माके भित्र आर्को लफडा :प्रचण्डको अभिव्यक्तिले मियाँ रुष्ट, भने ‘जर्बजस्ती गरे ‘कत्लेआम’ गरिन्छ’


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पर्साको ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्ने अभिव्यक्ति दिएपछि अहिले सर्बत्र बिरोध भइरहेको छ ।

उनले त्यस्तो अभिव्यक्ति दिएपछि संघिय समाजवादी फोरमले पर्सामा बिरोध प्रदर्शन गरेको थियो । बिरोध प्रदर्शनमा सहभागीा फोरमका नेताहरुले प्रचण्डको हात काटीदिने सम्मको धम्की दिएका थिए । फोरम नेताहरुले प्रचण्डले अभिव्यक्ति फिर्ता नलिए माओवादी केन्द्रका कार्यकर्तालाई वीरगन्जबाट लखेट्ने समेतचेतावनी दिएका थिए ।

यस्तै यो अभिव्यक्तिको बिरोध पार्टी बाहिर मात्र हैन अब पार्टी भित्रै सुरु भएको छ । अध्यक्ष प्रचण्डको यस्तो घोषणाले समाजमा हिँसा भड्किने खतरा रहेको भन्दै पार्टीका नेताहरुले भित्र भित्र त्यस्ता अभिव्यक्ति नदिन सुझाब दिएका थिए ।

अहिले भने माओवादी नेताहरुले आन्तरिकरुपमा मात्र हैन प्रचण्डको उक्त उद्घोष गलत भएको भन्दै सार्वजनिक रुपमै विरोध जनाउन सुरु गरेका छन् । माओवादीका एक केन्द्रीय सदस्य तथा निर्वाचित जनप्रतिनिधिले नै उक्त कुराको बिरोध गरेका छन् ।

वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले अध्यक्ष प्रचण्डले हचुवाको तालमा त्यस्तो घोषणा गरेको आरोप समेत लगाएका छन् ।

उनले ठोरी गाउँपालिका पर्साको भएका कारण त्यसको एक इन्च पनि प्रदेश नं ३ मा गाभ्न नमिल्ने भन्दै जर्बजस्ती गाभ्न खोजे ‘कत्लेआम’ (सार्वजनिक हत्या)’ गर्न पनि पछि नपर्ने चेतावनी दिए ।

उनले भने- ‘ठोरी गाउँपालिकाको जल, जंगल जमिन पर्सावासीको सम्पत्ति हो, जसजसलाई जहाँ जहाँ जानु छ गए हुन्छ तर जमिन एक इन्च पनि लिएर जान पाइँदैन । यसमा कसैसँग कुनै सम्झौता हुँदैन, ‘ठोरीलाई प्रदेश नं ३ मा हैन २ मै राख्नुपर्छ, यदी कोही पर्सावासीको भावना विपरित जान्छन् भने कत्लेआम गर्न तयार छु ।’

दुई दिन अघि ठोरी पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ठोरीलाई प्रदेश नं ३ मा गाभ्ने कुरा गरेका थिए । यसअघि ठोरी गाउँपालिकाको पहिलो बैठकले ठोरी गाउँपालिकालाई प्रदेश नं ३ मा गाभ्न सिफारिस गर्ने निर्णय समेत गरिसकेको छ ।

भारतसँग सीमा जोडिएको ठोरी पर्सा जिल्लामा पर्ने भए पनि चितवन भएर जानुपर्छ । उता ठोरीकै जनता भने विगत लामो समयदेखि चितवनमा गाभिनुपर्ने माग गर्दै आन्दोलनमा छन् । साविकको ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस मिलाएर हाल ठोरी गाउँपालिका बनेको छ ।

१३ पुष २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको