प्रहरीको गोली लागी एक म्यादी प्रहरीको ज्यान गएपछि कालिकोटमा स्थानीयवासी र म्यादी प्रहरीले प्रदर्शन अझै जारी राखेका छन्। म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गर्दै भएको प्रदर्शनमा शुक्रबार गोली चलेपछि म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो। घटनाको विरोधमा स्थानीयले प्रदर्शन थालेपछि सदमुकाम तनावग्रस्त बनेको छ।
म्यादी प्रहरी र स्थानीयवासीले शनिवार बिहानैदेखि सदरमुकाम मान्ममा प्रदर्शन गरिरहेका छन्। घटनाको विरोधमा सदरमुकाम मान्म बजार बन्द छ। कर्णाली राजमार्गको कालिकोट खण्डमा यातायात अवरुद्ध भएको छ। स्थानीय बासिन्दाले गोली चलाउने प्रहरीलाई तत्काल कारबाही, मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई उचित क्षतिपूर्ति र म्यादी प्रहरीको माग सुनुवाई गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहने भन्दै उनीहरूले जिल्ला प्रहरी कार्यालयमा धर्ना पनि दिइरहेका छन्।
म्यादी प्रहरीको आन्दोलनमा स्थानीय बासिन्दालेसमेत साथ दिएका छन्। सुरक्षाका लागि सुर्खेत र जुम्लाबाट थप सुरक्षाकर्मी झिकाइएको स्थानीय प्रशासनले जनाएको छ। आन्दोलनकारीले राजमार्गमा टायर बालेर यातायात ठप्प पारेका छन्।
स्थानीय प्रशासनले गोली नभइ ढुंगा लागेर म्यादी प्रशरीको मृत्यु भएको भनेपछि जिल्लाका राजनीतिक दलहरुसमेत आक्रोशित बनेका छन्। जसका कारण दलहरूसँग स्थानीय प्रशासनको वार्चम सफल हुन सकेको छैन। अवस्था सामान्य बनाउन पहल जारी रहेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए। मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति उपलब्ध नभएसम्म आफन्तले शव नबुझ्ने अडान लिएका छन्।
मृतक म्यादी प्रहरी विवेक ऐडी पीडित संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ। मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, दोषीलाई कारबाही, घाइतेको निःशुल्क उपचार र म्यादी प्रहरीको माग पूरा हुनुपर्ने अडान संघर्ष समितिले लिएको छ।
यता प्रदेश ६ का प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले घटनाको बारेमा छानबीन भइरहेको बताएका छन्। उनले भने,‘घटना कसरी भयो भन्ने छानबीन भइरहेको छ, हामीले स्थानीय राजनीतिक दलसँग पनि छलफल गरिरहेका छौं। घटनाबारे सत्यतथ्य बाहिर ल्याउने छौं, हामी यसमा गम्भीर बनेका छौं, अन्नपूर्ण पोष्टमा खबर छ।’
हेर्नुहोस भिडियो
प्रतिक्रिया दिनुहोस