जुवाडे प्रचण्डलाई पुर्व जनमुक्ति सेनाको खुल्ला पत्र


अध्यक्ष प्रचण्ड,

लाजिम्पाट दरवार, काठमाडौ नेपाल ।

आशा त तपाईं कुशलै हुनुहुन्छ होला । खाडीको यो उराडलाग्दो मरुभूमिमा अनगिन्ती अपमानहरुको विचमा पलपलमा मरिरहेको, म कुनै वेलाको जनमुक्ती सेना । मेरो दण्डवत स्विकार गरिदिनु होला ।

अध्यक्ष कमरेड तपाईंसङ्ग आज दिल खोलेर भलाकुसारी गर्न खोजिरहेको छु । आज्ञा चाहन्छु ।

दशै सकियो । तिहार पनि भर्खरै सकिएको छ । जिवनमा मैले दशै तिहार कमै मनाएको छु । दश बर्ष तपाईंको नेतृत्वको आन्दोलनले मनाउनै दिएन । म बच्चा हुँदै देखि चलेको द्वन्द र त्यस आन्दोलनले ओगटेको दस बर्ष समय अनि त्यसपछि म युवा भएँ । आज चालीस लाख नौजवान युवाहरुको जमातमा दशै मनाउन नपाउने मध्ये म पनि एक युवा हुँ, जो कुनै वेला तपाईंको सेनाको रुपमा काम गरेको थिएँ । शान्ति प्रक्रिया पछि पनि आफ्नो परिवारहरुसङ्ग दशै तिहार मनाउन नपाउनु ! अध्यक्ष प्रचण्ड, अब म र म जस्ता लाखौं युवाहरुले कहिले आफ्नो आमा वुवा र दिदी वहिनिहरुको हातको टीका थाप्न पाउने ? सङ्गै लडेका हामी, तपाईंहरुले त टीका लगाइसक्नु भयो होइन ?

कमरेड, हामीलाई सिकाएको त्यो महान सास्कृतिक क्रान्ती अहिले कहाँ पुग्यो ? हामीलाई त भनिएको थियो, हामी नयाँ सस्कृतिको बिकाश गरिरहेका छौँ । भनियो, दशै तिहार सामन्ती चाडपर्व हो । त्यसैले रोल्पा रुकुममा हामीले दस बर्षसम्म दशै तिहार मनाउनै पाएनौं । कमरेड, कहाँ पुग्यो हाम्रो अभियान ? मलाई जान्न मन लागिरहेको छ ।

केही समय अगाडी तास खेलिरहेको तपाईंको तस्विर सामाजिक संजालमा भाईरल भएर आएको थियो । कमरेड, तपाईं जुवाडे पनि हुनुभयो ? तपाईंलाई अलिकती पनि याद भएन त्यो दस बर्षका दिनहरु ? जुवा तास खेल्न प्रतिबन्ध लगाएका थियौं । गोठमा लुकेर तास खेलिरहेका चाम्या र फलाम्याका समुहलाई कसरी भाटे कार्वाही गरेका थियौं ? खेलिरहेको तासको पट्टा कसरी खुवाएका थियौँ ? कपाल मुन्डन पारेर कसरी गाउँ घुमाएका थियौँ । त्यही जनयुद्धको कमाण्डरको हातमा आज तास पर्नुलाई मैले त यसलाई घोर प्रतिक्रान्तिको संज्ञा दिएको छु । मैले जसरी हिजो गाउँका सानातिना जुवाडेहरुलाई तास खुवाएर गाउँ घुमाएको थिएँ कालो मोसो ढलेर । त्यो देख्न मन नलागेको होइन, तास खेलिरहेको प्रचण्डलाई पनि तासको मुठ्ठा खुवाएर काठमाडौं शहरको परिक्रमा गराऔं । त्यो पनि जेल लगाएको कपाल आधा मुन्डन पारेर अनुहारमा कालो मोसो ढलेर । यदि त्यसो गर्न सकेको भए मैले हिजो जे गरेको थिएँ, त्यसले कसैलाई अन्याय गरेको भन्न मिल्दैनथ्यो ।

यदि आज प्रचण्डले तास खेल्नु ठिक हो भने हिजो चाम्या र फलाम्याहरुले तास खेलेको वेठिक किन भन्यौं ? किन जुत्ताको माला लगाईदियौं ? किन अनुहार भरी कालो मोसो दलिदियौं ? किन कपाल आधा मुन्डन पारिदियौं ? किन तास खुवाईयौं ? कि यसैलाई माक्सको द्वन्द्वात्मक भौतिकवाद भनिन्छ कमरेड ? कि यहि हो माक्र्सवादको बिकाशको रुपमा नामाकरण गरिएको प्रचण्डपथ ? कतै भौतिकवाद र अध्यात्मवादको फ्युजन थ्योरी भनेको यहि त होइन ?

तपाइंले आफ्नो जीवनमा धेरै जुवाहरु खेल्नु भएको छ । आजको दिनलाई नेपाली जनताको जिवनको सवैभन्दा खराव समय मान्ने हो भने तपाईंको नेतृत्वमा शुरु भएको जनयुद्धलाई पनि जुवाकै खाल भन्न सक्छु की सक्दैन ? किनभने जनयुद्ध पछिका दिनहरुमा न्यायको निम्ति जनयुद्धमा होमिएको कुनै योद्धा पलपलमा अपमानका घाउ सहेर देश छोडी प्रदेशमा बाकी भबिस्य खोज्नुपर्ला भनेर कसैले सोचेको थिएन तर आज त्यही नसोचेको भएको छ । यसवाट कस्ले के पायो ? के गुमायो ? यदि सामन्ती राजतन्त्र हटेर पनि जनताको अबस्थामा कुनै परिवर्तनको अनुभूति गर्न सकिँदैन भने जनयुद्धको गाथा गाईरहनुको आबस्यक्ता छैन भन्दा के म गलत हुन्छु ? तपाईंले खेलेको जुवामा हजारौं हजार लालहरुलाई हामीले गुमायौं । उनीहरुको लागि तपाईले के जित्नु भयो ? उनीहरुको परिवारहरुको लागि के गर्नुभयो ? जवकी अहिले गाउँ गाउँमा त्यहि शहिदको बिधुवा बढी दुखि छ भने त्यहि हिजोको जनमुक्ति सेना आज बढी अपमानित भएको छ ।

जुवाको अगेनामा जल्नेहरु त जलिहाले । बचेखुचेकाहरुको पनि भबिस्य अन्यौलमा छ । पढ्ने उमेरमा बन्दुक समाए । आज हरेक पाइला पाइलामा शैक्षिक योग्यताको प्रमाणपत्र मागिन्छ । मलाई जवाफ चाहियो, मैले कुन प्रमाणपत्र पेश गरौं कमरेड ?

अहिले एमालेसँग पार्टी एकताको पहल गरिरहनु भएको छ । यसलाई पनि मैले जुवा नै मानेको छु । खेलमा तपाईंको जित हुन्छ वा हार ? त्यसको समीक्षा हुनै बाकी छ । जनताले तपाईलाई हेरिरहेको छ, कि अब तपाईले कुन कार्ड चल्दै हुनुहुन्छ । यदि एमालेले फ्याकेको बहुदलीय जनवादको कार्डलाई माओको हुकुमको एक्काले तह लाउन सक्नु भएन भने यो तपाईको अन्तिम जुवा हुनेछ र अन्तिम जुवासङ्गै जनयुद्धका सम्पुर्ण उपलब्धीहरु गुमेर जानेछ ।

जनयुद्ध नामको जुवाको खालमा सत्र हजार छोराछोरीहरुलाई गुमाएर तपाईले राजतन्त्र हटाइएको कुरालाई उपलब्धी मान्न सक्नु हुन्छ । तर राजतन्त्र हटिसकेपछी जनताका आधारभूत कुराहरु कति पुरा भए ? मैले यसलाई प्राथमिक प्रश्न मानेको छु । किनभने आज मेरो पेट भोको छ कमरेड । राजनितिक ब्यबस्था फेरिदैमा यदि नेतृत्वमा भिजन छैन भने बाँदरको हातमा नरिवल सावित हुने रहेछ । मैले पढेको र देखेको नेपालमा यस्तै हुँदै आएको छ ।

चिनमा जनगणतन्त्र छ तै पनि बिकाशको गति रोकिएको छैन । वेलायत, जापान, र अरव देशहरुमा राजतन्त्र छ तै पनि बिकाशले आकाश छोएको छ । अमेरिका लोकतन्त्र छ, तै पनि समृद्द भएकै छ । दुनियाँमा जती पनि ब्यबस्थाहरु छन् ती सवै ब्यबस्थाहरु कुनै वेला नेपालमा पनि आए । यो देशमा तानाशाहहरुले पनि राज गरे । प्रजातान्त्रिकहरुले पनि राज गरे । राजतन्त्रले पनि सयौं बर्ष शासन गर्‍यो । अहिले गणतन्त्रवादीहरुको रजाईं छ । तर पनि बिकाश किन भएन ? देशमा धेरै ब्यबस्थाहरु फेरिए तर जनताको अबस्था किन फिर्न सकेन ? तपाईंवाट मैले यसको जवाफ खोजेको हुँ ।

भन्न सक्नु हुन्छ, यो सङ्क्रमणकालीन समय हो । तिन तहको चुनाव सम्पन्न भएपछि जनताका कामहरु तदारुकताका साथ गरिनेछ । राजतन्त्रको अन्त्यपछि आएको गणतन्त्र नेपालको पहिलो स्थानिय चुनाव पनि सकियो । देखियो । केही फरक देखिएन अघिल्ला ब्यबस्थाहरुमा हुने चुनाव र अहिलेको चुनावमा । गाउँपालीकाको प्रमुखको लागि एकजना उम्मेदवारले सवा करोड भन्दा बढी खर्च गरेको छ । अब मलाई यो पनि बताउनुहोस कि, तपाईंले ल्याएको गणतन्त्र नेपालका ती जनप्रतिनिधिहरुले गरेको खर्च कसरी उठाउनु हुन्छ ? खर्च उठाएर मात्रै भएन, नाफा पनि कमाउनै परयो । कमरेड, राजनीतिमा कमाउने धन्दा पनि चल्छ र ? के राजनीति भनेको कुनै पेशा हो ? जवसम्म राजनिती पेशा वनिरहन्छ तब नेपाल गरिविको रेखामुनि पिल्सिरहने कुरामा कुनै सन्देह छैन ।

अन्तिममा तपाईंलाई मेरो सुझाव, तपाईं नेपाललाई सिङ्गापुर बनाउने सपना छोडिदिनुस, स्विटजरल्याण्ड वनाउने सपना छोडिदिनुस, चिन जस्तो बनाउने सपना छोड्दिनुस । एकपटक नेपाली माटोलाई हेर्नुहोस, छाम्नुहोस । सुंघ्नुहोस अनि नेपाललाई नेपाल बनाउने सपना देख्नुहोस ।

हिमालको चिसो मौसममा फल्ने स्याउलाई तराईको गर्मि मौसममा रोप्ने कुरा छोडिदिनुस । तराईको लागि सुहाउने फल रोप्नुपर्छ । पहाड र तराईमा मौसम फरक फरक हुन्छ भन्ने कुरा बुझ्नुहोस ।  यति बुझ्नु भयो भने सुन्दर र समृद्ध नेपाल निर्माणको अभियानलाई कसैले रोकेर रोक्न सक्दैन ।

कहिलेकाहीँ तपाईंमा सकुनी जस्तो राजनीति जुवाडेको छवी देखिन्छ । कहिलेकाहीँ दृतराष्ट्रको जस्तो छवि पनि देखिन्छ । पूर्वीय इतिहासवाट सवैले पाठ सिक्नैपर्छ पर्छ । सकुनीले फ्याँकेको पासोले अन्ततः गान्दार नरेश आफै त्यसको सजायको भागीदार वने । दृतरास्ट्रको पुत्र मोहले अन्ततः कुरुक्षेत्रको जन्म दियो । त्यसैले पुत्र पुत्री मोह देखी टाडा रहेकै बेश हुन्छ ।

ब्यक्तिको ईतिहास उसको शेष पछि मात्रै मूल्याकंन गरिन्छ । तपाईंले जनयुद्धको कुशल नेतृत्व त गर्नुभयो । तर यदि तपाईंले त्यसवाट प्राप्त उपलब्धीहरुलाई रक्षा गर्न सक्नु भएन भने जनताले इतिहासको कठघरामा वारम्वार उभ्याईरहने छ । तपाईं कस्तो इतिहासको रचना गर्न चाहनु हुन्छ ? त्यो तपाइँले फ्याँक्ने पट्टिले निर्धारण गर्छ भन्ने मलाई लाग्छ ।

जुवाको नशा अजिवको हुन्छ । हार्दा हार्दै पनि खेलिन्छ । यहि जुवाले धर्मराज युधिस्थिरले आफ्नो राज्य हारे । हार्दा हार्दै अन्ततः नकुल, सहदेव, अर्जुन, भिम र द्रौपदीलाई पनि दाउमा हाले र ती पनि सवै हारे । तर आशा छ, तपाईंले आमालाई दाउँमा हाल्नु हुनेछैन । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । यति भन्दै आजलाई कलम बन्द गर्दछु । मरुभूमिमा भबिस्य खोजिरहेको पुर्व छापामार,

पृथीछक बुढा मगर

हालस् दुबई युएई ।

२०७४ कार्तिक ७,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको