जन्म दिएर छोडी जाने आमालाई छोरीको चिठ्ठी


प्यारी आमा,

आमा कुन शबदले सम्बोधन गरूँ ? म नेपाली ब्याकरणमा  हजुरलाई सम्बोधन गर्ने कुनै शब्द भेटेकी छैन । यो पहिलो पत्र हो हजुरलाई लेखेको । हजुरले छोडेर गए देखि मैले सिकेको यहि हो नयाँ कुरा, मैले चिठ्ठी लेख्न सिकेको छु नि ।

 

देशको अबस्था र यहाँको बेरोजगारको समस्याले म, मेरो बहिनि र सिंगो परिवारको भविष्यको लागि भनेर बुबाले बैदेशिक रोजगारको सिलसिलामा हामीलाई सानैमा छोडेर जानु भयो । त्यसपछि हजुरले पनि बहिनि र मलाई छोडेर अन्त कतै जानु भयो । कुन स्वार्थले जानु भो, बहिनि र मलाई यहाँसम्म की बुवालाई पनि अझै थाहा हुन सकेको छैन । आमा, धेरै समयपछि हजुरलाई पत्र नकोरी  मेरो मनले मान्दै मानेन ।

 

आमा हजुरको काख प्यारो थियो । हजुरको काखमा सुत्दा लागेको जस्तो निद्रा म कहिलै बिर्सिन सक्दिन । तर चटक्कै भुलेर अन्तै बसाई सर्नु भो । आज न बुवाको साथ छ, न आमाको काख नै छ । तर अहिले अंकल र आण्टीको साथमा हांसीखुसि नै छौं ।

 

हजुरले हामीलाई जन्म त दिनु भयो तर हामीलाई कर्म दिन सक्नु भएन । हाम्रो लागि बुवा र आमा दुबै हजुर नै हुनुहुन्थ्यो । किन आमा, बहिनि र मवाट के त्यस्तो भुल हुन गयो जसले गर्दा हजुरले हामीलाई यसरी माया मार्नु भयो ?
बुबाले राखेको घरबाट  विरालोले आफ्ना वच्चाहरुलाई सारे झैं सार्दै सार्दै  अन्तिममा हामीलाई सडकको वास बनाएर जानु भो । त्यो कुरा बुवालाई के थाहा ? भाडाको घर भएपनि मेरो बुवाले राखेको घर आफ्नै घर जस्तै थियो । आफ्नो निजि स्वार्थको लागि  त्यो घरलाई छाडेर मामा घर लिएर जानु भो । हामीले पढेको स्कुलबाट छुटाएर हजुरले हामीलाई सडकमा छाडेर कता जानु भो कता ? त्यतिबेला हजुरले माइतमा कपडा लिन जान्छु भनेर जानु भएको थियो । कुन अन्तरिक्षमा हो र हजुरले कपडा लिन जानु भएको ठाउँ ?

 

अहिले म अलि बुझ्ने भइसकेको छु । मलाई थाहा छ, हामी हजुरको लागि घाँडो भईसकेका थियौं । हजुरले अलपत्र पारेर छोडेपछि अंकल र आन्टीले आफुसंग लिएर जानु भयो र आजभोली हामी उहाँहरुसंग संगै बसिरहेका छौं । यति पनि सोच्नु भएन, यी नावालक बच्चाहरुको हालत के होला ? हजुरले नवलपरासीबाट पाल्पा ल्याएर छोड्नु भयो ।

 

केहि महिनासम्म हामी बुवा भन्दा पनि हजुरलाई खोज्थ्यौं तर हजुरले त माया मारिहाल्नु भएछ । नौं महिनासम्म गर्भमा राखेर जन्माएको छोराछोरीलाई यसरी अलपत्र पार्दा हजुरको मन अलिकति पनि बिचलित भएन है आमा ?

 

हजुरलाई कस्तो छ ? अहिले हामी यहाँ खुसी र सुखी छौं । हामीलाई सवै पुग्दो छ । हजुर बुवा र हजुर आमा, अंकल र आन्टीको  काख साच्ची नै हजुरको भन्दा कम छैन जस्तो अनुभूति भईरहेको छ । अब हामीले बुवाको वाटो हेरर बसेका छौं । हजुरको वाटो हेरेर बसेकै हो, आउंदै आउनु भएन । अब आश पनि छैन ।  साल बिति सक्दा पनि कपडा लिएर फर्किनौ । हाम्रो बुवाले खुन पसिनासंग साटेको पसिनाको बुँद माटोमा मिलाउने हजुरलाई म कहिलै माफी दिने छैन ।

 

मलाई आज पनि याद छ, बुवाले फोनमा भन्नुभएको कुरा, ‘छोरी, चारो खोज्न चरी धेरै परसम्म पुग्छ तर राती बाँस बस्न त आफ्नै गुंडमा फर्की आउँछ’ । बुवाको आशा छ, हजुर त आफ्नो बचेराहरुलाई गुंडमै छोडेर लापट्टा हुनु भयो । निष्ठुरी आमा । सुन्दै छौं, तपाईं आजभोली खुल्ला आकाशमा उडिरहनु भएको छ रे । यतिले पनि पुगेन हजुरलाई । हाम्रो राम्रो शिक्षा र उज्वल भबिस्यको लागि प्रदेसिएको बुवालाई संधै झुट बोलेर अन्धकार भुमरीमा राख्नु भयो । पहिले पहिले पनि बुवासँग सत्य बोल्न हामीलाई मौका समेत दिनु भएन हजुरको पिटाईको डरले हामी बुवालाई झुट बोल्न बाध्य थियौं । आज यहि पत्रमा बुवासँग कहिलै झुट नबोल्ने बाचा गर्दै छु । बुवा, भुल भयो, माफी चाहन्छु । हामीले समयमै हजुरलाई साँचो कुरा पुर्याउन सकेनौं ।

 

बुवा, हजुरले कहिलै साँचो कुरा सुन्ने मौका पाउनु भएन । आमा, हजुरलाई पनि याद होला, म र बहिनीलाई केहि कुराको कमि हुन नदिनु भनेर बारम्वार भन्नु हुन्थ्यो तर हजुरले आफु मात्रै कसरी कामुक र सुन्दर देखिने कुरामा बढी ध्यान दिनु भयो । कहिलेकाही बहिनि र मैले कापी कलम वा चप्पल हरायो या चुँडियो भने तपाईंले केहि खान दिनु हुँदैनथ्यो । घर भित्र छिर्न दिनुहुन्न थियो ।

 

बुवा विदेश हुँदा हजुरले तीनवटा सिम चलाउनु हुन्थ्यो । एकपटक उहाँ छुट्टी आएको बेला तपाईंले सिम लुकाएर राखेको ठाउँ देख्नु भयो र कसको सिमाहरु भनेर हजुरलाई सोध्नु भयो । तपाईंले आलटाल गरेको याद छ । हजुर आमालाई चाहिं बुवाको लागि किनेर राखेको भनेर जवाफ दिनु भएको थियो । यदि त्यो हुन्थ्यो भने हजुरले किन बुवा आउने बित्तिकै सिम दिनु भएन ? हजुरले महिनादिनसम्म दिनु भएन । तर झुट धेरै दिन कहाँ टिकिरहन्थ्यो र ? टिकेन ।

 

बुवाले पत्ता लगाउनु भो । त्यसपछि उहाँ निरास हुनुभयो । तर उहाँले आफ्नो कर्तब्य कहिलै भुल्नु भएन । छुट्टी सकिसकेपछी उहाँ विदेश फर्किने वेलामा भन्नु भयो, अब हामीले आफ्नै घर बनाउने छौं र साइकल पनि चढ्ने छौ । एक महिनापछि बुवाले फोन गर्नु भयो, ल भोली तिम्रो आमाले साइकल किनिदिनु हुन्छ । भोलिपल्ट हजुर बजार जानु भयो तर साइकल किनिदिनु भएन । बुवाले देखाएको साइकल चढ्ने सपना त्यसै अधुरो भयो ।

 

समय बित्दै थियो, तपाईंमा धेरै परिवर्तनहरु देखिन थाले । बुवाको फोन आउँदा तपाईंले कल रिसिभ गर्न पनि छोडिदिनु भयो । मलाई याद छ, एकपटक तपाईंले फोन उठाउनु भयो र तपाईंले साइकल किनिदिएको छु भनेर झुट बोल्नु भयो बुवासँग । तपाईंले त झुट बोल्नु भयो नै, हामीलाई समेतझुट बोल्न बाध्य पार्नु भो ।

 

बुवाले बहिनि र मलाई असाध्यै माया गर्नु हुन्थ्यो । तपाईंले झुट बोल्न लगाएको कुरा सायद उहाँले थाहा पाउनु भएको हुन सक्छ, त्यसैले उहाँले भिडियो कल गरेर साइकल हेर्न चाहनु भयो । त्यसपछि तत्कालै हजुरले बुवालाई इमो, भाईवर, व्हटसअपसवैमा ब्लक गरेर नयाँ सिम चलाउनु भो । घन्टौं मोवाइलमा बिताउनु हुन्थ्यो । हामी भोको छौं वा खाएका छौं तपाईंलाई कुनै मतलव थिएन जस्तो ।

हामीलाई के थाहा हजुरको यत्रो जाल  ? एक दिन राती ट्वाइलेट गर्न ब्युझिएँ ‘सानीलाई त वास्ता छैन, ठुलीले खोज्छे को हो भन्छे’ । यहि शब्दले ट्वाइलेट नै नगरी सुतें । हजुरले बुवालाई धोका दिइरहनु भएको थियो । हजुरको काला कर्तुतहरु बिस्तारै छताछुल्ल भएपछी लाज छोप्न अनेकन प्रयासहरु गर्नु भयो । किन आमा, हजुरले हामीलाई किन धोका दिनु भयो ? हामीवाट तपाईंलाई के अपाय भयो ? यो जवाफ हामीले कहिले पाउँछौं ?

 

आमा, लेख्ने कुराहरु धेरै थिए तर आज होमवर्क धेरै छ । बहिनीलाई पनि पढाउनु छ, त्यसैले आजलाई यति मात्र लेखें । फेरि अर्को पत्रमा भेट्ने बाचाका साथ आजलाई बिदा चाहन्छ । हजुरले माया मारेपनि आमा त आमै हो नि, होइन र ?

उहीँ तपाइकी अभागी छोरी
अश्मि जि.सी.

 

 

६ मंसिर २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको