प्रदेश ५ को राजधानी बाँकेमा राख्न माग


कोहलपुर नगर विकास समितिले बाँके जिल्लामा प्रदेश नम्बर ५ को राजधानी तोक्नका लागि प्रस्ताव गरेको छ । कोहलपुर नगर विकास समितिको अगुवाइमा शुक्रबार कोहलपुरमा भएको अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष अवराज खड्काले नेपालगन्ज र कोहलपुरमा प्रदेश राजधानीका लागि चाहिने आवश्यक भौतिक पूर्वाधार प्रशस्त रहेको बताए । उनले सम्भाव्यता अध्ययन गर्नका लागि सरकारी टोलीलाई कोहलपुर तथा नेपालगन्ज आउन आग्रह गरे ।

६ अर्ब उपलब्ध गराउने प्रतिबद्धता
उनले कोहलपुर क्षेत्रमा मात्र ४१ वटा सरकार भवन उपलब्ध गराउन सकिने बताए । प्रदेश राजधानीका लागि कोहलपुर नगर विकास समितिले दुई सय बिघा जमिन तथा पूर्वाधार निर्माणका लागि ६ अर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता उनले जनाए ।

‘राज्यले कोहलपुरमा प्रदेश राजधानी बनाउने ग्यारेन्टी गर्छ भने नगर विकास समितिसँग भएको घडेरी बिक्री गरेर ६ अर्बभन्दा धेरै रकम उपलब्ध गराउने म प्रतिबद्धता जनाउँछु,’ अध्यक्ष खड्काले भने ।

उनले प्रदेश नम्बर ५ को राजधानी बन्नुपर्ने आफूहरूको पहिलो माग भए पनि विकल्पका रूपमा दाङलाई लिएको बताए । बुटवललाई प्रदेश राजधानी बनाइए मान्य नहुने उनको भनाइ छ । ‘सकभर बाँके होस् भन्ने हो । नभए दाङसम्म ठीक छ,’ उनले भने ।

बाँके र बर्दियालाई प्रदेश नम्बर ६ मा गाभ्ने चेतावनी
एमाले बाँकेका सचिवालय सदस्य सूर्य ढकालले बाँकेको जुनसुकै कुनामा पनि प्रदेश राजधानी स्वीकार्न सकिने बताए । उनले पनि बाँके नभए दाङलाई स्वीकार्न सकिने बताए । ‘बाँके नभए दाङसम्म ठीक छ । बुटबलमा राजधानी राख्ने विषय स्वीकार्न सकिँदैन । त्यस्तो भएको खण्डमा हामी बाँके र बर्दियालाई प्रदेश नम्बर ६ मा गाभ्ने गरी आन्दोलन चलाउँछौँ ।’

सो अवसरमा कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्र शर्माले बाँकेलाई राजधानी बनाउन सबै एकमत भएर आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए । उनले प्रदेश राजधानीका लागि चाँडै दबाब सिर्जना गर्नुपर्ने बताए । ‘पहिलेदेखि नै तयारी गर्नुपथ्र्यो, अहिले ढिला भएको हो कि जस्तो लागेको छ,’ उनले भने ।

नेपालगन्जलाई राजधानी तोक्न माग
नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जलाई नै प्रदेश राजधानी बनाउन माग गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष नन्दलाल वैश्य र महासचिव अजयकुमार टन्डनले जनताको पहुँचलाई ध्यानमा राखेर राजधानी तोक्नुपर्ने जनाएका छन् । ‘ऐतिहासिक नेपालगन्ज सहर विगतदेखि नै जनताको पहुँच भएको सहरका रूपमा परिचित छ । पश्चिम नाकाको प्रवेशद्वारसमेत रहेको औद्योगिक सहर नेपालगन्ज पूर्वाधारको हिसाबले पनि प्रदेशको केन्द्र बनाउन सक्षम छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सामथ्र्य र पूर्वाधार सबै अनुकूल भएको सन्दर्भमा प्रदेश नम्बर ५ को राजधानी नेपालगन्जलाई बनाउन नेपालगन्ज उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ, नयाँ पत्रिकामा खबर छ ।’

८ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको