काठमाडौं : चार वर्षअघि वैदेशिक रोजगारीका क्रममा कतार पुगेका ताप्लेजुङ खेवाङका भुवानीप्रसाद भट्टराईले त्यहाँ रहँदै अमेरिकाको डिभी चिठ्ठाको फर्म भरे । लहैलहैमा फर्म भरेका भुवानीको चिठ्ठा पर्यो । वनमै नसोचेको सफलता पाएपछि भुवानी अमेरिका उड्न गत फूलपातीमा नेपाल फर्किए । तर, अमेरिका उड्न उनको धेरै ‘प्रोसेस’ बाँकी थियो ।
डिभी चिठ्ठा विजेताले अमेरिका जान प्लस टु पास गरेको शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने थियो । एसएलसीसम्म अध्ययन गरेका ३८ वर्षीय भुवानीलाई फसाद पर्यो । तर, नक्कली शैक्षिक प्रमाणपत्र बनाइन्छ भन्ने उनले सुनेका थिए । यसैकोे खोजी गरी उनले ९० हजार तिरेर प्लस टु पास गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाए । सोमबार बिहान नौ बजे उनलाई अन्तिम अन्तर्वार्ताका लागि नेपालस्थित अमेरिकी राजदूतावासमा बोलाइएको थियो।
त्यसअघि नै उनले आफ्नो शैक्षिक प्रमाणपत्र बुझाइसकेका थिए । अन्तर्वार्ताका लागि निकै तयारी गरेर दूतावास पुगेका भुवानी तत्कालै प्रहरीको फन्दामा परे । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भुवानीलाई नियन्त्रणमा लिई उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने सन्तोष तिवारी र अभय पोखरेललाई पनि पक्राउ गर्यो।
अमेरिकी दूतावासबाटै सूचना आएपछि हामीले उनीहरूलाई समातेर अनुसन्धान गरेका हौं’, अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी
तर, सोमबार बिहान अमेरिकी राजदूतावास पुगेको महाशाखाको टोलीले साढे १० बजे अन्तर्वार्ता दिन पुगेका अर्का ‘लट्री’ विजेता सिन्धुली तिनपाटनका रुद्रबहादुर मोक्तानलाई पनि पक्राउ गर्यो । उनले पनि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोग थियो ।
३५ वर्षीय रुद्रलाई पक्राउ गरेपछि उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने कालिकोटका २६ वर्षीय विशालजंग शाही, २४ वर्षीय सुरेशबहादुर शाही, काठमाडौं चन्डोलका ३३ वर्षीय अनिष श्रेष्ठ, ताप्लेजुङ खेवाङकै सन्तोष तिवारी र काभ्रे, महाभारतका देवराज तामाङलाई पनि पक्राउ गर्यो । प्रहरीका अनुसार रुद्रले नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गिरोहलाई तीन लाख ५० हजार रुपैयाँ बुझाएका थिए । सामान्य खेतीकिसानी गर्ने रुद्रले पनि पहिलो पटक डिभी भरेर ‘चिठ्ठा’ पारेका थिए । भुवानीलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गिरोहका नाइके कृष्ण अच्छामी भने फरार छन् ।
आइतबार साँझ अमेरिकी राजदूतावासबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको सूचना आएलगत्तै अपराध महाशाखाअन्तर्गत प्रहरी निरीक्षक रोशन खड्का नेतृत्वको टोली सक्रिय भएर लागेको थियो । खड्का नेतृत्वको टोलीले यसअघि एमबीबीएस प्रवेश परीक्षामा म्याग्नेटिक डिभाइसमार्फत चिट चोराउने र चोर्ने गिरोहलाई पनि समातेको थियो । ‘नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गिरोह सक्रिय रहेको सूचना यसअघि पनि हामीसँग थियो ।
हामीले केहीलाई पक्राउ पनि गरेका थियौं । तर, यसपटक अमेरिकी दूतावासबाटै सूचना आएपछि हामीले उनीहरूलाई समातेर अनुसन्धान गरेका हौं’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने । लोहनीले भट्टराई र मोक्तानले पेस गरेको शैक्षिक प्रमाणपत्र सम्बन्धित शैक्षिक संस्थाबाट नक्कली भएको प्रमाणित गरिसकेको बताए।
‘सम्पर्कका आधारमा काम’
नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने गिरोहले तहगत रूपमा कमिसन खाएर काम गरिदने गरेको खुलासा भएको छ । प्रहरीका अनुसार रुद्रले प्रमाणपत्र बनाउन सुरुमा देवराज योञ्जनलाई सबै पैसा बुझाएका थिए । योञ्जनले सेक्युअर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठलाई ४५ हजार रुपैयाँ दिएर काम गर्न लगाए । अनिलले ३० हजार रुपैयाँ दिएर सत्य विनायक कम्युनिकेसनका सञ्चालक विशालजंग शाहीलाई जिम्मा दिए । विशालले सुरेश शाहीलाई १२ हजार रुपैयाँ दिएर सर्टिफिकेट बनाउन लगाएका थिए।
यता, भुवानीले पनि आफ्नै गाउँले साथी सन्तोषसँग सम्पर्क गरेका थिए । काठमाडौंमा व्यापार गर्दै आएका सन्तोषले भुवानी र म्यानपावरमा काम गर्ने अभय पोखरेलबीच भेट गराएका थिए । अभयले काम ल्याएपछि सन्तोषलाई १४ हजार रुपैयाँ कमिसन दिएको बताएका छन् । यसअघि कोरिया जान किर्ते बैंक स्टेटमेन्ट बनाइदिने गिरोहलाई पनि महाशाखाको टोलीले पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस