यस्तो हुन्छ उमेरले ३५ कटेकी यौनकर्मी कमलालाई ?


सन्ध्या केसी

कुनैबेला दैनिक हजारदेखि १० हजारसम्म कमाउने कमला यतिखेर रक्सीको सहारामा बाँचेकी छिन् । उमेरले ४० पुगेकी कमलाका अगाडि जीवनको कुनै आशा बाँकी छैन । तनावमा डुबेकी कमलालाई डाक्टरले डिप्रेसनको सल्लाह दिएका छन् । राजधानी र अन्य सहरका अधिकांश यौनकर्मीहरू ३०, ३५ उमेर कटेपछि यस्तै समस्यामा परिरहेका छन् । जवानी छउन्जेल भने जति पैसा पाउने यौनकर्मीको मोल उमेर ढल्कँदै गएपछि ओरालो लाग्न थाल्छ र उनीहरूमा सुरु हुन्छ डिप्रेसन ।

राजधानीमा मात्र अहिले कम्तीमा पनि ५० हजार यौनकर्मी रहेको अध्ययनले देखाएको छ । उनीहरूमध्ये ३५ काटेका यौनकर्मीमध्ये आधाभन्दा बढीमा डिप्रेसनको समस्या रहेको यौनकर्मीहरूको क्षमता अभिवृद्धिलगायतका काममा कार्यरत संस्थाहरूको दाबी छ । अधिकांश यौनकर्मी २५ वर्षसम्मको उमेरसम्म मोटो रकम कमाउँछन् तर जुन बाटोबाट आउँछ ठीक त्यसैगरी खर्च गर्छन् । ‘माहोल नै यस्तो हुन्छ कि जवानी ढलेपछि कमाइ घट्ने भन्ने हेक्का नै हुँदैन’, कमलाले भनिन् ।

खासगरी उमेरको चढावसँगै उनीहरूको ठाउँमा कम उमेरका महिलाहरू भित्रिने, पहिलाजस्तो आम्दानी नहुने र सजिलो पैसामा बाँच्ने बानी विकास भएको हुँदा जीवनप्रति निराशा बढन गएर रक्सी र केहीले लागूऔषधको समेत सहारा लिने गरेको उनीहरू बताउँछन् । यौनकर्मी महिलाको क्षमता अभिवृद्धिलगायतमा कार्यरत यौनकर्मी महिलाहरूको संस्था जागृति महिला महासंघकी कार्यक्रम निर्देशक विजया ढकालका अनुसार, अहिले ठूलो संख्यामा यौनकर्मी डिप्रेसनको सिकार भएका छन् । चिकित्सकहरूका अनुसार यौन पेसामा लाग्ने महिलाहरूमा उमेर ढल्किँदै गएपछि निद्रा नलाग्ने, एकान्तमा बस्न मन पराउने, नसालु पदार्थ सेवन गरेर लठ्ठ पर्नेजस्ता लक्षण देखिने गर्छन् । यो तनावले गर्दा उमेर ढल्कँदै गएका यौनकर्मी महिलाले ग्राहक नपाउने र पैसाका लागि बिना कन्डम पनि यौनसम्पर्क राख्न बाध्य हुनुपर्ने हुँदा एचआईभीको बढी जोखिममा पर्ने सम्भावनासमेत हुन्छ ।

ग्राहकले बिनाकण्डम यौनसम्पर्क राख्न दिएमात्र पैसा तिर्ने सर्त राख्ने भएकोले उनीहरू पेटका लागि बाध्य हुने गरेको जागृति महिला महासंघकी कार्यक्रम अधिकृत शान्ति तिवारी बताउँछिन् । विडम्बनाको कुरा, सुरक्षित यौनका क्षेत्रमा बग्रेल्ती संस्थाहरूले कुरा गरे पनि नियतिले ठगिएका यौनकर्मीहरूका यी समस्याका बारेमा उनीहरू केही संस्थाहरूबाहेक अरू कसैले चासो लिएका छैनन् । – हेल्थ टुडे

१३ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको