ओलीलाई प्रधामन्त्री, दाहाललाइ अध्यक्ष चाहिन्छ, ‘बाँकी कार्यकर्ता भांड मे जाय’


एमाले र माओबादी पार्टी एकताले यतिबेला देशभरी डंका पिटिरहेको छ । जसले यो देशका हरेक नागरिकहरुको मस्तिष्क त हल्लायो नै, उता दिल्ली दरवारको मानसिकता समेत खराब गरिदिएको छ । तर पार्टी एकताको डंका पदीय स्वार्थमा छ, सत्ता प्राप्तिमा छ भन्ने कुरा सबै माझ छर्लङ्ग छ र बिस्तारै पार्टी भित्रका आफ्नै कार्यकर्ताहरुको घैटोमा घाम लाग्दै छ र तिब्र असन्तुष्टि देखा पर्दैछ ।

एउटा इतिहास अझै झलझली याद आइरहेको छ । माओबादी पार्टी शान्तिकालमा आएपछि जनताले सबै भन्दा ठुलो पार्टी बनाएका थिए । तर आज पार्टी नेतृत्वले आफ्ना कार्यकर्ताहरुलाई र पार्टीलाई सहि ब्यबस्थापन गर्न नसक्दा माओबादी पार्टीको इतिहास नै आज गुम्ने खतरामा पुगेको छ । सेना समायोजनको नाममा हिजो जनयुद्दका लालसेनाहरु पार्टी नेतृत्वबाटै बेचिए, फलस्वरूप सेनाबिनाको माओबादी पार्टी संग आज आफ्नो भन्ने चिज केहि रहेन ।

पार्टी सखाप पार्दै आफै हारेका प्रचण्डले आज विकल्प खोज्दै वामपन्थी सरकार निर्माणका लागि भनेर एमाले संग पार्टीनै एकता गर्ने संघारमा पुगेका छन् । यो सम्पुर्ण चिज गुमाउदको परिणाम हो । अब मलाइ के डर लागिरहेको छ भने, हिजो सेना समायोजनको नाममा आफ्नै लालसेना बेचे ! आज भएका कार्यकर्ताहरु पनि एमालेलाई बेच्ने भए । यसो भनि रहदा घोर एकता बिरोधि, षडयन्त्रकारी पनि भन्ने छन ।

एकता पछी पार्टीको अध्यक्ष पदका लागि माओबादी केन्द्रका अध्यक्ष कामरेड प्रचण्डले फौजी शैलीमा आफ्ना कार्यकर्ताहरुलाई ह्विपजारि गरिरहेका छन्, ‘कि त पार्टी छोड कि त एमाले बन’ यो अचेल प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई दिने युद्द कासन हो ।

तर एमाले केपी ओलीले यस्तो गिरेको हर्कत एमाले भित्र गरेका छैन, उनले कमसेकम फकाइफुल्याई एकतामा जानु पर्छ भन्दै कार्यकर्ताको सेन्टिमेन्टललाई समाएर अघि बढेका छन् ।

यता प्रचण्ड भने ‘एमाले संग पार्टी एकताको बिरुद्दमा जानेहरु पार्टी छोडेर गए हुन्छ’ भन्दै बारम्बार धम्किपूर्ण अभिव्यक्ति दिइ रहेका छन् । माओबादी केन्द्रका अध्यक्ष क. प्रचण्डका कार्यकर्ताहरु भने, कोहि धम्कि सहेर अन्यौलको कुहिरोमा अलमल्लिएका छन्, कोहि पार्टी परित्याग गरिसकेका छन् र कोहि पार्टी भित्र अन्तरसंघर्षमा जुटेका छन् ।

माओबादी केन्द्र एमालेमा एकता हुने भएपछी नेता विश्वभक्त दुलाल ‘आहूति’ ले भर्खरै पार्टी त्याग गरेको घोषणा गरे ।

हिजो माओबादीले भनेको जस्तै एमाले प्रतिक्रियावादी हो भन्ने तर आज माओवादी केन्द्रका नेताहरु पनि त्यही ठाउँँमा पुग्ने भन्दै, ‘अब यो कम्युनिष्ट पार्टी नरहेको नेता आहुतिको निष्कर्ष सहि छ। उनले ‘दुई पार्टीको एकतालाई कम्युनिष्ट आन्दोलनको बिसर्जनको संज्ञा पनि दिएका छन्।

त्यस्तै पार्टी एकताको लागि कुनै आधार तयार नगरी एकतामा जान लागेको असन्तुष्टि जनाउदै माओवादी केन्द्रका प्रभावशाली युवा नेता तथा लामो समय माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व गरेका अध्ययनशील र तर्कशील व्यक्ति लेखनाथ न्यौपानेले यहि स्थितिमा खडक ओली संग एकता नहुने भन्दै कडा टिप्पणी गरेका छन् ।

एक रेडियो अन्तर्वार्तामा उनले पद र प्रतिष्ठालाई बाँडीचुडी खाने भागबन्डाको लागि पार्टी एकताको औचित्य नभएको बताएका छन् । पार्टी एकताका लागि कम्तिमा पनि चार आधारहरु, सैद्धान्तिक÷वैचारिक आधार, रणनीतिक र कार्यनीतिक आधार, कार्यक्रम र नीतिको आधार र नेतृत्व र कार्यकर्ताको आधारबारे पार्टीको स्पस्ट धारणा बिना पार्टी एकता घातक हुने बताएका छन् । र यी बिषयमा पार्टी भित्र आन्तरिक छलफल तथा तयारी कुनै नभई नेतृत्वले मात्रै पदीय भागबण्डामा बार्गेनिङ भैरहेको युवा नेता न्यौपानेको भनाई सत्यपरक छ ।

पार्टी एकता गर्नेजस्तो विषय सामान्य होइन । इतिहासको रक्षाको प्रश्न छ, कार्यकर्ताको रक्षाको प्रश्न छ । नेपाली समाजको अध्ययन गरेर समाजको आर्थिक, सामाजिक, राजनीतिक नेतृत्व गर्ने विषय छ । यसका बारेमा पार्टीभित्र र दुईवटा पार्टीका बीचमा छलफल कहीं पनि छैन । एकता गर्ने चाहिं किन त भन्दा मिलिजुली खानका निम्ति मात्रै भएको छ।

लेखनाथको आशयलाइ बुझ्दा केपी ओलीलाई प्रधानमन्त्री चाहिएको छ र पुष्पकमल दाहाललाई पार्टीको अध्यक्ष चाहिएको छ, बाँकी भावी पार्टी रणनीति र कार्यनीति बारे शुन्य छ ।

एमाले भित्र भने कार्यकर्ताहरु बामपन्थी सरकारले कोरेलेर निकालेको फल खान आकाश तिर हेरेर पर्खेर बसेका छन् । ति कार्यकर्ताहरुलाई एकता के का लागि ? किन र कसरि ? भन्ने बारे चासो र चिन्ता राख्न जरुरि ठान्दैनन् । बरु ओलीका कार्यकर्ताहरु भने साउन महिनामा उम्रिने ढोरपाटनको साउने पल्लवी गाँस खान पाइने आशमा कुदिरहेने भेडीगोठको बथान जस्तो देखिन्छन, जो अचेल फेसबुक भरि वामपन्थी सरकारका लागि कुर्लिदै कुदिरहेका छन् ।

खासमा एमाले भित्र पनि एकताको लागि पार्टीगत नीति तथा कार्यक्रम नै छैन । केपी वली र प्रचण्डले बनाएको गुलियो लड्डु ‘बामपन्थीहरुको स्थिर सरकार’ भन्ने सपनाले एमाले भित्रका कार्यकर्ताहरुलाई केवल लालायित मात्र बनाएको छ, तर पार्टी एकताको दीर्घकालीन आधार बारे कसैले कुरा उठाउने त के सोच्न पनि सकेका छैनन् ।

एमाले भित्रका कार्यकर्ताहरु लालायित हुनुको एउटा कारण छ, ‘केपी ओली प्रधानमन्त्री बन्ने छन्’ । उनि शक्तिमा पुगेपछि यो देश आर्को विश्वमा पुग्ने छ, हिजो केपी वली सरकारमा जाँदा गुलेली खेलाउन गएका थिए, लाग्छ आज ओली एक्के 47 बोकेर जाँदैछन् ।

तर पार्टी एकता पछी पार्टी ब्यबस्थापनको गम्भीर प्रश्न सैदान्तिक बैचारिक दृस्टीकोण बारे सोचेकै छैनन। पार्टी संगठनको बैज्ञानिक व्यवस्थापनले स्थिर सरकार बनाउछ भन्ने कुरा सोच्ने क्षमताको बिकाश एमालेजनले यो जुनीमा गर्लान जस्तो पनि देखिन्न। कमसेकम माओवादी भित्र एकता बिषयमा दुई लाइन संघर्ष सुरु भएको छ । यस्तो दुर भिजन भएको एमाले पार्टी र एमाले कार्यकर्ता हुन्थे भने नेपालमा अरु कम्युनिष्ट पार्टीहरुको खाँचो पर्ने पनि थिएन र जन्म हुने थिएनन । सम्भवतः जनयुद्द पनि हुदैनथ्यो र उहिले नै समाजबाद आइसक्थ्यो।

पार्टी संगठनलाई कसरि ब्यबस्थित गर्ने र सुदृढ बनाउदै लैजाने भन्ने बारे एमाले भित्र एनजीओ मुखी विधि सबैलाई थाहा छ । एमाले सत्तामा पुगे पछी जागिर खान पाइने, चम्चा-च्याप्लुसी गर्न पाइने, आफ्ना मान्छेहरुलाइ कार्यलय वरिपरी पावर र शक्तिमा खेलाउन पाइने र चरिहरु बन्न पाइने, ब्यबसायहरुमा सेटिंग मिलाउन दलाली बन्न सजिलो हुने महत्वकांक्षमा लालायित भएका मात्र हुन्, अरु बिकास त केपीले हिजै पनि देखाएका हुन् ।

बामपन्थीको स्थिर सरकार चलाउनका लागि पार्टी भित्रको आन्तरिक गुदी बलियो र बैज्ञानिक ब्यबस्थापनले मात्र स्थिर सरकारको नेतृत्व गर्न सक्छ भन्ने कुराको हेक्का नेतृत्व पंतिमा समेत ध्यान पुगेको छैन । नेपालका बितेका थुप्रै सरकारहरु आफ्नै कारण अस्थिर बनेका छन् । मतलव पार्टी भित्र दीर्घकालीन तथा बैज्ञानिक कार्ययोजना सहितको ब्यबस्थापन नहुदा त्यसको प्रभाव पार्टीले हाँकी रहेको सरकारलाई प्रत्यक्ष असर पर्दा अस्थिर सरकार बनि रहेका छन् ।

तर यहाँ नेतृत्वको ध्यान केवल पदीय भागबण्डामा मात्रै अल्झीएको छ । एक जनालाई प्रधानमन्त्री आर्कोलाई अध्यक्ष, बस अरु कार्यकर्ताहरु भांड मे जाय ।

साँच्चै बामपन्थी पार्टी बनाउने हो, बाम दृष्टिकोणबाट मुलुकको नेतृत्व गर्ने हो भने कम्तिमा यो पाँच वर्षको बाम गठबन्धनको जनमतलाई ठीक ढंगले सम्बोधन गर्न, लेखनाथ न्यौपानेले भने जस्तै पार्टी एकता पछिको सैद्धान्तिक÷वैचारिक आधार, रणनीतिक र कार्यनीतिक आधार, कार्यक्रम र नीतिको आधार र नेतृत्व र कार्यकर्ताको आधार सैदान्तिक आधारलाई प्रस्ट पार्दै दिगो व्यवस्थापन नभए सम्म पार्टी गुटबन्दी, गुण्डागर्दी, नातागोता, भ्रस्टाचारी र इतिहासकै घोर संसोधनबादी बन्ने पार्टी भित्रैका सचेत कार्यकर्ताहरुले दुरदृष्टिकोण सहितको अनुमान लगाएका छन् र कटाक्ष गरिरहेका छन्, यो जरुरि पनि छ।

(लेखक केबी गुरुङ पोष्टपाटीका सम्बाददाता हुन् )

प्रकाशित मिति : १२ पुष २०७४

१२ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको