काठमाडौं । कुनै बेला यस्तो स्थिति थियो अखिल क्रान्तिकारीको एउटा विज्ञप्तीले शैक्षिक माफिया त्राहीमाम हुन्थे । शिक्षामा सबैको समान पहुँचको नाराले गरिब बस्ती पुलकित हुन्थे । आफूलाई बाघ संगठन दाबी गर्ने अखिल क्रान्तिकारी हेर्दाहेर्दै स्यालमा परिणत भएको छ । र, नीतिको बहश छाडेर फगत भरौटे नेता उत्पादन गर्ने कारखाना भएको छ । यसको उच्चतम रुप जारी सम्मेलनमा देखिएको छ ।
अखिल क्रान्तिकारीको जारी सम्मेलनमा पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले कन्सिरी तात्ने गरी दिएको वक्तव्य बाहेक नीतिगत एजेण्डाले प्रवेश पाएको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमार्फत नेतृत्वको खोजी गर्नुपर्ने वक्तव्य दिएर क्रान्तिकारीमा तरंग पैदा गरेका छन् । सहमतिमा नेतृत्वको खोजी गर्न निर्देशन दिँदा जनार्दन शर्माका भाइ वरिष्ठम हुने र उनैको सम्भावना बढी रहने हुँदा ‘बुढा’ ले चितवनका आरसीलाई अध्यक्ष बनाउन निर्वाचनको तुरुप फ्याकेको चर्चा सम्मेलनमा सुनिने गर्दछ । आखिर क्रान्तिकारीको सम्मेलन नीतिप्रधान नहुनुमा माओवादी शीर्ष नेताहरुको हात जो छ ।
प्रसंग शुरु गरौँ प्रचण्डकै घरबाट । प्रचण्ड नेतृत्वको ‘जनयुद्ध’मा निजी शिक्षालयमाथि धावा बोलियो । सबैलाई समान शिक्षा र शिक्षामा निजी क्षेत्रको लगानीलाई निषेधको नारा घन्काइयो । कैयौँ निजी शिक्षालय बन्द गरिए । बमको निशानामा पारिए । जनयुद्धकालीन पुस्ताका हजारौँले चाहेर पनि निजी शिक्षालयमा पढ्न पाएनन् ।
अहिले प्रचण्डका डेढ वर्षीय कान्छा नाति पजेरोमा स्टेपिङ स्टोन इन्टरनेसनल प्रि स्कुल जान्छन् । भारतीय नागरिकको लगानीमा सञ्चालित सो मन्टेस्योरीले प्रचण्डको नाति आफ्नोमा पढ्ने गरेको भनेर आफ्नो ब्राण्ड सृजना गरिरहेको छ । सैद्धान्तिक विचलन यत्तिमा सीमित छैन । समान शिक्षाको कुरा घरभित्रै लागू भएको छैन । प्रचण्डका जेठा नातिको शिक्षादिक्षाको जोहो गर्न आमा सृजनालाई धौधौ परेको खबर सार्वजनिक भएकै छ । नातिको खर्च जोहो गरिदिने कुरासँग सम्बन्ध विच्छेदलाई सर्त बनाइएको छ ।
यो प्रचण्डको पारिवारिक कथामात्र होइन, माओवादी संस्कृति बन्दै गएको छ । माओवादी नेताका छोराछोरी र नातिनातिना सबै महंगा बोर्डिङमा पढ्ने गर्दछन् । तर धेरैले शुल्क मिनाहा गराएका छन् वा निजी शिक्षालयले जानीजानी शुल्क लिएका छैनन् । आफ्ना सन्तानको भविश्य सुनिश्चित गरेपछि शैक्षिक माफिया आफ्ना भएका छन् । शैक्षिक माफियाबाट संरक्षित विद्यार्थी नेताकै वर्चश्व संगठनमा बढी देखिन थालेको छ ।
क्रान्तिकारीको संगठनमा लेखनाथ युगलाई स्वर्णिम मान्ने धेरै छन् । उनको आलोचनात्मक चेत र त्यतिबेलाको समयले पनि लेखनाथलाई क्रान्तिकारी आन्दोलनको ब्राण्ड बनाइदियो । उनीपछि हिमाल शर्माले क्रान्तिकारीको नेतृत्व गरे । उनले नेताका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने माहोल सृजना गर्न परिस्थितिको मञ्चन गरे । नेता दीनानाथ शर्माको शब्दमा बिदामा आएको छोरालाई स्वदेश फर्काएको घोषणा गरेर शर्माले चर्चामात्र बटुलेका थिए । हजुरबुबा हुने बेलामा विद्यार्थी नेतृत्व गरेका शर्मा चर्चामा रमाउने तर नेतृत्वसँग आँखा जुधाएर तर्क गर्न नसक्ने पात्र हुन् । त्यसैले उनले आफ्नो मुद्धालाई स्थापित गर्न सकेनन् ।
त्यसपछि रमेश मल्लको नेतृत्वमा क्रान्तिकारी चल्यो । मिठास प्रवृत्तिका मल्ल विद्यार्थी उपाध्यक्ष हुँदै शिक्षा मन्त्रीको स्वकीय सचिव भइसकेका थिए । प्रतिपक्षी भूमिकामा रहनुपर्ने विद्यार्थी नेता स्वकीयमा सीमित भएको भनी उनको उतिबेलै आलोचना भएको थियो । उनको कार्यकालमा नेतृत्वलाई चिढाउने गरी कुनै नीतिगत विषय भएन, फलतः विद्यार्थीबाट बाहिरिदै गर्दा उनी सिंहदरबारमा प्रधानमन्त्रीको स्वकीय सचिवका रुपमा प्रवेश पाए ।
नरेन्द्र न्यौपानेको कार्यकाल चुनावमय रह्यो । स्ववियु चुनावमा तुलनात्मक सफलता हासिल गरेपछि क्रान्तिकारी त्यसै फुरुङ्ग भयो । खास नीतिगत विषयमा बहश नछेडेका न्यौपाने पछि आफैँ स्थानीय निकायको निर्वाचनमा मेयरको उम्मेदवार भए । उनको कार्यकाल पनि त्यसै त्यसै बित्यो ।
अब जो नेतृत्व आएपनि नेताको फेरो समात्ने र उनीहरुलाई नबिजाउने गरी संगठनलाई सुस्ताउनेमै सीमित हुने देखिन्छ । निजी क्षेत्रको विरोध गर्दा हेडक्वार्टरको विरोध गरेजस्तो हुने परिस्थितिमा माओवादी छ । माओवादीले सामुदायिक विद्यालयको मुहार फेर्ने, आफ्ना सन्तानलाई पनि त्यही पढाएर अब्बल बनाउने अपेक्षा आम जनको थियो । तर, यो कुरा कल्पनामा बदलिएको छ । बरु, बोर्डिङ सञ्चालक नै क्रान्तिकारी नेताहरुका अन्नदाता भएका छन् । नूनको सोझो गर्न विवश क्रान्तिकारी नेतृत्वबाट क्रान्तिकारी निर्णय सायदै होला । बरु, चुनाव नै सही लोकतान्त्रिक विधिबाट एक थान नेतृत्व आउला । चुनावले कम्तिमा पनि पार्टी अध्यक्ष प्रचण्ड र प्रभावशाली नेता प्रभाकरका बीचमा आउनसक्ने फाटोलाई मत्थर पार्ला । कुरीकुरी क्रान्तिकारी !
नेपाल आजबाट साभार
प्रतिक्रिया दिनुहोस