बृहद वाम एकता आजको आबस्यकता


अनिश तामाङ
सम्झौता राजनीतिक जीवनको एउटा अप्रिय तर अनिवार्य बाध्यता हो तर सम्झौतावाद भने गम्भीर राजनीतिक अपराध, गद्दारी र विचलन हो । विश्व कम्युनिस्ट इतिहासलाई फर्केर हेर्दा कम्युनिस्टका जन्मदाताहरुले पनि विभिन्न कालखण्डमा आवश्यकता अनुसार सम्झौताहरु गरेका छन् ।
सन १९१८ मा क. लेनिनले शिशु समाजबादमा युद्ध घातक हुने भन्दै जर्मनसंग वेस्तोलितोव्स्कको सन्धि गर्नु भयो । जसमा केही भुभाग साम्राज्यवादलाई सुम्पनु परेको थियो ।
त्यस्तै कमरेड माओत्सेतुङले पनि सन १९३६ मा प्रधान दुश्मन विरुद्ध सहायक दुश्मनसंग अस्थायी सहकार्य गर्ने, अन्तरविरोधहरुको सही परिचालन गर्ने, द्वन्द्ववादी सिद्धान्त अनुरुप च्याङकईसेकसंग संयुक्त मोर्चा बनाउने निर्णय गरयो र जनबादी क्रान्तिको यस चरणमा जापानी साम्राज्यवाद विरुद्ध भिषण संघर्ष गर्नु परेको थियो । जापानसंगको विजय पश्चात् बन्दुक फेरी च्याङकईसेक तर्फ सोझ्याइयो । अन्तत: सन १९४९ मा चिनमा जनबादी गणतन्त्र स्थापना भयो ।
इतिहासका यस्तो उदाहरणहरु धेरै छन् । विश्वमा सम्पन्न भएको क्रान्ति  एकै तरिकाले कहि पनि भएको छैन । कुनै क्रान्ति सफल भएका छन त कतै कम्युनिस्ट पार्टी विघटनसम्म पुगेको अवस्थ छ । नेतृत्वले परिस्थितिलाई सहि ढंगले बेलैमा बुझन सकेन भने हामी असफल हुन्छौं ।
हाम्रो उदेश्य भनेको समाजबाद हुदै साम्यवाद सम्म पुग्ने हो । यसका लागि बम एकता वा सशस्त्र विद्रोह बाहेक विकल्प छैन । हामी सशस्त्र लडाइँबाट आएका माओवादीहरु संसदीय व्यवस्थाको समेत अभ्यास गरिसकेको अबस्था छ । यतिबेला तत्कालको लागि युद्ध सम्भव छैन । युद्ध भनेको अन्तिम विकल्प हो । युद्ध भन्दा पहिले हामीसंग अन्तिम विकल्प छ, त्यो भनेको बाम एकता हो । एमाले जे भने पनि कम्युनिस्ट नै हो, केही मुद्दाहरुमा फरक मत भए पनि पुग्ने गन्तव्य एउटै हो । केपी ओलीको मुखाले बोली सम्झेर नेपालको कम्युनिस्ट इतिहास धरापमा पार्नु बुद्दिमानी कदम होइन ।  एमाले नेतृत्वले ४६ साल पछिका दिनहरुमा बिभिन्न कारणले कांग्रेससंग सत्ता साझेदार गरे यहाँसम्म आईपुगेको छ । पछिल्लो समयमा काँग्रेस र माओवादीको सत्ता साझेदार चलिरहेको छ । राजनीति निषेधको खेल होइन, की एउटा अबस्थासम्म त्यो सम्भावनाको प्रयोग हो । त्यो साझेदार क्षणिकको लागि थियो । अन्ततः कम्युनिस्टहरुको घरेलु बैचारिक दुश्मन भनेकै कांग्रेस हो । आज वल्ल वाम आन्दोलनमा यो कुराको बोध भएको छ ।
हामीले लडाइँ संसदीय व्यवस्था विरुद्ध लडेका थियौं तर आज पार्टी त्यही फोहोरी व्यवस्थामा चुर्लुम्म डुबिरहेको छ । यो कुरा नेतृत्वलाई राम्रो संग थाहा छ । सकेसम्म एमालेलाई  निल्ने नै थियो तर त्यो सम्भव भएन । उसले पनि निल्न नखोजेको होइन, सकेन । वामपन्थीहरुमा निषेध होइन वल्कि जुट्नुपर्छ भन्ने पाठ विकटको इतिहासले देखायो र अहिले मिल्न खोजिएको हो । वाम एकतालाई कोठे विश्लेषकहरुले नानाथरी आरोप लगाए पनि इतिहासले मुखभरिको जवाफ पक्कै दिनेछ भन्ने लाग्छ ।
माओवादी र एमाले दुबै पार्टीको उदेश्य भनेको दुई तिहाइ बहुमत ल्याउने हो । यतिबेला कांग्रेसको उदेश्य भनेको नै बाम गठबन्धनलाई दुई तिहाइ ल्याउनबाट कसरी रोक्ने भन्ने छ । यसमा दक्षिणको छिमेकी र समुन्द्र पारीका खैरेहरू जसरि पनि नेपालमा कम्युनिष्टहरुको गठबन्धन कसरी तोड्न सकिन्छ भन्ने कुरामा केन्द्रित छन् । जव उनीहरुले कम्युनिष्टहरुको वारेमा निन्दा गर्न थाल्दछन तव हामीले हाम्रो कार्यदिशा सहि रहेको विश्लेषण गर्नुपर्छ तर यसको विपरित जव हाम्रो वारेमा चाहिने भन्दा बढी तारिफ गर्न थाल्दछन तव हामी बिग्रेछौँ भनेर आफुलाई सुधार्न तर्फ लाग्नु पर्छ । अहिले हामी सहि छौं जस्तो लागिरहेको छ ।
अहिले दक्षिणपन्थीहरु अहिले रक्षात्मक चुनाब लड्ने हो । कुनै हालतमा कम्युनिस्टलाई बहुमत ल्याउन दिनु हुन्न भन्नेमा पुगेका छन् बिदेशी माफियाहरु । यहाँ कांग्रेसलाई भन्दा धेरै टाउको भारतलाई दुखेको छ। कम्युनिस्टको बहुमत आउन साथ भारतिय हस्तक्षेप पुर्ण रुपमा बन्द हुने निश्चित छ ।
यदि बाम गठबन्धनको दुई तिहाइ बहुमत आयो भने नेपालमा ५ वर्ष भित्र समाजबाद स्थापना हुने निश्चित छ । यसका लागि धेरै ठुलो चुनौतीहरु छन् । माओवादी र एमालेले राजनीतिक इमानदारीता देखाउने हो भने संसारको कुनै तागतले कम्युनिस्टहरुको शाषणलाई रोक्न सक्दैन ।
कम्युनिस्टहरुले राष्ट्रलाई नयाँ ढंगले लान खोज्दा भारतले विभिन्न सुत्रहरु प्रयोग गरेर विफल बनाउने प्रयास गर्ने कुरामा दुइमत छैन । यसमा नेपाली कांग्रेस लगायतका यथास्थितिवादी पार्टीहरुले नाक टेकेर साथ दिने कुरामा पनि दुईमत छैन  ।
नेपाली सेनाको नेतृत्व कस्तो प्रवृत्तिका छन् त्यो कट्वाल काण्डमा प्रष्ट देखि सकेको छ । सेनालाई कतिसम्म भारतले अन्डरमा राखेको छ स्व. राजा विरेन्द्रको हत्याकाण्डमा छर्लङ्ग नै भइसकेको छ । भारतको इसारामा सेनाले निहुँ नखोज्ला भन्ने वेर छैन । हो, यतिखेर हो ठुलो वाम भेला हुने समय । जव सेनाले हस्तक्षेप गर्न खोज्छ भने नेत्रबिक्रम चन्द विप्लव पक्कै चुप लागेर बस्ने छैन । उसले की सेनालाई साथ दिनुपर्छ की वाम गठबन्धनलाई । नेपाली सेना पूर्ण रुपमा लोकतान्त्रिक वन्न नसकेको कुरा नेकपाको नेतृत्वलाई थाहा नभएको होइन । यसरी हेर्दा विप्लव नेतृत्वको नेकपासंग अहिलेको बाम गठबन्धनको मिलनबिन्दु भेटिने सम्भावना देखिन्छ र बिदेशी इशारामा हुने कुनै पनि ‘कु’ को विरुद्धमा फौंजी प्रत्याक्रमणको लागि विप्लवले अहिले तयार गरिरहेको फौजी आधारले काम गर्न सक्छ । यो बेला विप्लवको आवश्यकता अब्बल हुनेछ । जसरी माओवादीको नामै सुन्न नचाहने दलहरु पनि पछी ज्ञानेन्द्रको मुक्का खाएर अत्तालिएर माओवादीसंग नजिक हुन् आएका थिए । अर्को कुरा सेनामा पहिलेको जस्तो संरचना पनि छैन । सेना भित्रको बामपंथीको पक्षको सेनाले विद्रोह गर्नेछ । नेपाली सेना भित्र जनमुक्ति सेना घुसाएको यतिखेर काम लाग्न सक्छ ।
आउने जटिलताहरुलाई पुर्व तयारीको साथ समाजबाद स्थापनाको दिशामा पाइला चाल्दै गर्दा हामी जस्तो बामपंथी विचारधारा बोकेकाहरुले एकअर्कामा शंक गर्नु भन्द राष्ट्रको आवश्यकता के हो ? त्यता ध्यान दिन जरुरी छ । एउटा गतिलो भनाई छ, शंक गर तर शंकमा टेकेर तर्क नगर । त्यसैले नेतृत्वको रणनीति नबुझेर बाम गठबन्धन विरुद्ध नानाथरी आरोप लगाएर क्रान्तिकारीत्व देखाउनु भन्दा हेर र पर्खको रणनीति अप्न्नाउनु पर्छ । समयले हाम्रो बलिदान पनि माग्न सक्छ जतिबेला राष्ट्रको लागि हाँसीहाँसी बलिदान दिन तयार हुनु पर्छ । सामाजिक संजालमा कडा लेखेर मात्रै क्रान्तिकारी हुदैन । समयको वेगलाई बुझेर मत्थर हुनु पनि क्रान्तिकारी नै हो ।
नोट: लेखक माओवादी केन्द्र निकट प्रेस सेन्टर युएईका अध्यक्ष हुनुहुन्छ ।
९ कार्तिक २०७४, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको