खाडीबाट छोराको भाबुक चिठ्ठी :यो दशैमा घर फिर्न सकिन आमा, छुट्टि मिलेन !


आदरणीय बुवा आमा सेवा दोग ।

भौतिक रुपमा तपाईंहरुको आशिर्वादले कुशल छु । आशा छ, त्यहाँ पनि कुशलै हुनुहुन्छ होला ।

दशै नजिकै आईसक्यो । यसपालीको दशैमा छुट्टि आउछु भनेको थिएँ । आउन सकिन । छुट्टि मिलेन । आशा छ, मन बुझाउनु होला जसरी हरेक बर्ष बुझाउनु हुन्थ्यो ।

आज आउँछु, भोली आउँछु भन्दाभन्दै धेरै बर्ष विते । हुन त मैले दुई बर्षमा फर्किन्छु भनेको थिएँ तर सोचे जस्तो कहाँ हुँदो रहेछ र जिवनमा ! त्यसमा त झन नेपाली नागरिक परियो । नेपालीको अबस्था बिदेशमा कस्तो छ ? मैले यतिका बर्षमा धेरै देख्न पाएको छु र आफै पनि त्यसको भागिदार भएको छु ।

दशैमा आमा वुवाको हातको टीका र तिहारमा दिदी वहिनिको हातवाट भाईटिका लगाउने धोको अब कहिले पूरा हुन्छ ? दशै नजिकै आयो । लगत्तै तिहार आउला । आमा के मेरो याद आउँछ तपाईंलाई पनि ?

आमा तपाईंको कोखमा जन्म लिनुपरेकोमा आफैलाई भाग्यमानी ठानेको छु तर मेरो देशमा जसलाई नेपाल भनिन्छ, जसमा जन्मिनु परेकोमा आफैलाई भाग्यशाली मानौँ कि दुर्भाग्य ? तर बिर्सेको छैन, सानैमा दिपक सरले `हाम्रो देश महान छ´ भनेर पढाएका कुरा । १ लाख ४७ हजार १ सय एकासी वर्गकिलोमिटर खासै भिमकाय क्षेत्रफल जमिन पनि होइन । क्षेत्रफलको हिसावले महान भनिएको पक्कै होइन होला । प्राकृतिक बिबिधताले भरिपुर्ण मुलुक भएको हुनाले महान भनिएको हो भनेपनि माल पाएर चाल नपाएका नेपालीहरुको लागि कागलाई वेल पाक्यो हर्ष न बिस्मात सावित भएको छ ।

त्यसैले त मेरो देशको मालिकले मलाई सस्तो मुल्यमा बेचेको छ र मैले पठाएको रेमिट्यान्सवाट आफु र आफ्नो वरपरका आसेपासेहरुलाई  सात पुस्तालाई पुग्ने पैसा कमाउन मौका दिएको छ ।

मैले कतै दक्षिण कोरियाको ईतिहास पढेको थिएँ । कुनै वेला कोरियालीहरु पनि जर्मनका खानीहरुमा अहिले हामी खाडिमा विताए जसरी जिवन बिताउने गर्दथे । एकदिन कोरियाली राष्ट्र प्रमुख जर्मन गएका वेला त्यहाँ खानीमा काम गरिरहेका मज्दुरहरुले सोधेका थिए, `माननीय ज्यु, हामी कति बर्षसम्म यसरी नरकिय जीवन बिताउने हो ?´

यो प्रश्न सुनेर कोरियाली राष्ट्र पमुख धुरुधुरु रोएका थिए र उसले भनेका थिए, `हाम्रो पनि युग आउने छ । कोरियाली जनताको युग अबस्य आउने छ र त्यसलाई कोरियाली युग भनिने छ ।´

नभन्दै आज कोरियाको दिन फिरेको छ । आज कोरियाली जनता  बिदेश जादैन श्रमकै लागि । आज उसले विश्व श्रम बजारमा महङ्गो श्रम मूल्य तिरेर मज्दुर आयात गरिरहेको छ । आज म भन्छु, के हाम्रो दिनले पनि कहिलै कोरियाली युगमा प्रबेश गर्ला ?

यहाँ पनि नेपाली राष्ट्र प्रमुखहरु भ्रमणमा नआएको कहाँ हो र ? मज्दुरको नाममा धेरै मन्त्री तथा प्रधानमन्त्रीहरु यहाँ भ्रमणमा आए । तर केही सपिङ मल र समुन्द्री तटमा बाहेक कोहि मज्दुर क्याम्पमा पुगेको पाईएन । मज्दुरहरुका लागि भनी आयोजना गरेका सेमिनारहरु पनि कुनै स्टार होटेलमा गरिन्छ केही दलालहरुको जमघट सहित ।

जसरि कोरियाली जनताले आफ्नो राष्ट्र प्रमुखलाई यो नरकिय जिवनवाट मुक्ती कहिले पाउने भन्ने प्रश्न सोधेका थिए, त्यही प्रश्न हामी पनि सोधेका थियौं तर कसैले पनि उपयुक्त जवाफ दिन सकेको छैन । बरु मज्दुर बिक्रीका लागि बजार बिस्तार गर्न हाम्रा प्रमुखहरुले न्यून श्रम शुल्कमा नयाँ नयाँ देशसङ्ग श्रम सम्झौता गरिरहेका छन् । अनि कसरी हुन्छ हाम्रो देश महान ?

धेरैले भनेका थिए, देशमा शान्ती आयो अब हामी बिदेशीएकाहरुको दुखका दिन गए । मुलुकमै जागिर पाइनेछ । शान्ती आएको पनि दस बर्ष भन्दा बढी बितिसक्यो । तर शान्ति प्रक्रिया शुरु भईसकेपछी त झन विदेशिनेहरुको बाढी नै चल्यो । कसैले फेरि ढाडस दिएर भने, देशमा संविधान आएपछी हाम्रो दिन अबस्य फिर्छ । संविधान दिवस हिजो अस्ति मात्रै मनाएको सुनेको थिएँ । एक बर्ष बूढो भएछ ।

आमा, कस्तो छ त नयाँ संविधानले बोकेर ल्याएको हर्ष ? खानकै लागि जनताले काम गर्न आबस्यक छैन । बिस्तारामै खाना आईपुग्छ भन्थे । आमा सरकारले तपाईंको बिस्तारामै खाना त पुराईदिएको छ नि ?

नयाँ संविधान आएपछि देश सिङ्गापुर वन्छ पनि भनेथे । आमा हाम्रो देशको डलरलाई के नाम दिए ? सिङ्गापुरको डलरलाई सिङ्गापुर डलर भनिन्छ, नेपालको डलरलाई पक्कै नेपाल डलर नामाकरण गरेहोलान । आमा, पैसा डलरमा रुपान्तरण भएपनि नेपाल राष्ट्रको नाम नेपालै रहोस है । अनि देशको झण्डा पनि चन्द्र सुर्य अंकित त्यही झण्डा नै रहिरहोस है ।

काठमाडौको सडकहरुको अबस्थामा केही सुधार ल्यायो कि नयाँ संविधानले ? अहिले त काठमाडौ बिश्वको सुन्दर शहरहरुमा दरियो होला । साइकल सिटि पनि बन्यो होला ।

अँ साँच्ची हाम्रो रुकुममा अचेल सरकार पुग्यो कि पुगेन ? पाइन्ट लगाएको मान्छे देखेर अचेल हाम्रा गाउँका केटाकेटीहरु डरले भाग्छन् कि भाग्दैनन ? पहिले त हामी पुलिस आयो भनेर भाग्थ्यौं । कि मास्टर आयो भन्थ्यौं । सरकारको मान्छे तिनै हुन्थे होइन र आमा ?

नेताले गाउँ गाउँमा वाईफाई फ्री पुराईदिने कुरा गरेका थिए । हाम्रो गाउँमा मोवाइल फोनको टावर पुग्यो कि पुगेन ? नेताले आन्दोलन र चुनावमा जे जति बोलेका थिए त्यो सव यो नयाँ संविधानले ल्याएको भए आमा, म यहाँ बस्न चाहदैन । हामी यहाँ नरकिय जीवन बिताईरहेका छौँ । सरकारले बिदेशीएका छोराछोरीहरुलाई सधैं आफ्नै आमा वुवाको काखमा दशै बनाउन पाउने बातावरण बनाईरहेको छ कि छैन ? केहि थाहा पाउनु भयो ?

मैले सुनेको थिएँ, स्थानिय चुनावमा एउटा वडा प्रमुखको लागि उम्मेदवारले पन्ध्र बीस लाख खर्च गरेको छ रे । तपाईंलाई थाहा छ कि छैन त्यो पैसा उसले कसरी उठाउछ रे ? यदि घुसपैठवाट उठाउने कसरत हो भने आमा नयाँ नेपालमा पनि हाम्रो लागि कुनै स्थान हुनेछैन ।

हिजो एउटा नाइकेले खान्थ्यो । अहिले नाइकेहरुको जमात अलि बढेको होला । तिनैले खालान । यसो भयो भने त मेरो छोराछोरीले पनि म जस्तै आफ्नो बाबू आमासङ्ग दशै मनाउन नपाउने भए । म सधैं कामना गर्छु, मैले जति प्रदेशमा नरकिय जीवन बिताईरहेको छु, भावि पिढिले यो जीवन बिताउनु नपरोस ।

मैले वितेको दशैँ स्मरण गर्छु, साथिभाईसंग कुनै वेला कम्मरमा बादल भिरेर नाचेका थियौं । दौँतरी नाच्दा मेरो झझल्को आउदो हो तपाईंहरुलाई । मसंग नाच्ने दौंतरी कति नै पो बाँकी होलान् र !

सवै दुवई, कतार, साउदी, मलेसियामा म जस्तै वालुवामा वेल्चा चलाउन आईपुगेका छन् । तल्लो घरे माइला वाको छोरो खराने भाई दशैँ छुट्टीमा आउने भनेको थियो, केटाकेटीलाई लुगाफाटा किनेर फर्किने वेलामा सडक दुर्घटनामा परेर मरयो । उसको लाश पनि कम्पनीले पठाएको छैन । मेरो मिल्ने साथी नारकोटे पनि मलेसियावाट रातो वाकसमा फर्कियो भन्थे ।

कसैको लागि दशैँ रमाइलै होला तर कसैको लागि आँशु वोकेर ल्याउने होला । साथीहरुसंग लिङ्गे पिङ हाल्थ्यौं । मच्ची मच्ची पिङ खेल्थ्यौं । कति सम्झिएलान् यो दशैमा खराने भाई र साथी नारकोटेलाई । मलाई पनि त बिर्सेका पक्कै छैनन् होला नि है ? गाउँमा नाच्ने उस्काउने मै थिएँ ।

अचेल त हाम्रो वारीमा मखमली र हजारी फुल धक्मक्क फुलेको होला । बहिनिले जमरा उमारेकी होलिन । दशैमा आउछु भनेको थिएँ, छुट्टि मिलेन । दिदी र बहिनिको हातवाट भाईटिका लगाउने भनेको थिएँ । आशामा होलिन । बहिनिलाई भन्दिनु, दाइ आउदैन भनेर । नत्र फुलको माला ओइलेर जाला ।

नमरी वांचे कालले साँचे भेट कसो नहोला ? दक्षिण कोरियाली नेताको भनाई सम्झिन्छु, एकदिन हाम्रो पनि समय कसो नआउला ? संगै दशैँ तिहार मनाउने युग कसो नफिर्ला ?

अन्तमा बिजया दशमीको सुखद उपलक्षमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
तपाईंहरुको प्रिय पुत्र ।

पृथीछक बुढा मगर

खाडिवाट

८ आश्विन २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको