प्रचण्ड हराएको सुचना


बागबजार नजिक साँघुरो गल्लि भित्र फागुन १ का लागि पोष्टर छाप्ने बिरबहादुरबारे बर्षौदेखि बेखबर छन् । उसको छापाखाना र मालिक अलिक पर छेउको रत्नपार्कको भित्तामा, मध्यरातको सुनसान अध्यारोमा उज्यालो समाज निर्माणको निम्ति रातो अक्षरमा जनयुद्धका नारा लेख्ने बिपिनलाई खोजिरहेछन् ।

बर्षौदेखी कलेजमा साथी र गुरुले अनि दराजका सर्टिफिकटले तर कागले कुनै प्रकारको खबर ल्याएन । परेवा कहिल्यै चिठी बोकेर आएन धेरैपछी त्यही रत्नपार्क भित्तामा एउटा लामो सुची प्रकाशित भयो ।

बेपत्ता योद्धाहरुको जसमा उसको पनि नाम समावेश थियो। लालपुर्जा पाउने आश्वासन र सपनाको अघिल्तिर सुकुम्बासी बस्तिको अगुवा बिर्खेले आफ्नो एकमात्र छोरोलाई जनयुद्धमा पठायो ।

तीन महिनापछि गण्डक अभियानमा हिडेको भन्दै एउटा छोटो पत्र आयो । त्यसपछि भने उसको बारे कुनै समाचार आएन ।छोरो फर्किएर आउने आशामा छाप्रोको ढोका कहिल्यै बन्द गरिएन ।

हरेक क्षण उसका आँखा र कान चनाखो बनिरहे अचानक एकदिन बिहान सबेरै एउटा डोजर सुकुम्बासी बस्तिमा छिर्यो, अनि सुरुमै बिर्खेको छाप्रो माथी धावा बोल्यो । बेलुकी रेडियोमा समाचार बज्यो कि, त्यो डोजर एकजना युद्धकालिन कमान्डर लालध्वज भनिएका बाबुराम भट्टराईको रहेछ ।

सधैं मुस्कुराइरहने जलजला हिमाल एकदिन हाँस्न मानेन, सायद त्यसैदिन हुनुपर्छ, घर्तीगाउँको खेतमा हलो जोतिरहेको बिजय घर्तीलाई हत्कडी लगाएर प्रहरीले सदरमुकाम लियो ।

आरोप थियो- माओवादीलाई खाना खुवाएको प्रतीक्षाको भित्तामा कैयौं पात्रोहरु फेरिए । नमान्छे फर्कियो न त कुनै खबर नै आयो, जब बिजयको पराजित छोरो जवान भयो, बाबुको खोजिमा काठमाडौ हिड्यो ।

माओवादी भेटिने चोक, गल्ली र सडक सभा, सम्मेलन र गोष्ठी सबतिर धायो, बिजय घर्ती कतै झुल्किएन । मन्त्रीलाई सोध्ने निधो गरेर सिंहदरबार गेटमा पुग्यो । भित्र छिर्ने प्रबेश पास नपाएर फर्कियो । बेपत्ता छानबिन आयोगमा निवेदन दियो तर उसको निवेदन पनि बेपत्ता पारियो, अब उसले अर्को जुक्ती निकालेको छ ।

जनयुद्धका मुख्य कमान्डर प्रचण्डलाई सोध्ने खोइ मेरो बुवा, खोइ पल्लो गाउँको आकाश सर?

कुनैबेला माओवादीले कार्यक्रम गर्ने खुलामञ्च, बसन्तपुर, खन्ना गार्मेन्ट अनि पाटनको गल्ली, नयाँबजारका चोकहरु,
लाजिम्पाट बजार सबैतिर डुल्यो तर प्रचण्डलाई भेट्न सकेन ।

माइक्रोबसमा कसैले भनेको सुन्यो प्रचण्ड त एउटा ठुलो दरबारमा बस्छन् रे । एकदिन चियापसलमा सुन्यो प्रचण्डले पार्टी बेचिसके भनेर । अर्कोदिन चोकमा सुन्यो प्रचण्ड एमाले हुदैछन् भनेर।

तरकारी बजारमा कसैले बोलेको सुन्यो प्रचण्डले माओको फोटो कवाडीलाई सित्तैमा दिए भनेर एउटा पत्रीकामा पढ्यो प्रचण्ड आन्दोलनबाट बेपत्ता भैसके भनेर ।

त्यसपछि उ झन अलमलमा पर्यो आफ्नो बाबुलाई खोज्ने या प्रचण्डलाई खोज्ने ? कहाँ खोज्ने कसरी र कहिलेसम्म खोज्ने ?

सायद नयाँ र अन्तिम बिकल्पको आविष्कार गर्यो, एउटा साँझ बानेश्वरको सडकपेटिबाट अगाडितर्फ कान्तिपुर पत्रीकाको कार्यालय खोजेर हिड्यो । पब्लिक नोटिस छाप्नका लागि एउटा कागज बोकेर, जसमा लेखिएको थियो, ‘कुनै बेलाको माओवादी सर्बोच्च नेता पुस्पकमल दाहाल अर्थात प्रचण्ड हराएको सुचना’ !

उमाकान्त (युके)

११ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको