सिंगो थबाङ कमरेड विप्लवको साथमा छ


-सन्तोष बुढा

दलाल सत्ताको स्थानीय निर्वाचनको नौटङ्की षड्यन्त्र, दमन, धरपकड र प्रतिरोधका बीच सकिएको छ । स्थानीय चुनावमा एकातिर दलालहरूको कुर्सी लुछालुछ, प्रतिस्पर्धा र मारामार, अर्कोतिर संसदीय व्यवस्थाको भन्डाफोर र चुनावको खारेजी अभियान दमन, प्रतिरोध र सङ्घर्षमय बन्यो ।

कालीकोट, मुगुलगायत जिल्लाका जनताले चुनाव खारेज अभियान सफलतापूर्वक सम्पन्न गरे । कालीकोटमा धनरूप बटाला र कैलालीमा क. सनराइजको रगत बग्यो । कयौँ घाइते अङ्गभङ्ग पनि भए । यो क्रान्तिका खातिर थियो भने अर्कोतिर चुनाव जित्नलाई पनि मारामार गरे । स्थानीय निर्वाचनको बेला दोलखा, काभ्रेलगायत जिल्लाहरूमा काङ्ग्रेस, एमाले र माकेका आधा दर्जन कार्यकर्ताको आपसी झडपमा ज्यान गयो । यो क्रान्तिका लागि नभएर दलगत÷व्यक्तिगत स्वार्थसिद्धिका लागि थियो ।

रगत त व्यक्तिगत स्वार्थ र गुन्डागर्दीका लागि पनि बग्दो रहेछ भने क्रान्तिमा त स्वाभाविक नै हो । यसरी हेर्दा पनि व्यक्तिगत स्वार्थमा भन्दा क्रान्तिमा कम रगत बगेको छ । त्यसैले धेरैले के बुझ्ने गर्दछन् भने ‘क्रान्ति भनेको मर्ने र मार्ने अभियान हो’ तर सत्य त्यसो नभएर कमभन्दा कम रगत खर्चेर बढीभन्दा बढी परिवर्तनको उपलब्धि प्राप्त गर्ने सिद्धान्त नै एकीकृत जनक्रान्ति हो । आखिर आधा दर्जन काङ्ग्रेस–एमाले माकेका कार्यकर्ता मरेर के पाए ? उपलब्धि के भयो ? तर धनरूप र सनराइजको सहादतले संसदीय व्यवस्थाको आयु १० वर्ष घटाइदिएको छ र उहाँहरू एकीकृत जनक्रान्तिको पहिलो सहिद बन्न सफल हुनुभएको छ । उहाँहरूको ज्यान लिने हिजोका क्रान्तिका नायक भनिने प्रचण्डहरूलाई क्रान्तिका नायक होइन, प्रतिक्रान्तिका नायक, क्रान्तिका खलनायकका रूपमा उभ्याएर जानुभएको छ । यो इतिहासमा कहिल्यै नमेटिने गरी लेखेर जानुभएको छ । यो हो उपलब्धि भनेको ।

दस वर्षको जनयुद्धद्वारा विस्थापित विश्वमै असफलसिद्ध पश्चिमा संसदीय व्यवस्थालाई षड्यन्त्रपूर्ण रूपमा पुनस्र्थापना गरेपछि हाम्रो पार्टीले यसका विरुद्ध झन्डा उठाएको हो । उनीहरूद्वारा घोषित स्थानीय निर्वाचनलाई हाम्रो पार्टीले पूर्ण रूपमा खारेज गर्ने घोषणा गरेको थियो । त्यसो त नेकपा (माओवादी) ले २०५४ सालमै खारेज गरेर मरणासन्न अवस्थामा पु¥याइसकेको थियो । त्यही बचेखुचेको सत्तालाई विदेशी मालिकहरूले फुकी प्राण भरेर दलाल सत्ताका रूपमा उभ्याएका थिए । त्यसैलाई स्लाइन चढाई केही समय बचाउन अहिले यो स्थानीय चुनाव र निकट भविष्यमै प्रदेश र सङ्घको चुनाव गरी सुदृढ गर्ने धृष्टता गरिरहेका छन् । त्यसैको नौटङ्की हो यो चुनाव । त्यसैले यसको आयु बढाउने चुनावी चलखेलतिर होइन, यसको आयु छोट्ट्याउने परिवर्तनको बाटोतिर लाग्ने तत्कालिक अभियानको नाम थियो ‘खारेजी अभियान’ । यो अहिले पनि जारी छ । जबसम्म यो व्यवस्था रहिरहन्छ र चुनावहरू भइरहन्छन् ।

यसै प्रसङ्गमा गत स्थानीय निर्वाचनमा थबाङले भाग लिएको विषयमा निकै होहल्ला गरे । यसैसँग पार्टी नेतृत्व, विचार, कार्यदिशा र कतिपय विषयहरू मसँग पनि जोडेर सिङ्गो पार्टीमाथि विभिन्न कोणबाट प्रहार गरियो । जुनसुकै कोणबाट गरिएको भए पनि यसलाई हाम्रो पार्टी पूर्ण रूपमा खारेज गर्दछ र यी सबै प्रतिक्रान्तिकारी अफवाहहरू प्रतिक्रान्तिकारी हल्ला मात्र हुन् । थबाङलाई क्रान्तिबिमुख बनाउने नियतका साथ यी दुष्प्रचार गरिएका थिए । ती वास्तवमा सत्य थिएनन् । यो थबाङलाई क्रान्तिबाट कटाउने षड्यन्त्र थियो ।

जहाँसम्म थबाङको प्रसङ्ग छ थबाङ हिजोसम्म क्रान्तिको प्रतीकका रूपमा खडा थियो र अहिले पनि छ । कसैले चुनावमा स्वतन्त्र रूपमा भाग लियो भन्दैमा थबाङको क्रान्तिकारी इतिहास मेटिँदैन । थबाङको इतिहास मेटाउन देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू र सबै प्रतिक्रान्तिकारी तत्वहरू हरहिसाबले सक्रिय छन् । क्रान्तिको प्रतीक ढाल्न जेजे औजार प्रयोग गर्दा हुन्छ त्यही गरे । यसमा सबभन्दा अग्रपङ्क्तिमा दलगत हिसाबले माके (माओवादी केन्द्र आएको छ । २०७० सालमा शून्य मत बनाएपछि रन्थनिएका साम्राज्यवादका छाउराहरूले त्यसपछि विभिन्न तिकडम गरे । उनीहरूले सिङ्गो सत्ता प्रयोग गरे । विभिन्न गैरसरकारी सङ्घसंस्थामार्पmत पसे । उनीहरू यो स्थानीय चुनावसम्म आउँदा यसपटक थबाङको क्रान्तिकारी विरासत ढाल्न सफल भए । चुनावका नाममा साम–दाम–दण्ड–भेदको नीति प्रयोग गरे । नेकपाले यो चुनावको खारेज गरेको मौका छोपी थबाङ गाउँपालिकामा हात हाले । अहिले उनीहरू विकास निर्माणका नाममा थबाङलाई प्रतिक्रान्तिको थलोमा परिणत गर्ने धृष्टता गरिरहेका छन् ।

यस घटनाले थबाङको इतिहासमा नयाँ रामकुमारहरू, नयाँ शारदाप्रसाद दाहाल, नयाँ बालाराम घर्ती र नयाँ सूर्यबहादुर थापाहरू नयाँ संस्करणमा उदाएको महसुस भयो र यो दुनियाँले देखे पनि । पछिल्लो चरणमा गिरिजाको स्थान त प्रचण्डले लिएकै छ र शेरबहादुरहरू आफँै उही कुर्सीमा आसीन छन् । यो थबाङको इतिहासमा नयाँ नभएर पुराना सत्ताका नयाँ नाइकेहरूको पुनरागमन भएपछिको उही प्रकृतिको घटनाक्रमको पुनरावृत्ति भएको मात्र हो । अहिलेसम्म यी सबै घटनाक्रमहरूको साक्षी हामी छौँ । अतः अहिले थबाङका नयाँ शत्रुहरू नयाँ रूप र अनुहारमा जन्मेका छन् । इतिहास बङ्ग्याउन खोज्ने थबाङका नयाँ दुस्मनहरूबाट नयाँ पुस्ता सावधान हुन जरुरी छ ।पछिल्लोपटक उनीहरूले थबाङ गाउँपालिकाको गाउँसभा गर्ने नाममा प्रतिक्रान्तिका नाइके तथा साम्राज्यवादका दलालहरूमा एक नं. प्रतिस्पर्धी प्रचण्ड र उनको पुच्छरमा टँगेर विदेशी दलालहरूलाई रिझाउन कम्मर कसेर लागेका कृष्णबहादुर महराहरू थबाङ जाँदै थिए । त्यो थाहा भएपछि थबाङका जनता र जनसत्ताले उनीहरूको त्यो प्रतिगामी कदम रोक्न गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती (वियोग) लाई गिरफ्तार गरी सोधपुछका लागि अन्यत्र लगेपछि एकपटक साम्राज्यवादका दलालहरू बौलाए । उनीहरूले जनयुद्धको शाही सेनाको थबाङ अप्रेसन झल्काउने गरी हेलिकोप्टरहरू थबाङको आकाशमा नचाए । २०५२ कात्तिकको रोमियो अप्रेसन सम्झाउने गरी थबाङलाई चारै दिशाबाट सशस्त्र पुलिसले घेरा हाली नाका छेकेर तलासी गरे । २०३८ कात्तिक ५ को पञ्चायती अप्रेसन झल्काउने गरी दर्जनौँ सशस्त्र प्रहरीहरू थबाङ गाउँमा नचाइयो । जनता आतङ्कित पारियो ।

हो, थबाङको इतिहास मेटिएको छैन । थबाङको क्रान्तिकारी इतिहासको निरन्तरतामा केही धक्का लागेको छ । थबाङले यसपालि आफ्नो क्रान्तिकारी विरासत कायम राख्न नसकेको सत्य हो । तर थबाङ ध्वस्त भएको वा सकिएको भने होइन । थबाङले फेरि टुटेको इतिहासको कडी जोड्न केही मेहनत गर्नुपर्ने छ । थबाङ कहीँ गएको छैन, जनता कहीँ गएका छैनन्, मात्र हाम्रो मेहनत पुगेन, तयारी पुगेन, लामो समय वर्गसङ्घर्षको कडी टुटेको छ । जेनेरेसन टुटेको छ । केही हाम्रा सङ्गठनात्मक कडीहरू टुटेका छन् । विचारमा केही ग्यापिङ छ । बुझाइमा केही ग्यापिङ छ । यी कडीहरूलाई जोड्नेबित्तिकै थबाङ फेरि उठ्नेछ । सुतेको सिंहमाथि स्यालहरूको रजाइँ धेरै दिन टिक्नेछैन । थबाङसँग सिङ्गो नयाँ सत्ता र एकीकृत जनक्रान्ति छ । थबाङसँग सिङ्गो सर्वहारा वर्ग छ । क्रान्तिकारीहरू आत्तिनुपर्ने छैन किनकि क्रान्ति सधैँ एकै नासले अघि बढ्दैन । यो जित–हार र उतार–चढावका बीच, ठूलठूला ज्वारभाटा, छाल र लहरका बीच अघि बढ्छ ।

एकपटक क्रान्तिका नायक भनिने प्रचण्डहरू कसरी प्रतिक्रान्तिका नायक हुँदा रहेछन्, इमानदार नेता भनिने कृष्ण महराहरू कसरी प्रतिक्रान्तिका असली सेवक (पहरेदार) बन्दा रहेछन् ? हिजो थबाङले जे गर्छ त्यही गर्नुपर्छ भन्ने महराहरू आज साम्राज्यवादको टाङमुनि छिरेर थबाङमा भयङ्कर रक्तपातका तानाबाना बुनिरहेकाछन् । यहीँनेर क्रान्तिकारीहरू सावधान हुनुपर्छ । बेलैमा घाँसको हरियो सर्प चिन्न नसक्दा जनता र कार्यकर्ताले नसोचिएको धोका पाइँदो रहेछ । यो हाम्रो जीवनको शिक्षा हो । आज क्रान्तिलाई देउवाहरूद्वारा त्यति खतरा छैन जति भेडाका छाला ओडेर आएका यी नवसंशोधनवादी ब्वाँसाहरूबाट छ । उनीहरू साम्राज्यवादलाई रिझाउन जति खरानी घसिरहेका छन् यो उनीहरूको भद्दा दलालीकरणको नमुना हो ।

जहाँसम्म थबाङको क्रान्तिसँगको सम्बन्ध छ यो अटुट छ । थबाङलाई क्रान्तिबाट बिछटाउने, म थबाङको भएको नाताले मलाई थबाङबाट बिछटाउने, कार्यकर्ताबाट बिछटाउने, यता थबाङलाई क्रान्तिकारी विचार र नेतृत्वबाट बिछटाउने र पार्टी नेतृत्वसँग मेरो अन्तरविरोधको भ्रम फिँजाएर एकातिर मेरो बदनाम गराउने, सिध्याउने र अर्कोतिर नेतृत्वसँग अन्तरविरोध हालिदिने यो फुटाऊ र राज गरको प्रतिक्रियावादी नीति हो । थबाङको चुनावको विषयलाई लिएर यो जो गर्न खोजिएको छ यो नियोजित षड्यन्त्र हो । साथै यो पनि पुनः स्मरण गराऊँ– थबाङमा यसपालि शून्य मत भएन तर पार्टीले यो चुनालाई खारेज गरेको छ । यसलाई चुनावको ३ दिनअगाडी असार ११ गते थबाङ गाउँपालिका स्तरको समानान्तर जनसरकार घोषणा गरेर खारेज गरेको छ । पार्टीले चुनाव खारेज गरेपछि माकेको एकलौटी चकचकी सहन नसकेर आएको जनताको नैतिक दबाबका कारण केही साथीहरू जनताको माकेविरोधी आक्रोशको नेतृत्व गर्न स्वतन्त्र उमेदवार उठ्न पुगेको घटनालाई पार्टी नेता र नेतृत्वसँग जोडेर सिङ्गो क्रान्तिमाथि नै प्रहार गर्ने जुन काम भएको छ त्यो आतङ्कित र पराजयको पराकाष्ठा मात्र थियो । साँच्चै पार्टीले चुनावमा भाग लिएको भए थबाङमा के हुन्थ्यो, अर्कै हुन्थ्यो । माकेहरूको स्थिति यो अवस्थामा हुने थिएन । वास्तवमा आधारइलाकाहरूमा माकेको विजय त नेकपाको चुनाव खारेजीको उपहार मात्र हो ।

अब आउँछ नेतृत्वको प्रश्न । अहिले एकीकृत जनक्रान्तिको नेतृत्व कमरेड विप्लवले गरिरहनुभएको छ । उहाँको दिमागमा क्रान्ति छ । जनयुद्धकालमा आधारइलाकाको इन्चार्ज हुनुहुन्थ्यो । आधारइलाकाहरूमा जेजति परिवर्तनहरू भए, नयाँ सत्ताका अभ्यासहरू भए, युद्धकालीन जनकम्युनहरू स्थापित भए, कृषि, उद्योग, सामाजिक, सांस्कृतिक रूपमा गाउँसमाजमा रहेको विकृतिविसङ्गति, छुवाछूत हटाउन, शिक्षा, स्वास्थ्य क्षेत्रमा, सामाजिक आचारसंहिताका क्षेत्रमा जनताको जिउधनको सुरक्षामा, विकास निर्माणका क्षेत्रमा, जस्तै नुवागाउँदेखि थबाङसम्मको सहिदमार्ग निर्माण अभियान (प्रचण्ड पार्टी अध्यक्ष भएको हुनाले मात्र ओके गरेको हो, योजना क. विप्लवको थियो । त्यो पनि बाबुराम भट्टराईसँगको तिखो दुई लाइन सङ्घर्षमा उनले विरोध गर्दा यता सेन्टिमेन्ट लिने हिसाबले मात्र विप्लवको प्रस्तावलाई समर्थन गरेको कुराको साक्षी स्वयम् हामी जिउँदै छौँ पछि सरकारमा गएपछि यसलाई दुही खाने गाई बनाए । यसबाट उनीहरूले करोडौँ खाए । तीन वर्षमा थबाङमा गाडी पु¥याउने कमरेड विप्लवको योजनालाई उनीहरूले जालझेल गरी बल्ल जनदबाबमा एक दशकपछि मात्र यही २०७३ सालमा थबाङमा गाडी पुग्यो ।

यीलगायतका पाश्र्व क्षेत्रमा नयाँ मूल्यमान्यताहरू स्थापित गर्दै क्रान्तिलाई ४ प (पद–प्रतिष्ठा–पैसा र प्रशंसा) सँग साटेर जनयुद्ध (जनमुक्ति सेना, हतियार, सत्ता) बेचिखाने प्रचण्डहरूको क्रान्तिकारी पाखण्डको मुकुण्डो उतार्दै कमरेड विप्लवले रोल्पा, रुकुमबाट सुरु भएको क्रान्तिलाई गन्तव्यसम्म पु¥याउने उद्देश्यका साथ जुन झन्डा उचाल्नुभयो, म र हामीजस्ता सम्पूर्ण चीज युद्धमा गुमाउँदै एक मात्र क्रान्तिको बाटोमा होमिएका नेता–कार्यकर्ताको नेतृत्व गर्दै एकीकृत जनक्रान्तिको नयाँ बाटो देखाउनुभयो हामी सहर्ष र निःसर्त उहाँलाई क्रान्तिको नेतृत्व स्वीकार गर्दै आज थबाङमा सम्पन्न आठौँ महाधिवेशनसम्म आइपुग्दा हाम्रो नेतृत्व र हाम्रो पार्टी नै अबको नेपालको क्रान्तिको एक मात्र विकल्प बन्न पगेको छ । राष्ट्रियता र जनतन्त्रको प्रश्नमा आज सबै दलालीको होडमा संसदीय व्यवस्थाका पुच्छरमा टँगेर क्रान्तिलाई असम्भव भनिरहेको बेला क. विप्लव र नेकपाले आज संसारभरका क्रान्तिभीरु शक्तिहरूको ध्यानाकर्षण गर्न सफल हुनुभएको छ । प्रचण्डको आत्मसमर्पण, बाबुरामको कम्युनिस्ट आन्दोलनबाटै भएको बहिर्गमन, माओपछिका क्रान्तिका असफलताहरू, साम्राज्यवादको अहिलेको अवस्था र चरित्र, भारतीय विस्तारवादको बदलिएको चरित्र, कम्युनिस्ट आन्दोलन र दर्शनमा विकास, न्यूनतम राजनीतिक कार्यक्रमबारे, कम्युनिस्ट अर्थतन्त्र, कम्युनिस्ट पार्टीको सङ्गठनात्मक सिद्धान्तमा विकास, आधुनिक प्रविधिको विकास, नगर समाजको विकास, नयाँ वर्गविश्लेषण, उत्पीडित जाति र जनजातिहरूबारे सही दृष्टिकोण, सर्वहारा सांस्कृतिक क्रान्ति, महान् स्टालिनको रक्षा आदिबारे क. विप्लवले जुन मान्यताहरूको विकासमा जोड दिनुभएको छ यो अहिलेसम्मका कम्युनिस्ट नेताहरूले नसोचेका नयाँ प्रस्तावनाहरू हुन् । यसर्थ पनि अबको क्रान्तिको नेतृत्व नयाँ पुस्ताले गर्छ भन्नेमा अब कुनै भ्रम छैन ।

त्यसैले क. विप्लवको यो विचारप्रति पूर्ण सहमत हुँदै प्रचण्डसँगको वैचारिक सङ्घर्षदेखि विद्रोहसम्म र किरणसँगको सम्बन्धविच्छेद हुँदै आठौँ महाधिवेशनसम्म आउँदा हाम्रो नेतृत्वले अगाडी सारेका प्रस्थापनाहरू बिल्कुल सही, वैज्ञानिक साबित हुँदै आएका छन् र यसको पछिल्लो आयामका रूपमा स्थानीय निर्वाचनको खारेज पनि हो । अबको सन्दर्भमा संसदीय लोकतन्त्रले बहिष्कारलाई पचाउने सिद्धान्त अपनाएकाले अबको सन्दर्भमा बहिष्कारलाई पनि विकास गर्नु आवश्यक छ । अबको संसदीय व्यवस्थाको सन्दर्भमा खारेजको अवधारणाले मात्र क्रान्तिकारी ओज ओगट्न सक्ने भएकाले नुवाकोटको पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सर्वसम्मतिबाट खारेजी अभियान तय गरेका थियौँ । त्यसै पार्टी नीतिलाई देशैभर लागू ग¥यौँ र खारेज अभियानलाई सफलतापूर्वक सम्पन्न ग¥यौँ । यसले एकीकृत जनक्रान्तिको कार्यदिशालाई सही र वैज्ञानिक भएको समेत प्रमाणित गरेको छ । यो स्पिरिटलाई थबाङका जनताले समाउन नसक्दाको घटना मात्र हो । थबाङमा स्थानीय रूपमा काङ्गे्रस– एमाले नभएको अवस्थामा माके नै मुख्य दुस्मन भएर आएकाले माकेलाई चुनावबाटै खारेज गरी ‘ मियाँ जुटी मियाँ कि सर पर’ को नीति अवलम्बन गर्न पुगे साथीहरूले । जो पार्टी नीतिविपरीत बन्न पुग्यो । यति कुराले थबाङ प्रतिक्रान्तिमा परिणत भएको भन्ने होइन, बरु थबाङले पार्टीनीतिको उचाइ पकड्न नसकेको मात्र हो । यसलाई थबाङले गम्भीरतापूर्वक सच्याउनु पर्दछ । यसलाई पार्टीले फेरि गम्भीरतापूर्वक सच्याउने प्रतिबद्धता गरेको छ ।

यी कुराहरूले थबाङ र नेतृत्व एकै ठाउँमा छन्, अलगथलग छैनन् । हिजो पनि क. विप्लव थबाङसँगसँगै हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि पनि रहिरहनुहुनेछ । थबाङको सहिद स्मृति भवन, सहिद मार्ग, जनकम्युन, मोडेल स्कुलका युद्धकालीन योजनाहरू क. विप्लवकै थिए भने भविष्यमा एक सङ्ग्रहालय र थबाङलााई एउटा नमुना गाउँ बनाउने योजना पनि नेतृत्वसँग छ । यो थबाङको क्रान्तिकारी इतिहासमा आधारित छ । थबाङका जनता र कार्यकर्ता विशेषतः युवा पुस्ताले सोच्नु पर्दछ । साम्राज्यवादका घोषित र अघोषित दलालहरू थबाङलाई क्रान्तिबाट बिछटाउन कथित शान्ति र विकासका नाममा लागिपरेका छन्, तिनको भ्रमबाट मुक्त हुन र सबै थबाङबासी जनता, पार्टीनेता र कार्यकर्तालाई आग्रह गर्दछु किनकि थबाङको सान र मान क्रान्तिमै छ ।

थबाङी जनताको इज्जत क्रान्तिमै छ । भविष्य पनि क्रान्तिमा मात्र छ । यो मर्म सबैले गहिरो गरी आत्मसाथ गरौँ ।

इराताेखाबरबाट ।

 

८ आश्विन २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको