नेपाल साफ यू १५ च्याम्पियनसिपको फाइनलमा प्रबेश


काठमाडौं – नेपाली युवा टोली साफ यू १५ फुटबल च्याम्पियनसिपको फाइनल पुगेको छ । बंगलादेशलाई ४–२ ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । नेपाल यसअघि सन् २०१३ यू १६ का नाममा भएको च्याम्पियनसिपमा हेमन थापा मगरको कप्तानीमा फाइनल पुगेको थियो ।

यसपटक पनि नेपालले उपाधिका लागि भारतको सामना गर्नेछ । हलचोकमा भएको अर्को सेमिफाइनलमा भुटानलाई ३–० ले हराउँदै भारतले नेपालसँगको भेट पक्का गरेको हो ।

पहिलो हाफमा २–० र ६५ औं मिनेटमा अर्को गोल थपेपनि अन्त्यतिर अग्रता जोगाउन संघर्ष गर्नुपरेको थियो । एक मिनेटमै दुई गोल गरेपछि बंगलादेश खेलमा फर्केको थियो । ७३ औं मिनेटमा फैसल अहमेद फहिमले पेनाल्टी बक्स बाहिरबाट बंगलादेशका लागि पहिलो गोल फर्काएका थिए । यसिन अराफातको फ्रिकिकमा बल भेट्टाएपछि फैसलले गोल गरेका हुन् । त्यसको लगत्तै ७४ औं मिनेटमा हबिबुर रहमानले दोस्रो गोल गरेर बंगलादेशले नेपालमाथि दबाब बढाएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको क्रितिम मैदानमा पहिलो हाफमा २–० को अग्रता लिएको थियो । ५५ औं मिनेटमा चोटका कारण मैदान बाहिरिनुअघि आकाश नेपाली टोलीको नायक रहेका थिए । पहिलो हाफको दुवै गोल उनले गरे । छैटौं मिनेटमा पहिलो गोल गरेका अकाशले दोस्रो गोल ३० औं मिनेटमा गरेका थिए । पहिलो गोलको दाजोमा दोस्रो गोल सहज थियो । रन्दिप पौडेलको क्रसमा बंगलादेशका सादेकु जमान फहिमले क्लिर गर्न नसक्दा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरे ।

३० औं मिनेटमा दर्शन गुरुङले मैदान बायाँबाट क्रस गरेको बल दिपक भन्डाराले हेड गरे । त्यसमा प्राप्त बललाई बंगलादेशका गोलकिपर इमोन हवल्दार नियन्त्रणमा लिन सकेनन् अनि रक्षकसँगको उनको समन्वय अभावमा नजिक रहेका आकाशले ट्याप गर्दै गोलअन्तरलाई दोब्बर पारे । ६५ औं मिनेटमा नजमुल विश्वासको आत्मघाती गोलमा नेपालले अग्रता बढाएको थियो । नेपालका कार्लोस बखारियको क्रसलाई रोक्ने क्रममा नजमुलको आत्मघाती गोल भएको थियो ।

छ मिनेट इन्जुरी समयको केही सेकेन्डमात्र बाँकी रहँदा ब्रिजेश चौधरीले गोल गरेपछि दबाबमा रहेको नेपालले राहत महसुस गरेको थियो । रन्दिपको क्रसमा ब्रिजेशले नजिकबाट गोल गर्दै नेपालको जित पक्का गरेका थिए । लगातार दुई गोल गरेपछि खेलमा नियन्त्रण बनाएको बंगलादेशले थप गोलको अवसर पाएपनि सफल हुन सकेन । छ मिनेट इन्जुरी समयमा पनि बंगलादेशले दबाब दिएपनि अन्तिम गोल नेपालले थपेको थियो ।

दुई बर्षको फरकमा नेपाल उमेर समूहको अर्को उपाधिको नजिक पुगेको छ । दुई बर्षअघि नेपालले सोही मैदानमा विमल घर्तीमगरको कप्तानीमा साफ यू १९ फुटबल च्याम्प्यिनसिपको उपाधि जितेको थियो ।

हाम्रो खेलकुदबाट

९ भाद्र २०७४, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको