पत्नी पीडितहरुको व्यथा ।


डी. बि. बुढाथोकी/पोष्टपाटि

ठुलेका हजुरबुबा गाउँदेखि जिल्लासम्म नै चिरपरिचित व्यक्ति भए पनि छुट्टिएर बसेका थिए । उसका बुवा प्रायः भारततिर बस्नुहुन्छ । उसले घरमा आमालाई सघाउँदै धेरै दुःख गरी पढ्दै हुर्केको थियो । समयसँगै ठुलेको जवानी पनि बढ्दै गयो । घरमा भाइबहिनी सानै थिए । बुबाले घरमा आमा र भाइबहिनीलाई सहयोग नगरिदिँदा ठुले सधैँ चिन्तित देखिन्थ्यो । लक्का जवान हुँदा जनयुद्धको चपेटामा परेकाले गाउँघरतिर बस्नै उसलाई अप्ठ्यारो भयो । बरु मजदुर गरी कमाएर सामान्य जीवनयापन गरौँला तर कुनै राजनीति दलको पछि लागेर भ्रमको बिजारोपण गरेर अनैतिक बन्दिन भन्थ्यो । ऊ किन यस्तो भन्थ्यो थाहा छैन । उसका हजुरबुवा पञ्चायती व्यवस्थामा जिल्ला पञ्चायत सदस्यदेखि लिएर गाउँका प्रधान पञ्चसम्म भएका थिए । सायद आफ्नै हजुरबुवाको क्रूर शासकत्व देखेर हो वा गाउँका भ्रष्टहरुको राजनीति देखेर हो ।

लेखक डिबी बुढाथोकी

गाउँकै माओवादीका भ्रष्ट भरौटेहरुले माओवादी जनसेनामा लिएर जाने भनेर ठुलेको नाम दिएका रैछन् । अब झन् ऊमाथि आपत आइपर्यो । यही कारण उसलाई गाउँमा बस्न गाह्रो भयो । कहिले दाङ मामा घर त कहिले काठमाडौँ बस्दै गर्दा धेरै चुनौतीको सामना गर्न पर्यो । कहिले भोकभोकै गाडीमा यात्रा गथ्र्यो त कहिले केही काम गरी जसोतसो दिन गुजाथ्र्यो ।

नेपाल बस्नै गाह्रो हुँदै गएपछि ज्यान बचाउनै भए पनि विदेशिनु उनको बाध्यता थियो । जसोतसो पैसा जोहो गरेर पासपोर्ट बनाई गाउँकै एजेन्टलाई विदेश पठाइदिन अनुरोध गर्यो । भनेजस्तै केही महिनाभित्रै उसको कतारबाट भिसा पनि आयो । ठूले आफन्त अनि साथीभाइसँग छुट्टिएर आँसु झार्दै कतारको यात्रा सुरु गर्यो । ऊ त्यो बेला जम्मा अठार वसन्त पार गर्दै थियो । विदेश गएर के काम गर्न पर्छ ? कस्तो काममा गए राम्रो, कस्तो काम गाह्रो वा सजिलो यी आदि कुरामा ऊ अनभिज्ञ थियो । उसलाई किन यति सानो उमेरमै पासपोर्ट बनाएको ? के कामका लागि जानलागेको हो ? यस्तो किशोर अवस्थामै किन खाडी मुलुक जान लागेको ? भनेर सरकारी प्रशासन, दलाल, म्यानपावर, श्रम विभाग, अध्यागमन कसैले सोधेनन् । सबैलाई ठुलेबाट पैसा लिनु थियो, पैसा लिएर काम गरिदिए काम सकियो । कसैले वास्ता गरेनन् ।

सानै उमेरको भएर होला कतारमा ठुलेलाई सबैले सहानुभूति प्रकट गर्थे । कन्ट्रक्सन कम्पनीको लेबरमा गए पनि केही समयपछि ठुलेले फोरमेनको प्यारो भएर राम्रै काम पायो । जसोतसो दुई वर्ष विताएर ठूले छुट्टीमा घर फर्कियो ।

ठुलेको आगमनले घरको रौनक नै फेरिएको थियो । बाआमा, दिदीभाइ, बहिनी घरका सम्पूर्ण परिवार खुशीले गदगद थिए । नहुन् पनि कसरी ? त्यो बेलाको नेपाली मनस्थितिमा अरब भनेको अर्कै ग्रहबाट झैँ सोचिन्थ्यो । आजभोलि जस्तो इन्टरनेटको पहुँच थिएन ।

आज इन्टरनेटले विश्वलाई साच्चै नै सानो बनाइदिएको छ । जुनसुकै कुनाको खबर पनि क्षणभरमै थाहा हुन्छ । त्यो समय यस्तो कुरो हाम्रो सोचाइभन्दा बाहिर थियो ।
त्यो बेला हाल खबर थाहा पाउन कि मान्छेको आवतजावत हुनु पथ्र्यो कि त हुलाकबाट चिट्ठी कुर्नुको विकल्प थिएन । चिट्ठी आउन दुईदेखि अढाइ महिना जति लाग्थ्यो । त्यसैले होला ठुलेको परिवारमा मिलनको त्यो पल अति खुशियाली थियो ।

केही दिनपछि ठुलेका बाआमाले ठुलेको बिहे गर्दिने कुरा गर्न थाले । ठुलेलाई यो कुरो पटक्कै मन परेको थिएन । ऊ अझै केही पैसा कमाएर आफ्नो खुट्टामा उभिएर मात्र बिहे गर्न चाहन्थ्यो । तर बाआमाले कर गरेपछि अन्ततः बिहे गर्नैपर्ने अवस्था भयो । बाआमाले नै ठुलेको बिहे गरिदिए । बिहे पश्चात् घरसल्लाह गरेर आफ्नी श्रीमतीसँग काठमाडौँ अनि गोरखा मनकामना घुम्न निस्क्यो । ठुले धेरै खुशी देखिन्थ्यो । बिहेको दुई महिनापछि मुटुमाथि ढुङ्गा राख्दै ठुले आफ्नो प्राण प्यारीसँग छुट्टिएर फेरि कतार फर्कियो । मैले उनलाई बिहे गरेर एक्लै छोडी आउँदा कति पीडा भएको होला भन्थ्यो । ठुले सधैँ श्रीमतीकै यादमा तड्पिन्थ्यो । ऊ साच्चै श्रीमतीलाई धेरै माया गथ्र्यो ।

यता ठुलेकी श्रीमती भने ठुले फर्केको छ महिनामै माइत गएर बस्न थाली । घरमा सासु ससुरा यस्ता, नन्द देउरानी उस्ता भन्दै कमजोरी औँल्याउँदै कुरो काट्दै आमासँग बस्थी ।

ठुलेका बाआमाले छोरालाई डिप्रेसन होला भनेर सबै कुरा सुनाएर टेन्सन दिन चाहँदैन थिए । एक दिन दुई दिन हुँदै ठुलेले श्रीमती माइतमा बसेको थाहा त पायो तर कुरो सबै श्रीमतीको मात्र सुन्यो बाआमाबाट सुन्न पाएन । अन्ततः ऊ बाआमालाई सङ्कुचित दृष्टिले हेर्न थाल्यो । केही समयपछि बिरामी भएर नेपाल आयो । श्रीमतीलाई फकाइ फुल्याई घरमा लिएर गयो तर ऊ घरमा धेरै बस्न रुचाउदिनथी । बाआमालाई सधैँ आदर गर्ने ठुले श्रीमतीकै कारण बाआमालाई अपमान गर्न थाल्यो ।
घरमा सँगै बस्दा केही महिनाभित्र ठुलेकी श्रीमती दुई जिउकी भइछ ।

ठुले एकातिर खुशी देखिन्थ्यो भने अर्कोतिर जिम्मेवारी थपिएको महसुस गर्दै आफ्नो परिवारको सुनौलो भविष्य खोज्न वैदेशिक रोजगारका लागि दुबई जान सोच्यो ।

दुबई जानुपूर्व ठुलेले आफ्नी श्रीमतीलाई सम्झाउँदै घर बस्न भन्यो र दुबई गयो । ठुले दुबई गएको चार महिनासम्म ऊ माइतीमै आमासँग बसिरही । उता ठुलेलाई रिस उठेपछि बोल्न छोडेको थियो । जब माइतीमै बच्चा जन्मने व्यथा लाग्यो तब उसको बाउ अनि दाइ पर्नेले घरमा लिएर गए । ठुलेको घरमै छोरा जन्मियो । केही दिनपछि ठुलेले छोरा जन्मेको खबर पाएपछि पुराना सबै कुरा बिर्सिएर खुशी भयो ।
त्यो समय गाउँमा भर्खरै सीडीएमए फोन सुचारु भएको थियो । जति फोन गरेर सम्झाए पनि ठुलेकी श्रीमती माइतमा बस्ने बानी सुध्रिएन । पुनः माइतीमै बस्न थाल्छे । ठुलेले लगातार फोन गरेर सम्झाउने प्रयास गर्दा पनि केही प्रभाव पर्दैन थियो । यसरी तनावमै ठुलेको पाँच वर्ष बित्यो ।

विदेशमा बस्ने धेरै नेपालीहरुको घरबार बिग्रेको सुनेकाले ठुले पनि सोच्न बाध्य हुन्छ । अब परिवारसँगै बसेर घरबार चलाउन पर्यो भन्ने मनसायले ठुले दुबईको बसाइ बिट मार्दै नेपाल फर्कियो । आफू पनि केही गर्ने र बच्चालाई पनि राम्रो स्कुलमा पढाउने योजना बनाउँदै गाउँबाट श्रीमती अनि छोरालाई काठमाडौँ बोलायो । कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गै भनेझैँ त्यस्तै भयो ठुलेकी श्रीमतीको कहानी । काठमाडौँ आएको दुई महिनामै ठुलेलाई छोडी छोरा लिएर माइतीमै गैछे । यता ठुले दिनभर पसलमा काम गरी कोठामा फर्किंदा श्रीमती कोठामा नपाउँदा अताल्लियो । कहाँ गई, कोसँग गई भनेर यताउता छिमेकीलाई सोध्दै हिँड्यो । उसैको तल्लो फ्लाइटमा बसेको दिदीले भन्दिछन् । भाइ मैले देखेको गाउँदेखि उसको भाई लिन आको थियो । भाइसँग गाकी छे । यति सुनेपछि अलिक तनाव हल्का भयो ठुलेलाई ।

ठुलेलाई धेरै रिस उठेछ क्यारे छ महिनासम्म लिन गएन, ऊ पनि आइन । साढे छ महिनापछि ठुले लिन गयो । छोराका लागि भए पनि ऊ होचिँदै गयो । उता भने ठुलेकी श्रीमती र सासूले ठुलेलाई अनेक थरीका अपशब्द बोलेर तथानाम गाली गरेर उल्टै फर्काइदिए । नम्र स्वाभावको सोझो ठुले एक्लै फर्कियो । छोरा पनि दिएनन्, पुनः काठमाडौँ आएर आफ्नो ब्यापार सम्हालेर बस्यो ।

अब त रिस मर्यो होला, गाउँका भद्र भलाद्मीलाई कुरो गर्न लगाएरै भए पनि श्रीमती ल्याउने मन बनाएर ठुले एक वर्षपछि फेरि लिन गयो । भद्रभलाद्मीदेखि लिएर इलाका प्रहरी चौकीले पाँच पाँच चोटिसम्म प्रयास गर्दा पनि ठुलेको कुरालाई टुङ्गो लगाउन सकेनन् । ठुलेकी श्रीमती भन्छे कहिले सँगै बस्छु त कहिले भन्छे डिभोर्स गर्छु । यस्तै छेपारे कुरा गर्दै आलटाल गरेको छ वर्ष भयो उसले ठुलेको खुशीको चिर हरण गराएकी छे । लाग्छ ऊ घरधन्दा गरेर खान चाहँदिन । ठुलेबाट डिभोर्स गर्न चाहान्छे तर त्यतिकै हैन पैसा लिएर डिभोर्स गर्न चाहन्छे ।

ठुलेलाई गाउँले समाज भद्र भलाद्मी सर्वसाधारणको अगाडि बेइज्जतीको पात्र बनाई दिएकी छे । कति सभा कचरीमा त ठुलेको बेइज्जतीको लास निकाली दिएकी छे । ऊ भने मौन अनि निरीह छ ।

यो नै नेपाल पुरुष प्रधान देशमा स्त्री विभेदमा पारियो भनेर स्त्रीका लागि राज्यले कानुनको दसवटा सिङ बनाएको पराकाष्ठा हो । हो म मान्छु कुनै कालखण्डमा पुरुषबाट स्त्री पीडित थिए तर अहिले स्त्रीबाट पुरुष पीडित भएका छन् । नपत्याए राज्यका हरेक अदालतमा गएर बुझ्नुस त्यहाँ हजारौँ ठुले यसरी पत्नी पीडित भएर बसेका छन् । विषेशगरी वैदेशिक रोजगारमा समय बिताएका ठुलेहरु पत्नीपिडित छन् । सरकार अब मलाई यो जवाफ देऊ यो देशमा जाबो एउटा लोग्ने स्वास्नीका लागि निष्पक्ष कानुन नै छैन भने दरबारमा बसेर कसरी भन्ने आट गर्छौ, हामीले विश्वकै उत्कृष्ट संविधान निर्माण गरेका छौँ भनेर ?

११ मंसिर २०७४, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको