रेश्मी लामिछाने/पोष्टपाटि
‘सर पाँच मिनेट जाम ?’
‘मेरो देश नेपाल जैविक विविधताको खानी हो…….. ’ मुख आँ गर्दै गणेश सरले लालेलाई पुर्लक्क हेर्छन । आज शुक्रबार, कक्षा ३ मा उनी ‘मेरो सेरोफेरो’ पढाइरहेका छन् । उनको हेराईमा रिस र छक्क दुवै प्रष्ट रुपमा लाले लगायत कक्षाका सबै छात्रछात्राले देखे ।
लाले ४५ मिनेटको कक्षामा २ चोटी पिसाब फेरिसकेको छ । यो तेस्रो पटक हो त्यसैले पनि गणेश सर छक्क परेका छन । र गणेश सरलाई पढाइरहेको बेला कसैले बोलायो भने के भन्न लागेका त्यो सबै भुसुक्कै बिसिन्छन त्यहि भएर पनि हुनसक्छ उनी लालेसँग रिसाएका छन् ।
गणेश सर अल्छी लाग्दा देखिन्छन । खिन्न देखिन्छ यिनको अनुहार सधैँजसो । सबैले यिनको कुरा काट्दै भन्छन यी भोलि पढाउने पाठको तयारी अघिल्लो रात गर्छन रे त्यहि भएर पनि यिनले पढाउने तरिका बच्चाको जस्तो छ । सबैभन्दा झ्याउ कक्षा गणेश सरको छ भन्ने गाइगुई सबैले गर्छन तर गणेश सरको कुम पछाडि मात्र अगाडि त यिनलाई कसैले केहि भन्न सक्दैन् । स्थानीय समितिले चयन गरेको शिक्षकमा पर्छन यिनी पनि । यिनको खोई मामाको ज्वाई पर्ने काठ्माडौंमा नेतागिरी गर्छन रे र तिनै मामाको ज्वाईले स्थानीय समितिमा प्राथमिक विद्यालय खोल्नको लागि बजेट पास गर्न निक्कै पापड बेलेको भएर गणेश सरको मामाले अल्लारिएर हिडेको एक्लो भान्जालाई विद्यालयमा घुसाएका रहेछन् ।
सरले के भन्नुहुन्छ भनेर ट्वाल्ल परेर हेरेको लालेलाई गणेश सरले टाउको हल्लाएर बाहिर लखेटे । शुक्रबारको दिन प्राय गरेर विद्यालयमा सबै विषयका कक्षा संचालन हुँदैनन् । आज पनि पहिलो कक्षामात्र संचालन हुन्छ त्यसपछि विद्यालयका सम्पुर्ण विधार्थीहरु आफ्ना आफ्ना काममा खटिनेछन । शुक्रबार जहिलेपनि विद्यालयमा सरसफाई कार्यक्रम हुन्छ । शुक्रबारको दिन जहिले पनि पहिलो विषयको मात्र कक्षा संचालन हुन्छ । कक्षा ३ मा ‘मेरो सेरोफेरो ’ को कक्षा हुन्छ र जुन कक्षाकोठाका राजा गणेश सर हुन् । ५ मिनेट भनेर गएको लाले ७ मिनेटमा कक्षामा आईपुग्छ । ऊ कक्षामा छिर्न खोज्दा पहेंलो रंगको स्वीटर लाएका कमेरो रंगको सट आइरन पनि नगएिको कपडाको पाइन्ट भन्दा बाहिर निकालेका, मेरो सेरोफेरो र डस्टर हातमा च्यापेरका गणेश सर बाहिर निस्किन्छन् । ‘आइस सन्ठी ’ भन्दै लालेलाई दिक्क मानेर हेर्दै अफिस कोठातिर लाग्छन् ।
लालेलाई बाले यसपालिको जाडोमा पनि एउटा हाइनिक पनि थपिदिएनन् । परारदेखिको पुरानो हाइनिक पनि हिजो बाटोमा खेल्दै जाँदा खाल्डोमा परेर आमैले धोइदिएकीथिन । त्यहि भएर आज हाप बाउले सटमा स्कुल आको लाले ५ मिनेट धाउदैमा दिक्क भाछ ।
स्थानीय समितिले २ वर्ष हात जोडेपछि पाएको बजेटले पनि विद्यालय पुर्ण रुपमा बनेको थिएन् । १ देखि ३ कक्षासम्मका कक्षाकोठाका भुँइमा सिमेन्ट लगाएको छैन् खालि भित्तोमात्र सिमेन्ट र इट्टाले बनाइएको छ भने झ्यालको ढोका पनि थप्न बाँकी नै छ । ४ र ५ कक्षामा भने भुइँ सिमेन्टकै थियो भने झ्यालको हालत सानो कक्षाहरुकै जस्तो ।
लाले कक्षाभित्र छिर्छ र सबैको किताब कापी एकै ठाउँमा भेला पार्दै आइरहेको गोपाललाई दिन्छ र भन्छ ‘ओइ तेरो र मेरो किताब सँगै राख है हराउछ फेरि सानेको जस्तै ’ सबैको किताब कापी टिप्दै हिडेको गोपालको अनुहार लालेको कुराले तर्सिएझै हुन्छ र केहि नबोलि टाउको मात्र हल्लाएर बाहिर निस्किन्छ ।
कक्षा ३ मा जम्मा २० जना विधार्थी छन् जसमध्ये केटी जम्मा ८ जना छन् । केटाहरु कोही नजिकैको विद्यालयको बीचमा बनाको पानीको कलमा पानी भर्नतिर जान्छन् कोही डेस्कबेन्च बाहिर निकाल्न थाल्छन् । पाँचवटा कक्षाकोठा र एउटा अफिसले घेरेको सानो चौरमा एउटा कदमको सानो बोटपनि छ जुन पानीको कल नजिकै छ । गोपालले बटुलेर लगेको सबैको किताबकापी कदमको फेदमुनी बोरा ओछ्याएर मिलाएर राख्छ । अरु कक्षाका साथीहरुले पनि त्यसरीनै राखेका छन् ।
लाले भने पानी छुनको अल्छीले डेस्क बेन्च बाहिर निकाल्नतिर लाग्छ । सदाको जस्तै सबैले डेक्स जति कक्षाकोठाको बाहिरपट्टि राख्छन र बेन्चमात्र चौरतिर लगेर मिलाएर राख्छन् । केटीहरु भने नजिकैको घरतिर जान्छन् । विद्यालयको आसपासमा केही घरहरु छन त ती घरमा गाईभैसी पालेका छन् । शुक्रबारको दिन गोठमा गोबर भरिएको हुन्छ । विद्यालयमा आज सरसफाई हुन्छ भनेर वरपर सबैलाई थाहा छ । कक्षा ३ का मालती, सिता आज आएका छैनन् । पुनम,निता र शर्मिला गोबर लिएर आउछन र पार्वती, राजमति र संगिताको कक्षा लिप्ने पालो परेको छ ।
कसैलाई यो काम गर भनेर भन्नुपर्दैन । सबको भागमा काम परेपछि फटाफट काम सकिन्छ नभए बाँसको छडि लिएर बसेका उमाकान्त सरले ठाउँको ठाउँमै ५ मिनेट निकाल्दिन्छन् ।
बेन्च मिलाएर बसेका लाले, गोपाल, साने वरिपरि पलाएको झार टिप्न थालिसके । अरु कक्षाका साथी, दाई दिदीहरु पनि उसैगरि झार उखेल्न आईसके ।
विद्यालयको ठुलो चौर पनि छ जहाँ फुटबल पनि खेलिन्छ । प्रत्येक साताको शुक्रबार सबै काम सकिएपछि कुनै न कुनै खेल खेलाइन्छ । आज भने ठुलो चौरको सफाई मात्र हुन्छ । आज भित्री सानो चौर मै अरु खेल हुनेवाला छ ।
गोबर ल्याएर कक्षामा छोडेका पुनम, निता र शर्मिला ठुलो चौरतिर लाग्छन् । सबै कक्षाका विधार्थीहरु समुह मिलाएर ठुलो चौरमा कुरो घाँस टिप्न आएका छन् । यो घाँस पाकेपछि एउटै सुइरोमा सर्लक्क बढ्छ र यसको टुप्पोमा भाको काँडाजस्तो कुरो स्कट र पाइन्टमा अल्झेर बस्छ । कैलेकाई त टिप्नै नमिल्ने ठाउँमा अड्केर बस्छ । हरि सरलाई पनि आपतमा पारेछ यो सानो कुरो घाँसले । साइकल चढेर आउने हरि सरलाई साइकल चढेपछि सारो घोचेछ ढाँडमा । पछाडि बसेको उनको छोरोले बाबालाई समाउदा झनै सकस परेछ सरलाई । पछाडिपट्टि निकाल्न नमिलेपछि लुगामै मात्र होला भनेर बेवास्था गरेका सरलाई १५ दिनसम्म पनि दुखाइले सताएपछि मेडिकलनै गएर ढाँडमा बिझेको कुरो निकाल्नुपरेछ । त्यसपछि त शुक्रबार आयो कि हरिसर ठुलो चौरतिरै भेटिन्छन । खोजिखोजि उखेल्न लाउछन विधार्थीहरुलाई त्यो कुरो घाँस । उखेलेको कुरोलाई सुकाएपछि यसले आँगन बढार्न पनि मिल्छ । विद्यालयका कक्षाकोठामा यहि घाँसको कुचोले सफा गरिन्छ ।
चौरमा कक्षा ३ का केटाहरुपनि आएका छन् । आफ्नो आफ्नो कक्षाको लागि सबैले उखेलेको घाँस एकै ठाउँमा राख्छन् । चन्द्रेर र धने पनि केटाजतिले उखेलेको कुरो घाँस लिएर आउँछन । निता अरुभन्दा जेठी छे । कक्षामा सबै ८ वर्षसम्मका छन भने निताले १ दशक पार गरिसकेकी छे । सबैभन्दा ठुली अनि सबैभन्दा कामचोर पनि उही छे । चन्द्रे र लालेलाई भेट्ने बितिक्कै कान मोलिहाल्छे । आज चन्द्रे एक्लै पर्यो । डराइडराइ उखेलेको कुरो छोडेर जान लाको चन्द्रेको कान समाइहाल्छे निता । त्यतिकैमा हरि सरलाई देख्छे र हत्त न पत्त चन्द्रेलाई छोडेर सरतिर हेरेर निचिक्क हाँस्छे । हरि सर आँखा तर्दै अर्कोतिर लाग्छन् । चन्द्रे हरि सरलाई हनुमान जस्तै देख्छ र मनमनै ढोगेर टाप ठोक्छ ।
आज राजमति, पार्वती र संगिता मिलेर कक्षाकोठा लिपेको भएर होला सफा अनि चिटिक्क भाछ । यिनीहरुले लिपेको दिन कति चाँडो भुँइ सुक्छ । कुरो उखेलेर आएका निता, पुनम र शर्मिला कानेखुसी गर्दै झ्यालमा बाँधेको कुरोको बिठो राख्छन् । यिनीहरुलाई डाह हुन्छ चिटिक्क पारेर लिपेको भुँइ देखेर । गएको शुक्रबार त हिलैहिलो भाको थियो लिपेको ठाउँमा पनि । डेस्कबेन्च राख्नेबेला सम्म नै सुकेको थिएन कक्षाकोठा । सबैभन्दा ढिलो विद्यालयबाट ३ कक्षाका विधार्थी निस्केका थिए त्यो दिन । आज भने खेल सुरु हुनुभन्दा अगाडि नै कक्षाकोठा सुकिसक्यो । निता,पुनम र शर्मिला मनमनै डाढे भएका छन मैले कहिले यस्तो चिटिक्क पारेर लिप्नु अनि सरको स्याबास पाउनु भनेर । सरसफाईको काम राम्रोसँग गर्नेलाई हप्तैपिच्छे विद्यालयले कपि र कलम दिने गरेको छ । ३ कक्षामै आएर राजमतिले ४ वटा ‘याक कापी’ पाइसकि । निता र शर्मिला जहिले पनि राजमतिले पाएको याक कापीमा आँखा लाउछन् । हिमाल मुनी चौरी गाईको फोटो भाको याक कापी २०० पेजको बाक्लो छ । २०० पेजको कापी पाउन कि त खेलकुलमा पहिलो हुनुपर्यो कि त कक्षाकोठा लिप्नमा । दुवैमा पछाडि छे शर्मिला तर अक्षर भने सबैको भन्दा राम्रो हुन्छ । सधै उसको हातमा स्टारलाइन कलम मात्र थमाउछिन जानकी मेडम । शर्मिलाको घरमा दाईदिदीले पनि कलम किन्नुपर्दैन ।
आज पनि सबैजना विधार्थीहरु भेला भइसकेका छन् । विद्यालयको सानो चौरमा । सबै कक्षाका विधार्थीहरु आफ्ना आफ्ना बेन्चमा बसेका छन् । आज महेश्वर सरको पालो परेको छ खेल कार्यक्रम संचालन गर्ने । उनको हातमा कागजको सानो सानो टुक्राहरु छन् । अफिस कोठाको टेबल पनि बाहिर निकालिएको छ र त्यसलाई बीचमा राखिएको छ । महेश्वर सर अरु सरहरु भन्दा धेरै चिटिक्क भएर आउछन् । सुहाउँदो कपडा लाउछन् । जहिले पनि उनको गाला चिल्लो देखिन्छ । कपाल पनि धेरै बढ्न दिदैनन् । छुँदा पनि दाग लाग्छ कि जस्तो भएर हिड्छन् । आज पनि लेदरको ज्याकेट लाएका छन कालो रंगको, पाइन्ट पनि आइरन गरेर आएका छन सँधैको जस्तै । कालो वर्णका महेश्वर सरलाई कालो जुत्ता, कालो पाइन्ट कालै ज्याकेटमा पनि हिस्सी देखिएको छ ।
हातमा बोकेको ५ वटा कागजका टुक्रा महेश्वर सरले टेबलमा छर्छन् । पाँच कक्षा सम्मका पहिलो विधार्थी टेबलको वरिपरि बसेका छन् । लाले पनि अघि सरेको छ हेर्नलाई गोपालको हातमा के पो पर्छ भनेर । सबैभन्दा पहिले कक्षा १ कि सानुमायाले एउटा टुक्रा टिप्छे , त्यसपछि कक्षा २ को सौरवले अर्को टुक्रा टिप्छ । आफ्नो पालो कहिले आउला भनेर कुरेको गोपाल पनि सानो काजगको टुक्रा टिपिहाल्छ । त्यसैगरि सरिता र यादवले पालो पालो गरि टिप्छन् । यसरी टेबलमा छरेको कागजका साना टुक्रा ५ जनाको हातमा पुग्छ ।
सबैले पट्याएको कागजको टुक्रा खोलिसकेका छन् । कसलाई के परेको छ भनेर चाहि ५ कक्षाबाट क्रमश तल्लो कक्षासम्म हेर्न सुरु हुन्छ । कविता भन्ने, गाउँखाने कथा भन्ने, गीत गाएर नाच्ने, चुकिला भन्ने, कथा भन्ने । सरसर्ति महेश्वर सरले पाँचै जनाको हातको कागजको टुक्रा हेर्दै पालै पालो पढ्छन् । सबै कक्षाका विधार्थीहरु मुखामुख हेर्दै कोहि जिब्रो टोक्छन्, काहि हास्छन, कोही अध्याँरो मुख लाएर रुँला झै गर्छन् । गोपाललाई हेरिराको लाले चाँहि रुँला झै गरेको छ आज । हिजो नै कक्षाकोठामा सल्लाह भइसकेको थियो कि नाच्ने पालो पर्यो भने लाले र निता नाच्नुपर्छ भनेर । लालेले आज भगवानलाई खुबै जपेको थियो तर भगवानले लालेको कुरै सुनेनन् ।
सानुमायाले हजुरआमाले उसलाई सुनाउने गरेको सुनकेशरी रानीको कथा सुनाइसकि । सौरवले पनि रामेको पैसा हराएरको र श्यामेले त्यो पैसा टिपेको चुटकिला पनि सुनाइसक्यो । कक्षा ३ को पालोमा अब गीत गाएर नाच्नुपर्ने भएकोले सबैजना सामेल हुनुपर्ने देखियो । कक्षाका सबैजना एकठाउँमा जम्मा भएर गाउने सुरसार गर्दैछन लाले भने निताको छेउमा उभिएको छ । निताले उसलाई खाउलाझै गरेर हेरेकी छे । अघिनै पर लगेर टाउँको कुइँयाउदै भनिसकेकी छे ‘नराम्रो नाचिस भने जान्या छु ’ । उसलाई आज तेसै त जाडोले तुरतुरे लाको छ तेहि माथि निताको धम्कीले उसको सास बढिसक्यो । ५ मिनेट लागेको पनि ५ मिनेट भइसक्यो फेरि पालो पनि आइसक्यो । उसले आज जति भगवानलाई कहिल्यै जपेको छैन् ।
‘ रातो टिका निधारमा टलक्क टल्कियो छातिभित्र मायको आगो सल्कियो , ए बिजुली तारतारतारतार फुर्सद भए ए हजुर भेटौ शनिबार ’गीत सुरु हुनेबित्तिक्कै लाले र निता नाच्न सुरु गछन् ।
एकछिन पछि परसम्म सुनिनेगरी तालि बज्छ । लाज र डरले गाला रातो बनाको लाले सरलाई भनेर ५ मिनेट दौडिन्छ । लाले आइसक्दा सरिता र यादवले कविता र गाउँखाने कथा भनिसकेका छन् ।
आज लाले गमक्क छ । आज उसको हातमा याक कापी छ र निता पनि मख्ख छे उसलाई संसार जितेजस्तै भाको छ । सँधै राजमतिको याक कापी हेर्दै डाह गर्थि आज उसको हातमा उसलाई नै मनपर्ने निलो रंगको कापीमा हिमाल र याक देखेर मख्ख छे ।
प्रतिक्रिया दिनुहोस