दलाललाई कारबाही गर्न दूतावासले किन खुट्टा कमायो? :जन प्रगतिशील मंच


पोष्टपाटी! 

मानव तस्कर र पिडितको युएई प्रकरण अझै रहस्यमय बन्दै गैरहेको छ। उक्त प्रकरणको मध्यस्तकर्ताको भूमिका निर्बाह गरिरहेको युएई स्थित नेपाली दुतावास दलालीको पक्षमा अभिव्यक्ति दिए पछी दुतावासको कार्य शंकास्पद बनेको हो।

दुतावास युएई द्वारा दलालीको संरक्षणयुक्त बिज्ञप्ति जारि गरेपछी सबभन्दा पहिले नेपाल पत्रकार महासंघ युएई शाखाले खण्डन गरेको थियो र अहिले नेपाली जन प्रगतिशील मंचले दूतावासको गैरजिम्मेवार पूर्ण कार्यप्रति बिज्ञप्ति जारिगरि संस्थागत ध्यानाकर्षण गराएको छ।

उसो त यस अघि देखि नै युएइमा रहेका विभिन्न संघ संस्थामा आबद्द व्यक्तिहरुले दुतावासको कार्यप्रति बिरोधको जनाएका थिए, तर संस्थागत आधिकारिक धारणा भने राखेका छैनन्। बरु दूतावासको बिज्ञप्ति पछी युएइमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु भने स्वयं दूतावासमा उपस्थित भइ छलफल गरेका थिए।

छलफलको क्रममा कार्यबाहक राजदुत नेत्र टन्डनले दलाल प्रेम पाण्डे (साजन)लाइ कारबाही गर्न नसकिने बताए पछी दूतावासको उक्त अभिव्यक्तिलाई संकाको घेराबाट हेरिएको छ।

दलका प्रतिनिधि सम्मिलित टोलीसँग टन्डनले “पीडक पाण्डेलाई कारबाही गर्दा पीडितको उद्धारमा अझ कठिन अवस्था आउने, पाण्डेलाई कारबाही गरे उनले ल्याएका नेपालीको बिचल्ली हुने र अवस्था थप जटिल बन्ने भएकाले कारबाही गर्न सकिँदैन, दूतावाससँग पाण्डेलाई कारबाही गर्न बजेट छैन, हामी कारबाही गर्न सक्दैनौं” भन्ने सम्मको गैर जिम्मेवार अभिव्यक्ति दिएका थिए।

अन्य उपस्थित संस्थाहरु भने अझै मौनता बसिरहेका छन्। उक्त मौन चरित्रलाई पनि संकाको घेराबाट हेरिन थालेको छ। सधैं लक्षित बर्ग (पिडित)को पक्षमा आफ्नो संस्था भएको बाचा गर्ने सयौं संघ संस्थाहरु यतिबेला मौनबस्नु रहस्यमय भएको भन्दै सामाजिक संजालमा आलोचना बढ्न थालेको छ।

युएइको सबै भन्दा पुरानो संस्था ‘नेपाली समाज युएई’ आफ्नो अधिवेशन सफल हुन नसकेको चोटको घाउ बोकेर मौन बसेर कुनै प्रतिक्रिया दिन चाहेको छैन भने यता ‘नेपालीका लागि नेपाली’ मूल मुद्दा बोकेको एनआरएन युएईले पनि कुनै संस्थागत प्ररिक्रिया जनाएको छैन। भलै एनआरएन अध्यक्ष सुदिप कार्कीले भने यस अघि नै आफ्नो व्यक्तिगत धारणा राख्दै दूतावासको कार्यलाई निन्दा गरेका थिए।

समस्या समाधान गर्न दुतावास पुगेका अन्य संघ संस्थाहरुले अहिले सम्म आफ्नो आधिकारिक धारणा दिन सकेका छैनन। छलफलको नाममा दूतावासमा उपस्थित संस्थाहरु किन गए र उनको आधिकारीक निकर्ष के थियो भन्ने बारे स्वयम संस्थाहरु नै अनविज्ञ देखिन्छन।

तर नेकपा माओबादी सम्बद्ध जन प्रगतिशील मंच युएइले भने, “मानब तस्करमा संलग्न ब्यक्तिहरुको नाम र प्रमाण सहित नेपाली दूतावास अबुधाबी र नेपाल सरकारलाई जानकारी गर्दा समेत दलालहरुलाई कुनै कारबाही नभएको भन्दै बिज्ञप्ति मार्फत आफ्नो संगठनको गम्भीर ध्यानकर्षण गराउदै ‘दलाललाई कारबाही गर्न पनि किन खुट्टा कमाउने ? भन्दै कडा शब्दमा प्रश्न गरेको छ।

मंचले बिज्ञप्तिमा अगाडी लेख्दै भनेको छ  “हाम्रो गौरवसाली संगठन नेपाली जनप्रगतिशिल मंच युएई पीडितहरुलाई उद्धार मात्रै नभई मानब तस्करमा संलग्न दलाल प्रेम पाण्डे लगायतको गिरोहलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछ ।

भिजिट भिसाको नाममा हुने मानब तस्कर रोक्न यसमा संलग्न नेपाल सरकारका कर्मचारी र दलालहरुलाई कानुनी कठघरामा उभ्याउन भन्दै प्रगतिशील मंचले नेपाल सरकारसँग जोडदार माग गरेको छ।

हेर्नुहोस विज्ञप्तिको पूर्णपाठ यस्तो छ:-

प्रेस विज्ञप्ति

यतिबेला युएईमा भिजिट भिसाको नाममा मानब तस्कर भईरहेको विषयमा बिभिन्न मिडियामा समाचारहरु सम्प्रेषण भइरहेको छ। मानब तस्करमा संलग्न ब्यक्तिहरुको नाम र प्रमाण सहित नेपाली दूतावास अबुधाबी र नेपाल सरकारलाई जानकारी गर्दा समेत दलालहरुलाई कुनै कारबाही नभएको कुरामा हाम्रो संगठन नेपाली जन प्रगतिशील मंच युएईको गम्भीर ध्यानकर्षण भएको छ ।

विभिन्न प्रलोभन देखाउदै युएईमा चितवन निवासी प्रेम पाण्डे(साजन) ले भिजिट भिसामा १९ जना नेपालीहरु युएई ल्याइ अलपत्र पारेको भन्दै पीडितहरुले नेपाली दूतावास अबुधाबीमा उजुरी हालेको थिए । पीडितहरुले दूतावासमा प्रेम पाण्डेले मादक पदार्थ पिउदै कुट्ने, मार्ने सम्मको धम्की दिने गरेको प्रमाण सहित युएईमा आउनको लागि आफुहरुले काठमाडौं ठमेलमा रहेका अर्थ लाइन ट्राभल्समा बुझाएको रकमको प्रतिलिपी सहित बुझाएका थिए । पीडितहरु मध्ये एकजनालाई अर्थ लाइन ट्राभलले नक्कली कागजात पेस गरी श्रमको स्टिकर टाँसेर युएई पठाएको प्रमाण सहित दूतावास र नेपाल सरकारलाई जानकारी गराउँदा समेत दूतावासले दलाललाई कुनै कारबाही गर्न नसक्ने भन्नु र यो विषयमा नेपाल सरकार मुकदर्शक बनेर बस्नु गम्भीर अपत्तिको विषय बनेको छ ।

निक्कै लामो समय देखि युएईमा भिजिट भिसामा आइ अलपत्र पर्नेको सङ्ख्या ह्वात्तै बढेको अवस्थमा यहाँका विभिन्न संघसंस्था, बुद्धिजीवी, पत्रकार तथा राजनीति दलका भातृसंगठनहरुले पटक पटक नेपाल सरकार र नेपाली दुतावासलाई खबरदारी गर्दै आएको हो । तर दुतावासले मानब तस्करमा संलग्न दलालहरुको कुनै ठोस प्रमाण नभएको भन्दै कारबाही गर्न आलटाल गर्दै आएको धेरै भइसक्यो । पछिल्लो चरणमा पीडितहरु प्रमाण सहित उजुरी दिदा समेत उक्त दलालहरुलाई कुनै कारबाही गर्न नसक्ने कार्यबाहक राजदुतको गैरजिम्मेवारपुर्ण भनाइले नेपाली दुताबास माथि नै प्रश्न चिन्ह खडा भएको छ।

दुताबास भनेको यहाँका नेपालीहरुको अबिभावक हो । यहाँ दैनिक सयौं नेपालीहरु भिजिट भिसाको नाममा अलपत्र परेको खबरहरु मिडियामा आइरहेको र विगतमा पनि यस्ता उजुरीहरु धेरै पटक पर्दा समेत दूतावासले कुनै कारबाही नगर्नुले नेपाली दूतावासको औचित्य माथि प्रश्न उठ्नु स्वभाबिक हो । के नेपाली दूतावासको काम कालो कोट लगाएर विभिन्न संघ संस्थाहरुले गर्ने कार्यक्रममा खादा लगाउने मात्रै हो त ? हैन भने साधारण दलाललाई कारबाही गर्न पनि किन खुट्टा कमाउने ? पत्रकारहरुले दलालहरुको विरुद्ध समाचार सम्प्रेषण गर्दा पीत पत्रकारिताको संज्ञा दिने नेपाली दूतावासलाई कसरी नेपालीहरुको अबिभावकको रुपमा लिने भन्ने प्रश्नहरु पनि गम्भीर रुपले उठ्न थालेका छन ।

हाम्रो गौरवसाली संगठन नेपाली जनप्रगतिशिल मंच युएई पीडितहरुलाई उद्धार मात्रै नभई मानब तस्करमा संलग्न दलाल प्रेम पाण्डे लगायतको गिरोहलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछ । नदी सफा गरेर मुहान फोहोर छ भने नदी सफा गर्नुको औचित्य हुन्न । यस्तै पीडितहरुलाई उद्धार मात्रै गरेर यो समस्य समाधान हुने हैन । दुताबासले पीडितलाई उद्धार गर्ने र दलाललाई कारबाही गर्न कुनै कदम नचाल्ने हो भने दुताबासले भन्दा धेरै पीडितको उद्धार युएईको संघ संस्थाहरुले गरेका उदाहरण हामी सामु छन । तसर्थ जिम्मेवार ब्यक्तीहरुबाट यस्ता गैरजिम्मेवार भनाइ आउनु दु:खद छ । यस्ता भनाइहरुले स्वयम मानब तस्करीमा दुताबासको सँलग्नतालाई पुष्टी समेत गर्दछ ।

त्यसैले भिजिट भिसाको नाममा हुने मानब तस्कर रोक्न यसमा संलग्न नेपाल सरकारका कर्मचारी र दलालहरुलाई कानुनी कठघरामा उभ्याउन हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।

प्रवक्ता
नेपाली जनप्रगतिशील मंच युएई
मिति : २६ जुलाई,२०१७

११ श्रावण २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको