स्पेनिस ला लिगामा बार्सिलोना र रियल मड्रिडको जित


असोज ८ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल मड्रिड दुवैले जित निकालेका छन् । बार्सिलोनाले ला लिगमा लगातार छैटौ कायम राखेको छ, भने यो सिजन स्पेनिस ला लिगा फुटबलमा खराब प्रदर्शन गरिरहेको रियल मड्रिडले जितको लय समातेको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३–० ले हरायो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे ।

दुई गोल भने बार्सिलोनाले उपहारको रुपमा पायो । १७ औं मिनेटमा गिरोनाका एडे बेनिटेजले आत्मघाती गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ४८ औं मिनेटमा पनि गिरोनाले आफ्नै पोस्टमा गोल गर्‍यो ।

गोर्का इराइजाजले आत्मघाती गोल गरेपछि बार्सिलोनाको अग्रता २–० मा पुग्यो । ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । जितपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । समान खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ ।

त्यसैगरि अवे मैदानमा शनिबार राति भएको खेलमा रियल मड्रिडले एलाभेसलाई २–१ ले हरायो । रियल मड्रिडको जितमा दुवै गोल डानी सेबालोस फर्नान्डेजले गरे ।

यो सिजन ला लिगामा दोस्रो खेल खेलेका क्रिष्टियानो रोनाल्डोले गोल गर्ने राम्रा प्रयास गरे तर सफल भने हुन सकेनन् । एलाभेसका लागि गार्सिया सान्चेजले एक गोल फर्काए ।

यो सिजन रियल बेटिसबाट रियल मिड्रड आएका डानी सेबालोसले आफ्नो पहिलो खेलमा नै दुई गोल गरेका हुन् । २१ वर्षका डानीले १० औं मिनेटमा गोलगर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा सान्चेजले एलाभेसका लागि बराबरी गोल फर्काए । तर त्यसको तीन मिनेटपछि डानीले व्यक्तिगत दोस्रो गोल गर्दै रियल मड्रिडलाई २–१ को जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।

रियलका कप्तान सर्जियो रामोस र रोनाल्डोले पनि गोल गर्ने अवसर बनाएका थिए । तर त्यसमा सफल हुन सकेनन् । खेलको अन्तिम तिर दुवै टिमले गोल गर्ने राम्रो प्रयास गरेका थिए । तर खेलमा थप गोल हुन सकेन ।

जितपछि ६ खेलबाट ११ अंक जोडेको रियल मड्रिड चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अंक भएको छ । राति नै भएको खेलमा सेभिल्लालाई २–० ले हराएको एथ्लेटिको मड्रिड १४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । १३ अंक रहेको सेभिल्ला तेस्रो स्थानमा छ । शनिबार राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओले मालागासँग ३–३ को बराबरी खेल्दै अंक बाँडेको छ ।

८ आश्विन २०७४, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको