यसकारण प्रदेश राजधानी ‘दाङ’ हुन्छ


पोष्टपाटी/केबि गुरुङ

मोफसलमा गफहुदै थियो, ५ नम्बर प्रदेश राजधानी कहाँ हुदैछ ? दाङ राजधानी पायक पर्ने एकजना पश्चिमकै साथीले ५ नम्बर प्रदेशको राजधानी त बुटवल नै ठिक छ गुरु…भन्दै दाँत देखाएर फिस्स हाँसे । किन ? सोधे ! उनले निर्धक्क भएर भने मेरो घडेरी त्यहि बुटवल छ, मलाई त त्यहि फाईदा होलानी भन्दै मजाक गरे ।

यस्तै मजाक एमालेका बिष्णु पौडेलले बेलाबेलामा गरिरहेका छन् । किनभने उनको घर पनि त्यहि बुटवलमा पर्छ । पौडेलका लागी राजधानी बुटवल भए उनका घर घडेरीको भाउ बढ्ने छ, व्यापारिक केन्द्र हुनेछ, घरको ढोकामा राजधानी हुनेछ र सुगमताले थप नयाँ काँचुली फेर्नेछ ।

तर रुकुम रोल्पा र बाँके बर्दियाका जनताहरुलाई बुटवल उही काठमाडौं सहर हुनेछ ।

प्रदेशको राजधानी तोक्ने बिषयले फेरी सबैलाई ध्यान केन्द्रित बनाएको छ । प्रदेशको राजधानी तोक्नलाई कानुनि मापदण्डहरु के-के हुन् भनि, संविधानको पाना पल्टाउदा त्यहाँ बिष्लेषित मापदण्डहरु भेटिदैनन तर कसरि तोकिन्छ भन्ने बिषयमा एउटा आधार भेटिन्छ, ‘प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई हुन्छ । प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको राजधानी कहाँ राख्ने भन्ने निर्णय लिन सक्छ, भन्ने आधार मात्र भेटिन्छ ।

सायद, यसै आधारमा टेकेर नेताहरु बहुमत जुटाउने हुर्मत र हैरानी गर्दैछन् । उस्तै परे जनतालाई सडकमा ओराल्ने चेष्टा पनि गर्दैछ । नेताहरु आ-आफ्नै बनावटी आधारहरु पस्किदै आफ्नो पायक पर्ने ठाउमा जबर्जस्त राजधानी बनाउन तम्सिएका छन् । तर जनता हिजोको चेतनामा भने पक्कै छैन ।

आफुले चाहेको ठाउमा रातारात सदरमुकाम र राजधानी हुने जमानाको अन्त्य भएको छ । सबैको साझा स्वामित्व हुनेगरी राजधानी चुनिने कुरामा हरेक जनता सचेत छन, र हुन जरुरि पनि छ ।

पाँच नम्बर प्रदेशको राजधानी बिषयमा सबै भन्दा धेरै उफ्रिने एमालेका नेता बिष्णु पौडेलले बुटवलका लागि जन्मे देखिको बल प्रयोग गर्दैछन् । उनि ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीको बुटल हुनुपर्छ भन्दै सुगा रटानमा आफ्नो हुर्मत देखाई रहेका छन् । बुटल राजधानी नभए आन्दोलन हुने चेतावनी दिदै जनताहरुलाई उचालिरहेका छन् ।

तर यो केवल उनको दुस्साहस मात्र हो । जनता माझ भाँजो हालेर राजनीति गर्न पल्केका नेताहरुले भोलि यहि मुद्दालाई काँधमा राखेर फेरी जनताको रगत नबगाउलान भन्न सकिन्न ।

यति बेला बुटवल र दाङ मध्य कुन जिल्लामा प्रदेश राजधानी राख्ने भन्ने बारे विवाद चुलिएको छ तर ५ नम्बर प्रदेशको राजधानी दाङ उपयुक्त छ भन्ने आधारहरु प्रसस्त छन् तर विशेष तिन आधारहरु यस्ता छन् ।

भौगोलिक केन्द्रीयता

प्रदेशको राजधानी सम्बन्धित प्रदेशको केन्द्र बिन्दुमा हुनुपर्छ । जसलेगर्दा उक्त क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई सहज बनोस र राजधानी आउन–जान पायक परोस् । प्रदेश नम्बर ५ को भौगोलिक आधारलाई नियालेर हेर्ने हो भने पनि, बहुसंख्यक जिल्लाहरु बर्दिया, बाँके, रुकुम, रोल्पा, प्युठान, कपिलबस्तु, अर्घाखाँची, जिल्लाहरुलाई पायक पर्छ, भलै कपिलबस्तु र अर्घाखाँचीले बुटल दाबी गरे पनि तुलनात्मक हिसाबले नजिक दाङ नै हो । बुटवलका लागि गुल्मी, पाल्पा, रुपन्देही (बुटवल) र नवलपरासी (आधा मात्र) जिल्लाका जनताहरुलाई मात्र पायक पर्छ ।

पश्चिममा रहेको बर्दिया, उत्तरमा रहेका रुकुम र रोल्पालाई बुटवल आउन धेरै समय खर्चिनु पर्ने हुन्छ, यदि राजधानी बुटवलमा कायम भएमा सब भन्दा ठुलो अन्याय पनि तिनै बिकट जिल्लाहरुलाई हुनेछ । त्यसकारण सबैलाई सम्मानजनक पायक पर्ने भौगोलिक केन्द्रीयताको हिसाबले दाङ नै उपयुक्त हुन्छ ।

राजधानीका लागि प्रयाप्त जमिन र भौतिक पूर्वाधारहरु 

राजधानीका लागि व्यवस्थित सहरीकरण गर्न खुल्ला र पर्याप्त जमिन आवश्यक हुन्छ । दाङभ्याली एसियाकै ठुलो उपत्यका भित्र पर्छ, जहाँ खुल्ला र प्रयाप्त जमिन छ । तर बुटवल आफैमा खुम्चिएको छ, खुल्ला र प्रयाप्त जमिन छैन । बुटवलमा राजधानीका लागि चाहिने प्रयाप्त भौतिक पूर्वाधारहरु पनि छैनन् र निर्माण हुने प्रयाप्त जमिनको पनि अभाव छ ।

तत्काल राजधानी बनाउन राज्यलाई आर्थिकभार पर्ने भएको हुँदा कार्यलयका लागि चाहिने सरकारी भवनहरु दाङमा प्रयाप्त छन् । जस्तै नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको नवनिर्मित आयुर्वेद भवन १०८ कोठाको छ । त्यसैगरी, घोराहीमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला कृषि बिकास कार्यालय, सहकारी डिभिजन, जिल्ला हुलाक, घरेलु कार्यालय, शिक्षा कार्यालय, जिल्ला वन, जिल्ला प्राविधिक कार्यालयको भवनहरु छन् ।

भविष्यका लागि कहाँ, कस्ता सरकारी भौतिक संरचनाहरु बनाउने, त्यसका लागि पनि प्रयाप्त खालि जग्गा छ । यिनै आधारहरुलाई स्थलगत निरक्षण गरेर सरकारको अध्ययन टोलीले प्रदेश नम्बर ५ को राजधानी दाङमा स्थापना गर्न उपयुक्त हुने निष्कर्ष पनि निकालेको छ  । अध्ययन  टोलीले  दाङका विभिन्न १५ वटा सरकारी तथा गै रसरकारी संस्थाका भवनहरुको  स्थलगत निरीक्षण गरि उपयुक्त रहेको प्रतिवेदन पेश गर्ने तयारी गरेको छ। यो अध्यन अकाट्य नै छ ।

शान्ति सुरक्षा

राज्य व्यबस्थामा सबै भन्दा संबेदनशीलता भनेको शान्ति सुरक्षा हो । हरेक देशले आफ्नो देश वा प्रदेशको राजधानी अन्य देशको सीमाक्षेत्र भन्दा टाढै राख्ने नीति हुन्छ । हाम्रो देशको प्रदेश राजधानी बनाउदा पनि यसरी गम्भीरता पुर्वक लिन जरुरि छ । ५ नम्बरको प्रदेश राजधानी बनाउदा आन्तरिक सुरक्षाको दृष्टिकोणले बुटवल भन्दा कैयौ गुणा सुरक्षित क्षेत्र दाङ हो । बुटवलबाट भारतीय नाका सुनवल केवल ३५/४० किलोमिटरको दुरीमा छ भने दाङको मुख्य सहरबाट नेपालगन्जको भारतीय नाका ११५/१२० किलोमिटर भन्दा धेरै छ ।

त्यसकारण यदि बुटवल राजधानी भयो भने सुरक्षाको दृष्टिकोणले अति संबेदनशील हुनेछ । भारतीय सिमाक्षेत्रका तिनै गैरनागरिकहरु प्रदेश राजधानीको बढी लाभ लिनेछन तर ५ नम्बर प्रदेशका नागरिकहरु सेवा सुविधाबाट बन्चित हुनेछन ।

अन्तमा: बुटवल राजधानी बनाउने आधार भनेको केवल बुटवल वरिपरी र त्यस संग जोडिएका सुगम जिल्लाहरुलाई मात्र केन्द्रित गरेर राजधानी बनाइए, बिकटमा दैनिक आफ्नो दुख केलाएर बसेका नागरिकहरुलाई फेरी पनि अन्याय हुनेछ । भौगोलिक केन्द्र बिन्दुको हिसाबले खास प्युठान राजधानी उपयुक्त हो तर स्रोत साधन, आर्थिक आधार तथा सेवा सुबिधाको हिसाब सबैलाई दाङ सहज हुनेमा दुइमत हुँदैन । नत्र प्रदेश राजधानीलाई कसैले खल्तीमा हालेर हिड्ने भए, राज्यको बिकेन्द्रिकृत अवधारणाको आबस्यकता नै छैन, उही पुरानो केन्द्रिकृत राज्य व्यबस्थाको राजधानी काठमाडौं नै ठिक छ ।

९ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको