छुट्टीमा हिडेको प्रदेशी घर नपुग्दै बाटैमा बिदा सकियो


पोष्टपाटी/पृथीछक बुढा मगर

“कहिले ल्याउछौ राजधानीबाट दुर्गम पुग्ने बुलेट रेल, जसले क्षणभरमै घरको दैलोमा पुर्याउछ” 

हिउँदमा नेपाल पुगियो भने भारतको आकाशवाटै नेपालको उत्तरी सिमानाका हिमालहरु टलक्क टल्किएका देखिन्छन् । यो पटक म वर्षायाममा नेपाल पुगें । भारतको आकाशमा पुग्दा नेपालको हिमालमा कुहिरोले छपक्कै ढाकिएको देखियो । अरवमा के हिउँद ? के वर्षा ? के शिशिर ? के वसन्त ? मानौँ यहाँ ऋतु कहिलै बढलिदैन । सधैं एउटै जस्तो याम । कहिलेकाही खजुरको बोटमा ढुकुर वास्दा वसन्त लाग्यो कि जस्तो पनि लाग्ने । मेरो कोठा वाहिरको झ्याङमा जुरेलीको गुड देख्दा पनि वसन्त लागेछ जस्तो लागिरहन्छ ।

निसन्देह, मेरो देश सुन्दर छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै `के नेपाल सानो छ ?´ भन्ने निबन्ध लेखेका होइन रहेछ । साच्चिकै सानो नेपाल भित्र विश्व अटेको छ । समुन्द्र सतह देखि सर्बोच्च शिखरसम्मका पृथ्वीका सम्पुर्ण बिबिधता यो देशमा पाइन्छ । यो देशमा जन्मेकोमा म आफुलाई भाग्यमानी मान्छे ठान्दछु तर श्रम गर्न देश बाहिर पुगेको थिएँ र बार्षिक बिदामा छुट्टि मनाउन मेरो देश नेपाल गएको थिएँ जुलाई महिनाको अन्तिम साता ।

नेपालको आकाशमा शयर गरिरहँदा  यस्तो लाग्थ्यो, मानौँ म स्वर्गको यात्रामा निस्किएको हुँदो हो । सेता कुहिरोहरु कपासका भुवा जस्ता जसलाई स्पर्श गर्दै जहाज अन्तरास्ट्रिय बिमानस्थल अवतरण गर्‍यो । म स्वर्गमा ओर्लिए झैँ लाग्यो । तर जब बिमानस्थलवाट बाहिर निस्किएर नेपालको राजधानी काठमाडौको सडकमा म चढेको ट्याक्सी गुड्न थाल्यो तब असार महिनाको रोपाइँको याद आयो । बरु असारको धान रोप्ने खेतमा यतिको हिलो नहोला तर काठमाडौंको सडकमा जमेको हिलो देखेर म अवाक भएँ । म यो देशमा जन्मिनु परेकोमा आफैलाई भाग्यमानी त ठान्दछु तर कसम, यो देशका शासकहरुको जनता हुनु परेकोमा आफैलाई अभागी ठानें । यहि भाग्य र दुर्भाग्य विचमा अल्झिएका करोडौं नेपालीहरुको विचमा यहि हो भनेर किटान गर्न नसकिने मेरो भाग्यको बिषयमा सोचेको थिएँ । भर्खरै स्थानिय चुनाव सकिएको छ । नेताहरुले चुनावमा वितरण गरेका नाराहरु पनि सम्झिएँ।

काठमाडौको कालोपत्रे सडक ! कहिले हुने होला मेरो काठमाडौ सुन्दर शहर ? चुनावमा बिजयी प्रतिनिधीहरुको कार्यकाल पनि केही महिना बितिसक्यो । पाँच बर्षमा साईकल सिटि बनाउने भन्थे । संसारकै सुन्दर शहर बनाउछौँ भन्थे । पदूषण रहित शहर बनाउछौँ भन्थे । तर फोहर हिलोमा फैलिएको भ्रष्टाचारको गन्ध ! सुंघी सुंघी म आजित भएँ । सायद, सिहदरवार र वालुवाटारमा बस्न रुचाउनेहरुले यस गन्धलाई सुगन्ध मान्दा हुन् । त्यसैले त चुपचाप छन् । केही समय पहिले एकजना छात्रा खसेको खाल्डोलाई हेरिरहें एकतमास । त्यो खाल्डो जस्ताको तस्तै थियो ।

काठमाडौ देखि दुरक्षितिजमा पर्छ मेरो गाउँ, मध्यपश्चिमको हिमाली जिल्ला पुर्बी रुकुम । घर बिदामा आएको गाउँ पुग्नै थियो । रुकुम जाने सडकहरु पनि काम नलाग्ने भईसकेका थिए खाल्डाखुल्डी परेका ठाउँ ठाउँमा । त्यहाँको हिलोमा पनि भ्रष्टाचारकै गन्ध आईरहेको महसुस भयो मेरो नाकलाई । खासमा त्यो कालोपत्रे सडक थियो तर यस्तो जमेको ठेलठेल हिलो यो जन्ममा कहिलै देखेको थिएन । असार सावनको लेकाली गाई गोठहरुमा पनि यस्तो हिलो हुँदैन । गाडीको चारै पाङ्ग्राहरु हिलोमा गायव हुन्थे । कहिले गाडिवाट ओर्लिदै, गाडीलाई धकेल्दै, फेरि चढ्दै पच्चिस घण्टामा रुकुम पुगियो ।

सदरमुकाम मुसिकोट देखि जिपको यात्रा शुरु गर्नुपर्छ पुर्वतिर । सडक त छ तर जिप जाँदैन । यस कारण कि, ठुल्ठुला खोलाहरुमा पुल नबनेकाले पानीको बहाव बढेको वेला जिपले खोला तर्न सक्दैन ।

कुनै वेला माओवादीको एक नम्वर आधार इलाका जाने सडकको हविगत हो यो । उसले कुनै समय रुकुमलाई काठमाडौ बनाउछु भन्थ्यो । काठमाडौको हविगत पनि देखेकै हो, भोगेकै हो । सिहदरवार नजिकै भएको राजधानिको हालत त यस्तो छ भने मेरो रुकुम त पृथ्वी देखि नितान्त टाडा कुनै दुर्गम ग्रह जस्तो । के अपेक्षा गर्नु र ? यहि थियो मन बुझाउने वाटो ।

तर मनमा क्रोध छ । अहिलेको सरकारको नेतृत्व गरिरहेको काङ्ग्रेस प्रति क्रोध छ । रुकुमलाई काठमाडौ बनाउछौँ भनि १० बर्ष युद्ध लडेका माओवादी प्रति क्रोध छ । अहिलेको चुनावमा जनप्रतिनिधि धेरै बटुलेको एमाले प्रति क्रोध छ । घर नपुग्दै वाटैमा बिदा सकियो । सोध्न मन लाग्छ, कहिले नेपालमा बुलेट रेल ल्याउछौ ? अनि कहिले चिताएको ठाउँमा सहज रुपमा पुग्न सक्छौं  ?

१२ भाद्र २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको