटीहरुलाई सच्याउने वातावरण बन्यो भने हामी सरकारमा जान्छौँ ।’

संविधान संशोधनमा एमाले वा वाम गठबन्धन लचिलो भयो भने सरकारमा जाने हो ? अर्को प्रश्नमा यादवले प्रष्ट्याए, ‘लचिलो होइन । संशोधन गर्ने नै हो भने मात्रै सरकारमा जान्छौँ । गरेर देखाउनुपर्यो नि ।’

सरकार गठनमा ४ विकल्प प्रस्तुत

नेता यादवले नयाँ सरकार गठन कसको नेतृत्वमा हुने भन्ने निश्चित नभएको र आफूले चार वटा विकल्प देखेको बताए । उनका अनुसार पहिलो कुरा एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउने तर त्यसमा आफूपनि सहभागी हुनसक्ने संकेत गरे । उनले भने, ‘दुई तिहाई पुग्ने भएकोले सकेसम्म वाम गठबन्धनकै नेतृत्वमा सरकार बनोस्, भलै त्यसमा हामी पनि सहभागी हुन्छौं ।’

त्यस्तै उनले दोस्रो विकल्पमा एमालेबाहेकका दलहरुवीच सरकार बन्ने पनि विकल्प देखेका छन् । उनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा कांग्रेस, राजपा र फोरमवीच सरकार बन्ने पनि संभावना देखेका छन् ।

यादवले एमालेसहित राजपा र फोरमको पनि सरकार बन्न सक्ने संभावना उतिकै बलियो रहेको सुनाए । यदि यो पनि हुन सकेन भने चौथो विकल्पमा कांग्रेस र एमालेबीचपनि सरकार बनाउने सहमति हुने वा वातावरण बन्न सक्ने विश्वास दिलाए ।

१३ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको