बार्सिलोनाको ‘दादागिरी: रियल हरायो, मेस्सी २०१७ को सर्बाधिक गोलकर्ता


काठमाडौं, पुस ९

स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको रियल मड्रिड र बार्सिलोनाबीचको सिजनको पहिलो इएल क्लासिको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । बहुप्रतीक्षित खेलमा लिग लिडर बार्सिलोनाले घरेलु टोली रियलमाथि ३–० को जित रवाफिलो जित निकालेको हो ।

आफ्नो खास प्रतिस्पर्धी रियललाई हराउन बार्सिलोनाका स्टार द्वय लुइस स्वारेज र लिओनल मेस्सी तथा भिडालले गोल गरे । पहिलो गोल स्वारेजले गरेका थिए भने अन्तिम गोल भिडालले गरे ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा घरेलु टोली रियल बार्सिलोना माथि हाबी भएको थियो । उसले केही गोलका सहज अवसर पाए पनि उसका खेलाडी त्यसमा चुके । खास गरी रोनाल्डोले दुई तथा बेन्जिमाले एक गोलको अवसर चुकाएपछि रियल पहिलो हाफमा अग्रता लिनबाट चुकेको थियो ।

तर, पहिलो हाफमा केही दबाबमा परेको बार्सिलोना दोस्रो हाफमा एकाएक खेलमा फर्कियो । उसले आक्रामक खेल पस्किएपछि घरेलु टोली रियल दबाबमा पर्दै गयो । त्यसक्रममा ५४औं मिनेटमा लुइस स्वारेजले गोल गरेर घरेलु टोलीविरुद्ध सुरुआती अग्रता दिलाए ।

त्यसपछि झन् दबाबमा परेको रियलका ड्यानी कार्भाहालले गोल खाएको १० मिनेटपछि डि एरियामा हातले बल छेकेपछि उनलाई रेफ्रीले रातो कार्डको दर्शन गराउँदे मैदानबाहिर पठाए ।

तब पेनाल्टी हान्न आएका स्टार मेस्सीले कुनै गल्ती गरेनन् । र, टिमका लागि ६४औं मिनेटमा अर्को गोल थपे । १० खेलाडीमा सीमित रियलविरुद्ध बार्सिलोनाले निर्धारित समयपछि थपिएको समयको तेस्रो मिनेटमा गोल हान्यो ।

उसका लागि बेन्चबाट आएका भिडालले सहजै गोल गरेपछि बार्सिलोना रियलको घरमा ३–० ले विजयी भयो । यो खेलभरि बार्सिलोनाले ५६ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो । दुई टिमलाई दुई/दुई वटा पहेंलो कार्ड देखाइयो ।

यो जितपछि लिग लिडर बार्सिलोना उपाधितर्फ अघि बढेको छ । १७ खेलपछि बार्सिलोनाले गत वर्षको लिग विजेता रियलसँग १४ अंकको अग्रता लिएको छ । तर, उसले रियलभन्दा एक खेल बढी खेलेको छ ।

यता, यो हारपछि रियल भने उपाधि होडमा कठिन मोडमा पुगेको छ । १६ खेलपछि शीर्ष स्थानको बार्सिलोनासँग १४ अंकले पछि परेको अवस्थामा उसलाई उपाधि होडमा फर्किन अब लगभग कठिनजस्तै देखिन्छ ।

अब बार्सिालोना १७ खेलबाट ४५ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । त्यसपछि दोस्रो स्थानको एथ्लेटिको मड्रिडले समान १७ खेलबाट ३६ अंक मात्रै जोडेको छ ।

त्यसपछि १६ खेल खेलेको भ्यालेन्सिया ३४ अंकसहित तेस्रो स्थानमा छ भने आज हारेको रियल मड्रिड १६ खेलबाट ३१ अंकसहित चौथो स्थानमै खुम्चिएको छ ।

‘भाग्यमानी’ मेस्सी : चार सुपरस्टारलाई १ गोलले पछि पार्दै बने २०१७ को ‘सर्वाधिक’गोलकर्ता !

कतिले अहिले पनि भन्छन्– मेस्सीको खेल जीवनमा उनको मेहनत र क्षमता मात्रै छैन, उनलाई भाग्यले पनि उत्तिकै साथ दिएको छ । सन् २०१७ मा उनको जीवनमा फेरि एकपटक यो भनाइ मिल्यो । यस वर्षको अन्तिम खेल खेल्दा मेस्सी साँच्चै नै ‘भाग्यमानी’ साबित ठहरिए ।

यस सिजनको पहिलो इएल क्लासिकोमा रियल र बार्सिलोनामा कसले बाजी मार्ला भन्ने प्रतिस्पर्धा त थियो नै, सँगै दुई टिमका सुपरस्टार बार्सिलोनाका लिओन मेस्सी र रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोबीच कसले गोल गरेर यस वर्षको सर्वाधिक गोलकर्ता बन्छ भन्ने पनि थियो । अन्ततः बार्सिलोनाले रियललाई उसकै घरमा ३–० हले हराउँदै मेस्सी भाग्यमानी साबित भए ।

त्यस खेलमा मेस्सीले पेनाल्टीबाट १ गोल गर्दै सन् २०१७ को सर्वाधिक गोलकर्ताको सूचीमा आफ्नो नाम लेखाए । उक्त खेलअघि सर्वाधिक गोलकर्ताको दौड मेस्सी र रोनाल्डो बीचमै थियो ।

टप–५ मा अरू को–को ?

यसपटक संयोग कस्तो रह्यो भने, सर्वाधिक पाँच गोलकर्ताको भिडन्त निकै रोचक रह्यो । मेस्सी पछिका बाँकी चार स्टार सबैले समान ५३–५३ गोल गरेका छन् । यी सबैलाई मात्रै १ गोलले पछि पार्दै बार्सिलोनाका मेस्सी शीर्ष गोलकर्ता बने ।

सन् २०१७ मा मेस्सी पछि धेरै गोल गर्नेमा रियल मड्रिडका स्टार रानोल्डो, इंग्लिस क्लब टोटनह्याममा ह्यारी केन, फ्रेन्च पिएसजीका इडिसन काभानी र जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्की रहेका छन् । सन् २०१७ को अन्तिम खेल सकिँदा यी सबैले समान ५३/५३ गोल पुर्याए, जुन मेस्सीको भन्दा मात्रै १ गोलले कमी हो ।

जसमा रियलका रोनाल्डोले ६० खेलबाट कूल ५३ गोल गरे । त्यसपछि टोटनह्यामका केनले ४९ खेलबाट कूल ५३ गोल गरे । उनले यस वर्षको अन्तिम शनिबार भएको खेलमा ह्याट्रिक गोल गरेर ५३ गोल पुर्याएका हुन् ।

तर, डिसेम्बर २६ मा केनको टिम टोटनह्यामले यस वर्षको अन्तिम खेल खेल्नेछ । इंग्लिस प्रिमियर लिगमा साउहथह्याम्पनट विरुद्ध हुने उक्त खेलमा केनले २ गोल गरेको खण्डमा उनी मेस्सीलाई पछि पार्दै सन् २०१७ को सार्वधिक गोलकर्ता बन्ने छन् ।

उक्त खेलमा उनी गोलविहीन बने वा १ गोल मात्रै गरेको खण्डमा उनले मेस्सीको रेकर्डसँग बराबरी गर्नेछन् ।

त्यसपछि, पिएसजीका काभानीले पनि यस वर्ष ५३ गोल नै गरे । उनले ५७ खेलबाट ५३ गोल गरेका हुन् । उनले पछिल्लो खेलमा पनि १ गोल गरेका थिए ।

त्यसपछि बार्यन म्युनिखका लेवान्डोस्कीले पनि यस वर्ष कूल ५३ गोल नै गरे । उनले ५५ खेलबाट ५३ गोल गरेका हुन् ।

९ पुष २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको