भदौ ११ – लियोनल मेस्सीको शानदार गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगाको यो सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेसलाई २–० ले हरायो । बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले गरे ।
पहिलो हाफमा बार्सिलोना गोलरहित बराबरीमा रोकियो । जेराड पिकेलाई एलाभेसका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन् । मेस्सीको पेनाल्टी प्रहार एलाभेसका गोलरक्षक फर्नान्डो पाचेकोले सुन्दर बचाउ गरे । पहिलो हाफमा पेनाल्टीमा चुकेका मेस्सीले दोस्रो हाफमा भने दुई गोल गरे ।
उनले ५५ औं मिनेटमा जेर्राड डेउलाफेउबाट फुत्किएको बललाई गोलमा परिणत गर्दै अग्रता दिलाए । यस्तै ६६ औं मिनेटमा जोर्डी अल्बाको हेड पासमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनालाई जित दिलाए । त्यसपछि पनि मेस्सीले गोल गर्ने प्रयास गरेका थिए । उनले प्रहार गरेको बल बारमा लागेर फर्किएपछि ह्याट्रिक गर्ने मौका भने गुम्यो । मेस्सीले अहिले सम्म ला लिगामा तीन सय ५१ गोल गरिसकेका छन् । यसअघि यो सिजनको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलार्य २–० ले हराएको थियो ।
भदौ ११ – इटालियन सिरी ए फुटबलमा च्याम्पियन युभेन्टसले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले जेनोआलाई ४–२ ले हराएको हो ।
युभेन्टसको जितमा पाउलो डिबालाले ह्याट्रिक गरे । यस्तै वान कोड्राडोल एक गोल गरे । जेनोआका लागि एन्ड्रयु गालाबिनोवले पेनाल्टी मार्फत गोल गरे । यस्तै युभेन्टसका मिरालेम विजानिकले आत्मघाती गोल गरे । अर्जेन्टिनी डिबालाले १३ औं मिनेट तथा पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
डिबालाले इटालियन सिरी ए मा गरेको यो पहिलो ह्याट्रिक हो । डिबालाले सिरी ए मा अहिलेसम्म ५० गोल गरेका छन् । डिबालालाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्ध गर्न चाहेको खबर पनि आउने गरेको छ । लगातार सातौं उपाधिको होडमा रहेको युभेन्टसको जितपछि दुई खेलबाट ६ अंक भएको छ । शनिबार राति नै भएको खेलमा इन्टर मिलानले रोमालाई ३–१ ले हराएको छ । यस्तै बोलोग्नाले बेनोभेन्टोलाई १–० ले पराजित गर्यो ।
प्रतिक्रिया दिनुहोस