माओवादी केन्द्र एमालेमा एकता हुने भएपछि गरे ‘आहुती’ले पार्टी परित्याग


काठमाण्डु, १० पुस– नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ ले एमालेसित पार्टी एकता गर्ने निर्णयप्रति असहमति जनाउँदै पार्टी छोडेको घोषणा गरेका छन् ।

 

आहूतिले आफू पार्टीमा नरहेको र पुष्पकमल दाहाल प्रचण्ड आफ्नो नेता नभएको समेत बताए । उनले एकताबारे पार्टीमा कुनै छलफल नभएको भन्दै केही नेताले निर्णय गर्दैमा एकता हुन नसक्ने उल्लेख गरे । एकता नभई माओवादी केन्द्र एमालेमा बिलय हुन लागेको उनको भनाइ थियो । दुई पार्टीबीच विचार नीति, सिद्धान्त र कार्यक्रममा आकाश पाताल फरक रहेको र ती विषयमा मतभेद अन्त्यको प्रयासै नगरी गरिएको एकता आम नेता र कार्यकर्ताका लागि स्वीकार्य हुन नसक्ने उनले प्रष्ट्याए ।

विगतमा एमालेले माओवादीमाथि र माओवादीले एमालेमाथि लगाएका आरोप र दस्तावेजमा उल्लेख गरिएका प्रवृत्तिमा कुनै परिवर्तन नगरी हतारमा एकताको निर्णय भएको उनले बताए । बिग्रिएको पार्टीलाई सच्याउन पार्टी केन्द्रीय समितिले एकमतले महान बहस गर्ने निर्णय गरिसकेको अवस्थामा नेतृत्वले नेता कार्यकर्तालाई धोका दिएको आरोप उनले लगाए । ‘विश्व कम्युनिष्ट आन्दोलनमा पार्टीका नेता र कार्यकर्ताको यतिधेरै अपमान भएको मलाई थाहा छैन’, काठमाण्डुटुडेसँग कुरा गर्दै उनले भने ।

आहूतिले माओवादी केन्द्रका कुनै पनि भेला, सम्मेलन वा महाधिवेशनबाट पारित दस्तावेजमा एमालेलाई कहिल्यै कम्युनिष्ट पार्टीका रुपमा उल्लेख नगरे पनि हाल आएर कम्युनिष्टहरुबीच एकता भन्नु हास्यास्पद भएको टिप्पणी गरे । ‘कुनै पनि झेला, सम्मेलन वा महाधिवेशनबाट हामीले एमालेलाई कम्युनिष्ट शक्ति मानेका छैनौं’, उनले भने, ‘एमालेलाई कहिले प्रतिक्रियावादी र कहिले ढुलमुले शक्ति भनेका छौं, अनि कसरी कम्युनिष्टसँग एकता गर्न लागेको भन्न मिल्छ ?’ आहूतिले माओवादी केन्द्रका नेताहरु पनि एमाले जस्तै प्रतिक्रियावादी भएको आरोप लगाए ।

‘हामीले हिजो भनेको जस्तै एमाले प्रतिक्रियावादी हो भने माओवादी केन्द्रका नेताहरु पनि त्यही ठाउँँमा पुग्नुभएको छ’, उनले भने, ‘अब यो कम्युनिष्ट पार्टी रहेन ।’ दुई पार्टीको एकतालाई उनले कम्युनिष्ट आन्दोलनको बिसर्जनको संज्ञा दिए । ‘एमालेसँग एकता गर्ने हो भने माओवादी कम्युनिष्ट रहँदैन, यो कम्युनिष्ट आन्दोलनको बिसर्जन हो । पार्टी नेतृत्वले माओवादी केन्द्र छाडेर एमालेमा जाँदैमा आफूहरु सँगै जान नसक्ने उनले प्रष्ट्याए ।

माओवादी एमालेमा सबलय हुन लागेकाले त्यहाँभित्रका क्रन्तिकारीहरुलाई समेटेर आजको आवश्यकताअनुसारको कम्युनिष्ट पार्टी निर्माणमा जुटेको जनाए । एकता मन नपराएका देशभरका नेता कार्यकर्ता आफूहरुको सम्पर्कमा रहेको र उता एकता भएसँगै आफूहरुले पनि पार्टी निर्माण गर्ने जानकारी दिए । तर, नेतृत्व कसले गर्ने भन्नेबारे खुलाएनन् ।

२०७४ पुष १०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको