गौरवशाली नेपालीहरुले युएईबाट सुरु गरे हुन्डीविरुद्ध अभियान


लक्षण खनाल/युएई 

युएईमा रहेका नेपाली युवाले हुन्डीविरुद्ध ‘गौरवशाली नेपाली’ जनचेतना अभियान सुरु गरेका छन् । अबुधावीमा रहेका ज्ञानेन्द्रबहादुर कार्की र कृष्ण पन्तलगायतले अभियान सुरु गरेका हुन् ।

‘हुन्डीबाट पैसा पठाएर राष्ट्रघाती काम नगरौँ’ भन्ने मूल नारा लेखिएको टिसर्ट वितरण गरेर अभियान सुरु भएको हो । टिसर्टको अग्र भागमा ‘नेपाली हुनुमा गर्व रहेको’ र ‘हुन्डी होइन भनेर भनौँ’ जस्ता नारा लेखिएको छ ।

नेपालको राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिने वैधानिक विप्रेषणभन्दा अवैधानिक हुन्डीमा नेपाली श्रमिक प्रलोभित हुन थालेपछि अभियान सुरु गरिएको कार्कीले बताए । उनले वैधानिक विप्रेषणका फाइदा र हुन्डीको कारणले राष्ट्रलाई पर्ने असरबारे जानकारी दिँदै नेपाली श्रमिक भएका क्याम्पमा गएर जनचेतना फैलाउने काम गरेको बताए ।

प्रवासमा रहेका नेपालीलाई हुन्डीको असरबारे चेतनाको अभाव भएको अभियन्ता कृष्ण पन्तले बताए । उनले भने, ‘राष्ट्रिय अर्थतन्त्रमाथिको असर र अन्तर्राष्ट्रिय राजनीतिमा पर्ने प्रभावबारे जनचेतना फैलाउन सके हुन्डी रोकिनेमा विश्वस्त छु ।’ अबुधावीमा रहेका श्रमिक क्याम्पबाट अभियान सुरु गरिएको र निकट भविष्यमा युएईका सातै प्रान्तमा अभियान चलाइने उनले बताए ।

युएईमा रहेका नेपालीमध्ये अनुमानित ५० प्रतिशतले अवैधानिक रूपमा हुन्डी गर्ने गरेको तथ्यांक रहेको सेन्चुरी रेमिट युएई प्रमुख नवीन पौडेल बताउँछन् । धेरै रेमिटहरूले भन्दा बढी दर दिने, दुर्गममा हुनेहरूलाई पैसा संकलनको लागि कोठासम्म पुग्नेजस्ता कारणले हुन्डी मौलाउँदै गएको उनको भनाइ छ ।

यसलाई रोक्न सरकारी तबरबाट श्रमिकमुखी र प्रभावकारी कदम चाल्नुपर्ने उनको तर्क छ । सरकारले हुन्डी गर्नेहरूलाई कारबाही र वैधानिक विप्रेषण गर्नेलाई फाइदा हुने कानुन ल्याउन जरुरी रहेको पौडेलको भनाइ छ ।

नयाँ पत्रिकाबाट साभार 

१० भाद्र २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको