काठमाडौं, असोज ९ – १८ वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको छ ।
भुटानको थिम्पुमा भएको खेलमा २२ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गरेर अग्रता दिलाएका थिए । ३० औँ मिनेटमा बंगलादेशले बराबरी गोल फर्काएको थियो । ५३ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर विश्वनाथ घोस बाहिरिएपछि बंगलादेश १० खेलाडीमा सिमित भएको थियो । ७२ औँ मिनेटमा बंगलादेशको उत्कृष्ट प्रहार नेपालको पोष्टमा लागेर फर्किएको थियो । १० खेलाडीमा सिमित भए पनि बंगलादेशले राम्रो प्रदर्शन गरेको थियो । ७९ औँ मिनेटमा नेपालले गोल गर्दै अग्रता लिएको हो । ४० याडबाट हानेको फ्रि किक गोलमा परिणत भएको हो ।
यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबाब थियो । नेपालले आउँदो ११ गते भारतसँग खेल्नेछ । भारतसँगको खेल पनि जित्नुपर्ने दबाबमा नेपाल छ । गएको शुक्रबार नेपालले माल्दिभ्सलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो । राष्ट्रिय टोली र कुनै पनि उमेरसमूहमा समेत नेपाल भुटानसँग पराजित भएको त्यो नै पहिलो पटक हो।
प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स छन् । सबैले एक अर्कासित खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबिच फाइनल खेल हुने छ । अहिलेसम्म अंकतालिकामा बंगलादेश, भुटान र नेपालको ६–६ साथै भारतको ३ अंक छ । माल्दिभ्सले भने खाता खोल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस