पोष्टपाटी! -रमाकान्त बास्तोला ‘रमेश’
शायद धेरै जसो हामी नागरिकहरु यतिबेला अचम्मित छौ! युएईको दलाल र पिडित घटना प्रकरणमा राज्यको मौनता हुनु र राज्यको संबन्धित निकायका प्रतिनिधिहरु पिडितको न्यायका लागि अनुत्तरित हुनुले सबैलाई चकित तुल्याएको छ।
बैदेशिक रोजगारले निम्त्याएका कहाँलीहरुको फेहरिस्त सुन्न नसकिने छन् यहाँ। साउदी जेलको कहानी ज्युदै छ, युएईको मानव तस्करको ज्यादती जर्जरिएको छ। कतार, मलेशिया, ओमन, इराक, इजरायलका तस्करहरुको फेहरिस्त गुमनाम पारिएका छन।
देशमा बेरोजगार युवाहरु मानव तस्करको शिकार बनेका छन्। यस्ता समस्याहरु दिन प्रतिदिन चुलिदै गएका छन्। विभिन्न बहाना र माध्यमबाट बाहिर आइरहेका बैदेशिक रोजगारीका समस्याहरु जो नेपालीहरुले भोगेका कथा, ब्यथा र बाध्यता निकै नै भावान्वित छन्। तर हाम्रो राज्य भने मौन धारण गरिरहेको छ!
कहिले एक्सिडेन्टमा मृत्यु भएका, कहिले झुठा मुद्दा लगाइ आजिवन जेल परेका भने कहिले मदिरापान, अझै अप्रत्यासित र अनौठो लाग्ने बिषय त नेपाली द्वारा नेपाली नै ठगिने। पछिल्लो समय सबैभन्दा बढी मात्रमा आउने समस्या खाडी राष्ट्रहरु देखिन्छन।
युएई, कतार, मलेशिया, साउदी, ओमन कुवेत आदि देशहरुमा जुन रुपमा नेपालीहरुले समस्या भोगिरहेका छन त्यो सुन्दै भाबुक बनाइ दिन्छ। यस्ता तमाम समस्याहरु पक्कै पनि सामान्य समस्या होइनन। यी र यस्ता घटना समस्याहरु बाहिर आइरहदा बैदेशिक रोजगारी सम्बन्धी नेपाल सरकारको ब्यबस्थापन प्रती कुनै चासो भएको भने देखिदैन । मानव तस्कर, मेनपावरको ठगी, विमानस्थल अध्यागमनमा हुने दलाली सेटिङ्ग, श्रममा हुने घुसपैठ आदिले गर्दा हरेक नेपालीहरु सहज ठङ्गले बिदेशिन पाएका छैनन।
बिदेशमा पनि दलालीको बिगबिगी छ, उक्त बिगबिगी प्रति दुतावास कानमा तेल हालेर बसेको छ। बिदेशमा मृत्यु हुने घर परिवार बल्ड मनि लिन बर्ष कुर्नु पर्ने त्यस्तै सोर्स नपुग्दा नपाउने आदि समस्या पनि भोगेका छन। भिजिट भिषा समस्या पनि उस्तै छ।
पछिल्लो समयमा युएईमा भिजिट भिसाको समस्या अत्याधिक बढेको छ। नेपाल सरकारले भिजिट भिसा बन्द गरे पनि यहा भिजिटमा आउनेको क्रम घटेको पाइदैन । विभिन्न मेनपावर र ट्राभल्स देखि भिजिटमा आइ यहा दलाली गरेका नेपालीहरु मार्फत नै ठगिन पुग्ने नेपालीहरु अधिक रहेका छन ।
यस अघि क्यापिटल म्यानपावर, अर्थलाइन ट्राभल्स, कपिल म्यानपावर, राप्ती मेनपावर, प्रतिज्ञा मेनपावर, गामा ट्राभल्स, सिटी लाइफ ट्राभल्स, एसआरएस म्यानपावर एजेन्सीहरु भिसा कारोवारमा प्रत्यक्ष मुछिएका घटनाहरु भेटिएका छन्। यिनैले ल्याइएका नेपालीहरु अलपत्र परेको खबर बाहिर आयो तर जसरी आयो त्यसरी नै सेलाउदै गयो। यी मेनपावर र ट्राभल्सहरुलाई के कारवाही भयो?
दलालहरु द्वारा ठगिएका प्रमाण सहित उजुरी गर्दा समेत सरकारी निकाय किन मौन रहे । रेमिटेन्सले चलेको देश तर त्यही रेमिटेन्स भित्र्याउने नेपालीहरु असुरक्षित हुदा दुतावास, परराष्ट्र श्रम तथा नेपाल सरकार किन मौन छन? लास बुझेर रेमिटेन्स भित्र्याउने मेरो देश कुन ब्यबस्थाले चलेको छ?
नेपाल सरकार द्वारा लागु फ्री-भिसा, फ्री-टिकेटको ब्यबस्था खाली बोलिमा मात्र भएको छ । हरेक नेपालीहरुले चर्को रकम बुझाउन बाध्य छन । त्यस्ता मेनपावर ब्यबसायीहरु गरिब जनताका खुन पसिना चुसिरहेका छन तर सरकार आफनै तालमा निदाएको छ । उसलाई यति पनि थाहा छैन कि बैदेशिक रोजगारी देखि आउने रेमिटेन्समा के कति ह्रास आयो? होइन भने अबैधानिक हुण्डी गर्नेहरु माथी कारवाही थालनी साथै उचित बैन्किङ्ग तथा बैदेशिक नीति अबलम्बनमा दुरुस्त किन हुन सक्दैन ।
बर्सेनि बैदेशिक रोजगारीका समस्या समाधानका निमित्त भनी राज्यले बिदेशमा सरकारी प्रतिनिधिहरु खटाइन्छन तर उनिहरु यहाँ खाली भत्ता पचाउदै सरकारी राजस्व सकेर फर्कन्छन । यसमा सरकार जिम्मेवारी किन बन्दैन । सरकार फेरिए, नेता फेरिए तर किन ब्यबस्था फेरिएन? अझ दुखद कुरा त यहाँ छ कि दुबईका लागि भिजिट भिसामा अर्थलाइन ट्राभल्स देखि आएका १९ जना पिढितहरुको आवाज चारै तिर पुग्यो तर सरकार, दुतावास, परराष्ट्र, श्रम, गृह भने आश्वासनका वाणीहरु सुनाउदै गयो तर तस्करलाई कारवाही गरेन ।
अहिले नेपाली दूतावास युएईको उदांगो हर्कत देखिदैछ, दलाली सङ्ग मिलेमतो गर्दै मजदुर समस्या प्रमाण सहित बाहिर ल्याउने पत्रकारलाई पित पत्रकारिताको आरोप लगाउदै किटानी गरिएको दलाललाई कारवाही गर्ने पैसा नभएको गैर जिम्मेवार वचन दियो ।
हेलो सरकार, हामी बैदेशिक रोजगारमा रहेका पीडितलाई उद्दारको नाममा छुट्याइने बार्षिक बजेट कहाँ गयो? उक्त रमक कसले खायो? के पिडितलाई उद्दार गर्न नसक्ने नेपाल सरकारको हैसियत बनेको हो त? होइन भने तिमीले खटाएका सरकारी प्रतिनिधि दुतावासले उद्दार गर्न रकम छैन किन भन्यो?
तल्कालिन प्रधानमन्त्री प्रचण्डले युएई भ्रमणका क्रममा युएइमा रहेका विभिन्न संघ सस्था पत्रकारहरुले भिजिट भिसा समस्या र एअरपोर्ट सेटिङ्गको समस्या समाधान गर्न बुझाएका ज्ञापन पत्रहरु कुन कुनामा थन्क्याइयो? प्रचण्ड नेपाल फर्किए लगतै उक्त समस्याको समाधान गर्ने बाचा गर्नु भएको थियो तर तत्कालीन प्रधानमन्त्री भ्रमण गरेको युएईमा अझ धेरै दलालीहरुको चहलपहल किन भयो?
पछिल्लो घटना क्रमहरुलाइ नियाल्दा राज्यका प्रमुख तथा प्रतिनिधिहरुको युएई भ्रमण हुनु अनि तस्करहरुको झन् बिगबिगी बढ्नुले नागरिकहरुको मनमा एउटा संकाको उब्जिएको छ, कि कतै दलालीहरुको राजमार्ग ब्यबस्था गर्न त आउनु भएको होइन? हाम्रो राज्य नै मानव तस्करमा संलग्नता भएको हो कि त ? नेपाली दूतावास युएई मानव तस्करहरुको भर्याङ पो होकि ?
यस्तै आंकलनहरुले हामी लुटिने नागरिकहरुको मनमा प्रश्न उब्जाएको छ र गम्भीर बनाएको छ!
प्रतिक्रिया दिनुहोस