गायक रामकृष्ण ढकाल भन्छन ‘मोवाइलको घन्टी बज्दा आतंकित हुन्छु, फेसबुक हेर्नै डर लाग्न थाल्यो’


यतिबेला आफैंले गाएको गीतझैं ‘बोल्नै नहुने’ भएको छ, रामकृष्ण ढकाललाई । नेपाली आइडलमा ‘गेस्ट जज’को रुपमा निम्त्याइएका उनले आफूलाई प्रतियोगी निशान भट्टराईको गायकी मनपर्ने बताए । यही उनको भूल भयो ।

अतिथि निर्णायकको कुर्सीमा बसेका ढकालको भनाइको सार यस्तो थियो, ‘टप फाइभमा आउनु भनेकै गायकी राम्रो हुनु हो । तपाईंहरु त्यसै यहाँसम्म आइपुग्नुभएको छैन । मैले भन्नुपर्दा, मलाई मनपर्ने गायकी भनेको निशान भट्टराईको हो र प्रताप दासको पनि । दुई जना मलाई एकदमै मनपर्छ । तपाईंहरु जस्तो प्रतियोगी डेन्जर जोनमा पर्दा दुःख लाग्छ । र, अर्कोकुरा हाम्रोलाई भन्दा राम्रोलाई भोट गरौं भन्ने मलाई लाग्छ ।’

रामकृष्णको यही ‘जजमेन्ट’ विषालु बनिदियो ।

अनलाइनखबरसँगको भेटमा उनी अलि उदास थिए । भने, ‘खासमा मैले नराम्रो आशयले भनेकै होइन । मेरो आत्माले जे भन्यो, त्यही बोलें । मलाई बडो कूटनीतिक भएर बोल्न आउँदैन । र, सबैलाई उत्तिकै राम्रो लाग्छ भनेर झुटो बोल्न पनि सक्तिनँ ।’

जब टेलिभिजनबाट नेपाली आइडलको उक्त शृंखला प्रसारण भयो, रामकृष्ण विवादको भूमरीमा फसे । उनीमाथि नानाथरी गाली बर्साउन थालियो । फोन गरेर चिनेजानेकाहरुले त्यही कुरामा केराकार गर्न थाले । फेसबुकभरि उनीमाथि भद्दा र चर्को आलोचना पोखियो ।

‘अहिले त फोनको घण्टी बज्दासमेत आतंकित हुन थालेको छु,’ रामकृष्णले भने, ‘फेसबुक हेर्नै डर लाग्न थालेको छ ।’

तीव्र र छुद्र आलोचना पचाउन नसकेका ढकालले केही रेकर्डिङको कामसमेत गर्न सकेनन् । र, अर्को दिनका लागि थाती राखे । उनी यतिबेला तनावबीच घेरिएका छन् ।

के फेसबुकमा आलोचना गरिए जस्तै ढकालले ‘फाँसी दिइनुपर्ने’ गल्ती गरे त ?

‘खै, मैले त्यस्तो गल्ती गरेजस्तो लाग्दैन,’ ढकालले भने, ‘आफ्नो मनमा जे आएको हो, त्यो नलुकाई भनेको हो ।’ निर्णायकको कुर्सीमा बसेपछि आफूले स्पष्ट राय दिनैपर्ने उनको बुझाइ छ । ‘मलाई त्यहाँ कुन प्रतियोगीको क्षमता के छ भनेर जाँच गर्नकै लागि बोलाइएको हो,’ ढकालले प्रतिप्रश्न गरे, ‘अब म चुपचाप लाग्ने कि, सबै ठीकठाक छ भनेर टार्ने ?’

अहिले उनलाई खेद्नेहरुको लर्को छ । सामाजिक सञ्जालमा उनको चर्को विरोध र आलोचना भइरहेको छ । उनीमाथि ‘जातिवादी’ ट्याग भिराइएको छ । ‘पक्षपाती’को बिल्ला झुण्ड्याइएको छ । ‘बाहुनवादी’को हिलो लेपिएको छ ।

अक्सर रियलिटी सोमा निर्णयकको भूमिकामा रहेकाहरुलाई सोधिन्छ, तपाईंलाई कसको परफमेन्स मनपर्‍यो ?

रामकृष्ण ढकाललाई ‘ब्याकस्टेज’मा पनि यही सोधिएको रहेछ । कार्यक्रम होस्टले सोधेका थिए रे, ‘व्यक्तिगत हिसाबमा कुन प्रतियोगी मनपर्छ ?’

उनले नढाँटी जवाफ दिएछन् ।

मञ्चमा पनि उनले त्यही धारणा दोहोर्‍याए । उनले भने, ‘निशान भट्टराईको गायकी मन पर्छ ।’ प्रताप दासप्रति पनि उनको झुकाव रह्यो ।

अर्का दुई प्रतियोगी बुद्ध लामा र सागर आलेलाई उनले ‘पक्षपात’ गरे । दर्शकले यस्तै ठम्याए । दर्शकलाई लाग्यो, क्षत्री बाहुनलाई च्यापेर ढकालले जनजातिलाई पाखा लगाए । उनीहरु वाकयुद्धमा उत्रिहाले । ढकाललाई ‘बाहुनवादी’को हिलो लेपियो । उनी जनजाति प्रतियोगीप्रति अनुदार रहेको जिकिर गरियो ।

यसले एउटा खेमा खासगरी जनजाति दर्शक, जो बुद्ध लामा र सागर आलेका पक्षधर थिए, उनीहरु नराम्ररी बिच्किए ।

ढकालको प्रष्टिकरण

हामीले सोध्यौं, ‘के तपाईंले ती प्रतियोगीहरुको सुरुदेखि नै मूल्यांकन गरिरहनुभएको थियो त ?’ जवाफमा उनले नेपाली आइडलको शृंखला नियमित हेर्दै आएको बताए । उनले के पनि बताए भने, ‘म हरेक सो हेर्दा मनमनै उनीहरुको गायकी पनि मूल्यांकन गरिरहेको हुन्थें ।’

ढकाल आफैंमा संगीत साधक हुन् । स्वाभाविक रुपले अर्काको गायकीको मूल्यांकन गर्न उनलाई कर र मन लाग्छ । यो आम प्रवृत्ति पनि हो ।

उनले नेपाल आइडल हेर्न थालेयता भट्टराईको प्रस्तुती मन परेको रहेछ । तर, अहिलेको जमाना गायकीले मात्र होइन, परफमेन्सले पनि धान्ने हो । त्यस हिसाबले उनको रोजाइमा रहेछन्, प्रताप दास । प्रतापको प्रस्तुतीकरण पनि राम्रो रहेछ ।

बुद्ध लामाको गायकीले पनि ढकालको मन पगालेकै रहेछ । अलि फरक स्टाइलले गाउने लामाको स्वरमा बेग्लै मिठास पाएका छन्, उनले । ‘बुद्ध क्युट पनि लाग्छ,’ ढकाल यसै भन्छन् । सागर आलेको गायन पनि अब्बल रहेको उनको मूल्यांकन छ ।

तीतो सत्य

अक्सर रियालिटी सोमा निम्त्याइएका कुनै पनि निर्णायकलाई सोधिन्छ, ‘तपाईंलाई कसको परफमेन्स कस्तो लाग्यो ?’

यसमा निर्णायकले ‘ठीकै लाग्यो, राम्रो लाग्यो’ भनेर मात्र पुग्दैन । र, त्यस्तो अपेक्षा पनि गरिँदैन । साथै,निर्णायकको यस्तो फितलो जवाफले कार्यक्रममा तोड पनि आउँदैन । त्यसैले उसले जे हो, त्यो बोल्नैपर्छ । त्यो सत्य हुनुपर्छ । र, सत्य तीतो नै हुन्छ ।

इन्डियन आइडल होस् वा अन्य यस्तै रियालिटी सो, निर्णायकले आफ्नो निष्पक्ष र स्पष्ट निर्णय सुनाउने गर्छन् । त्यति मात्र होइन, उसले निजी वा भावनाको कुरा पनि खोल्छ । जस्तो कि, ‘मलाईचाहिँ फलानो मन पर्‍यो ।’

किनभने उनीहरु निर्णायक मात्र हुँदैनन्, दर्शक पनि हुन्छन् । र, दर्शकको आँखाबाट पनि कसैमाथि मूल्यांकन गर्नु उनीहरुको मानवीय स्वभाव हो । ढकालले त्यही स्वभाव देखाए । उनले कूटनीतिक जवाफ दिन जानेनन्/चाहेनन्/सकेनन् अनलाइन खबरमा छ।

१२ भाद्र २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको