कथित वाम गठबन्धनको नाममा उस्तै कुर्सिको खेल : फेरी आलोपालो


वाम गठबन्धनले स्थायी सरकार र आर्थिक समृद्धिको नारा दिएर चुनावमा भोट मागेको थियो। तर बाम गठबन्धनको नाममा पुनः उस्तै अस्थिर सरकार बन्ने र केवल कुर्सिको खेल हुने संकेत देखिदै छ । फेरी आलोपालो गरि प्रधानमन्त्री हुने सहमति भएको दाहालले बताएका छन् । वाम गठबन्धन बन्ने बेलामै यस्तो सहमति भएको दाहालले दाबी गरेका छन्।

सत्ता साझेदारको नाममा फेरिपनि आलोपालो प्रधानमन्त्री बन्ने कुराले आजित बनेर स्थिर सरकारका लागि भोट दिएका जनताहरुमा फेरी उस्तै निरासा फर्किएको छ । बाम गठबन्धनको मूल उदेश्य नै ५ वर्ष सम्म स्थिर सरकार बनाउने भन्ने थियो तर उही पद र कुर्सिको खेलो हुने देखिन्छ ।

एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल हुँदै पार्टी एकतासम्म पुग्नेगरी ६ बुँदे सहमति भएको थियो। यसअघि ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व, अर्कोले सरकार हाँक्ने सहमति भएको गाइँगुइँ चल्दै आए पनि सरकारै आलोपालो चलाउनेबारे कुनै चर्चा सार्वजनिक भएको थिएन।

शुक्रबार भरतपुरमा उनले त्यो ‘सत्ता-सहमति’ बारे पहिलोपल्ट खुलाए। ‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै हो,’ दाहालले भरतपुरको पत्रकार सम्मेलनमा भने, ‘पार्टी एकता संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ।’

गठबन्धन बनाउन अग्रसर एमाले उच्च तहका नेताहरूले ओली-दाहालबीच आलोपालो सत्ता चलाउने कुनै सहमति नभएको दाबी गरेका छन्। ‘त्यस्तो कुनै सहमति भएको छैन, छिनछिनमा सरकार फेरिने नियतिबाट देशले मुक्ति पाउनुपर्छ’, एमालेका एक उच्च नेताले भने, ‘कार्यकर्ता थामथुम पार्न उहाँले त्यसो भन्नुभएको होला।’ पार्टी एकता भइसकेपछि त्यस प्रकारको आन्तरिक सहमति बन्न सक्ने सम्भावना भने रहेको ती नेताले जनाउ दिए।

के थियो सहमतिमा ?

दाहालनिकट माओवादी एक नेताको दाबीअनुसार सरकारको सुरुवाती तीन वर्ष ओलीले नेतृत्व गर्नेछन्, दाहालले एकीकृत पार्टी हाँक्नेछन्। बाँकी दुई वर्ष दाहाल प्रधानमन्त्री बन्नेछन्, ओलीलाई पार्टीसत्ताको बागडोर मिल्नेछ। सहमति निर्माणमा अग्रसर एमाले नेता वामदेव गौतमले केही दिनअघि यसको संकेत दिए पनि ओली पक्षले अहिलेसम्म औपचारिक रूपमा सकारिसकेको छैन। बरु गठबन्धनले ६ बुँदेको चौथो बुँदामा ‘सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने’ सहमति गरेको थियो।

 

सहमतिका सूत्रधार रहेका माओवादी केन्द्रका अर्का नेताले एक चरणको सहमति ‘पहिल्यै भइसकेको’ भए पनि त्यसमा थप छलफल गर्ने वातावरण मिलिनसकेको बताए। उनको भनाइमा, माओवादी केन्द्र अब एमाले नेतृत्वले दिने जवाफको पर्खाइमा छ। उनीहरूले त्यसका लागि पार्टी एकता संयोजन समितिको निर्णय प्रतीक्षा गरेका छन्।

एमाले सचिव प्रदीप ज्ञवालीले माघभरिमा पार्टी एकता टुंगो लाग्ने प्रतिक्रिया दिए। ‘धेरै ढिलो नजाला, पहिले केन्द्रीय समिति बसेर अनुमोदन गर्नुपर्‍यो,’ ज्ञवालीले भने, ‘हामी त्यसैका लागि तयारी गरिरहेका छौं।’

चुनावी जित निकालेपछि एमाले महासचिव ईश्वर पोखरेलले अब एकीकृत पार्टीको अध्यक्ष नै संसदीय दल नेता र प्रधानमन्त्री हुने भनी दिएको टिप्पणीले माहोल गर्माएको थियो। पोखरेलको टिप्पणीले माओवादी पार्टीवृत्तमा ‘लतारिएर एकतामा जान नहुने’ मत प्रभावी बन्न थालेको छ। यससँगै विगतयता पटक-पटकका भद्र सहमति उल्लंघन हुने सिलसिला फेरि दोहोरिने त होइन भन्ने आशंका दुवै दलको नेतृत्वबीच पैदा भएको छ।

माओवादी नेता नारायणकाजी श्रेष्ठले शीर्ष नेताबीच अरू पनि कुराकानी भएको हुन सक्ने संकेत गरे तर प्रस्ट खुलाएनन्। ‘मूल कुरा अहिले पार्टी एकता प्रक्रिया सफल पार्नु छ, अनि सरकारलाई परिणाममुखी बनाउनु छ,’ श्रेष्ठले भने, ‘बाँकी कुरा आपसी सहमतिमा टुंगो लगाउँदै जाऔंला।’ माओवादीले एमालेसँग एकताको नाममा ‘पार्टी विलय गरेको’ सन्देश जान नहुनेमा दाहाललाई दबाब दिन थालेको छ, आजको अन्नपुर्ण पोष्टमा खबर छ।

प्रकाशित मिति २०७४ पुष ८

८ पुष २०७४, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको