कस्तो थियो चिनियाँ सांस्कृतिक क्रान्ति ? एउटा चिनियाँ योद्धाको गवाही


(चीनमा जन्मेर हाल अमेरिकामा प्राध्यापन पेशामा सङ्लग्न डोङपिङ हान नेपाली पाठकका लागि परिचित नाम हो । उनको महत्त्वपूर्ण कृति ‘अपरिचित सांस्कृतिक क्रान्ति’ यसअघि नै नेपाली पाठकबीच  लोकप्रिय भइसकेको हो ।  यस पुस्तकले चिनियाँ  महान् सर्वहारा सांस्कृतिक क्रान्तिको वैचारिक तथा राजनीतिक महत्त्वबोध गराउनुका साथै माओको मृत्युपछि ती महान् मूल्यहरूलाई  कसरी ध्वस्त पारियो भन्ने कुरा पनि प्रस्ट पारेको छ  । हामीले यहाँ  उनै डोङपिङ हानका धारणाहरू प्रस्तुत गरेका छौं  । सन् २०१०, ३० अक्टोबरमा एम्के याङ्कद्वारा Front lines of Revolutionary Struggle  मा प्रकाशित गरिएको यो संवाद पाठकहरूका लागि निकै फलदायी हुने विश्वास हामीले लिएका छौँ ।)

५०,००० जनसङ्ख्या रहेको मेरो कम्युनमा १० वर्षसम्म मैले कुनै गम्भीर अपराधको घटनाबारे सुनिन । तर अहिले चीनमा अपराधका घटना सामान्य बनेका छन् ।

प्रश्न : सन् १९८६मा तपाईं चीन फर्कनुभयो । सांस्कृतिक क्रान्तिका बेलाभन्दा चीन धेरै भिन्न भएको छ, चिजहरू धेरै फेरिएका छन् भनेर तपाईं र  तपाईंहरूजस्ताले कहिलेदेखि महसुस गर्न थाल्नुभयो ?

डोङपिङ हान :  मलाई लाग्छ जनताले तत्कालै महसुस गरे । सन् १९८३ मा चीनमा भूमिलाई निजीकरण गरियो । थुप्रै मान्छेहरूले सोच्ने गर्दछन्— किसानहरू मूर्ख र अज्ञानी हुन्छन् । तर मेरो विचारमा किसानहरू धेरै बुद्धिमानी हुन्छन्, तिनीहरूमध्ये धेरैले निजी खेती प्रणालीमा निहित वास्तविकता तत्कालै बुझेका थिए । त्यसैकारण सुरुमा उनीहरूले नै यसको जोडदार विरोध गरेका थिए ।

र मैले देखेँ  मेरो गाउँ र अन्य गाउँहरूमा बहुसङ्ख्यक जनता, नब्बे प्रतिशतले भनेका थिए— “पार्टीले अब गरिब जनताको कल्याण गर्दैन”।  लगत्तै उनीहरूले त्यस्तो महसुस गरे । कम्युनिस्ट पार्टी र पार्टी सदस्यहरूले त्यसपछि ग्रामीण इलाकातिर गरिब जनताका बारेमा ध्यान दिनछाडे । ग्रामीण इलाकाका लागि भनेर राष्ट्रिय बजेटमा छुट्याइने सरकारी लगानी १९७०को दसकको १५ प्रतिशतबाट घटेर ८० को दसकमा मात्र ३/४ प्रतिशतमा झर्न पुग्यो । त्यसो हुँदा “कम्युनहरूमाथि प्रतिबन्ध लगाएर चिनियाँ सरकारले अब आफूहरूलाई बेवास्ता गर्न थालेको छ” भनेर चिनियाँ जनताले महसुस गरे । तर त्यसबेला म आफू भने कलेजमा थिएँ र सन् १९८६ सम्म पनि मैले त्यस विषयमा त्यति धेरै बुझिसकेको थिइन ।

प्रश्नः सांस्कृतिक क्रान्ति तपाईंहरूको गाउँमा कसरी प्रवेश गरेको थियो ? हामीलाई केही  भनिदिनुहुन्छ कि ?

डोङपिङ हान : सांस्कृतिक क्रान्ति मन्द  गतिमा सुरु भयो । सांस्कृतिक क्रान्तिको सुरुवातपूर्व, माओका कृतिहरूको अध्ययन सुरु गर्न आह्वान गरियो । अध्यक्ष माओका कृतिहरू पढेर सुनाउन चिनियाँ जनमुक्ति सेना गाउँ पसेका थिए । उनीहरूले गाउँमा नाटकहरू देखाए । ‘जनताको सेवा गर’, ‘नर्मन बेथ्युनको स्मृतिमा’ र ‘एउटा मूर्ख बूढाले कसरी पहाड हटायो’ शीर्षकका माओका तीन चर्चित रचनाहरूबारे प्रशिक्षित गर्न उनीहरू जनताका घरघर पुगे । ती रचनाहरूले भन्न खोजेका कुराका बारेमा उनीहरूले गाउँलेहरूलाई प्रस्ट पारिदिए । जनमुक्ति सेना फर्केपछि मजस्ता थुप्रै स्कुले केटाकेटीहरूले पनि गाउँलेहरूलाई माओका कृतिहरू पढाउन सुरु गरे ।

केन्द्रीय सरकारले सांस्कृतिक क्रान्तिको सुरुवातको घोषणा गरेपछि उच्च माध्यमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना विद्यालय छाडे र ठूला अक्षरका पोस्टरहरू लेखेर सडकका भित्ताहरूमा टाँस्न थाले । उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्ना २० जना शिक्षकहरूलाई तानेर बजारमा ल्याए र सार्वजनिक रूपमा तिनीहरूको आलोचना  गरे र एउटा ठूलो भीडका सामु  उनीहरूका आधा कपाल मुडिदिए । सांस्कृतिक क्रान्तिले कस्तो रूप लिनेछ भन्ने बारेमा सुरुमै अधिकांश मान्छेहरूलाई थाहा थियो भन्ने मलाई लाग्दैन ।

थुप्रै विद्यार्थीहरूले समाचारपत्र र पर्चाहरू प्रकाशित गर्नथाले । सरकारी अधिकारीहरूलाई आलोचना गरिएका त्यसबेला थुप्रै पम्पलेटहरू निस्कने गर्दथे । सुरुमा ती  धेरजसो विद्यार्थीहरूद्वारा लेखिएका हुन्थे । त्यसको केही समयपछि नै किसान र मजदुरहरूले पनि लेख्न सुरु गरे । त्यसबेला ती पोस्टर र पर्चाहरूमार्फत ज्यादै धेरै सूचना प्रवाहित हुने गर्दथे । पछि मेरो काउण्टीबाट उच्च माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरूको एउटा समूहले अध्यक्ष माओलाई भेट्नका लागि भनेर बेजिङसम्मको यात्रा गर्यो । सन् १९६६ अगस्टमा फर्केपछि, उनीहरू विभिन्न रेड गार्ड समूहहरूमा सङ्ठित हुनथाले । काउण्टी र कम्युन नेताहरूका विरुद्धमा उनीहरूले जनार्यालीहरू निकाल्न सुरु गरे । त्यसबेला सम्पूर्ण अधिकारीहरू कुनै न कुनै प्रकारका  जननिगरानी र आक्रमणको निसाना बन्दथे । लगभग सबैजसो, मेरो ख्यालमा जनसङ्ख्याको ९० प्रतिशत जनसङ्गठनको अङ्ग बन्दथे ।

त्यतिबेला म तीन कक्षामा पढ्थें । पाँचजना साथी र म मिलेर हामीले पनि एउटा रेड गार्ड सङ्गठन बनायौं  । हामीले आफ्नो रेड गार्ड चिन्हको डिजाइन गर्यौं  र एकपन्ने पत्रिका निकाल्न सुरु गर्यौं  । हाम्रो पत्रिका छाप्नका लागि एउटा हाते प्रिन्टर खरिद गर्न आवश्यक पर्नेजति पैसा हामीले जम्मा गर्यौं । मेरो विद्यालयमा तेह्रवटा साना पत्रिकाहरू निस्कने गर्दथे । हामी अरूहरूसँग मिलेर  केही कुरा लेख्थ्यौं  र त्यो जनतामाझ पुर्याउन उन बजारतिर जाने गर्दथ्यौं  । त्यसरी सांस्कृतिक क्रान्तिको सुरुवात भएको थियो । त्यसबेला जहाँतहीं ठूला अक्षरका पोस्टर टाँसिएका हुन्थे । अधिकांशमा ग्रामीण नेताहरूलाई आलोचना गरेर लेखिएका ठूला अक्षरका पोस्टरहरूले ग्रामीण बाटाघाटाहरू रङ्गिएका हुन्थे । सांस्कृतिक क्रान्तिअघिसम्म ग्रामीण नेताहरू ज्यादै पावरदार हुने गर्दथे । तिनीहरू सामन्यतया खेतमा काम गर्दैनथे र जनताको खर्चमा उनीहरू प्रशस्तै खाने र पिउने गर्दथे ।  सांस्कृतिक क्रान्तिले तिनीहरूलाई काम गर्न बाध्य बनायो । वास्तवमा सांस्कृतिक क्रान्तिको सुरुवात यसरी भएको थियो ।

ती सम्पूर्ण ठूला अक्षरका पोस्टर किसानहरू आफैंले लेख्ने गर्दथे । र मलाई सम्झना छ, कतिपय किसानहरू आफैं  लेख्न सक्तैनथे । उनीहरू हामीकहाँ आउँथे, उनीहरू स्कुले केटाकेटीहरू भएठाउँ आउँथे र उनीहरूका लागि हामी लेखिदिने गर्दथ्यो  ।  यसरी यो एउटा ज्यादै क्रियाशील आन्दोलन थियो । गाउँका प्रत्येकलाई यसले छोएको थियो ।

आज अधिकारीहरू भ्रष्ट छन्, तर सांस्कृतिक क्रान्तिका वर्षहरूमा यस्तो थिएन । यसको एउटै कारण हो, त्यसबेला जनता साँच्चिकै अधिकारसम्पन्न थिए । त्यसबेला प्रत्येक रातजसो जनभेलाहरू हुने गर्दथे र सरकारका सम्पूर्ण नीति र निर्देशनहरू किसानहरूलाई पढेर सुनाइने गरिन्थ्यो र त्यसबेला यसलाई सरकारले नै अनिवार्य बनाएको थियो । ती किसानहरूलाई पढेर सुनाइन्थ्यो र त्यसपछि किसानहरूले ती दस्तावेजरूमाथि छलफल चलाउँथे । त्यसो हुँदा के हुँदैछ र किन हुँदैछ भन्ने बारेमा सबैलाई जानकारी हुन्थ्यो । त्यसबेला चिनियाँ जनता किन माओका कृतिहरू पढ्न लालयित हुन्थे र त्यसलाई कण्ठ पार्न चाहन्थे भने माओले भनेका कुराहरूले तिनीहरूको आफ्नो उत्तम हितको साँच्चिकै प्रतिनिधित्व गर्दथ्यो । उनीहरूले जान्न र सुन्न चाहेको कुरा माओका भनाइहरूमा हुन्थे ।

उदाहरणका लागि, ‘जनताको सेवा गर’ भन्ने माओको रचना एक र आधा पन्ना मात्र  लामो छ । तर यस छोटो लेखमा माओले एउटा कम्युनिस्ट अधिकारीले कस्तो व्यवहार गर्नुपर्दछ भन्ने बारेमा स्पष्ट पार्नुभएको छ । एउटा कम्युनिस्ट अधिकारीसँग कुनै निजी स्वार्थ हुनुहुँदैन । उसले जनताका लागि काम गर्नुपर्दछ र जनताको सेवा गर्नुपर्दछ । उनीहरूले गरिब जनता र किसानहरूको ख्याल राख्नुपर्दछ । उनीहरूले आलोचनालाई स्वागत गर्नुपर्दछ । यदि उनीहरूले कुनै काम ठीक ढङ्गले गरिराखेका छैनन् भने जनताका लागि तिनीहरूले यसलाई बदल्नुपर्दछ । यी तिनै कुराहरू हुन्, जसलाई किसानहरूले कहिल्यै सुनेका थिएनन्, र यो उनीहरू सुन्न चाहन्थे ।

प्रश्न : त्यसबेला, सांस्कृतिक क्रान्तिको दस वर्षको अवधिमा किन दक्षिणपन्थी पुँजीवादका समर्थकहरूबाट कम्युनिस्ट पार्टीलाई मुक्त गर्ने शुद्धीकरणको कुनै प्रयास भएन त ?

डोङपिङ हान :  सांस्कृतिक क्रान्ति जनतामाथि कारबाही  गर्ने नभई उनीहरूलाई प्रशिक्षित गर्न चाहन्थ्यो । अहिलेका पुँजीवादका थुप्रै समर्थकहरू त्यतिबेर क्रान्तिका लागि लडेका थिए र चिनियाँ क्रान्तिमा महत्त्वपूर्ण योगदान पुर्र्याएका थिए । एउटा स्थापित परम्परागत विचार के थियो भने क्रान्तिका लागि जसले लडेका थिए, क्रान्तिको सफलतापछि उनीहरूले सुविधाको उपभोग गर्न पाउनुपर्दछ । तिनलाई कारबाही गरेर मात्र पुग्दो थिएन । पुरानो परम्परागत विचार समस्याको रूपमा रहेको थियो । त्यसैले सांस्कृतिक क्रान्ति किसान र मजदुरहरूको परिचालनमार्फत त्यस्तो परम्परागत विचारलाई निर्मूल पार्न र जनतालाई प्रशिक्षित तुल्याउन चाहन्थ्यो ।

मेरो विचारमा यदि सन् १९७६ मा ‘कु’ हुँदैनथ्यो भने त्यस सरकारी संयन्त्रमा आफसेआफ फेरबदल आउने कुरा असम्भव थियो । त्यो बदलियो किन कि ‘कु’ भएको थियो । मलाई सम्झना छ, सांस्कृतिक क्रान्तिका बेला मेरो काउण्टीमा केही उच्च अधिकारीहरू थिए, जसले आफ्ना केटाकेटीहरूलाई किसानसँग काम गर्न र ज्यादै कठिन जिम्मेवारी र कार्यहरूको माग गर्न प्रोत्साहित गर्ने गर्दथे, जसबाट  उनीहरूले सोहीअनुकूलको व्यक्तित्व निर्माण गरून् । यस्तो लाग्थ्यो सांस्कृतिक क्रान्तिका वर्षहरूको सामाजिक वातावरणमा आएको परिवर्तनसँगै ती उच्च अधिकारीहरू पनि परिवर्तित भए । तर, जब सामाजिक वातावरण फेरियो, उनीहरू फेरि अर्कै भए ।

सन् १९७६ मा  ‘कु’ भएको थियो भन्ने बारेमा थुप्रै जनता अनभिज्ञ थिए । माओकी पत्नी र अन्य तीन जना महत्त्वपूर्ण नेताहरूलाई गिरफ्तार गरियो । सांस्कृतिक क्रान्तिलाई समर्थन गर्ने लाखौंलाख जनता तत्कालै  गिरफ्तारीमा  परे । कसैकसैको तर्क छ– ‘ग्याङ अफ फोर’ को गिरफ्तारीलाई रोक्न माओले देङ स्याओ पेङ र अन्य केहीको हत्या गर्नुपर्दथ्यो । सायद त्यसो गर्नुपर्दथ्यो, तर वहाँले त्यसो गर्नुभएन ।

प्रश्न :  एकातर्फ सांस्कृतिक क्रान्ति अगाडिको समाजवादमा र त्यसपछि अर्कोतर्फ अहिलेको पुँजीवादी चीनमा तपाईंको परिवारको अवस्थासँग तुलना गर्दा सांस्कृतिक क्रान्तिकालमा तपाईं  र तपाईंको परिवारको औसत दैनिक जीवन कस्तो थियो ? त्यसको तस्विर बताइदिन सक्नुहुन्छ ?

डोङपिङ हान : महान् अग्रगामी छलाङको असफलताका कारण सांस्कृतिक क्रान्तिको सुरुवात गरिएको थियो । महान् अग्रगामी छलाङ असफल हुनुको आंशिक कारण एकातर्फ १०० बर्से प्राकृतिक प्रकोप थियो, अर्कातर्फ  त्यसलाई  असफल पारिएको पनि थियो, किनभने ग्रामीण इलाकाका कम्युनिस्ट पदाधिकारीहरू वास्तविक रूपमा समाजवादी भइसकेका थिएनन् । उनीहरू किसानलाई ज्यादै धेरै खट्ने आदेश दिन्थे र आफू भनें अलिकति पनि परिश्रम गर्न चाहँदैनथे  । महान् अग्रगामी छलाङका बेला खानलाई प्रर्याप्त अन्न नहुनुको कारण एकातर्फ प्राकृतिक प्रकोप थियो भने अर्कातर्फ  व्यवस्थापकीय कुशलताको अभाव ।

त्यसैकारण मलाई लाग्छ, माओले सांस्कृतिक क्रान्ति सुरुवात गर्नुको कारण वहाँले त्यसबेला के महसुस गर्नुभयो भने, समाजवादी आन्दोलनमार्फत चिनियाँ अधिकारीहरूलाई प्रशिक्षित गर्नुपर्दछ र त्यसरी नै चिनियाँ जनतालाई पनि शिक्षित तुल्याउनुपर्दछ । यसो हुँदा गाउँमा अधिकारीहरूको आलोचनाका लागि वहाँले चिनियाँ किसानहरूलाई परिचालित गर्नुभयो । र साँच्चै हो, म सारै सानो थिएँ, मलाई महान् अग्रगामी छलाङका बारेमा धेरै सम्झना  छैन । तर, सांस्कृतिक क्रान्तिका बारेमा मलाई धेरै सम्झना छ । म किसानहरूसँग खेतमा काम गर्दथें र त्यसबेला ग्रामीण इलाकामा प्रत्येक गाउँको एउटा उत्पादन बिग्रेड हुन्थ्यो र प्रत्येक बिग्रेड थुप्रै उत्पादनटोलीहरूमा विभाजित हुन्थ्यो । मेरो गाउँमा आठवटा उत्पादनटोलीहरू थिए । प्रत्येक उत्पादनटोलीमा लगभग ४० परिवारहरू समावेश हुन्थे । हामी प्रत्येक वर्ष पाँच जना उत्पादन टोलीनेता छान्ने गर्दथ्यौं  । त्यसमा एकजना उत्पादन टोलीप्रमुख, एउटी महिला नेतृ,  एकजना लेखापाल, एकजना खजाञ्ची र एकजना भण्डारे हुनेगर्दथे । सांस्कृतिक क्रान्ति अगाडि ती मान्छेहरूको नियुक्ति गाउँनेताहरूद्वारा हुने गर्दथ्यो र गाउँनेताहरूको नियुक्ति कम्युन नेताहरूद्वारा हुने गर्दथ्यो । ती जनवादी  प्रक्रियाबाट निर्वाचित हुँदैनथे । सांस्कृतिक क्रान्तिका वर्षहरूमा भने ती उत्पादनटोली नेताहरू किसानहरूबाट निर्वाचित भएरआउँथे ।

हामी खेतमा सँगै काम गर्दथ्यौं  । सबै जना आउँथे र सँगसँगै काम गर्दथे । र बेलुका भएपछि त्यस दिन कति जनाले काम गरे खजाञ्जीले रेकर्ड राख्ने गर्दथ्यो र वर्षको अन्त्यमा, जब अन्नबाली भित्र्याइन्थ्यो, गाउँको लेखापालले उत्पादनटोलीको लेखापालसँगै मिलेर एउटा वितरणको खाका बनाउने गर्दथ्यो । तपाईंको परिवारमा कति जना सदस्य छन् भन्ने आधारमा ७० प्रतिशत अन्नको वितरण हुन्थ्यो । समूहमा तपाईंले कति काम गर्नुभयो, त्यसका आधारमा बाँकी तीस प्रतिशत अन्नको वितरण हुन्थ्यो । त्यसोहुँदा तपाईंले खेतमा काम गर्नु भएन भने पनि, समूहको ७० प्रतिशत अन्नमा तपाईंको  हक रहन्छ । उत्पादनटोलीको स्तरमा वितरणको तरिका यस्तो थियो ।

उत्पादनबिग्रेडको स्तरमा पनि वितरणको कुरा हुन्थ्यो । गाउँमा आफ्नै थुप्रै उद्योगधन्दाहरू हुने गर्दथे । कल्याणकारी कोषका लागि नयाँ औजारहरू र आदि-इत्यादि खरिद गर्न रकम छुट्टयाइसकेपछि, तपाईंले समूहमा कति काम गर्नुभयो, त्यसको आधारमा गाउँले आफ्नो आम्दानीलाई वितरण गर्दथ्यो । समूहले सागसब्जी, फलफूल, बदाम खेतीसमेत गर्दथ्यो र यसले सुंगुरपालन पनि गर्दथ्यो । अन्नवितरणकै प्रक्रियामा यिनको पनि गाउँलेहरूबीच नियमित वितरण गरिन्थ्यो । गाउँका उद्योगधन्धाहरूले कमाएको पैसाद्वारा हामी सामूहिक रूपमा माछा, रक्सी, चुरोट पनि खरिद गर्दथ्यौं र चिनियाँ नयाँ वर्षजस्तो महत्त्वपूर्ण दिन र अन्य विदाहरूको अवसर पारेर यी चिजहरू प्रत्येक परिवारलाई वितरण गरिन्थ्यो ।  समूहबद्ध हामीलाई आफ्नो भाग पूरै आउनेगर्दथ्यो ।

सांस्कृतिक क्रान्तिका वर्षहरूपछि म कलेज जान थालें र गाउँमा काम गर्ने मेरा दुइटी दिदीहरूले ८० को दसकको आरम्भतिर एउटा सरकारी स्वामित्वको फ्याक्ट्रीमा काम पाए । अहिले उक्त फ्याक्ट्री बिक्री भइसकेको छ र सन् १९९६ देखि मेरा दुइटी दिदीहरू बेरोजगार भएका छन् । गाउँखजाञ्चीका रूपमा मेरी बहिनीले भने अहिले पनि गाउँमा काम गरिरहेकी छन् । अन्य गाउँहरूका तुलनामा मेरो गाउँको स्थिति केही राम्रो छ । अन्य ग्रामीण इलाकातिरका  मान्छेको जीवनमा भने नाटकीय परिस्थिति आएको छ ।

मलाई लाग्छ अधिकांश काम गरिखाने जनताका लागि जीवन एकदमै खराब परिस्थितिमा  परिणत भएको छ । केही गरी तिनीहरूले धेरै पैसा हात पार्नसके भने पनि समाजवादी विगतको निशुल्क स्वास्थ्यउपचार र निशुल्क शिक्षाबाट उनीहरू वञ्चित भएका छन् । उनीहरूले अहिले शिक्षाका लागि पैसा तिर्नुपर्दछ । आफ्नो स्वास्थ्यउपचारका लागि पैसा तिर्नुपर्दछ । अधिकांश किसानहरू स्वास्थ्यउपचारमा पैसा खर्च गर्न सक्दैनन् । एउटा सानो समस्याले उनीहरू बिरामी परे भने उनीहरूसँग त्यसलाई सहनुको विकल्प छैन । यदि उनीहरू ठूलै समस्याले बिरामी परे भने, उनीहरूले केवल मृत्युलाई पर्खनुपर्ने छ । अधिकांश भन्दछन्— अस्पताल गएर आफ्ना छोराछोरीलाई ऋणको ठूलो बोझ बोकाउन उनीहरू चाहँदैनन् । अहिले स्वास्थ्यउपचार ज्यादै महङ्गो भएको छ र यो अधिकांश किसानहरू र शहरी क्षेत्रका मजदुरवर्गको पहुँचभन्दा टाढाको विषय बनेको छ ।

प्रश्नः तपाईंको गाउँमा सांस्कृतिक जीवन कस्तो थियो र त्यसमा कसरी परिवर्तन आयो । तपाईं हामीलाई केही  भन्नसक्नुहुन्छ ?

डोङपिङ हान : सांस्कृतिक क्रान्तिअघि, चिनियाँ प्रदर्शन-कलाकार्यहरू अधिकांश  सम्भ्रान्त युवा र सुन्दरीहरू, राजा, जनरल र यस्तैका बारेमा हुने गर्दथे । चिनियाँ परम्परागत नाटकहरू त्यस्तै प्रकारका हुन्थे । सांस्कृतिक क्रान्तिका बेला नयाँ खाले कलाको बाढी आयो । त्यसबेला प्रत्येक गाउँका किसान कलाकारहरूको एउटा समूह हुन्थ्यो र उनीहरू बाजागाजा बजाउँथे, क्रान्तिकारी गीत गाउँथे, क्रान्तिकारी नाच नाच्थे र क्रान्तिकारी नाटकहरू देखाउँथे । प्रायः प्रत्येक रातजसो गाउँमा कुनै न कुनै खाले कार्यक्रमहरू हुने गर्दथे । ती कार्यक्रमहरू शिक्षणसाधन बनेका थिए । ती क्रान्तिकारी कार्यक्रमहरूमार्फत क्रान्तिकारी विचार प्रवाहित हुनेगर्दथ्यो र यो ज्यादै शक्तिशाली हुन्थ्यो ।  तर, सत्य के हो भने  आजभोलि  तपाईंहरू ग्रामीण इलाकातिर त्यस्तो देख्न पाउनुहुन्न ।  आज तपाईं चीन जानुभयो भने, अझै पनि तपाईंले  पार्क र सार्वजनिक स्थलहरूमा बूढा मान्छेहरू आफ्नो मन शान्त पार्न क्रान्तिकारी गीतहरू गाइरहेको देख्नपाउनु हुनेछ ।

प्रश्न : चलचित्रहरूमा हामीले चीन र सांस्कृतिक क्रान्तिका बारेमा देखेका छौं  । त्यहाँ  मान्छेहरूलाई  कब्जामा लिइएको र जनइजलासमा मुद्दा चलाइएको र सहर घुमाएर सजाय दिइएको देखाइएको हुन्छ । मेरो प्रश्न हो, यस्तो चित्र कहाँबाट आउँछ ?  तपाईंले चीनमा यस्तो कुरा सुन्नुभएको थियो, यस्तो त्यहाँ  कति मात्रामा भएको थियो ?

डोङपिङ हान :  त्यो चित्र सांस्कृतिक क्रान्तिका वर्षहरूको थियो । सांस्कृतिक क्रान्तिको  सुरुवातका केही हप्ता थुप्रै चिनियाँ अधिकारीहरूलाई मञ्चमा ल्याएर आलोचना गर्ने गरिन्थ्यो । त्यो एकदमै सामान्य थियो । मैले त्यस्तो थुप्रैचोटि देखेको थिएँ । मलाई थाहा छ, सांस्कृतिक क्रान्तिको सुरुवातमा अधिकांश सरकारी अधिकारीहरूले त्यस्तो कुनै न कुनै घटनाको सामना गर्नु परेको थियो । साथै, मेरो तर्क के पनि छ भने छ–ती अधिकांश मान्छेहरूलाई त्यस्तो  कुनै न कुनै किसिमको सजाय दिनु आवश्यक पनि थियो । उनीहरूले आफ्नो काममा धेरै गल्तीहरू गरेका थिए । र तिनीहरूको गल्तीका कारण जनताले दुःख पाएका थिए । जनताले आफ्नो आक्रोस पोख्ने ठाउँ खोजिरहेका थिए । तर,गाउँमा गाउँनेताहरूको विरुद्ध चलाइने सङ्घर्ष ज्यादै शालीन र शान्तिपूर्ण हुन्थ्यो ।

अपराध गर्ने र गल्ती गर्ने अधिकारीहरू विरुद्धका ती सार्वजनिक सङ्घर्षको अवधि र त्यस्ता मान्छेहरूसँग मुकाबिला गर्ने भिन्न तरिका थियो । एकदिन अथवा दुई दिनसम्म केरकार र प्रशिक्षित गरेपछि तिनीहरूलाई मुक्त गरिन्थ्यो । तिनीहरूले जनताबाट एउटा शिक्षा सिक्थे । अमेरिकामा मान्छेहरूलाई जेल  पठाइन्छ । मलाई अझ लाग्छ, गाउँका अधिकारीहरूलाई मात्र नभएर जोकोहीलाई पनि शिक्षा दिन सांस्कृतिक क्रान्तिताकाको यो सार्वजनिक शिक्षाप्रणाली ज्यादै प्रभावकारी थियो । सजायको अवधिपछि उनीहरूलाई मुक्त गरिन्थ्यो । त्यसो हुँदा त्यो गलत अभ्यास थियो भनेर मलाई लाग्दैन । मलाई लाग्छ त्यो ज्यादै राम्रो प्रयोग  थियो ।

प्रश्न :  विशेष गरी आर्थिक सङ्कटका बारेमा चीनको अहिलेको अवस्था कस्तो छ र तपाईंको विचारमा विशेषगरी ग्रामीण इलाकामा सामान्यरूपमा भन्दा अहिलेको मान्छेहरूको दिनचर्या कसरी चलिराखेको होला ?

डोङपिङ हान :  चिनियाँ सरकारले आज एउटा विशाल चुनौतीको सामना गरिरहेको छ र चिनियाँ  सरकारी अधिकारीहरू आफैंले यस कुरालाई थुप्रै ठाउँमा स्वीकारेका छन् । कतिपय मान्छेहरू अनुमान गर्दछन् प्रत्येक दिन १०० घटनामा १०० भन्दा बढी मान्छेहरूले र ३०० घटनामा १०० भन्दा कम मान्छेहरूले सरकारलाई चुनौती दिइराखेका हुन्छन् । मैले एउटा लेखोटमा पढेको छु– ग्वाङ्दोङ प्रान्तको एउटा घटनामा तीन जना प्रहरी अधिकृतहरूले लाइसेन्स प्लेट नभएको एउटा कारलाई रोके र थप खानतलासी गर्दा उनीहरूले चालकसँग चालक अनुमतिपत्र नभएको भेट्टाए ।  अनि तीनजना मान्छे कारबाट बाहिर निस्के र “प्रहरीले जनतालाई दुःख दिइराखेको छ” भनेर चिच्चाए । तत्कालै लगभग २,००० जना भेला भए । उनीहरूले प्रहरीको कारलाई उल्ट्याइदिए र आगो लगाइदिए । सरकारले प्रहरीलाई सावधानी अ“गाल्न सचेत गराइराखेको छ, किनभने जनता र सरकारबीचको तनाव ज्यादै उच्च बिन्दुमा पुगेको छ ।

ग्रामीण इलाकातिर थुप्रै त्यस्ता मान्छेहरू छन्, जो  सहरीकरणमुखी  सरकारप्रति ज्यादै आक्रोसित छन् ।  ग्रामीण क्षेत्रमा रहेको एउटा सहरीकरणमुखी नेतृत्वसम्बद्ध घटनाका बारेमा एकजना किसानले मलाई बताएका थिए । पार्टीसचिव एकदिन दिउँसो आफ्नो घरमा सुतिराखेको थियो । बजारलाई अन्यत्र सार्ने  सहरीकरणमुखी सरकारको निर्णयका कारण आक्रोशित भएका लगभग १०० जना किसानहरू सीधै उसको सुत्ने कोठामा छिरे । तिनीहरूले साँच्चिकै उसलाई झ्याइंकुटी पारेर बजारमा ल्याए र आधा घण्टासम्म उसलाई माथि आकाशतिर न्याकिरहे । उनीहरूले उसलाई कुटेनन् । तिनीहरूले मात्र उसलाई आधा घण्टासम्म  खेलौनाझैँ  उफारिरहे । अन्तमा सरकार उसलाई कामबाट बर्खास्त गर्न बाध्य भयो, किनभने उसका कारण सरकार अप्ठ्यारोमा परेको थियो । यो गत सालको घटना थियो । त्यस्तै एउटा अर्को  सरकारी अधिकारी किसानहरूद्वारा चुटिएको थियो । एकजना बिरामीलाई अस्पतालसम्म पुर्याइदिन गाउँलेहरूले उसँग आग्रह गरेका थिए । उसले इन्कार गर्यो । उसले भन्यो—“जोसुकैका लागि होइन मेरो कार” ।  किसानहरूले झण्डैझण्डै उसलाई मारेका थिए, तर त्यस्तो गर्ने जनतालाई सरकारले सजाय दिन सकेन  । त्यसैले मेरो विचारमा जनतासँगको आफ्नो सम्बन्ध कति तनावपूर्ण छ भन्ने कुरा सरकारलाई राम्रोसँग महसुस भइरहेको छ ।

विगतमा चिनियाँ सरकारी अधिकारीहरू गाउँमा आउँथे र किसानहरूसँगै काम गर्ने गर्दथे ।  आज उनीहरू त्यसो गर्दैनन् । उनीहरू ठूला कारहरूमा गाउमाँ आउँछन्, मात्र किसानहरूसँग पैसा धुत्न र एक सन्तानको नीति लागू गर्न …. । मेरो विचारमा सरकारसँग वैधानिकताको सङ्कट छ । अभूतपूर्व प्राकृतिक प्रकोप र आफ्ना अधिकारीहरूका कारण विद्यमान खराबस्थितिलाई, महान् अग्रगामी छलाङको बेला देखिएका चुनौतीहरूसँग मुकाबिला गर्न त्यतिबेला चिनियाँ सरकार सक्षम भएको थियो, किनभने  त्यससँग समाजवादी वैधानिकता थियो । महान् अग्रगामी छलाङको बेलाको जस्तो कुनै पनि चुनौतीहरूको अहिलेको सरकारले सामना गर्न सक्नेछ भन्ने कुरामा मलाई अलिकति पनि विश्वास छैन ।

प्रश्न :  सन् १९७६को ‘कु’ का बेलामा केके भएको थियो ? तपाईं  भन्न सक्नुहुन्छ र त्यो पूरै अवधिलाई कसरी बुझिएको थियो जहाँ तपाईं  हुनुहुन्थ्यो ?

डोङपिङ हान :  सन् १९७६, ९ सेप्टेम्बरका दिन म कहाँ थिएँ मलाई सम्झना  छ । त्यसदिन ४ बजे म मेरो साथीसँग गाउँबाहिर हिंड्दै थिएँ । त्यसैबेला एउटा ज्यादै महत्त्वपूर्ण घोषण हुँदैछ भनेर लाउड स्पिकरबाट फुकियो । र केही कुरा गडबडी हुँदै थियो भनेर हामीलाई तत्कालै महसुस भयो । र उनीहरूले भने माओ बित्नुभयो । म त्यसदिन कसरी घर पुगें ,  मलाई सम्झना छैन । मलाई सम्झना छ, मेरा वरिपरि सबैजना रोइरहेका थिए । अन्तमा म घर पुगेँ । आफ्नो फ्याक्ट्रीबाट बा रुँदै घर आइपुग्नुभयो । मेरो हजुरबुबा बित्दासमेत वहाँ रुनुभएको थिएन । वहाँले आफ्नो परिवारका सदस्यहरूलाई भेला पार्नुभयो र भन्नुभयो–“आज हामी गरिब जनताको आकास खसेको छ र भोलि हाम्रो जीवन कस्तो हुने हो हामीलाई थाहा छैन ।” त्यसबेला मेरो मनमा परेको थियो–“त्यस्तो कहाँ  होला र ? हामीले समाजवादी राज्यको निर्माण गरेका छौं  । र अध्यक्ष माओ नहुँदैमा गरिब जनताको आकास कसरी खस्ला र ?”

मेरो बुबाको भनाइ सही साबित भयो । जब ‘ग्याङ अफ फोर’लाई गिरफ्तार गरियो, चिनियाँ सरकारले भन्यो— जनता साँच्चिकै खुसी भएका छन् । त्यो सत्य थिएन । छिमेकी कम्युनमा घटेको एउटा घटनाको कारण मेरो घर भएको सहरमा थुप्रै युवाहरूले च्याङ चिङलाई साँच्चिकै सम्मान गर्दथे । सन् १९७५ को चिनियाँ नयाँ वर्षमा सांस्कृतिक क्रान्तिताका आलोचित एउटा परम्परागत नाटकलाई गाउँ नेताले माइक लगाएर मञ्चन गर्यो  । माइक लगाएर त्यसलाई मञ्चन गरेकोमा गाउँको एकजना युवकले त्यस गाउँनेताको आलोचना गर्यो  । तर गाउँनेताहरूले उसलाई गाउँमा गडबडी मच्चाएको आरोप लगाए । त्यस नेताले प्रहरी बोलायो र त्यस युवकलाई प्रहरीले गिरफ्तार गरेर लग्यो । ऊ जेलमा भएको बेला, उसले च्याङ चिङलाई चिठी लेख्यो र पाँच दिन नपुग्दै च्याङ चिङले उसको चिठ्ठीको जवाफ दिइन्  । च्याङ चिङले त्यस मान्छेलाई रिहा गर्ने आदेश दिइन् । र त्यो गाउँनेतालाई उसको जिम्मेवारीबाट हटाइयो । हाम्रो क्षेत्रमा युवाहरूले च्याङ चिङलाई औधी माया गर्दथे । माओको मृत्युको केही हप्तापछि ‘ग्याङ अफ फोर’ लाई गिरफ्तार गरिएपछि अब स्थिति राम्रो छैन भन्ने हामीलाई लाग्न थाल्यो ।

प्रश्नः तपाईं  भन्दैहुनुहुन्थ्यो दस वर्ष सांस्कृतिक क्रान्ति आफ्नो जीवनको ज्यादै फलदायी क्षण थियो । तपाईंले अनुभुति गर्नुभएको त्यस्ता उल्लेख्य कुराहरूको केही उदाहरण तपाईं दिन सक्नुहुन्छ ?

डोङपिङ हान : त्यसबेला मलाई अनुभूति भएको सबैभन्दा उल्लेख्य कुरा के थियो भने म आफूलाई ज्यादै सुरक्षित महसुस गर्दथें  । यस संसारमा म एक्लो थिइन । मेरा छिमेकी, मेरा उत्पादन टोलीनेताहरू, गाउँनेताहरूले आवश्यकताअनुसार एकअर्काको ख्याल राख्दथे । तर अब  सामुहिकताको कुनै अस्तित्व थिएन । गाउँका  साथीहरू र छिमेकीहरू प्रतिस्पर्धीमा  फेरिएका थिए र एकअर्काबीच नौला भएका थिए । सुरक्षासञ्जाल ध्वस्त भएको थियो ।  तपाईं अमेरिकीहरू यस्ताखाले प्रतिस्पद्र्धामा बानी परिसक्नुभएको छ । तर विगतमा समाजवादी प्रणालीअन्तर्गत रहेका चिनियाँ किसानहरूको कुरा गर्दा त्यहाँ भएको  परिवर्तन धेरै मान्छेहरूका लागि ज्यादै नाटकीय थियो ।

प्रश्नः सांस्कृतिक क्रान्तिले विश्वव्यापी रूपमा एउटा ठूलो तरङ्ग ल्याएको थियो । अन्तर्राष्ट्रिय अवस्थामा र त्यसको अन्तर्राष्ट्रिय स्तरमा परेको प्रभावका बारेमा, तपाईंहरूको गाउँमा, तपाईंहरू कतिको सजग हुनुहुन्थ्यो ?

डोङपिङ हान : त्यसबेला जतिबेर म गाउँमा थिएँ, मलाई साँच्चिकै हामी अन्तर्राष्ट्रिय क्रान्तिको एउटा अङ्ग हौं भन्ने लाग्दथ्यो । हामी युवा थियौं  र हामी एउटा ठूलो तस्विरको एक भाग थियौं  । मलाई सम्झना छ सन् १९७१ मा हाम्रो क्षेत्रमा एउटा ठूलो खडेरी परेको थियो । काउन्टी सरकारले बजार क्षेत्रमा एउटा विशाल -याली निकाल्यो । र्यालीमा सरकारी नेता र किसान र मजदुरका प्रतिनिधिहरूले भनेका थिए— “यस खडेरीसँग हामी आफ्ना लागि मात्र जुधिराखेका छैनौं  । अमेरिकी साम्राज्यवादको विरुद्ध भियतनामी जनताको लडाइंको समर्थनमा हामी यससँग जुधिराखेका छौं  । अफ्रिकालगायत अन्यत्रका शोषित जनताको समर्थनका लागि हामी यस खडेरीसँग जुधिराखेका छौं ।”

-याली सकिएपछि, हाम्रो विद्यालयका प्रत्येकले त्यस खडेरीका विरुद्धको लडाइंमा सहभागी हुने प्रतिज्ञा गरे । विद्यालय दुई हप्ताका लागि बन्द भयो । दुई हप्तासम्म हामी गाउँलेहरूसँगै मिलेर त्यस खडेरीका विरुद्ध लड्न गाउँ फर्कियौं  । प्रत्येकले कडा परिश्रम गरे । मलाई लाग्थ्यो क्रान्तिको सेवाका लागि मैले केही महत्त्वपूर्ण काम गर्दै थिएँ । त्यसबेला, यसको अर्थ के हो मैले राम्ररी बुझेको थिइन । त्यो आदर्स भाषा थियो । संसारभर हाम्रा मित्रहरू छन् भनेर सरकारले हामीलाई भन्न खोजेको थियो होला भन्ने मलाई लागेको थियो ।

सांस्कृतिक क्रान्तिको समाप्तिपछि चिनियाँ ठूलाठालूहरू हामीलाई भन्दथे—त्यो सरकारी प्रचार थियो । तर, त्यो प्रचारमात्र थिएन भन्ने कुरा सिङ्गापुरमा मेरो अध्ययनका क्रममा मैले थाहा पाएँ । सन् १९७६ मा माओको मृत्यु भएको बेला चीनको सिङ्गापुरसँग कुटनीतिक सम्बन्ध थिएन । त्यसो हुँदा ब्याङ्क अफ चीनको शाखा ब्याङ्कले माओलाई श्रद्धाञ्जली दिनका लागि तीन दिने कार्यक्रम बनायो । सर्वसाधारण सिङ्गापुरे र विश्वभरिका नाविकहरू माओप्रतिको आफ्नो भक्तिभाव प्रकट गर्न दिनरात त्यहाँ उपस्थित भए । लाम यति लामो थियो कि ब्याङ्क अफ चीनको स्टाफले त्यस श्रद्धाञ्जली कार्यक्रमलाई तीन दिनबाट बढाएर दस दिन पुर्याए । त्यसपछि चीनको हाम्रो लडाइं विश्वभरिका शोषित जनताको सङ्घर्षसँग जोडिएको रहेछ भन्ने मलाई बोध भयो ।

प्रश्न : म सांस्कृतिक क्रान्तिसँग  सम्बन्धित तपाईंको आफ्नो अनुभूतितर्फ फर्कन चाहन्छु । तपाईं विद्यालय जान सक्षम हुनुभयो, तपाईं  हुर्कनुभयो र ग्रामीण इलाकाका एकजना शिक्षित युवा बन्न सक्नुभयो, जबकि त्यहाँ  दस वर्षसम्म त्यो राजनीतिक अभियान चलेको थियो । त्यसले तपाईंमा कतिको  जरा  गाड्यो र कतिसम्म तपाईंले त्यसलाई पालना गरिरहनुभयो ?

डोङपिङ हान : मेरा सम्पूर्ण मूल्यमान्यताहरू ज्यादै नाटकीय ढङ्गमा बदलिएका थिए । सांस्कृतिक क्रान्तिअघि मेरा बुबाले वहाँसित सवालजवाफ गर्ने आज्ञा मलाई कहिल्यै दिनुभएन । चिनियाँ परिवारको चलन यस्तै थियो । म वहाँलाई जवाफ फर्काउन सक्दैनथें। घरमा कोही पाहुँना आउँदा पनि कहिल्यै एक शब्द बोल्ने अनुमति हुँदैनथ्यो ।  तर सांस्कृतिक क्रान्तिका वर्षहरूमा त्यस्तो चलनमा परिवर्तन आयो । मैले भनें  – “अध्यक्ष माओले भन्नुभएको म तपाईंलाई जवाफ दिनसक्छु ! तर अमेरिकाका थुप्रै मान्छेहरू सोच्दछन्, त्यो क्रान्तिकारी अभियान चिनियाँ जीवनको एउटा विध्वंस थियो । त्यसो होइन । विशेष गरी गाउँमा, क्रान्तिले  अधिकांश मान्छेको जीवनमा कुनै व्यवधान पुर्याएको थिएन । दिउँसो अधिकांश कामहरू सुचारु हुन्थे र रातमा मान्छेहरू सडकमा निस्कन्थे र त्यहाँ थरीथरीका छलफलहरू चल्थे, विभिन्न समूहहरू सडकमै आपसमा बहस गर्दथे । सांस्कृतिक क्रान्तिको आरम्भतिर माओका विचारहरूलाई प्रचारप्रसार गर्न मेरो काकाको छोरा र म पसलतिर निस्कने गर्दथ्यौं । त्यसबेला सरकारी पसलहरूले आफ्नो समयलाई रातमा १० बजेसम्म  तन्काउने गर्दथे । त्यसैकारण माओका कृतिहरू पढ्न, नाटकहरू देखाउन र आदि-इत्यादिका लागि हामी पसलहरूतिर जाने गर्दथ्यौं  । हामीलाई त्यसो गर्न ज्यादै मन पर्दथ्यो

सांस्कृतिक क्रान्तिका बेला आएको परिवर्तनलाई झल्काउने म तँपाईंलाई एउटा उदाहरण दिन सक्दछु । सांस्कृतिक क्रान्तिका वर्षहरूअघि मेरो क्षेत्रका मान्छेहरू कहिल्यै कसैलाई रक्तदान गर्दैनथे । तपाईंलाई रगतको खाँचो पर्यो भनें, तपाईं आफ्नै परिवार–तपाईंकी पत्नी, तपाईंको बुबा अथवा तपाईंका दाजुभाइहरूमाथि भर पर्नु पर्दथ्यो । मान्छेहरू सोच्थे– यदि तपाईंले आफ्नो रगत अर्कालाई दिनुभयो भने तपाईंले जीवनशक्ति गुमाउनु हुनेछ । तर एकदिन, मेरो एकजना साथी बिरामी पर्यो  र उसलाई रगतको  खाँचो पर्यो  । कारखानाका अधिकांश मजदुरहरू खेतको अन्न भित्र्याउने काममा व्यस्त थिए । त्यो गाउँको अति व्यस्त समय थियो । गाउँमा काम गर्दै गरेका बीस जना युवक अस्पताल गयौं  । नर्सले हाम्रो रगतको ग्रुप परीक्षण गरिन् । म एकजनाको मात्र रगत दिन मिल्ने भयो । त्यसबेला मलाई थाहा थियो, मेरो साथीको जीवन बचाउन ती बीसै जनाले आफ्नो रगत दिन चाहन्थे । गाउँपार्टी  सचिवले के गर्ने भनेर मलाई सोधे । मैले भनें,  ”हामीले बिरामीलाई बचाउनु पर्दछ ।” उनीहरूले मेरो ७०० सिसी भन्दा बढी रगत झिके । त्यसपछि म हिड्न असमर्थ भएँ र उनीहरूले मलाई एउटा ठेलागाडीमा राखेर घर लैजानुपर्यो । भोलिपल्ट बिहान म ओछ्यानबाट उठेँ ।  मेरी आमा र मेरा दुई जना काकीहरू सबै रुँदै थिए । साँच्चै तिनीहरू पूरा रात रोएछन् । उनीहरूलाई लाग्यो, म अब बिहे गर्न नसक्ने हुने भएँ, मसँग बिहे गर्न कोही राजी हुने छैनन् । तर जीवन बदलिएको थियो र त्यस्तो काम गर्ने म मात्र एक्लो थिइन । त्यस दिन अस्पताल जाने सबैजना त्यस मान्छेलाई खुसीसाथ आफ्नो रगत दिन राजी थिए ।

जब आँधी आउँथ्यो, मध्यरातमा समेत मान्छेहरू सामूहिक अन्न छोप्नका लागि उठ्ने गर्दथे । हिउँ पर्यो भने सडक सफा गर्न हामी उठ्ने गर्दथ्यौं  । हामीसँग बुल्डोजर थिएन । सडक सफा गर्न सबै आ-आफ्ना घरबाट निस्कन्थ्यौं  । ग्रामीण जीवनमा आएको अर्को महत्त्वपूर्ण परिवर्तन के थियो भनें, सांस्कृतिक क्रान्तिका वर्षहरूमा अपराध लगभग निर्मूल भएको थियो । दस वर्षसम्म हाम्रो गाउँमा अपराधको कुनै घटना भएन । ५०,००० जनसङ्ख्या रहेको मेरो कम्युनमा १० वर्षसम्म मैले कुनै गम्भीर अपराधको घटनाबारे सुनिन । तर अहिले चीनमा अपराधका घटना सामान्य बनेका छन् ।

प्रश्न : सन् १९४९ अगाडि तपाईंका जिजुबाजेको दैनिक जीवन कस्तो हुनेगर्दथ्यो ? त्यससँग  सांस्कृतिक क्रान्तिताकाको आफ्नो दैनिक जीवनलाई तपाई कसरी तुलना गर्नुहुन्छ ?

डोङपिङ हान : मेरो बाले कम्युनिस्ट पार्टीलाई त्यति धेरै समर्थन गर्नुको कारण के थियो भने पहिले वहाँले दिनको १८ घण्टा काम गर्नुपर्दथ्यो । कारखानामा धेरै घण्टा काम गर्नुको अतिरिक्त वहाँले जमिनदारहरूको जमिन खन्नुपर्दथ्यो र उनीहरूको घरायसी काम गरिदिनुपर्दथ्यो । कम्युनिस्टहरू सत्तामा आएपछि दिनको आठ घण्टा काम गरे पुग्नेभयो ।  त्यसो हुँदा समाजवादअन्तर्गत मेरो बुबाको जीवनमा सुखद परिवर्तन आयो । मेरो बुबा बुद्ध धर्ममा विश्वास गर्नुहुन्थ्यो । कम्युनिस्टहरू सत्तामा आएपछि उहाँमा त्यसप्रतिको विश्वास पनि हटेर गयो । चिनियाँ नयाँ वर्षमा मेरी आमा सधैं  कुल देउतालाई ढोग्न लगाउनुहुन्थ्यो । मेरो बा भनें  सँधै मलाई त्यसो नगर्न भन्नुहुन्थ्यो । पूर्वजन्ममा वहाँले केही गल्ती गर्नु भएकोले वहाँले  हन्डर पाउनुभएको हो भनेर वहाँलाई भनिएको थियो । तर कम्युनिस्ट पार्टी सत्तामा आएपछि  जीवनमा  सकरात्मक परिवर्तन आएको थियो ।

सन् १९४९ भन्दा अगाडि मेरा बुबा र आमा दुवैले अरूका अगाडि हात पर्सानुपर्दथ्यो र धेरजसो दिन भोकभोकै बस्नुपर्दथ्यो । स्वास्थ्योपचारको अभावमा मेरा दुवै हजुरआमाहरू सन् १९४४ मा ३०/३५ को सानै उमेरमा बित्नुभएको थियो । म जतिबेर पनि  आफ्नो बाल्यकाललाई अमेरिकामा मेरो छोराको बाल्यकालसँगै तुलना गर्दछु । त्यसबेला खेल्नका लागि छिमेकमा थुप्रै केटाकेटीहरू हुने गर्दथे र आफ्ना लागि हामी आफैं खेलौनाहरू बनाउने गर्दथ्यौं  । हामी आ-आफूबीच थुप्रै खेलहरू खेल्ने गर्दथ्यौं  । गृष्म, बसन्त र हेमन्त ऋतुमा हामी सामूहिक खेतीमा काम गर्दथ्यौं  । खेतमा कुनै काम नभएका बेला हिउँदमा हामी सडकमा चलनचल्तीका  खेलहरू खेल्ने गर्दथ्यौं  । कस्तोखाले वाल्यकाल राम्रो हो ? भनेर म सँधै मेरो छोरालाई सोध्ने गर्दछु । वास्तवमा यो उसको कल्पना बाहिरको कुरा हो ।

तर मलाई दृढ विश्वास छ, खेलौना र भिडियो गेममा बित्ने मेरा छोराको बाल्यकाल भन्दा मेरो बाल्यकाल ज्यादा स्वस्थ र ज्यादा सिर्जनशील थियो । हामीबीच सामुहिकता थियो र एकअर्काबीच कसरी अन्तर्क्रिया गर्ने भनेर हामी एकअर्काबाट सिक्न सक्तथ्यौं   ।  नेतृत्वकलाको कसरी विकास गर्ने र यस्तै अन्य थुप्रै कुराहरू हामी सिक्न सक्दथ्यौं  । तर मेरो छोरासँग ती सीपहरू छैनन् । अमेरिका पहिलोपल्ट आउँदा  म सांस्कृतिक क्रान्तिसम्बन्धी एउटा क्लासमा सहभागी भएँ  । प्रोफेसरले सांस्कृतिक क्रान्तिको शिक्षा विनाशकारी छ भने, र  कक्षाका अधिकांश विद्यार्थीहरू उनको कुरामा सहमत भए । अन्तमा, मैले कक्षामा ”म सांस्कृतिक क्रान्तिशिक्षाको एउटा उत्पादन हुँ, कसले बढी बुझेको  छ” भन्दै  जान्नका लागि मसँग प्रतिस्पर्धा गर्न मैले पूरा कक्षालाई चुनौती दिएँ । मेरो चुनौतीलाई स्वीकार गर्न त्यहाँ कोही पनि इच्छुक देखिएन ।

स्रोत : जनपाटी

 

२०७४ पुष १०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको